० आजकल के मा व्यस्त हुनुहुन्छ ?
चालु आर्थिक बर्षको सुरुको चरणमा छौँ । आर्थिक वर्ष २०८२÷८३ को लागि पनि पूर्व तयारी गर्नुपर्ने समय रहेको छ । आर्थिक वर्ष २०८१÷८२ लाई हेर्ने हो भने विकास निर्माणको कामहरू करिब करिब राम्रै सम्पन्न भएको छ । अब गर्नुपर्ने कामहरुमा नै लक्षित छौँ । २०८१÷८२ मा वडाको बजेट जम्मा ६० लाख रहेको थियो । त्यसमा केही पालिकाबाट र केही प्रदेशबाट यहाँको समस्याहरूलाई बुझेर र यहाँको आवश्यकतालाई महसुस गरेर वडाको लागि राम्रै बजेट विनियोजन गरेको थियौँ । २०७४ सालमा पनि चुनाव जित्दै गर्दा म तीनवटा लक्ष्यको साथ आएको थिए । जसमा वडामा एउटा कक्षा १२ सम्म अध्ययन गराउने विद्यालय सञ्चालन गर्ने, एक घर एक धाराको अभियान सम्पन्न गर्ने र वडाको माथिल्लो भू–भागबाट तल्लो भाग जाने बाटो जोड्ने सडक कालोपत्रे गर्ने योजना छ ।
० आर्थिक वर्ष २०८१÷८२ कस्तो रह्यो ? कार्यक्रमहरु के–के सम्पन्न भए ?
आर्थिक वर्ष २०८१÷८२ मा हामीले पहिलेको वर्षका धेरै कार्यक्रमहरुलाई नै निरन्तरता दिएका थियौ । नयाँ कार्यक्रमहरू कम नै थिए बजेटको दायरा पनि त्यति फराकिलो थिएन । यो वर्ष पनि हामीले गत वर्ष पूरा गर्न नसकेका अथवा अधुरा रहेका कार्यक्रमहरुलाई निरन्तरता दिनेछौँ । हामीले निकै लामो समयदेखि एक घर एक धाराको अभियानसहित खानेपानीको कार्यक्रम गर्दै आएका छौँ । पछिल्लो समय हामीले त्यसलाई नै निरन्तरता दिइरहेका छौँ । शैक्षिक क्षेत्रलाई अगाडि बढाउनको लागि हाम्रो समग्र पालिकाद्वारा नै कामहरू भइरहेको छ । स्वास्थ्यको लागि पनि हामीले स्वास्थ्य उपचारमा कमी हुन नदिनको लागि सकेसम्म कार्यक्रम गरिरहेका छौँ । त्यो बाहेक पर्यटन प्रवर्धनको लागि पनि हामीले केही भौतिक पूर्वाधारको कामहरू गर्दैछौँ । जम्मा हाम्रो वडाको गतवर्षको बजेट भनेको ६० लाख रुपैयाँ थियो। त्यही बजेट अन्तर्गत हामीले विभिन्न क्षेत्रमा काम गर्यौ । वडामा धेरै कामहरू भइरहेको छ । केही कामहरू स्रोत साधनको अभावको कारण सम्पन्न हुन सकेको छैन । यद्यपि ती योजनाहरू सम्पन्न हुने तयारीमा रहेका छन् । तर पनि जनताले अपेक्षा गरेअनुसारका कामहरू सबै गर्न सकेका छैनौं । बजेटहरू पनि सोअनुसार आउन सकेको छैन तर हाम्रोमा भएको सीमित स्रोत साधनलाई बढीभन्दा बढी प्रयोग गरेर प्रभावकारी र नतिजामुखी बनाउने प्रयास हाम्रो हिजोको दिनमा पनि थियो । अझै पनि चलिरहेको छ ।
० महिला, दलित, अल्पसंख्यक र पछाडि पारिएका वर्गका लागि के के कार्यक्रमहरु छन् ?
लक्षित समुदायको अधिकांश कार्यक्रमहरू हाम्रो पालिकाद्वारा नै हुन्छ । विशेषगरी आयआर्जनसँग जोडिएका कार्यक्रमहरू गर्नुपर्छ भन्ने हाम्रो कुरा हो । हाम्रो पहिलो कार्यकालको अनुभव सुनाउनुपर्दा पालिकाले एकमुष्ट रुपमा वडामा पठाउनको लागि बजेटहरू विकेन्द्रीकरण गर्ने गरेको थियो । हामी पनि नवनिर्वाचित भएको कारण पहिलो कार्यकालमा लक्षित समुदायका सबै क्षेत्रमा राम्रै कार्यक्रम गरेका थियौँ । त्यसकारण पहिलो कार्यकालमा राम्रो पनि भएको थियो । अहिले पहिलो कार्यकालमा जति कार्यक्रम लक्षित समुदायको लागि भयो अहिले भएन भन्ने केही गुनासोहरु आउँछन् । वडामा लक्षित समुदायको लागि ठूलो भोलुम कार्यक्रम छैन । पूर्वाधारमा अलि ठूला कार्यक्रमहरू भएको हुँदा बजेट पनि अलि धेरै नै देखिने हो । विकास भन्नासाथ मानिसको दिमागमा पूर्वाधार नै आउँछ । त्यसकारण पूर्वाधारको माग पनि आएको हुन्छ । तर पनि हामीले स्वास्थ्य शिक्षा जस्ता संवेदनशील विषयहरुमा पनि विशेष ध्यान दिएर काम गरेका छौँ ।
० तपार्ईको निकायमा खानेपानीको अवस्था के छ ?
खानेपानीको क्षेत्रमा हामीले राम्रै काम गरेका छौँ । पछिल्लो समय प्रदेश सरकारबाट पनि केहि बजेटहरु लिएर आएर कार्यक्रमहरू गर्यौ । हाम्रो यहाँ स्थायी रुपमा बसोबास गरिरहनेहरूको सबैको घरमा धारा पुगिसक्यो तर यहाँ नबस्ने र कहिलेकाहीँ मात्र आउनेहरूको घरमा पानीको धारा पुग्न बाँकी छ । ३० वटा जति घर बाँकी छ होला जम्मा । यो वर्ष हामी त्यसलाई पूरा गर्नेछौँ । खानेपानीको लागि पनि राम्रै काम भइरहेको छ । हाम्रो वडाको तल्लो भूभाग खानेपानीको लागि निकै राम्रो स्रोत भएको ठाउँ हो । जहाँ नदी खोलानालाहरू छन् । हाम्रो वडामा सिंचाइको लागि भने केही समस्या नै रहेको थियो । गत बर्षहरुमा नै सिँचाइको लागि केही काम भएको छ । सिंचाइको लागि हाम्रो वडामा केही वडालाई कभर हुने गरी सिंचाई कुलो आरसी ढलानसहित व्यवस्थित छ ।
० वडाको विकासको लागि अन्य निकायहरुसँग यहाँको समन्वायत्मक भूमिका कस्तो छ ?
समन्वय त हामीले हाम्रो तर्फबाट गरिरहेका छौँ र हामी जानुपर्ने पुग्नुपर्ने सबै ठाउँमा पुगेका छौँ । कति सम्बोधन भएका छन् अथवा भएनन् भन्ने कुरा अलग हो । सबै कुरा सकारात्मक रुपमा लिन सकिँदैन तर पनि नेपालको परिवेशमा भन्ने हो भने आवश्यकता एकातिर हुन्छ । बजेट अर्कोतिर हुन्छ । यसले गर्दा पनि विकास निर्माणको काममा केही समस्या भइरहेको छ । समन्वयको हकमा हामीले प्रदेश सरकारसँग र सङ्घीय सरकारसँग पनि समन्वय गरिरहेका छौँ । हामीले हाम्रो योजनाहरू लिएर उहाँहरु समक्ष गइरहेका हुन्छौँ । हाम्रो योजना लगिरहेका हुन्छन् । कतिपय सम्बोधन हुन्छ कतिपय हुँदैन । हामीले हाम्रो तर्फबाट राम्रै समन्वय गरिरहेका छौँ । सोहीअनुसार बजेटहरू पनि भित्रिरहेको छ ।
० आर्थिक बर्ष २०८२÷८३ मा कस्ता कार्यक्रम लक्षित गर्दै हुनुहुन्छ ? के छ योजना ?
हामीले शिक्षा र स्वास्थ्यलाई विशेष जोड दिएर काम गर्ने भनेर लागेका छौा । अघिल्लो वर्षहरूमा पनि हाम्रो प्राथमिकता यही विषयमा थियो । यो अलि संवेदनशील विषय पनि भएकाले यो क्षेत्रमा नै केन्द्रित हुनुपर्छ भन्ने हाम्रो पनि जोड हो । जम्मा २५ लाखको सिलिङ थियो हामीले त्यसैमा अडेर कार्यक्रमहरू यो गर्ने भनेर चाहिँ बनाएका छौँ । ठुला भौतिक पूर्वाधारका कार्यक्रमहरू नै सम्पन्न गर्ने भन्ने योजना छैन सामान्य कामहरू गर्छौं । कहिँबाट केही व्यवस्थापन भयो भने हाम्रो समन्वय पूरा रहनेछ । प्लस टुसम्मको एउटा विद्यालय हुनुपर्छ भन्ने हाम्रो छलफल थियो । तर त्यो छैन होला जस्तो छ । विद्यार्थी संख्या नै न्यून छ गर्ने भनेर मात्र पनि भएन ।
० चुनाव ताका जनतालाई दिनु भएको आश्वासन के कति पुरा भए कति बाँकी छन् ?
