बीमाको कार्यक्रमलाई कसरी व्यवस्थित गर्ने भन्नेतर्फ नै केन्द्रित भएका छौं

  • काभ्रे खबर
  • / अन्तरर्वार्ता /
  • २०८२ श्रावण २१, बुधबार (४ महिना अघि)
  • ४७३ पटक पढिएको

बीमाको कार्यक्रमलाई कसरी व्यवस्थित गर्ने भन्नेतर्फ नै केन्द्रित भएका छौं

० आर्थिक वर्ष २०८१÷८२ मा पनौती नगरपालिकाको स्वास्थ्य शाखा अन्तर्गत के कस्ता कार्यक्रम भए ?
संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसहित तिनै तहका कार्यक्रमहरू थिए । समग्रमा आर्थिक वर्ष निकै राम्रो रह्यो । संघीय सरकारको सशर्त बजेट अन्तर्गतका प्राथमिकतामा रहेका कार्यक्रमहरू शतप्रतिशत नै सम्पन्न भए । विभिन्न खोपका कार्यक्रम, क्षयरोग समीक्षा बैठकका कार्यक्रमहरू भए । किशोरीहरूको लागि पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एक्टिभ खोप अभियान तोकिएको लक्षित जनसङ्ख्याको आधारमा हामीले सम्पन्न गर्यौ । विद्यालय स्तरका कक्षा ६ देखि १० सम्मका किशोरी र विद्यालय बाहिरका छन् भने १० देखि १४ वर्ष उमेरसम्मका किशोरीहरूलाई खोप लगाउने कार्यक्रम थियो । जसमा हामीले ९६ प्रतिशत सम्पन्न गर्यौं । गत वर्ष गएको बाढी पहिरो पछि हुनसक्ने महामारीजन्य रोग फैलाउन सक्ने लगायतका जोखिम धेरै थियो । त्यो अवस्थामा हामीले नगरपालिकाको द्रुत प्रतिकार्य टोली खटाएर प्रभावित वडाहरूमा गई सामान्य इन्जुरीदेखि गर्भवती र सुत्केरी महिलाहरूको अवस्था, खानेपानीको अवस्थाहरूलाई नियमित रूपमा फलोअप ग¥यौं । आन्तरिक कार्यक्रम अन्तर्गत अरु कार्यक्रमहरूभन्दा अलि फरक तरिकाले जानेगरी यहाँका आवश्यकतालाई मध्यनजर गर्दै नयाँ कार्यक्रम गर्दै अगाडि बढ्यौँ । सम्पन्न भएका मुख्य कार्यक्रमहरूको प्रभावकारिता पनि निकै राम्रो छ । जस्तै उदाहरणको लागि मानसिक स्वास्थ्यको कार्यक्रम छ । गत वर्ष असोजमा गएको बाढी पहिरोले गर्दाखेरि नगरपालिकाको स्वास्थ्य केन्द्रहरूमा धेरै नै क्षति पुग्यो । हाम्रो भवनहरुमा पनि निकै असर गरेको थियो । त्यसैले अहिले हामी खोपासी प्राथमिक स्वास्थ्य केन्द्रमा सरिसकेका छौँ । त्यो अस्पतालको लागि संघीय सरकारबाट ४० लाख र नगरपालिकाबाट १ करोड रुपैयाँ बजेट पनि विनियोजन भएको छ । हामीसँग त्यहाँ पाँचजना डाक्टरहरू हुनुहुन्छ । १७ जना चाहिँ स्टाफ हुनुहुन्छ । यसरी कार्यालय सहयोगिसमेत गरी त्यहाँ अहिले २० जना कर्मचारी हुनुहुन्छ । हालसालै मात्र एउटा कार्यविधि लागू भयो । अब चाहिँ हामी कर्मचारीहरूको भ्याकेन्सी खुलाएर कर्मचारी थप गर्नेछौँ । ल्याब पनि अपडेट गर्नुपर्नेछ । यसको प्रक्रिया पनि अगाडि बढ्दैछ ।
० मानसिक स्वास्थ्यको कार्यक्रमको प्रभावकारिता कस्तो छ ?
