बालबालिकाको क्षेत्रमा हामीले पछिल्लो समय राम्रो काम गरिरहेका छौँ

  • काभ्रे खबर
  • / अन्तरर्वार्ता /
  • २०८२ भाद्र १४, शनिबार (३ महिना अघि)
  • २२१ पटक पढिएको

बालबालिकाको क्षेत्रमा हामीले पछिल्लो समय राम्रो काम गरिरहेका छौँ

आर्थिक बर्ष २०८१÷८२ मा के कस्ता योजना सम्पन भए ? सबैभन्दा बढी कार्यक्रम कुन क्षेत्रमा भयो ? आगामी योजना के छ ?
गत असोजमा बाढी पहिरो गएपछि हामीले धेरै बजेट कार्यक्रमहरू विपदको क्षेत्रमा नै खर्च ग¥यौँ । पुननिर्माण, पुनर्संरचनामा नै धेरै खर्च गर्नुपर्ने भएको थियो । विपतले गर्दाखेरि धेरै कार्यक्रमहरू हामीले कार्यान्वयन गर्न पनि सकेनौं । आन्तरिकको कार्यक्रम धेरै गर्न नसकेपनि संघ र प्रदेशबाट आएको बजेट मार्फत भने हामीले केही कार्यक्रम गर्यौ । शिक्षा र बालबालिकाको क्षेत्रमा चाहिँ पछिल्लो समय हाम्रो वडामा राम्रै लगानीका साथ काम भइरहेको छ । हाम्रो वडामा मा.वि तहसम्मको अध्ययन हुने विद्यालय थिएन गत वर्षसम्म । नौ कक्षासम्म चाहिँ हामीले गत बर्षबाट नै सञ्चालन गर्यौँ । मा.वि तहसम्मको विषयगत शिक्षक व्यवस्थापनको लागि केही समस्या भइरहेको थियो । विषयगत शिक्षककै लागि भनेर हामीले १० लाख जति बजेट विनियोजन पनि गर्यौ । बालमैत्री नगरपालिका नै घोषणा भइसकेकाले बालबालिकाको क्षेत्रमा हामीले पछिल्लो समय राम्रो काम गरिरहेका छौँ । थोरै बजेटमा पनि हामीले यो क्षेत्रमा धेरै कामहरु गर्न सक्छौँ । यसले नतिजा पनि राम्रो ल्याएको छ । अन्यपालिकाका नागरिकहरू पनि यहाँ भिजिटको लागि धेरै आउनुभएको छ । रामेछाप, मन्थली, गोदावरी लगायतका पालिकाबाट भिजिटको लागि आउनुभएको थियो । यो वर्ष पनि हामीले विशेषगरी शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार र यहाँ भएका सम्पदा संरक्षणका क्षेत्रमा बजेट विनियोजन गरेका छौँ । जग नै बलियो बनाउनुपर्छ भनेर विशेष गरी बालबालिकाकै क्षेत्रमा धेरै लगानी गरिरहेका छौँ । त्यो बाहेक स्वास्थ्य, शिक्षा, खानेपानी, सिंचाई र पूर्वाधारका विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छौँ ।
चालु आर्थिक वर्षमा कस्ता खालका योजनामा लक्षित गरेर कार्यक्रम बनाउनुभएको छ ?
आवश्यकता केमा छ भन्ने कुराले बढी प्राथमिकता पाउँछ । त्यसैले हामी हरेक टोलटोलमा गएर कहाँ के आवश्यकता छ, कार्यक्रम के ल्याउँदा राम्रो हुन्छ भनेर नागरिकहरूसँग बसेर नै योजना बनाएका हुन्छौ । बजेट पनि त्यहिअनुसार बनेको छ । हाम्रो पहिलो प्राथमिकता भनेको चाहिँ शिक्षा नै हो । त्यसपछि स्वास्थ्य, सिंचाई, भौतिक पूर्वाधारका कार्यक्रमहरूमा लक्षित हुनेछ । आन्तरिकतर्फका आफ्ना कार्यक्रमहरू त छँदैछन् । त्यो बाहेक प्रदेश संघबाट पनि बजेटहरू आएको छ । चालु आर्थिक वर्षको लागि प्रदेश सरकारबाट ५ करोड रकम प्राप्त भएको छ । यसैगरी संघीय सरकारबाट पनि ६० लाख रुपैयाँ जति बजेट प्राप्त भएको छ । हाम्रो वडामा गुरुकुल पनि छ । त्यसको लागि पनि केही बजेट व्यवस्थापन गरेका छौँ ।
लक्षित समुदायका कार्यक्रम स्थानिय सरकारद्धारा हुन छोड्यो भन्ने गुनासो आउँछनी ?
