शिक्षाले मानिस राम्रो बनाउने भएकोले सानैदेखी राम्रो शिक्षा दिनुपर्छ

  • काभ्रे खबर
  • / अन्तरर्वार्ता /
  • २०८२ भाद्र १४, शनिबार (३ महिना अघि)
  • ३१७ पटक पढिएको

शिक्षाले मानिस राम्रो बनाउने भएकोले सानैदेखी राम्रो शिक्षा दिनुपर्छ

आर्थिक वर्ष २०८१÷८२ कस्तो रह्यो ?
समग्रमा आर्थिक वर्ष २०८१÷८२ राम्रो भयो । एक दुई÷वटा योजना विभिन्न समस्याका कारण सम्पन्न भएन, बाँकी जति हामीले गर्ने भनेर योजना सम्पन्न भयो । हाम्रोमा भएको एक करोड ३० लाख बजेट मार्फत हामीले विभिन्न शीर्षकमा काम गर्यौं । बाटो ढलान गर्ने, वाल बनाउने लगायतका कार्यक्रमहरू भए । सडकहरूको काम पनि निरन्तर चलिरह्यो । अहिले पनि भइरहेको छ । एबीएम स्कुल जाने बाटोको सडक लगभग तयार भयो । थोरै मात्र काम बाँकी छ । घर घरमा धारा पुगिसक्यो तर पानी पुग्न नसकेको अवस्था छ । यसमा चाहिँ अलि समस्या नै छ । बजार क्षेत्रमा केही ठाउँमा डिप बोरिङ गरेको पानीहरू वितरण गर्ने भनेर हामी लागिपरेका छौँ ।
आर्थिक वर्ष २०८२÷८३ मा कस्ता योजनामा केन्द्रित रहने योजना बनाउनुभएको छ ? तयारी के छ ? बजेटहरूको अवस्था के छ ?
समस्या केमा छ भन्ने कुरा हो । हाम्रोमा अहिले खानेपानीको लागि निकै समस्या भइरहेकोले यो वर्ष मात्र होइन गत वर्षहरूमा पनि हामी खानेपानीको कार्यक्रममा बढी केन्द्रित थियौँ । गर्छु भन्दाभन्दै नि विविध कारणहरूले खानेपानीका योजनाहरू असफल भइरहेका छन् । डिप बोरिङको योजना थियो । त्यो सम्पन्न हुन सकेन । हाम्रो वडामा सार्वजनिक जग्गाहरू धेरै छैन । वृद्धवृद्धाहरूको लागि एउटा पार्क बनाउने योजना रहेको थियो। जग्गा उपलब्ध गराउन नसकेकै कारण यो सम्पन्न हुन सकेन । व्यक्तिहरूको जग्गामा भर पर्नुपर्ने भएकाले अलि समस्या चाहिँ छ । आर्थिक वर्ष ८२÷८३ मा बजेट अलि कम छ । जम्मा १ करोड १० लाख रुपैयाँ मात्रै छ । बजेट अलि घटेको छ । हाम्रोमा सामुदायिक विद्यालयहरू पनि कम छ । त्यसकारण शिक्षाको क्षेत्रमा पनि हामीले गर्नुपर्ने कामहरु लगभग गरिसकेका छौँ । स्वास्थ्यको क्षेत्रमा पनि राम्रै छ । सबै क्षेत्रमा हामीले बिस्तारै सुधार गर्दै लगिरहेका छौँ ।
० आधारभुत स्वास्थसेवा आफ्नो वडाभित्र २४ सै घन्टा प्राप्त गर्न सक्ने बाताबरण निर्माण भएको छ ?