यो कार्यक्रम नगरपालिकाले निरन्तर रुपमा गर्न थालेको पाँच वर्ष भइसक्यो । मानसिक स्वास्थ्य पनि निकै ठूलो विषय हो । सुरुमा हामीले ५ लाख बजेट विनियोजन गरेर कार्यक्रमको सुरुवात गरेका थियौँ । तर आर्थिक वर्ष २०८१÷८२ सम्म आइपुग्दा हामीले यो विषयमा २७ लाखसम्म बजेट विनियोजन गरेर काम गरेका छौँ । अहिले ३ सय जना जति मानसिक स्वास्थ्यका प्यासेन्ट हुनुहुन्छ । यसको लागि पाटन हस्पिटलबाट नै मेन्टल हेल्थ विशेषज्ञ डाक्टर अनन्त अधिकारीको विशेषज्ञतामा शिविर चल्दै आएको छ । पनौती नगरपालिका वडा नम्बर ३ कुशादेबी स्वास्थचौकीमा महिनाको पहिलो शनिबार र दोस्रो शनिबार चाहिँ वडा नम्बर ७ मा रहेको पनौती स्वास्थ्य चौकीमा शिविर चल्दै आएको छ । धेरै प्रकारका औषधिहरु निःशुल्क रुपमा लिन सकिन्छ । यसमा हामीले लगभग ३२ पटक बिरामीहरूलाई चेकजाँच, परामर्श र निःशुल्क औषधि वितरण गर्ने काम गरेका छौँ ।
० जेष्ठ नागरिक विषेश केही कार्यक्रम छ ?
अर्को कार्यक्रम चाहिँ जेष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गराउने काम गरेका छौँ । हरेक वडामा वर्षमा दुई÷दुईपटक चल्यो यो कार्यक्रम । योकाम अयिकतभच मभकष्नल गरेर गर्छौं । यो कार्यक्रम १२ वटा वडामा गरी एउटा आर्थिक वर्षमा २ सय ७ दिन चलेको छ । ७० वर्षभन्दा माथि उमेर समूहका जेष्ठ नागरिकहरूलाई हामीले निःशुल्क औषधि, उहाँहरूलाई भएको समस्याको परामर्श लिने, जर्नरल ल्याबबाट गर्नुपर्ने परीक्षण । यसले नागरिकहरूको स्वास्थ्यमको पहुँचलाई सुनिश्चित गरेको छ । यो आर्थिक वर्षमा हामीले लगभग ६६ सय जना जतिलाई सेवा यसरी दिएका छौँ ।
० महिला तथा गर्भवती र अपाङ्गता भएकाहरुको स्वास्थ्यका लागि कुनै विशेष कार्यक्रमहरु छन् ?