लक्ष्मीपर्वको लागि पनि कार्यक्रमहरू भइरहेको छ । विशेषगरी हामीले मानव विकासकै क्षेत्रमा कार्यक्रमहरू गरिरहँदा महिला, बालबालिका, युवा, जेष्ठ नागरिक सबै समेटिनुभएको हुन्छ । यी सबै क्षेत्रको लागि भनेर जम्मा १० लाख रुपैयाँ बजेट विनियोजन गरेका छौँ । यही बजेट मार्फत उहाँहरूसँग बसेर के कस्तो कार्यक्रम गर्ने भन्ने एक चरणको छलफल पनि हुन्छ । उहाँहरूलाई पनि के आवश्यकता छ भन्ने कुरा पनि हुन्छ । युवाहरूलाई पनि के आवश्यकता छ, त्यसमा पनि लक्षित भएर कार्यक्रम गर्छौं । पछिल्लो समय युवाहरू देश छोडेर विदेश पलायन हुनेको सङ्ख्या दिनानुदिन बढिरहेको छ । यही अवस्थालाई मध्यनजर गर्दै सिपमूलक कुरामा उहाँहरूलाई लगाउनुपर्छ भन्ने हेतुका साथ हामी लागिपरेका छौँ । विदेश जाने भएपनि सिप सिकेको हुनुपर्छ । हामीले हामीले सकेको बजेटहरू विनियोजन गरेर उहाँहरूलाई सीप प्रदान गरिरहेका छौँ ।
वडामा शिक्षा क्षेत्रलाई थप सुधार गर्ने खालका कार्यक्रम के के भएका छन् ? आगामी दिनमा के छ योजना ?
शैक्षिक क्षेत्रमा पनि हाम्रो राम्रै लगानी रहेको छ । पनौती प्राविधिक शिक्षालयमा अध्ययन गर्ने विद्यार्थीको लागि हाम्रो वडाबाट अध्ययन गर्ने सबैलाई निःशुल्क शिक्षा प्रदान गर्नेछौँ र भएको खर्चले सबै वडाले बेहोर्ने भनेका छौँ । अहिलेसम्म दुईजना हुनुभएको छ । हामीले वडा कार्यालयको फेसबुक पेज लगायतका विभिन्न सूचना माध्यमबाट उहाँहरू नागरिकहरूसम्म यो सूचना पुर्याउन पहल पनि गरिरहेका छौँ । अहिलेसम्म दुईजना मात्रै सम्पर्कमा आउनुभएको छ । कोही अरुले पनि चाहनुभयो भने हामी यो सहयोग गर्न तयार छौँ । जेष्ठ नागरिकहरूको कार्ड नवीकरणको काम पनि हामीले सहज रूपमा गर्ने वातावरण निर्माण गरेका छौँ । घरघर बस्ती बस्तीमा नै गएर नवीकरण गर्ने काम पनि सम्पन्न गरिसक्यो । लगभग ३ सय जना जतिको चाहिँ हामीले घरघर टोलटोलमा गएर गर्यौ अब यहाँ स्थायी रुपमा नबस्नेहरु पनि हुनुहुन्छ कतिजना । उहाँहरूको लागि वडाबाटै हामीले सेवा प्रदान गर्दै आइरहेका छौँ ।
विकास निर्माणको कामना अरु निकायहरूसँग यहाँहरूको समन्वयात्मक भूमिका कस्तो छ ?
