
आर्थिक वर्ष २०८१÷८२ मा तपाईँको वडाभित्र सम्पन्न भएका कार्यक्रमहरू के–के छन् ?
आर्थिक वर्ष २०८१÷८२ मा हामीले बजेटले भ्याएसम्मका कामहरू सम्पन्न गरिसकेका छौँ । हाम्रो वडा कै बजेटले धाप खोलामा एउटा पुल निर्माण गरेका छौँ । कोशीपारी जानेसम्मका ठाउँमा त्यसले निकै सहज बनाएको छ । यसमा संघ प्रदेशको कुनै पनि बजेट छैन । नगरपालिका र वडाको मात्र समन्वयमा काम भएको थियो । विशेषगरी यसले गर्दा बर्खाको समयमा धेरै नै सहज भइरहेको छ । दायाँबायाँ ढलान लगायतका यावत संरचना थप्नुपर्नेछ । त्यसमा चाहिँ आगामी आर्थिक वर्षमा हामी बजेट थप गरेर जाने भन्ने तयारीमा छौँ । हामीले कुलो निर्माणको कामहरू पनि गरिरहेका छौँ । यसले गर्दा किसानहरूलाई धेरै नै सहज भएको छ । उत्पादनमा जोड दिनुपर्छ भन्ने हाम्रो पहिलेदेखि नै लक्ष्य थियो । त्यसकारण हामीले किसानहरूको खेतमा लगाउने बाँध र कुलोलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । त्यो बाहेक हामीले शिक्षाको क्षेत्रमा पनि काम गरेका छौँ । स्वास्थ्यका विषयमा पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छौँ । खानेपानीको लागि पनि विभिन्न परियोजना मार्फत काम ग¥यौं । सडक पूर्वाधार त हामीले गर्ने काम भित्रको मुख्य काम नै भइहाल्यो । सडक बत्तीहरू राख्ने काम गरेका छौँ । सुनकोशी बृहत खानेपानी आयोजना अहिले सम्पन्न हुन लागेकाले खानेपानीमा पनि राम्रै छ । योभन्दा अगाडि नै हाम्रो वडामा चारवटा बोरिङ गरेर घरघरमा खानेपानीको धारोहरु पु¥याउने काम गरिसकेका छौँ । एक घर एक धाराको अवधारणा अनुरूप हामीले यो काम गरेका हौँ ।
आर्थिक वर्ष २०८२÷८३ मा कस्ता कार्यक्रमलाई केन्द्रित गरेर योजनाहरू बनाउँदै हुनुहुन्छ ?
पूर्वाधारको पक्ष बलियो भयो भने मात्रै अरु क्षेत्रका कामहरू राम्रो हुन्छ भन्ने हाम्रो मान्यता छ । सोही हिसाबले हामी अगाडि बढिरहेका छौँ । पूर्वाधारमा पनि रोडका नालीहरू बनाउने, बाँध कुलो कुलेसो बनाउने लगायतका क्षेत्रमा विशेष केन्द्रित भएर काम गर्दै आइरहेका छौँ । पूर्वाधार क्षेत्रका कामहरू नै हाम्रो आगामी वर्षमा पहिलो प्राथमिकतामा रहनेछ भने किसानसँग जोडिएर पनि विभिन्न कामहरू गर्ने भन्ने हाम्रो उद्देश्य छ । सडकलाई पनि हामीले विशेष फोकस गरेर काम गरिरहेका छौँ । तत्कालै कालोपत्रे गर्ने काम सम्पन्न गर्न त नसकिएला तर नाली बनाएर ग्राबेलको काम मात्र गर्न सकियो भने पनि आवतजावतमा समस्या हुँदैन ।
संघीय सरकार, प्रदेश सरकार वा अन्य निकायहरूसँग बजेट अथवा कार्यक्रम ल्याउन कतिको समन्वयात्मक भूमिका निर्वाह गरिराख्नु भएको छ ?