अर्को महत्वपूर्ण कार्यक्रम भनेको नगरपालिकामा मातृत्व कार्यक्रम भित्र नवजात शिशु स्वास्थ्यमा पनि अलि कन्सन भएर काम गरेका छौँ । यसमा विशेषत संस्थागत स्वास्थ संस्थामा सुत्केरी हुनलाई प्रमोट गर्नुपर्छ भनेर लागेका छौँ । होम डेलिभरीलाई शून्य नै गर्नुपर्छ भन्ने हाम्रो जोड हो । हाम्रोमा तीनवटा बर्थिङ सन्टर रहेको छ । त्यहाँ गत बर्ष लगभग ९० जना जतिको डेलिभरी भएको छ । त्यहाँ सुत्केरी भएबापत प्रति व्यक्ति १५ सयका दरले प्रोत्साहन खर्च पनि दिने गरेका छौँ । नेपाल सरकारले दिएको रकममा यसरी थप गरेर पनि दिने गरेका छौँ । गत पाँच वर्षको ट्रेन्डलाई हेर्ने हो भने मातृ मृत्युदर शुन्य छ । यसैगरी नवजात शिशु मृत्युदर एकजना छ । अन्य समय र ठाउँको तुलनामा अहिले मात्रै मृत्यु दर र शिशु मृत्युदर कम भएको छ । वडाहरू मार्फत पनि सुत्केरी घर भेटका कार्यक्रमहरू चलाउँदै आएको छौँ । यसमा विशेषगरी पोषणका प्याकेज कार्यक्रमहरू छ ।
अपाङ्गता भएका नागरिकहरूको लागि पनि हामीले कार्यक्रम गर्दै आएका छौँ । यसमा विशेषगरी अपाङ्गता भएका नागरिकहरूलाई आवश्यक पर्ने सामग्रीहरू प्रदान गर्ने कार्यक्रम गर्दै आएका छौँ । जस्तै वैशाखी, चस्मा, न्यून दृष्टि भएकाहरूलाई सेन्सेसनबाट चल्ने ल्यापटप, इलेक्ट्रिक ह्यान्ड नगरपालिका आफैले खरिद गरेर वितरण गर्ने गरेको छ । यसले गर्दा पनि उहाँहरुलाई केही सहज भएको छ ।
० गरिब तथा असाहयको लागि आर्थिक सहयोग गरिदिने भन्ने कुनै नीति बनेको छ त ?
नेपाल सरकारले तोकेका आठवटा रोगहरूको लागि सरकारबाट आउने पैसामा एकपटकको लागि बिरामीको आर्थिक अवस्था हेरेर १० हजार नगरपालिकाले पनि दिने गरेको छ । गत वर्ष हामीले यो रकम एक सयभन्दा धेरै जनालाई प्रदान गर्यौ । संघीय सरकारबाट आएको कार्यक्रमहरू हामीले लगभग सबै नै सक्कायौँ तर आन्तरिक तर्फका कार्यक्रमहरु ६५ देखि ७० प्रतिशत मात्रै सम्पन्न भयो । गत वर्षको असोजमा गएको बाढी पहिरोले गर्दा सम्पन्न हुनुपर्ने कार्यक्रमहरूमा केही क्षति पुगेको हो । हामीलाई बजेट व्यवस्थापन गर्न निकै कठिन भएको थियो ।
० चालु आर्थिक वर्षको लागि तपाईँहरूको मुख्य योजनाहरू के–के हुने ? बजेट तथा कार्यक्रम केमा केन्द्रित हुन्छ ?
सुरुमा त तिनै सरकारले राखेका बजेट र कार्यक्रमहरू के कति कस्ता छन् भनेर हामीले जानकारी प्राप्त गरिसक्यौ । त्यसमा हामीले अब चाहिँ कार्यक्रमहरू कसरी गर्ने भनेर त्रैमासिक योजनासहित अगाडि बढ्दै छौँ । नगर अस्पतालको कार्यक्रमहरूमा हामी विशेष फोकस भएर काम गरिरहेका छौँ । तत्काल चाहिँ हामीले वार्षिक कार्यक्रम कसरी गर्ने भनेर योजना बनायौँ । हस्पिटल सुरु गर्ने र बिमाको कार्यक्रमलाई कसरी व्यवस्थित गर्ने भन्ने तर्फ नै केन्द्रित भएका छौँ ।
० स्वास्थ्य बीमा कार्यक्रमको मोडालिटी परिवर्तन भएपछी तपाईको नगरक्षेत्रका नागरिकबाट कस्तो कस्तो प्रतिक्रिया आइरहेको छ ? काम गर्न कत्तिको चुनौती छ ?