हामीले चुनावताका बोलेका कुराहरू करिब ९० प्रतिशत जति सम्पन्न भइसकेको छ । बाँकी रहेको कुराहरू पनि हामी सम्पन्न गर्नेछौँ । हामीले हाम्रो स्रोत साधन अनुसार सकेको कामहरू गरेका छौँ । नागरिकहरूको माग त धेरै छ । सबै पूरा गर्न त गाह्रै पनि होला तर स्रोत साधनले भ्याएसम्म हामीले भनेका कुराहरु गर्दै गएका छौँ । मेरो यो दोस्रो कार्यकाल हो । पहिलो कार्यकाल नयाँ भएकाले केही सिकाइमा नै बित्यो अहिले दोस्रो कार्यकालमा भने राम्रोसँग नै लागिसकेका छौँ । केही पुरानो अनुभवहरू छ । कतिपय कुराहरु अवस्था र व्यवस्थाले गर्दा पनि चाहेर पनि गर्न सकिँदैन । कतिपय कुराहरू पूरा गर्नको लागि श्रोत साधनले पनि गाह्रो हुन्छ । हामीसँग असिमित आवश्यकताहरू छन् । जसले जे भने पनि आर्थिक कुराहरुमा नै आएर विकासका काम जोडिएका हुन्छन् । स्रोत साधन सिमित भएपनि नतिजा परिणाममुखी देखाउने भन्ने हाम्रो प्रयास जारी छ । सबै कामहरू जनताले सोचे जति र भनेजति हुन सकेको छैन त्यो स्वीकार्नुपर्छ तर पनि हामीले प्रयास गरिरहेका छौँ ।
० शहर भरिएर गाउँ रिक्तिनेक्रम तिब्र मात्रामा छ । युवाहरुलाई गाउँ फर्काउने कुनै योजना छ ?
हामीले गाउँमा नै रोजगारी सिर्जना गर्ने खालका कार्यक्रम गर्न सक्यो भने सहर जाने मानिसको लहरको कम हुन सक्छ । गाउँमा मानिस कम हुनु मान्छेहरु विदेश गएर वा सहर गएर मात्र होइन । हिजोको दिनमा र आजको दिनमा हेर्ने हो भने जन्मदर पनि कम छ । गाउँमा पनि रोजगारी नभएपछि मानिसहरु सहर जान्छन्, सहरमा पनि रोजगारी भनेजस्तो नपाएपछि विदेश जान्छन् । त्यसकारण गाउँ खाली भएको हो । यसरी जानुभएको व्यक्तिहरूलाई गाउँ फर्काउनुपर्छ भन्ने हाम्रो पनि धारणा हो । यसको लागि गाउँमा रोजगारी सिर्जना गर्नुपर्छ । कलकारखाना उद्योग खोल्नुपर्छ । अहिले हामीले बनाएको सानो योजनाको भरमा सबै मानिस गाउँ फर्किन्छन् भन्ने हुँदैन । रोजगारी मात्र होइन शिक्षा, स्वास्थ्य, सडक लगायतका पूर्वाधारका कुराहरूलाई पनि हेरेका हुन्छन् । यी सबै कुराको विकास गर्न समय लाग्छ त्यसकारण उहाँहरु एकैचोटी फर्किनुहुन्छ भन्ने हुँदैन । अहिले हामीले सोचेको चाहिँ पर्यटन क्षेत्रको विकास गर्न सकियो भने चाहिँ केही मद्दत होला भने हामीले सोचेका छौँ ।
० योजना सम्पन्न गर्ने क्रममा देखा परेका समस्याहरु के कस्ता छन् । तिनको समाधान कसरी भइरहेको छ ?
हाम्रोमा अहिले धेरै ठुलो खालको कुनै समस्या त आएको छैन । तर पनि अहिलेको परिवेशमा हेर्ने हो भने हाम्रो समाजमा मानिसमा पहिलेको तुलनामा काम गर्ने उत्साह मरिसकेको छ । सामाजिक कामप्रति मानिसको लगाब टुटिसकेको छ । पहिले पहिले धारा पधेरा के भयो भने मात्र पनि श्रमदान गर्नको लागि गाउँ वरपरका मानिसहरु जम्मा हुने गर्थे । अहिले दुईचारजना मानिस जुटाउन पनि हम्मेहम्मे पर्छ । यसो गरिएन भनेपनि अपन्नत्व भन्ने चिज हुँदैन । यस्ता कुराहरुले गर्दा केही हदसम्म समस्या भएको छ । त्यो बाहेक अरु कुनै समस्या छैन ।