हामीले वडाको समस्याहरू पहिचान गरेर नागरिकहरूबाट आएको आवाजलाई पनि सम्बोधन गर्दै प्रदेश सरकार, संघीय सरकारमा हाम्रो तर्फबाट पठाउनुपर्ने योजनाहरू त पठाएका हुन्छौँ । माथिल्लो निकायबाट बजेटहरू लिएर आउन पनि पहुँचका कुराहरू हुँदोरहेछ । सबैभन्दा धेरै हामीले समन्वय गर्ने भनेको नगरपालिकासँग हो । नगरपालिकासँग त हाम्रो नियमित रुपमै समन्वय भइरहेको छ । संघ र प्रदेशको भर परेर बस्ने हो भने त ठूला योजना सम्पन्न हुने क्रम शून्यमा रहन पनि सक्छ । तर पनि हाम्रो तर्फबाट गर्नुपर्ने पहल समन्वयमा चाहिँ कमी हुन दिएका छैनौँ ।
तपाईँको वडामा कृषिमा कतिको सम्भावना छ ? कृषिमा यान्त्रीकरण, व्यावसायकरण, आधुनिकीकरणका कार्यक्रमहरू कत्तिको गरिरहनुभएको छ ?
अहिलेको समयमा कृषिमा आधुनिककरण भएन भने त उत्पादनमा वृद्धि गर्न सकिँदैन र कृषिमा नै भर परेर जीविकोपार्जन गर्नेहरूलाई त ठूलो समस्या हुन्छ । त्यसकारण कृषिमा आधुनिककरण अपनाइएको छ । यान्त्रिकरण हुन पनि उत्तिकै जरुरी छ । असार १५ गते हामीले मेसिनबाट धान रोप्ने कार्यक्रम पनि गरेका थियौँ । तरकारीमा विषादीको अत्याधिक प्रयोग भयो भन्ने धेरै ठाउँबाट आएको गुनासोलाई मध्यनजर गर्दै आइपीएम प्रविधिबाट तरकारी फलाउने भन्ने हामीले कार्य सुरु गरिसकेका छौँ । आइपीएम प्रविधिबाट तरकारी फलाउनेको लागि लव ग्रीन नेपाल र नगरपालिकाको समन्वयमा विभिन्न पहल कदम चलिरहेको छ । यसमा पछिल्लो समय धेरै नै सुधार भएको हामीले देखिरहेका छौँ । हाम्रो वडाबाट पनि टनका टन तरकारी काठमाडौँसम्म जाने गरेको छ । आगामी दिनमा चाहिँ हामी अर्गानिक उत्पादनलाई प्रवद्र्धन गर्नुपर्छ भन्ने हिसाबले अहिलेदेखि नै लागि परिरहेका छौँ । किसानहरूलाई प्रोत्साहन गर्नको लागि हामीले विभिन्न अनुदानका कार्यक्रमहरू पनि नियमित रूपमा सञ्चालन गरिरहेका छौँ । जस्तै हाते ट्रयाक्टरहरु वितरण गर्दै आएका छौँ । यसको लागि विभिन्न संघसंस्थाहरूसँग र सम्बन्धित निकायहरूसँग पनि हामीले नियमित रुपमा समन्वय गर्दै आएका छौँ । हालै मात्र पनि संघबाट आएका टोलीलाई प्रत्येक वडामा कृषि प्राविधिक र पशु प्राविधिक चाहिन्छ भनेर माग गरेका छौँ । यसरी हामीले कृषिको क्षेत्रमा पनि सम्भव भएसम्म काम गर्दै आएका छौँ ।
शैक्षिक गुणस्तर वृद्धिको लागि तपाईंको वडाले के कस्तो कार्य अगाडि बढाइरहेको छ ?
हाम्रो वडामा भएको एउटा विद्यालयमा हामीले वडाकै बजेटबाट व्यवस्थापन हुने गरी दुईजना शिक्षक पनि राखेका छौँ । सामुदायिक र संस्थागत विद्यालयको प्रतिस्पर्धा भएको देखिएको छ । नगरपालिकाद्वारा धमाधम विद्यालय मर्चका कार्य पनि चलिरहेको छ । जनसङ्ख्या घट्दो क्रममा छ । त्यसकारण पनि विद्यालयमा विद्यार्थी सङ्ख्या दर पनि घट्दो मात्रामा छ । शिक्षालाई वडाले पहिलादेखि नै आफ्नो प्राथमिकतामा राख्दै आएको छ । नगरपालिकाको शिक्षा शाखाबाट विभिन्न कार्यक्रमहरु भइरहेको छ । शैक्षिक गुणस्तरलाई कसरी वृद्धि गर्ने भन्ने विषयमा निरन्तर छलफल हुँदै आएको छ ।
वडामा भएको स्वास्थसंस्था बाट प्रवाश हुने सेवाहरु अझै प्रभावकारी बनाउन वडाले कस्तो भुमिका खेल्न सक्ला ?