हाम्रो वडामा स्वास्थ्य चौकी छुट्टै रहेको छ । स्वास्थ्य चौकीबाट नियमित रूपमा प्रदान हुँदै आइरहेको सेवा सुविधालाई हामी निरन्तरता दिएका छौँ । कहिलेकाहीँ स्वास्थ्यकर्मीहरू टोलटोलमा नै गएर उहाँहरूको टोली सहित विभिन्न खालका सुविधाहरु प्रदान गरिरहनुभएको हुन्छ । ब्लड प्रेसर, सुगर, डेङ्गी लगायतको टेस्टहरु बेलाबखतमा भइरहेको हुन्छ । यसरी नियमित रूपमा करिब डेढ वर्षजस्तो भयो हामीले यसरी वडाभित्रका पाँचवटा टोलमा गएर सुविधाहरू प्रदान गर्छौं । हाम्रोबाट शिर मेमोरियल हस्पिटल पनि धेरै टाढा छैन । यसले गर्दाखेरि धेरै नै सहज भएको छ तर पनि हामीले वडाबाट प्रवाह गर्नुपर्ने नियमित स्वास्थ्य सेवाहरूमा कमी हुन दिएका छैनौँ । औषधिहरू राम्रो नै छ । हाम्रो नगरपालिकाको सबै वडामा स्वास्थ्य संस्था छ । हाम्रोमा पनि छ । हाम्रो स्वस्थ्य चौकीबाट दिनमा कम्तिमा पनि २५÷३० जनाले सुविधा लिइरहनुभएको छ । भवनहरु राम्रो छ । स्वास्थ्यकर्मीहरु पनि पुग्दो मात्रामा नै हुनुहुन्छ । हामीले बेला बखत पारेर विभिन्न स्वास्थ्य शिविरहरु पनि राखिरहेका हुन्छौँ । त्यो बाहेक वडाका नागरिकहरुलाई स्वास्थ्य सेवामा कमी हुन दिएका छैनौं । नागरिकहरुले स्वास्थ्य सेवाबाट बञ्चित हुनु परेको छैन । हामीले सकेसम्म स्वास्थ्यको क्षेत्रमा पहल गरेर कामहरु गरिरहेका छौँ । आगामी बर्षहरुमा पनि हामी यो क्षेत्रलाई विषेश ध्यानमा राखेर नै कार्यक्रम बनाउने छाँै ।
० शिक्षाका लागि के–के गर्नु भयो ? जस्तो आधारभूत शिक्षा, माध्यमिक शिक्षाका लागि के गर्नुभएको छ ?
हाम्रो वडामा शैक्षिक विकासको लागि हाम्रो तर्फबाट गर्न सक्ने पहल कदम चालिरहेका छौँ । वडामा जम्मा प्रा.वि तहको एउटा सामुदायिक विद्यालय रहेको छ, बाँकी संस्थागत छन् । नगरपालिकाबाट विद्यालय मर्जको कुराहरू एकदमै धेरै आइरहेको छ । यो विद्यालयलाई पनि मर्ज गर्नुपर्छ भन्ने कुरा छ । तर हाम्रो वडामा अरु विद्यालय नभएकाले सामुदायिक विद्यालय एउटा भएपनि हुनुपर्छ भन्ने हामी सबैको माग हो । सकभर यो विद्यालयलाई चाहिँ मर्ज गर्न दिनु हुँदैन भन्ने हाम्रो कुरा हो । विद्यार्थी सङ्ख्या पनि थोरै भएकाले यो कुराहरू आएको हुनसक्छ । हामीले उक्त विद्यालयमा भौतिक संरचनाहरूमा चाहिँ निकै काम गरिसकेका छौँ । आर्थिक रूपमा सशक्त भएर हो अथवा बजारमुखी भएर हो हाम्रो वडामा निजी विद्यालयहरू चाहिँ धेरै छन् । निजी विद्यालयका भौतिक संरचनामा सरकारी पैसा खर्च गर्ने कुरा भएन । तर अन्य क्रियाकलापमा चाहिँ हामीले उहाँहरुलाई पनि प्राथमिकता चाहिँ दिन्छौँ । एउटा मात्र विद्यालय भएको हुँदा बजेट राम्रै लगानी हुने गरेको छ । प्रावि विद्यालय भएको हुँदा साना बालबालिका धेरै छन् । त्यसकारण खाजाहरुको व्यवस्थापन पनि राम्रो नै भएको छ । भवनहरुका कुराहरु पनि छ । विद्यालय नजिकै एउटा पोखरी पनि थियो त्यसको संरक्षणको काम पनि भएको छ । बालबालिकालाई खेल मैदानको समस्या छ । यसको लागि हामीले प्रयास चाहीँ गरिरहेका छौँ । यो एउटा पनि व्यवस्थापन भयो भने विद्यालय धेरै राम्रो हुन्छ । मानिस राम्रो बनाउने नै शिक्षाले हो । त्यसकारण सानैदेखी राम्रो शिक्षा दिनुपर्छ । त्यसमा हाम्रो जोड काम नै रहेको छ । नगरपालिकाले पनि शिक्षालाई राम्रो बजेटहरु राख्ने गरेको छ । विभिन्न कार्यक्रमहरु शिक्षाको क्षेत्रमा भइरहेको छ । हाम्रो वडाको तर्फबाट पनि शैक्षिक विकासको लागि सक्नेसम्मका कार्यक्रमहरु गरिरहेका छाँै । आगामी दिनमा पनि हामी यसलाई जोड दिएर कार्यक्रमहरु बनाउनेछौँ ।
० कृषिलाई आधुनिकिकरण, यान्त्रिकिकरण, व्यावसायिकरण र बजारीकरण गर्ने कार्यक्रम ल्याउनु भएको छ ?
हाम्रो वडा बजार क्षेत्र भएकाले त्यसको लागि खासै कामहरू छैनन् । पहिले पहिले कौशी खेतीका तालिमहरू दिएको हो । तर खासै प्रभावकारी नभएपछि पछिल्ला दिनमा तिनले निरन्तरता पाएको छैन । फोरमैला व्यवस्थापनको लागि पनि सहज हुन्छ भनेर हामीले सँगै जोडेर तालिमहरु पहिले दिएका थियौँ । कम्पोस्ट मल बनाउन सहज हुन्छ भनेर हामीले सुरुवात चाहिँ गरेका हौँ । यसले गर्दा पछिल्लो समय फोहोर व्यवस्थापनमा पनि केही सजिलो चाहिँ भएको छ । यसपालि चाहिँ हामीले यस कार्यक्रमको लागि बजेट व्यवस्थापन गर्न सकेनौँ तर यो क्षेत्रमा लगानी गर्न सकियो भने चाहिँ राम्रै हुन्छ । फोहोरमैला पनि व्यवस्थापन हुनेसँगै कम्पोस्ट मल बनाएर कौशी खेती वा अन्य खेती पनि गर्न सहज हुने रहेछ अर्को वर्षदेखि हामी बजेट तथा कार्यक्रममा यी कुराहरू समेट्नेछौँ ।
० महिला, दलित, अल्पसंख्यक र पछाडि पारिएका वर्गका लागि के–के कार्यक्रमहरु छन् ?
हाम्रो वडामा जनजाति दलित समुदायको प्रतिनिधित्व गर्दै नेतृत्व लिने एकदमै कम छ । चुनावताका नै नेतृत्वदायी भूमिकामा उतार्नलाई कहाँ खोज्ने भन्ने परेको थियो । हामीले देखेको भनेको चाहिँ उहाँहरुमा आफैले गर्न सक्दिन भन्ने भावना विकास भएको छ । अरुले होच्याउने अथवा भप्नेभन्दा पनि उहाँहरु आफैले फिल गर्नुभयो कि भन्ने पनि देख्छौ हामी । महिला, अपाङ्गता भएका नागरिकहरूको लागि चाहिँ भवन बनाउने भन्ने कुराहरू पनि थियो । तर ठाउँको अभाव पनि भयो । केही बजेटको अभाव पनि भयो । त्यसैले हामीले यो क्षेत्रमा काम चाहिँ गर्न सकेनौं । अब चाहिँ नयाँ भवनहरू बनाइयो भने चाहिँ सुरुदेखि नै अपाङ्गमैत्री, बालमैत्री बनाउनुपर्छ भन्ने हामी सबैको छलफल पनि भइरहेको छ । आर्थिक उपार्जनमा सशक्त बनाउन पहिले पहिले हामीले महिलाहरूलाई तालिम पनि दिएको थियौँ । त्यसको प्रभावकारिता खासै नझल्किएपछि पछिल्लो समय हामीले यसमा चाहिँ काम गरेका छैनौँ । आर्थिक वर्ष ८१÷८२ मा हामीले यो क्षेत्रमा त्यसैले कामै गरेनौँ । वटाबाट तालिमको कार्यक्रम नभएपनि अरु कार्यक्रमहरू चाहिँ भएको छ । नगरपालिकाबाट पनि उहाँहरूको क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै उहाहरुका मागलाई सम्बोधन चाहिँ गर्नुभएको छ ।
० चुनाव ताका जनतालाई दिनु भएको आश्वासन के कति पुरा भए कति बाँकी छन् ?