संघ, प्रदेशसँग समन्वय भइरहेको छ । त्यो बाहेक अन्य निकायहरूसँग पनि सकेको पहल चाहिँ गरिरहेका छौँ । कार्यक्रमहरू गर्नको लागि ठुलै मात्रमा बजेट चाहिन्छ भन्ने पनि हुँदैन । कतिपय साना योजनाहरु सम्पन्न गर्नको लागि बजेट कम हुँदा अथवा हुँदैनहुँदा पनि गर्न सकिन्छ । तर अधिकांश कार्यक्रम चाहिँ हामीले वडाकै बजेटमार्फत नै गरिरहेका हुन्छौँ । कुनै सानो कार्यक्रम गर्नुपर्यो भनेदेखि संघ वा प्रदेशसँग सहयोग मागिरहने भन्ने कुरा पनि हुँदैन । कहिलेकाहीँ नगरपालिकामा कुनै कार्यक्रमको लागि सुनिश्चित भएर आएको हुन्छ । त्यो कार्यक्रममा हाम्रो वडा सधैं पर्छ भन्ने हुँदैन । समन्वय त हामीले गरिरहेका छौँ । मैले व्यक्तिगत रुपमा पनि सकेको पहल गरिरहेको छु । हामीले गर्ने हाम्रोतर्फबाट समन्वय भनेको त राम्रो नै छ । हामीले गरिरहेका पनि छौँ ।
स्वास्थ्यमा सबै नागरिकको पहुँच समान रुपले प्रदान गर्नको लागि के गरिरहनुभएको छ ?
स्वास्थ्यमा सबै नागरिकको पहुँच पुर्याउनको लागि सकभर हाम्रो तर्फबाट प्रयास भइरहेको हुन्छ । विभिन्न स्वास्थ्य शिविरहरूको कार्यक्रम निरन्तर रुपमा हामीले गर्दै आएका छौँ । हामीले जेष्ठ नागरिकको लागि शिविरको कार्यक्रम गर्यौ । धुलिखेल अस्पतालसँगको समन्वयमा वडामा नै हामीले स्वास्थ्य बीमाको क्याम्पहरु चलाइरहेका थियौं । फेरि रेफरको कुरामा फेरबदल भएपछि अहिले केही समयको लागि स्थगित भएको छ । यसमा चाहिँ नागरिकहरूको पनि केही गुनासो छ ।

अभियानकै रूपमा गरिएको कार्यक्रमहरु केही छ ?
अभियान कै रूपमा हामीले विभिन्न कार्यक्रमहरू गर्दै आएका छौँ । बालबालिकाको क्षेत्रमा चाहिँ हामीले अभियानको रुपमा धेरै कार्यक्रमहरू गर्यौँ । अहिले पनि निरन्तर रुपमा गरिरहेका छौँ । वडामा १७ वटा बाल समूहहरू छ । उहाँहरूको मासिक रूपमा बैठक हुन्छ । अहिलेसम्म विद्यालय स्तरमा आठवटा बालसमुह छ । बस्ती स्तर १० वटा बालसमुह छ । सबै बालसमुहका प्रतिनिधि लिएर आएर हामीले वडामा एउटा बाल सन्जाल गठन गरेका छौँ । उहाँहरूको पनि मासिक बैठक हुने गरेको छ । उहाँहरूको लागि पनि हामीले विभिन्न खालका क्रियाकलाप सञ्चालन गरिरहेका हुन्छौँ । जस्तै वक्तित्वकला, निबन्ध प्रतियोगिता जस्ता कार्यक्रम गरिरहेका हुन्छौँ । सामुदायिक र संस्थागत विद्यालयको प्रहरूसँग घुम्ती बैठक पनि बस्ने गरेका छौँ ।
खानेपानीको क्षेत्रमा पछिल्लो समय कस्ता खालका सुधार भएको छ ?
खानेपानी चाहिँ पर्याप्त छ तर यसमा व्यवस्थापनको काम चाहिँ गर्नुपर्नेछ । अलि अव्यवस्थित भएको छ । काभ्रे भ्याली एकीकृत खानेपानीको ५÷६ घरधुरीमा खानेपानी पु¥याउने र नयाँ पनि विस्तार गर्ने भन्ने कुराहरू भइरहेको थियो तर असोजको बाढी पहिरोले हामीलाई समस्या भयो । बिछाएका लाइनहरू पनि यत्तिकै छन् । खानेपानीका लागि केही संस्थाहरुले सहयोग पनि गरिरहेको छ । प्रदेश सरकारबाट पनि हामीलाई केही सहयोग प्राप्त भएको छ । खानेपानीको ट्याङ्कीहरू पनि निर्माण भइरहेको छ । अहिले नयाँ ६४÷६५ घरधुरीमा खानेपानीको व्यवस्थापन ग¥यौ । एक घर एक धाराको रणनीति पूरा नभएपनि हामीले सामुदायिक धारा मार्फत खानेपानीमा कमी हुन दिएका छैनौँ ।
विपद् व्यवस्थापनको पाटोमा वडाले पूर्व तयारी स्वरुप के कस्तो काम गरेको छ ?
विपत् व्यवस्थापन समिति सबै वडामा गठन गरिएको छ । सोहीअनुसार हाम्रो वडामा पनि छ । पुण्यमाता खोलाले गर्दा चाहिँ अलि असर पर्छ । त्यो बाहेक त्यति धेरै ठूलो समस्या परिहाल्ने खालको चाहिँ छैन । तर पनि भइपरि आउने कुरा यो नै हुन्छ अथवा हुँदैन भनेर तोक्न चाहिँ मिल्दैन । २५ जनाको स्वयंसेवक समिति पनि छ हाम्रोमा । हाम्रो वडामा सशस्त्र प्रहरीको टोली पनि बस्नुहुन्छ । त्यसले गर्दा उहाँहरूसँग पनि हामीले समन्वय गरिरहेका हुन्छौँ ।
वडामा शिक्षा क्षेत्रलाई थप सुधार गर्ने खालका कार्यक्रम के के भएका छन् ? आगामी दिनमा के छ योजना ?
गत वर्षबाट हाम्रोमा माध्यमिक तहको एउटा विद्यालय पनि सञ्चालनमा आइसकेको छ । यो शैक्षिक सत्रमा हाम्रो वडाबाट पहिलो एसइइ दिने बालबालिकाहरूले तयारी गरिरहनुभएको छ । हाम्रो वडामा रहेको ग्रामोदय माध्यमिक विद्यालय बन्द थियो । अहिले त्यसलाई पुनःसञ्चालन गरेर लगभग ९० जना बालबालिका त्यहाँ अध्ययन गरिरहनु भएको छ । हाम्रोमा जम्मा तीनवटा सामुदायिक विद्यालय छ । विद्यालयमा हाम्रो तर्फबाट गर्नुपर्ने सहयोग पहल हामीले गरिरहेका छौँ । छुट्टै नगरपालिकाबाट पनि शाखागत रूपमा कार्यक्रमहरू भइरहेको हुन्छ । शिक्षामा राम्रो नै छ ।
आगामी योजना के छ ? निर्वाचनको समयमा नागरिकहरूसँग गर्नुभएको प्रतिबद्धता सबै पुरा हुन्छ ?
निर्वाचनको समयमा हामीले नागरिकहरूसँग केही प्रतिबद्धता गरेर आएका थियौँ । ती लगभग पूरा भइसकेका छन् । पूर्वाधार विकासका कामहरू केही बाँकी छन् । थोरै बजेटले नपुग्ने र ठूलो बजेटको भोलुम हामीसँग नहुने भएकाले केही कामहरू बाँकी छ । तिनलाई पनि हामीले सकेसम्म अन्तबाट बजेट लिएर आएर भएपनि पूरा गर्ने प्रयास गरिरहेका छौँ । गत वर्ष असोजमा आएको बाढी पहिरोले पनि हामीलाई केही समस्या भयो । विनियोजन भएर आइसकेका बजेटहले पनि केही काम हुन सकेन । तर पनि हामीले बोलेका कुराहरू चाहिँ हामीले गर्दै गएका छौँ । नागरिकहरूलाई असन्तुष्ट नै हुने गरेर कुनै त्यस्ता कदम चलेका छैनौं ।

ताजा अपडेट

खोजी गर्नुहोस