विद्यार्थीहरूको पढाई नबिग्रियोस् भनेर सट्टा शिक्षकको अभ्यास यो वर्षबाट गर्ने योजना छ

  • काभ्रे खबर
  • / अन्तरर्वार्ता /
  • २०८२ भाद्र १४, शनिबार (३ महिना अघि)
  • २२२ पटक पढिएको

विद्यार्थीहरूको पढाई नबिग्रियोस् भनेर सट्टा शिक्षकको अभ्यास यो वर्षबाट गर्ने योजना छ

आर्थिक बर्ष २०८१÷८२ मा नगरपालिकाको शिक्षा मार्फत के कस्ता गतिबिधि भए ? बजेट कति थियो ?
गत वर्षको बजेट आन्तरिकतर्फ भनेको १ करोड ४५ लाख हाराहारी थियो । आन्तरिक बजेट शिक्षक व्यवस्थापनमा नै बढी खर्च हुन्छ । विषयगत शिक्षक मा.वि निमाविमा कमै छन् । त्यसैले पनि अलि बढी नै खर्च हुन्छ । यसको लागि लगभग ९० लाख जति खर्च हुने गरेको छ । मावि र निमाविको लागि शिक्षक व्यवस्थापन गर्न नगरपालिकाले नै खर्च गर्ने गरी काम गरिरहेको छ । त्यसैगरी नगरपालिकाले अतिरिक्त क्रियाकलापलाई पनि सक्रिय रूपमा अगाडि बढाइरहेको छ । जस्तै हाजिरी जवाफ प्रतियोगिता, चित्रकला प्रतियोगिता, विभिन्न खेलकुदका गतिविधि सञ्चालन गर्दै आएको छ । यस्ता कार्यक्रम कुनै नगरस्तरीय छन्, कुनै जिल्ला स्तरीय पनि छन् । हामीसँग एकजना घुम्ती शिक्षक पनि हुनुहुन्छ । जसले आलोपालो प्रणालीमा फरक विद्यालयमा गएर अध्यापन गराउनुहुन्छ । यसैगरी शिक्षकहरूलाई मेन्टरिङ गर्ने र प्राविधिक सहयोग गर्ने काम पनि गर्दै आएका छौँ । यसैगरी नियमित अनुगमनको कामलाई निरन्तरता दिएका थियौँ । शैक्षिक गुणस्तर वृद्धिको लागि हामीले विभिन्न कार्यक्रमहरू गर्दै आएका छौँ । कक्षा आठको परीक्षा नगरस्तरीय सञ्चालन गर्ने कुरा नियमित चलिरहेकै छ । अरु कक्षाहरूको परीक्षाको लागि प्रश्नपत्र पनि नगरबाटै विज्ञ शिक्षकहरूको टोलीसहित मिलेर बनाउने र हरेक त्रैमासिक परीक्षाहरू सञ्चालन गर्दै फलोअप गर्ने भन्ने प्रणाली चाहिँ बसाएका छौँ ।
अतिरिक्त कक्षाहरू संचालनमा नगरपालिकाले केही पहल गरेको छ ?
एक सय घण्टा समय अतिरिक्त कक्षा संचालनको लागि छुट्याएका छौँ । यसैगरी शिक्षकहरूलाई हामीले अतिरिक्त कक्षाहरू सञ्चालन गर्नका लागि पनि प्रोत्साहन गर्दै आएका छौँ । नियमित कक्षा सञ्चालन हुने समय बाहेकका समय र विदाको समय मिलाएर यसरी अतिरिक्त कक्षाहरू पनि सञ्चालन गर्नुपर्छ भनेर हामीले उहाँलाई प्रोत्साहन गरिरहेका छौँ । विशेषगरी कक्षा आठ, एसईई र अन्य कक्षाका कमजोर विद्यार्थीहरूलाई सहयोग गर्नेगरी अर्को कक्षाहरू पनि छ । यसले पनि विद्यार्थीहरूको शैक्षिक नतिजा सुधार गर्नको लागि थप सहयोग गरेको छ भन्ने हामीलाई महसुस भइरहेको छ । पछिल्लो समय एसइइको नतिजामा पनि सुधार भएको छ । एसइइको नतिजा ९२÷९३ प्रतिशत पुगिसकेको छ । कक्षा १२ को नतिजा पनि ८२ प्रतिशत नतिजा देखिएको छ । यो उपलब्धि हासिल गर्नको लागि हामीले विभिन्न प्राविधिक सहयोगहरू गरेका छौँ ।
शिक्षकहरुलाई समायानुसार कत्तिको तालिम प्राप्त बनाईरहनुभएको छ ?