अब हामीसँग अझै लगभग दुई वर्षको समय बाँकी छ । के–के पूरा गरिसक्छौं भनेर अहिले नै सकिँदैन तर पनि एक किसिमको हाम्रो तयारी चाहिँ छ । मुख्य भनेको त हामी खानेपानीको काममा नै केन्द्रित भएर काम गर्छौं, अबको बाँकी अवधिमा । त्यसपछि सरसफाई र ढल व्यवस्थापन को काम पनि गर्नेछौँ । मेरो पाँच वर्षे कार्यकाल अवधिमा करिडोर सम्पन्न गर्ने भन्ने योजना थियो । विविध कारणले त्यो चाहिँ पुरा हुन समय लागिरहेको छ । ६० प्रतिशतले सक्यो । अब भनेको ४० प्रतिशतको काम छ । मेरो कार्यकाल अवधि भरमा सकेसम्म सकाउने भनेर प्रयास गर्नेछु । म करिब २५ वर्ष अगाडि जापान जाँदा त्यहाँ बनेका करिडोर देखेर यहाँ पनि बनाउने सपना देखेको थिएँ । सफा पनि थियो त्यहाँ तर हाम्रो नेपालमा चाहिँ त्यस्तै खालको बनाउन त अलि गाह्रै हुन्छ । तर पनि हाम्रो तर्फबाट चाहिँ प्रयास गर्नेछौ । फोहोर व्यवस्थापन हाम्रो पछिल्लो समय चुनौती बनिरहेकोले व्यवस्थापनको लागि आम नागरिक, सञ्चारकर्मी सबैजनाको उत्तिकै महत्वपूर्ण भूमिका हुने हामीले देखेका छौँ ।
० कार्यालयबाट सम्पादन हुने सबै कामहरुको नागरिक बडापत्र तयार गरि सबैले देख्ने ठाउँमा राखी तेस बमोजिम अनुसरण भएका छन ? छैनन भने कहिलेबाट गर्नुहुन्छ ?
नागरिक बडापत्र हामीले राखिरहेका छौँ । तर कुनै कुनै अप्ठ्यारो ठाउँमा नागरिक बडापत्र हुँदाखेरि काम गर्न अलिकति चुनौती चाहिँ हुने रहेछ । सबैलाई बडापत्र बमोजिम ल्याउन अलि मुस्किल परिरहेको थियो सुरुसुरुमा । हाम्रो वडामा धेरै अन्य ठाउँका नागरिकहरू आएर बस्नुभएको छ । कतिले घरजग्गा पनि बनाउनुभएको छ । तर उहाँहरुले बसाईसराई प्रक्रियामा नगएको हुँदा धेरै कामहरू गर्न चुनौती पनि हुन्छ । बजार क्षेत्रमा केही ठाउँमा डिप बोरिङ गरेको पानीहरू वितरण गर्ने भनेर हामी लागिपरेका छौँ ।

ताजा अपडेट

खोजी गर्नुहोस