नेपाल सरकारको स्वास्थ्य बीमा बोर्ड मार्फत नै स्वास्थ्य बीमाको कार्यक्रममा अहिले केही हेरफेर भएको अवस्था छ । जस अन्तर्गत हाम्रो पनौती नगरपालिकामा दुईवटा संस्था हाम्रो प्रथम बिन्दुमा छ । एउटा खोपासी प्राथमिक स्वास्थ्य केन्द्र र अर्को सुनथान प्राथमिक स्वास्थ्य केन्द्र । त्यसलाई नै व्यवस्थापन गर्न अहिले हामी खटिएका छौँ । हामीसँग भएका स्वास्थ्य उपचार हामीबाटै गर्ने र नभएकालाई रिफर गर्ने काम भइरहेको छ । यसको लागि अहिले अलि गाह्रो पनि भइरहेको छ । अहिले दुईटै स्वास्थ्य संस्थाबाट जति सकिन्छ, आफ्नो जनशक्ति र स्रोत साधनलाई मध्यनजर गर्दै सेवा दिइरहनुभएको छ । स्वास्थ्य बीमा रिफरल सेवा लागू भइसके पछाडिको अवधिमा हामीले ३ हजारभन्दा बढीलाई सेवा दिइसकेका छौँ । त्यसलाई थप व्यवस्थित गराउनको लागि हामीले सफ्टवेयर खरिद गर्ने प्रक्रियालाई अगाडि बढाएका छौँ । एउटा औषधि मात्र लिन पनि रिफर गर्नुपर्ने भएकाले बिना सफ्टवेयर अलि गाह्रै हुने हामीले देखेका छौँ ।
० कुनै महामारी वा विपद आइपर्यो भने व्यवस्थापनको लागि पूर्व तयारी के छ ?
स्वास्थ निकै महत्त्वपूर्ण विषय पनि । द्रुतप्रतिकार्य भनेर हामीले नगरपालिकामा एउटा समिति पनि बनाएका छौँ । एउटा टिम छ र एउटा कमिटी छ । कमिटीमा चाहिँ पोलिसी बनाउने कामहरु हुन्छ । जुन नगर प्रमुखज्यूको अध्यक्षता र शाखा प्रमुख सदस्य सचिब रहने गरि ब्यबस्थापन गरिएको हुन्छ । त्यसमा अर्को टिममा चाहिँ मेडिकल अफिसर सहित प्यारामेडिक्स, पब्लिक हेल्थ अफिसर र अन्य संस्थाबाट प्रतिनिधित्व हुने गरी एउटा टिम बन्छ । यसमा यो टिमले चाहिँ विशेषगरी फिल्डमा भूमिका खेल्छ । यसको लागि अब हाम्रो वडामा एउटा समिती छ र अर्को ११ सदस्य रहने गरी टिम छ । द्रुतप्रतिकर्य टोली र द्रुतप्रतिकार्य समिति भनेर यसरी व्यवस्थापन गरेका छौँ । योसँगै हामीले हरेक संस्थाहरूमा संस्था प्रमुखको संयोजकत्वमा अर्को टिम रहेको छ । विपद् व्यवस्थापन समिति वडामा र हाम्रो नगरपालिकामा पनि हुन्छ । तीसँग पनि हाम्रो समन्वय हुन्छ । यसरी पूर्णत स्वास्थ्यलाई नै प्राथमिकता राखेर काम गछौँ । हरेक दुई÷दुई महिनाको फरकमा त्यो टिमको बैठकहरू पनि हुन्छ ।
० अभियानको रुपमा के के कार्य गर्र्दै हुनुहुन्छ ?
अबको दिनमा विपद् पर्दा के गर्नुपर्छ, वडा स्तरमा के गर्नुपर्छ, अबका दिनमा हामी कसरी तयारी अवस्थामा रहनुपर्छ भन्ने जस्ता विषयमा छलफल गरेका छौँ । उपचारका सामानदेखि हामीलाई अत्यावश्यक रुपमा चाहिनसक्ने कुराहरूलाई हामीले व्यवस्थापन गर्नुपर्छ । केही तयारी अवस्थामा राखेका छौँ । बर्खाको समयमा खानेपानीको पनि समस्या हुन्छ । यसले विभिन्न रोगहरू पनि फैलाउन सक्छ । डेङ्गी रोग व्यवस्थापन गर्न विभिन्न अभियानका कार्यक्रमहरू गरिरहेका छौँ । डेङ्गी रोग विरुद्धको लागि पनि विभिन्न अभियानहरु चलाइरहेका छौँ । तत्कालको लागि डेङ्गी रोग विरुद्धको अभियानहरू प्रमुख प्राथमिकतामा छन् । अहिले लार्भाको खोजी र नष्ट अभियान चलिरहेको छ । गतवर्षको बाढी पहिरो जाँदा १२ नम्बरको स्वास्थ्य संस्थामा निकै क्षति पुगेको थियो । जसले गर्दा हामीले नियमित सेवाहरू समेत दिन सकेनौँ । त्यस्तो अवस्थामा हामीले मेडिकल टेन्टहरू राखेर सेवा प्रदान गरेका थियौँ । अहिले चाहिँ हामीले केही संस्थाहरूसँग पहिले नै समन्वय गरेर मेडिकल टेन्टहरू व्यवस्थापन गर्ने काम गरिसकेका छौँ । यसरी हामीले पूर्व तयारी स्वरूप टेन्टहरू व्यवस्थापन गरेका छौँ । यस्ता खालका समस्या आइपर्यो भने हामीलाई गत वर्षको तुलनामा केही हदसम्म सहज हुने छ ।
० पालिकाको एम्बुलेन्स कति छन ? अवस्था के छ ?
अहिले नगरपालिकामा दुईवटा एम्बुलेन्स नियमित रूपमा चलिरहेको छ । एउटा खोपासी प्राथमिक स्वास्थ्य केन्द्रमै रहनेगरी चलिरहेको छ । अर्को चाहिँ नगरपालिका भरिका क्षेत्रलाई समेट्ने गरी चलिरहेको छ । योसँगै अर्को एउटा संस्थाको एम्बुलेन्स पनि छ । यसरी समग्रमा तीनवटा एम्बुलेन्सद्वारा सेवा प्रदान भइरहेको छ । नेपाल सरकारको परिपत्रअनुसार ती अवस्थामा अझै पनि स्ट्यान्डर्ड मेन्टेन भएको छैन । अहिले धेरै शब्दावलीमा पनि परिवर्तन आइसकेको छ । तिनै कुरामा सुधार गर्नको लागि स्वास्थ्यकर्मीज्यूहरूले पनि केही समय अगाडि तालिम प्राप्त गर्नुभएको थियो । यसमा थप व्यवस्थापनको काम भइरहेको छ । भवनको कुराहरू त राम्रै छ । भौतिक सुधारहरू राम्रै भइरहेको छ । नागरिकहरूले निःशुल्क पाउने जति नेपाल सरकारले तोकेका औषधिहरू छन् । तिनलाई हामीले नियमित रुपमा दिइरहेका छौँ । यसमा केही समस्या भयो भने हाम्रो तर्फबाट हेरफेर हुने काम भइरहेको छ । यसमा पनि संघीय सरकारले कति खरिद गर्ने, प्रदेश सरकारले कति गर्ने र स्थानीय सरकारले कति गर्ने भन्ने मापदण्डहरु नै छ । यसमा समस्या चाहिँ कहाँ छ भने; स्थानीय सरकारले खरिद गर्ने औषधिहरु त हामीले सबै समयमा नै गरेका छौँ तर संघीय सरकार र प्रदेशबाट आउने औषधिहरु चाहि उहाँकै मात्र भर पर्ने हो भने समयमा आपूर्ति हुन नसक्ने रहेछ । यसरी समयमा औषधि आएन भने अत्यावश्यक सेवा दिनेहरूलाई त गाह्रो हुन्छ अथवा नियमित सेवा लिनेहरुलाई पनि यसले समस्यामा पार्छ । त्यसैले हामीले आन्तरिक बजेट मार्फत पनि यसको समाधान खोजिरहेका हुन्छौँ ।

ताजा अपडेट

खोजी गर्नुहोस