शिक्षकहरूलाई प्राविधिक रूपमा अवल राख्नुपर्छ भन्ने कुरामा हाम्रो पनि जोड हो । त्यसैले ४५ दिने कम्प्युटर तालिम पनि हामीले असारको अन्तिमतिर सञ्चालन गरेका थियौँ । यसले गर्दा कक्षाकोठा ह्यान्डलिङमा थप सहज भएको छ । आवश्यकताको आधारमा हामीले तालिम दिने काम गरिरहेका छौँ ।
स्थानीय पाठ्यक्रम सबै कक्षामा लागु भैसकेको हो ?
अहिले स्थानीय पाठ्यक्रम कक्षा १ देखि ८ सम्म सञ्चालनमा आइसकेको छ । पाठ्यक्रम बने पनि पाठ्यपुस्तक सबैको बनिसकेको छैन । गत वर्षसम्म हामीले कक्षा चार, सात र आठको बनायौँ । यो वर्ष चाहिँ ६ र ५ को यो वर्ष बन्नेछ । एक देखि ३ सम्मको चाहिँ पाठ्यक्रम नै एकचोटी फेरि हेर्नुपर्ने अवस्था छ । यसमा केही सुधार गर्ने कार्यक्रमहरू यो वर्ष बनाएका छौँ ।
चालु आर्थिक वर्षकै लागि भनेर अरु थप कार्यक्रमहरु के–के बनाउनुभएको छ ? योजनाहरु के कस्ता छन् ?
विगतका दिनहरू जस्तै अतिरिक्त क्रियाकलाप, शिक्षकहरूलाई तालिम, नगरस्तरीय परीक्षा, भौतिक संरचनाहरू निर्माण लगायतका कार्यक्रमहरू राखेका छौँ । विद्यालयहरु र विभिन्न संघसंस्थाको सहयोग, समन्वय र साझेदारीमा निरन्तर शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका छौँ । पुराना कार्यक्रमहरूलाई पनि हामी निरन्तर रुपमा लैजानेछौँ भने केही नयाँ कार्यक्रमहरू पनि हामीले समावेश गरेका छौँ यो वर्ष । शिक्षक व्यवस्थापन पनि हाम्रो प्रमुख कार्य नै भइहाल्यो । परीक्षालाई थप व्यवस्थित बनाउँदै जाने काम पनि हुन्छ । यसैगरी यो वर्ष चाहिँ बाल विकास केन्द्रहरूलाई नमुनाको रूपमा विकास गर्नको लागि २५ जनाभन्दा बढी विद्यार्थी भएको ठाउँमा क्रमिक रूपमा लैजाने भनेर योजना बनाएका छौँ । यो वर्ष चाहिँ तीनवटालाई नमुना बनाउने भनेर लागेका छौँ । यसको लागि शैक्षिक सामग्री लगायतका विभिन्न आवश्यक सामग्री सहयोग गर्नेछौँ । धुलिखेलमा रहेका क्याम्पसका स्टाफहरूलाई अध्ययनगरी स्तर वृद्धि गर्न सहयोग गर्ने कि भन्ने पनि छ । प्र.अ बैठक मासिक रूपमा नियमित हुने गरेको छ । विद्यालय व्यवस्थापन समितिलाई पनि यचष्भलतबतष्यल का केही कार्यक्रम गर्ने भन्ने योजना पनि छ । कम्प्युटर तालिमको कार्यक्रमहरू पनि निरन्तर रुपमा चलिरहेको छ । आइसिटी तालिमहरूका कुरा पनि छन् । अर्को चाहिँ हामीले बृहत शैक्षिक मेलाको कार्यक्रम राखेका छौँ । विद्यालय स्थापना भएका असल अभ्यासहरू यहाँ प्रदर्शन हुनेछ । यसमा सबै विद्यालयहरूलाई सहभागी गराउने गरी हामीले यो कार्यक्रमको पनि आयोजना गर्दैछौँ । यसलाई हामीले शैक्षिक मेलाको नाम दिएका छौँ । अनुगमनका कामहरू निरन्तर नियमित रुपमा नै चल्नेछ ।
छात्रवृद्धिको कार्यक्रम पनि छन् ?