वडामा भएको स्वास्थ्य सहरीबाट पनि नियमित रूपमा सेवा प्रवाह हुँदै आइरहेको छ । हामीले औषधिहरु अभाव हुन नदिनको लागि सकभर प्रयास गर्छौं । नियमित रूपमा प्रदान हुँदै आएको सेवाहरूले निरन्तरता पाएको छ । सामान्य सुगर, प्रेसरहरूको चेकजाँच पनि भइरहेको हुन्छ । स्वास्थ्य संवेदनशील विषय भएकाले पनि जहिले पनि हाम्रो प्राथमिकतामा नै रहन्छ । स्वास्थ्य बीमाका कार्यक्रमहरू पनि निरन्तर रूपमा सञ्चालन भइरहेको छ ।
विपत् व्यवस्था व्यवस्थापन पूर्व तयारी केही छ ? छुट्टै वडाले बजेट विनियोजन नै गरेर केही काम गर्ने गरेको छ त ?
यस विषयमा वडाबाट पनि काम भइरहेको छ भने नगरपालिकाबाट पनि भइरहेको छ । नगरपालिकामा विपद व्यवस्थापनको लागि छुट्टै कोषहरू पनि व्यवस्थापन गरिएको छ । हालै मात्र पनि नगरपालिकाको समन्वयमा सशस्त्र प्रहरीद्वारा नै सबै वडाबाट तीन–तीनजनाका दरले विपत् व्यवस्थापनको तालिम सम्पन्न भएको छ । गत असोजमा गएको बाढी पहिरोले पनि हाम्रो वडामा खासै ठूलो क्षति पुर्याएको छैन । झिगु खोला आसपासको खेतीबालीमा चाहिँ केही क्षति पुग्यो । तर त्योभन्दा ठूलो क्षति भएन । त्यो खुसीको कुरा पनि हो । विपत भन्ने कुरा कुन समयमा कत्रो आकारको आउँछ भनेर भन्न सकिँदैन । त्यसैले हामी तयारी अवस्थामा चाहिँ छौँ । हाम्रो सम्पूर्ण टोली यस विषयमा सशक्त भएर लागिपर्ने छ ।
कार्यक्रमहरू सम्पन्न गर्ने क्रममा कस्ता खालका चुनौतीहरु आउँछन् ? तिनको समाधान वडाले कसरी गर्दै आएको छ ?
अहिलेसम्म हामी संवादमा नै कामहरू गर्दै आएका छौँ । जहाँ जे समस्या परेको छ । हामीले त्यसलाई समाधान गर्ने हिसाबले बजेटहरु राखेर काम गर्दै आएका छौँ । म निर्वाचित भएपछिको यो अवधिमा अहिलेसम्म कार्यक्रमहरू सम्पन्न गर्दा कुनै विवादहरू आएको छैन । सबै कामहरूको लागि हामी छलफल प्रक्रियामा नै गएर गर्छौं । कसैले असहमति जनाउँदा जनाउँदै पनि गरेको काम भन्ने कुनै छैन । सबै कुरा छलफलबाट नै हुने हुँदा अहिलेसम्म त्यस्तो समस्या आएको पनि छैन ।
महिला, बालबालिका, अपाङ्गता भएका, नागरिक जेष्ठ नागरिक, दलित, जनजाति पछाडि पारिएका वर्ग लगायतलाई लक्षित गर्दै गर्नुभएको कार्यक्रमहरू के के छ ?
पहिले पहिले चाहिँ विभिन्न सीपमूलक तालिमहरू सञ्चालन भइरहेको हुन्थ्यो । तर अहिले सिपमूलक तालिम दिइसकेपछि पनि त्यो तालिमको सदुपयोग भएको देखिएको छैन । आर्थिक रूपमा लक्षित समुदायलाई सशक्त बनाउनुपर्छ भनेर हामीले यसरी सिपमूलक तालिम चाहिँ दिएका थियौँ । पछिल्लो समय चाहिँ यसमा धेरै काम गर्न सकेका छैनौँ । विभिन्न दिवसीय कार्यक्रमहरू सञ्चालन गरिरहेका हुन्छौँ । यसैगरी अपाङ्गता भएका व्यक्तिहरूको परिचयपत्र बनाउने लगायतका कुराहरूमा हामीले सहजीकरण गर्दै आएका छौँ । एउटै वडाबाट यी सबै क्षेत्रमा काम गर्नेभन्दा पनि नगरपालिकाद्वारा विशेष यसमा कार्यक्रम हुँदै आएको छ । नगरपालिकाबाट वडालाई यो कार्यक्रमको लागि यति जना सहभागी तपाईंको वडाबाट गराउनु पर्यो भन्ने खालका सूचनाहरु आउँछ । सोहीअनुसार हामीले इच्छुक व्यक्तिहरूलाई छनोट गरेर पठाउँछौ ।
बालमैत्री वडा बनाउने भनेर केही नीतिगत योजना वडाले बनाएको छ त ?
बालमैत्रीको लागि विशेष कार्यक्रमहरू त नगरपालिकाबाट नै सञ्चालन भइरहेको छ । यसमा थपथाप केही कार्यक्रम हामीले हाम्रो वडाको तर्फबाट पनि गर्दै आएका छौँ । विभिन्न बालक्लब तथा संञ्जाल गठन गरेका छौँ । यसमा समिति नै बनाएर हामीले काम गरिरहेका छौँ । बालक्लबलाई चाहिने सामग्रीहरू उपलब्ध गराएका छौँ । बन्न लागेका संरचनाहरूलाई बालमैत्री अवधारणा स्वरूप ढाल्ने प्रयास गरिरहेका छौँ ।
तपाईँको वडामा खानेपानीको अवस्था के छ ? यसमा सुधारात्मक योजनाहरु के के बनाउनुभएको छ ?
पाँचखाल नगरपालिका वडा नम्बर ७ करिब ३ भागमा बाँडिएको छ । एक भागको खानेपानी लागि नेतृत्व गर्दै अध्यक्षको जिम्मेवारी मैले नै लिएको छु । अहिले यी क्षेत्रमा २ सय ५० घरधुरीले नियमित खानेपानी खाइरहनुभएको छ । एकदिन बिराएर हाम्रोमा खानेपानीको धारा खोलिन्छ । अर्को ठाउँमा ७०÷७५ घरधुरी रहेको छ । त्यहाँ लिफ्टिङ गरेर खानेपानीको व्यवस्था गरिएको छ । अर्को लगभग २ सय घरधुरीलाई बोरिङ गरेर पानी खुवाइरहेका छौँ । यसरी एक घर एक धाराको अवधारणा स्वरूप हामीले तीनवटा समिति व्यवस्थापन गरेर खानेपानीमा कमी हुन दिएका छैनौँ ।
युवा स्वरोजगारको लागि केही कार्यक्रम गरिरहनुभएको छ त ?
युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीमा जाने बढ्दो मात्रामा छ । कक्षा १२ को अध्ययन सकिएपछि यही बस्ने युवाहरुको सङ्ख्या ज्यादै न्यून रहेको छ । महिनामा चार÷पाँचवटा डकुमेन्ट त हामीले नै सिफारिस गरिरहेका हुन्छौँ । यहीँ बसेर गर्छु भन्नेहरुले चाहिँ कृषिमा नै राम्रो गरिरहनुभएको छ । यहाँ कृषिको लागि राम्रै सम्भावना भएको हुँदा उहाँहरुलाई यही कुराले आकर्षित गराएको छ । यसमा हाम्रो तर्फबाट गर्नुपर्ने सहयोग हामीले नियमित रुपमा गरिरहेका छौँ ।