सीमान्तकृत र विपन्न बालबालिकाको लागि हामीले निःशुल्क शिक्षा कार्यक्रम पनि राखेका छौँ । हुन त निःशुल्क अनिवार्य शिक्षा भनेर संघले जारी गरेको ऐन पनि छ । शिक्षा दिन नै कठिन हुने घरका विद्यार्थीलाई पुरै जिम्मा नगरपालिकाले नै लिने गरी काम गर्नुपर्छ भन्ने कुरा हो । सीमान्तकृत तथा विपन्न बालबालिकालाई निःशुल्क शिक्षामा सहज पहुँच अभिवृद्धि गर्न लागतको कार्यक्रम हो । त्यसमा उनीहरूको शैक्षिक सामग्री, पोशाक लगायतका सामान सहयोग गर्न पहिले उनीहरूको अवस्था अध्ययन गरेर आवश्यक व्यवस्था पनि गर्नुपर्छ भन्नेसम्मका कुराहरू यसमा पर्छ । यसको लागि सुरुमा चाहिँ बालबालिकाको पहिचान गर्नुपर्छ । त्यो बाहेक अन्यत्रबाट आएका छात्रावृत्तिका कार्यक्रमहरू त नियमित रुपमा चलिनै रहेका छन् ।
प्रत्यक्ष रुपमा बालबालिकालाई नै सहयोग पुग्ने गरी केही कार्यक्रम तथा योजनाहरु छ की छैन ?
हाम्रा सबै कार्यक्रमहरु बालबालिकालाई नै सहयोग पुग्ने गरी गरेका हुन्छौँ । चालु आर्थिक वर्ष सट्टा शिक्षकको अभ्यास पनि गर्ने भन्ने योजना छ । यो कार्यक्रम भनेको चाहिँ शिक्षकहरूको लामो विदाको समयमा विद्यार्थीहरूको पढाइमा असर नपरोस् भन्नका लागि हो । विशेषगरी जाडो बिदा, गर्मी बिदा बाहेक सुत्केरी बिदा अलि लामो समयको हुन्छ । कुनै शिक्षक बिरामी पर्नुभयो भने उहाँहरूको पनि विदा यति नै हुन्छ भन्न सकिँदैन । कुनै त लामो बिदा पनि बस्नुपर्ने हुनसक्छ । त्यसमा विद्यार्थीहरूको पढाई नबिग्रियोस् भनेर सट्टा शिक्षकको अभ्यास यो वर्षबाट गर्ने भन्ने योजना छ । तीनदेखि पाँचजना शिक्षक यसरी व्यवस्थापन गर्न सकियो भने सहज हुन्छ कि भन्ने हाम्रो तयारी छ ।
अभियानकै रूपमा गरिरहनुभएको कार्यक्रमहरू पनि छ ?
हामीले ठूला अभियानकै रूपमा ल्याएको नयाँ कार्यक्रमहरू त्यस्तो अहिलेको लागि धेरै छैन । संघीय सरकारबाटै आएका कार्यक्रमहरुलाई हामीले कार्यान्वयन गर्ने, अनुगमन गर्ने, निरीक्षण गर्ने कामहरू गरिरहेका छौँ । यसका साथसाथै फिडब्याकहरू दिने, सहजीकरण गरिदिने, एकरुपता ल्याउने, समस्या भयो भने नगरपालिकाबाट नै सहजीकरण गरिदिने कामहरू भइरहेको छ । पछिल्लो समय हामी आइसिटी बेसमा रहेर काम गरिरहेका छौँ । यसमा विभिन्न सफ्टवेरहरू पनि डेभलप भइसकेको छ । सम्भव भयो भने विद्यालयमा पनि यसको परीक्षण गर्ने कि भन्ने पनि छ । गत असोजमा गएको बाढी पहिरोले विद्यालयका विभिन्न भौतिक संरचनामा पनि असर पु¥याएको थियो । तिनको पुननिर्माण अझै बाँकी छ । तिनको पुननिर्माण गतवर्ष पनि धेरथोर भयो र यो वर्ष पनि ती कामले निरन्तरता पाउनेछन् । यसमा सुधार हुँदै जानेछ । ती बाहेक अरु त नियमित कार्यक्रमहरू नै छन् । राष्ट्रपतिकप, मेयरकप कार्यक्रमहरू निरन्तर जानेछ । विद्यालय नर्स, दिवा खाजा र सनेटरी प्याड कार्यक्रमको प्रभावकारिता कस्तो रहेको छ ?
यति नै एउटा कार्यक्रमको प्रभावकारिता निकै नै राम्रो रहेको छ । स्यानेटरी प्याडको कार्यक्रमले गर्दा हाम्रो छात्राहरूको लागि निकै सहज पनि भएको छ । यसैगरी दिवा खाजाको कार्यक्रमले गर्दा स–साना भाइबहिनीको लागि विशेष सहयोग पुगेको छ । उनीहरूलाई विद्यालयमा आएर भोकको कारण पढाइमा ध्यान केन्द्रित नहुने जस्तो वातावरण अहिले सिर्जना भएको छैन । सामुदायिक विद्यालयमा प्रायजसो आर्थिक रूपमा सबल भइनसकेका परिवारका भाइबहिनीहरू धेरै हुनुहुन्छ । उहाँलाई यस्ता खालका कार्यक्रमले धेरै नै सहयोग पुग्ने गरेको छ ।
शैक्षिक विकासको लागि अन्य निकायहरूसँग यहाँहरूको समन्वयात्मक भूमिका कतिको छ ?
हामीले समन्वयको पाटोहरू निकै बलियो बनाएका छौँ । यसमा विशेषगरी संघ र प्रदेश सङ्घको नगरपालिकाको समन्वय त एकदमै बलियो छँदै नै छ । त्यो बाहेक हामीले शिक्षासँग सम्बन्धित रहेर काम गर्ने विभिन्न संघसंस्थाहरूसँग पनि समन्वयको पाटोलाई बलियो बनाइरहेका छौँ ।
शैक्षिक गुणस्तर सुधारको लागि कस्ता खालका कार्यक्रम बनाउनुभएको छ ?
अभियानकै रूपमा भएका कार्यक्रमहरू धेरै छन् र योजनाहरू पनि छन् । आइसिटी कार्यक्रमलाई अलि धेरै जोड दिएका छौँ । पछिल्लो समय यो अभियानकै रुपमा हामीले सञ्चालन गरिरहेका छौँ । यसैगरी सुपरभिजन अनुगमनको कामलाई विशेष प्राथमिकतामा राखेका छौँ । अतिरिक्त क्रियाकलापले गर्दा शैक्षिक गुणस्तर सुधारमा निकै राम्रो प्रभाव परेकाले यसलाई पनि हामीले निरन्तर रुपमा अगाडि बढाइरहेका छौँ । आवश्यकताको आधारमा हामी अरु पनि थप गर्दै जानेछौँ । शैक्षिक गतिबिधी भन्ने कुरा विद्यालयमा मात्र सीमित हुनुहुँदैन । हामीले विद्यालय बाहिर पनि शैक्षिक अवस्थालाई सुधार गर्न सकिने खालका विभिन्न गतिविधिहरू गर्न सक्छौँ । त्यसैले हामीले यसमा पनि विविध बिधामा रहेर काम गरिरहेका छौँ । जस्तै धुलिखेल कारागारमा रहेका कैदीबन्दीहरूलाई निरन्तर शिक्षाको लागि सहयोग गरेका छौँ । शिखलापुर सामुदायिक केन्द्र मार्फत हामीले यस्ता गतिविधिहरू सञ्चालन गर्दै आएका छौँ । विद्यालयको पहुँच सबैजना हुनुपर्छ भन्ने हिसाबले पनि काम गरिरहेका छौँ ।
आन्तरिक बाहेक नगरपालिकामा संघीय सरकार र प्रदेश सरकारबाट आएका कार्यक्रमहरूको प्रभावकारिता कस्तो छ ?
आन्तरिक कार्यक्रमहरू सँगै हामीले संघीय र प्रदेशबाट आएका कार्यक्रमहरूलाई पनि निरन्तरता दिएका छौँ । त्यसको पनि प्रभावकारिता निकै राम्रो छ । विद्यालय नर्स कार्यक्रम अहिले पाँचवटा विद्यालयमा सञ्चालन भइरहेको छ । संघको कार्यक्रमहरू शैक्षिक गुणस्तर वृद्धिमा नै धेरै छ । अहिले भौतिक सुधारका कार्यक्रमहरू निकै कम भइरहेको छ । शिक्षक तलब, अनुगमन लगायतका कार्यक्रमहरूमा लक्षित छ । विद्यालय कर्मचारी र इसिडी शिक्षकलाई माथिबाट आएको तलब निकै कम हुन्छ । त्यसमा नगरपालिकाले रकम थप गरेर दिने गरेको छ । कम्तिमा ७ देखि ९ हजारसम्म थप गर्ने गरेका छौँ । इसिडी शिक्षक, विद्यालय कर्मचारीमा लेखासहायकलाई यसरी रकम थप गरी तल दिने गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस