सडकलाई प्रमुख प्राथमिकतामा राखेका छौँ भने शिक्षा र स्वास्थ्य पनि हाम्रो प्राथमिकतामा रहेको छ

  • काभ्रे खबर
  • / अन्तरर्वार्ता /
  • २०८२ आश्विन १, बुधबार (३ महिना अघि)
  • ७०४ पटक पढिएको

सडकलाई प्रमुख प्राथमिकतामा राखेका छौँ भने शिक्षा र स्वास्थ्य पनि हाम्रो प्राथमिकतामा रहेको छ

चालु आर्थिक वर्षको लागि भनेर बनाइएको योजनाहरु कार्यान्वनको सुरु भयो ? बजेट कति छ ? कुन क्षेत्रलाई लक्षित गरेर कार्यक्रम बनाउनु भएको छ ?
विभिन्न शिर्षकमा योजनाहरु त बनाएका छौँ । हाम्रो वडागत बजेट निकै न्यून रहेको छ । जम्मा २५ लाख रुपैयाँ बजेट रहेको छ । सोही बजेट मार्फत हामीले काम गर्नुपर्नेछ । कृषि, शिक्षा, स्वास्थ्य लगायतका सबै विषयहरू समेट्नुपर्नेछ । बजेटको सीमा भित्र रहेर काम गर्नुपर्नेहुँदा हामीले भनेजस्ता ठूला विकासका योजना सम्पन्न गर्न चाहिँ यो वर्ष अलि गाह्रै होला । तर पनि हाम्रो तर्फबाट हामीले सकभर प्रयास गर्नेछौ । हामीसँग जे जति बजेट छ, त्यही बजेटबाट हामीले सकभर धेरै काम गर्न प्रयास गर्नेछौँ । यसमा पनि विशेष कृषिमा केन्द्रित रहेर काम गर्ने अथवा उत्पादनका कार्यक्रमलाई चाहिँ जोड दिनुपर्छ भन्ने हाम्रो उद्देश्य हो । अघिल्लो वर्ष हामीले वडालाई सुन्तला पकेट क्षेत्र घोषणा थियौँ । हाम्रो वडाका अधिकांश नागरिक कृषिमा निर्भर हुनुहुन्छ । उत्पादनलाई पहिलेकै प्रणालीभन्दा पनि केही नयाँ प्रणाली अपनाएर गर्न सकियो भने राम्रो आम्दानी गर्न सकिन्छ कि भन्ने पनि हो । किसानको माग के कस्तो आउँछ, त्यसमा पनि भरपर्छ । त्यसैले किसानहरूको निवेदन सङ्कलन गरिरहेका छौँ । विशेषगरी कृषिलाई नै लक्षित गरेर कार्यक्रमहरू गर्दैछौँ । हामी काभ्रेको कोशीपारी क्षेत्र चब सिन्धुपाल्चोकको ठ्याक्कै सिमानामा पर्छौ । सडकको निकै समस्या छ । हामीले संघीय बजेट ल्याउन पहल पनि गरिरहेका छौँ । वडामा बजेटको सिमितताले गर्दा ठूला योजनाहरु हामीले सम्पन्न गर्न सकिरहेका हुँदैनौ । हामीले बजेटहरूको माग गरे पनि खासै बजेट पर्ने गरेको छैन । विशेष ठूला कार्यक्रमहरु खासै आउँदैनन् पनि । चुनावको बेलामा भोट कम आउने क्षेत्र भनेर धेरैजनाले प्रत्यक्ष अप्रत्यक्ष रुपमा भनिरहनु भएको पनि हुन्छ । त्यसको बावजुद पछिल्लो समय सडक क्षेत्रमा राम्रो काम पनि गरिरहेका छौँ । जस्तो पहिले बर्षमा छ महिना मात्रै गाडी चल्न सक्थ्यो हाम्रो वडामा । अहिले बाह्रै महिना चल्छ । सबै बाटो पिच भइसकेको छैन । केही पिच भयो, केहि ढलान वा ग्राबेल भएका छन् । यसरी बाटो स्तरोन्नतिको काम भइरहेकाले गाडीहरू चल्नको लागि अहिले खासै ठूलो समस्या छैन । पहिले एम्बुलेन्स पनि नचल्ने अवस्था थियो भने अहिले त्यो अवस्था छैन । बिस्तारै हामीले भनेका कुराहरू पूरा गर्दै गइरहेका छौं ।
लक्षित समुदायको कार्यक्रमहरू पनि संचालन भइरहेका छन् ? कस्ता विषयलाई संबोधन गर्नुभएको छ ?
हामीले आफैले गर्नेभन्दा पनि नागरिकहरूबाट के कस्तो माग आउँछ हामीले त्यसलाई सम्बोधन गर्दै अगाडि बढिरहेका छौँ । त्यसकारण लक्षित समुदायका नागरिकहरुबाट पनि हामीलाई कुनै निश्चित कार्यक्रमभन्दा पनि विकास निर्माणका अन्य कामहरूलाई नै लक्षित गर्दै योजना माग गरिरहनुभएको हुन्छ । यसमा उहाँहरूको पनि माग सम्बोधन भएको छ तर लक्षित समुदायकै लागि भनेर छुट्टै खालका त्यस्ता ठूला कार्यक्रमहरू चाहिँ भएका छैनन् । उहाँहरुबाट पनि खासै त्यस्तो माग आएको छैन । त्यसमाथि वडागत रुपमा यस्ता छुट्टै कार्यक्रमहरू नगर्ने भन्ने कार्यपालिकाको निर्णय भएकाले वडागत रुपमा कार्यक्रम चाहिँ भएको छैन । तर पालिकास्तरमा चाहिँ यस विषयसँग सम्बन्धित रहेर थुप्रै कार्यक्रम भएका छन् जसमा हाम्रा वडाका नागरिकहरु पनि सहभागी हुनुभएको छ । उहाँहरूलाई सीपमूलक तालिम दिने अथवा अन्य विकासका कार्यक्रममा उहाँहरूलाई समान रुपमा सहभागी गराउने भन्ने त छँदै नै छ ।
बर्खाको समय छ, विपद् व्यवस्थापनमा पूर्व तयारी छ ?
गत असोज महिनामा गएको बाढी पहिरोले हाम्रो वडामा पनि निकै क्षति पुगेको थियो । क्षतिग्रस्त क्षेत्र घोषणा पनि भयो । विपत् व्यवस्थापनको लागि केही पूर्व छ । विपद् व्यवस्थापनको लागि माथिल्लो निकायबाट आउने सहयोगहरू त छँदै नै छ । त्यो बाहेक वडाले पनि यस क्षेत्रमा काम गर्दै आएको छ । जस्तै गत असोजमा गएको बाढी पहिरोले क्षति पुगेका घरधुरीहरूलाई केही बजेट नै विनियोजन गरेर पनि काम गरेको थियो । चालु आर्थिक वर्षमा पनि हामीले वडागत रुपमा पनि केही बजेट विनियोजन गरेका छौँ र पालिका स्तरमा पनि बजेटहरु छ ।
वडामा खानेपानीको अवस्था कस्तो छ ?
खानेपानीका कार्यक्रमहरू पनि हाम्रो वडाले प्राथमिकतामा राखेर नै काम गरिरहेको छ । हाम्रो वडामा खानेपानीको मुहानहरु प्रशस्त छ तर व्यवस्थित चाहिँ गर्नुपर्नेछ । व्यवस्थित खानेपानी प्रदान गर्नुपर्छ भनेर हामीले वडागत रुपमा पनि पहल गरिरहेका छौँ । पहिलेभन्दा धेरै सुधार पनि भइसकेको छ । लगभग ७५ प्रतिशत नागरिकको घरधुरीमा खानेपानीको धारा पुगिसकेको अवस्था छ । यो वर्ष पनि खानेपानीको धारा बनाउने कामले निरन्तरता पाउनेछ । यसको लागि पनि बजेटहरू विनियोजन भएको छ । खानेपानीको लागि धेरै समस्या त छैन तर पनि हामीले बजेटहरु व्यवस्थापन गरेर व्यवस्थित र शुद्ध खानेपानीको लागि पहल गरिरहेका छौँ । एकीकृत खानेपानी सञ्चालन गर्नुपर्छ भनेर हामीले त्यहीअनुसारको तयारिसहित काम अगाडि बढाएका छौँ ।
बालमैत्री वडा बनाउन वडागत के कस्ता कार्यक्रम अघि सारिएको छ ?
हामीले हाम्रो तर्फबाट पहल चाहिँ गरिरहेका छौँ । विशेषगरी पहिलेदेखि नै हाम्रो वडामा विद्यालयगत र वडास्तरमा बालक्लबहरू बनाउने र बजेटहरु विनियोजन गरेर कार्यक्रम गर्ने गरिन्थ्यो । अहिले हामिले पनि पुराना अभ्यासलाई नै निरन्तरता दिएका छौँ । यो वर्ष पनि बजेट राखेका छौँ । यो वर्ष पनि काम चाहिँ हुन्छ । बालमैत्री वडा बनाउनको लागि ५१ वटा सूचकहरू पूरा गर्नुपर्ने हुन्छ । त्यसको लागि अझै केही समय लाग्न सक्छ तर कार्यक्रमहरु हामीले थोरै बजेट भएपनि मिलाएर गरिरहेका छौँ ।
वडाको समग्र विकासका निम्ति अरु निकायहरुसँग तपाईहरुको समन्वय कत्तिको छ ? नगरपालिका, प्रदेश र सङ्घीय सरकार अथवा अन्य संघसंस्थाहरूबाट कार्यक्रम कति वटा छ ?
हामीले माथिल्लो निकायहरूसँग पनि पहल गरिरहेका छौँ तर माथिल्लो निकायबाट भने जसरी बजेटहरु आइरहेको छैन । तर हामीले विभिन्न संघसंस्थाहरूसँग समन्वय गरेर पनि कार्यक्रम चाहिँ गरिरहेका छौँ । संघसंस्था मार्फत हामीले शिक्षामा जोड दिएर कार्यक्रम ल्याउन पहल गरेका थियौँ । सोहीअनुसार कार्यक्रम पनि सञ्चालन भएका छन् । हाम्रो वडामा कक्षा १२ सम्म अध्ययन हुने एउटा विद्यालय रहेको छ । प्रा.वि दुईवटा र आधारभूत विद्यालय एउटा रहेको छ । हामीले दिवा खाजाको कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ । विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालनमा जोड दिएका छौँ । नतिजालाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने कुरामा लक्षित भएर काम गरिरहेका छौँ । त्यो बाहेक अन्य विभिन्न कार्यक्रमहरूमा पनि हामीले हाम्रोतर्फबाट गर्नुपर्ने समन्वय गरिरहेका छौँ ।
स्वास्थ्यको क्षेत्रमा वडाको लगानी कत्तिको हुने गरेको छ ? कार्यक्रमहरु के के छ ?
स्वास्थ्यमा पछिल्लो समय राम्रै काम भइरहेको छ । चुनावताका घोषणापत्रमै पनि मैले ल्याब सहितको सेवा दिने भनेर भनेको थिए । अहिले एउटामा ल्याब सहितको स्वास्थ्य सेवा दिन सुरु गरिसकेको छ । यसैगरी भत्ता वितरणको कामहरूलाई पनि हामीले सहजीकरण गरेका छौँ । पहिले पालिकासम्म जानुपर्ने अवस्था थियो भने अहिले वडाबाट नै वितरण हुन्छ । त्यस समयमा स्वास्थ्यकर्मीहरूको व्यवस्था गरेर वडासम्म आउने आमाबुवाहरूको स्वास्थ्य परीक्षण पनि गराउँछौँ । स्वास्थ्य बीमा गर्नुभएकोहरूको लागि हामीले स्वास्थ्य चौकीमा आउँदा निःशुल्क रुपमा स्वास्थ्य ल्याबबाट परीक्षण गराउन सक्ने व्यवस्था गरेका छौँ । यसरी हामीले स्वास्थ्यमा पनि नयाँ तरिका अपनाउने प्रयास गरिरहेका छौँ । पछिल्लो समय स्वास्थ्यमा प्रदान गरिएको सेवाबाट उहाँहरु खुसी नै हुनुहुन्छ भन्ने हामीले महसुस गरेका छौँ ।
वडाले कस्ता कार्यक्रमलाई लक्षित गरेर बजेट बनाएको छ ?
हामीले विशेष लक्षित गरेको भने अहिले सडकमा नै हो । किनकि यहाँको आवश्यकता पनि त्यही छ । सडक जबसम्म हिँड्डुल गर्न सक्ने वा बाह्रै महिना गाडी आवतजावत गर्न सक्ने भन्ने हुँदैन तबसम्म समस्या हुन्छ । त्यसकारण हामीले सडकलाई प्रमुख प्राथमिकतामा राखेका छौँ भने त्यसपछि शिक्षा र स्वास्थ्य पनि हाम्रो प्राथमिकताको विषय हो । कृषिमा पनि हामीले विशेष लक्षित गरेर नै कार्यक्रमहरू गरिरहेका छौँ । खानेपानीको कामहरू पनि एकीकृत रुपमा अगाडि बढाइरहेका छौँ । हामीले गर्ने कार्यक्रमहरू भनेको नागरिकहरूबाट आएको मागको आधारमा नै हुन्छ ।
कार्यक्रम कार्यान्वयन गर्ने क्रममा कस्ता खालका समस्याहरु आएरका छन् ? तिनको सामाधान कसरी गरिरहनुभएको छ ?
समाधान गर्न नसक्ने समस्या त छैनन् तर पनि कार्यक्रमहरू गरिरहने क्रममा केही सानातिना समस्या चाहिँ आइरहने रहेछ । प्रदेश र संघबाट आएका कुनै कार्यक्रम सञ्चालन गर्नुपर्यो भने केही चुनौती नै हुँदो रहेछ । किनभने समन्वय एकदमै कम हुन्छ । हामीले केही कुरामा अलि कडाई गरियो भने पनि माथिबाट फोनहरू आउने यस्तो चाहिँ हुँदोरहेछ । हामीले भोगेका छौँ । वैदेशिक रोजगारी वा अन्य सिलसिलामा यहाँका युवाहरू गाउँ बाहिर भएको हुँदाखेरि काम गरौँ न त भनेपनि मान्छे नै नपाउने जस्ता समस्याहरू पनि छन् । यातायातको राम्रो व्यवस्था नभएकाले ढुवानीमा पनि समस्या हुन्छ । त्यसैले पनि हामीले बाटोको कामलाई पहिलो प्राथमिकतामा राखेका हौँ र
अभियानकै रूपमा केही कार्यक्रम संचालन गरिरनुभएको छ त ?
अभियानकै रूपमा यो वर्ष चाहिँ त्यस्तो विशेष कार्यक्रमहरू छैन । तर पालिकागत रुपमा चाहिँ भइरहेको हुन्छ । त्यसमा हाम्रो वडाको तर्फबाट समन्वय भएको हुन्छ ।
नागरिकहरुबाट कस्ता कार्यक्रमको लागि माग आउने गरेको छ ?
नागरिकहरूबाट यस्तो काम चाहिँ हुनुपर्यो भन्ने खासै त्यस्ता मागहरु चाहिँ छैन। तर उहाँहरूको व्यक्तिगत माग अथवा गुनासोहरू अलि धेरै आउँछ । व्यक्तिगत रुपमा बजेटहरु विनियोजन गरेर काम गर्न त सकिन्न । त्यसकारण हामीले सामाजिक रुपमा जे जस्तो काम गर्न सक्छ त्यस्तै निरन्तरता दिएका छौँ । उहाँहरुबाट कुनै माग आयो कुनै कार्यक्रम गर्नुपर्यो भनेर उहाँहरू आउनुभयो भने वडाको तर्फबाट समन्वय हुने नै छ ।
कृषिको लागि तपाईँको वडामा चालु आर्थिक वर्षभित्र के कस्तो कार्यक्रम गर्दै हुनुहुन्छ ?
कृषिमा हामीले राम्रै कामहरू गरिरहेका छौँ । गतवर्ष हामीले हाम्रो वडालाई सुन्तला पकेट क्षेत्र भनेर घोषणा पनि गरिसकेका छौँ । हामीले सुन्तलाका विभिन्न पाटोमा रहेर नै कामहरु बढी केन्द्रित गर्नेछौं । यसैगरी अनुदानको कार्यक्रमहरूलाई पनि निरन्तरता दिएका छौँ । गत वर्ष हामीले ट्रयाक्टर वितरणको काम गरेका थियौ । यो वर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिएका छौँ । किनभने नागरिकहरूबाट एकदमै धेरै माग आएको भनेको यो ट्रयाक्टरको लागि पनि । यो वर्ष पनि हामीले ट्रयाक्टर वितरणको कार्यक्रमलाई निरन्तरता दिनेगरी काम गरेका छौंँ । सकेसम्म यो मागलाई सम्बोधन गर्ने प्रयास चाहिँ गरेका छौँ । विभिन्न संघसंस्थासँग समन्वय गरेर किसानहरूलाई फलफुलको बिरुवा पनि उपलब्ध गराइरहेका छौँ । यसलाई पनि हामी निरन्तरता दिनेछौँ । वृक्षारोपणको कार्यक्रमहरू पनि हामीले सञ्चालन गर्दै आएका छौँ । वनजङ्गलमा अन्य बिरुवाभन्दा पनि आयआर्जनलाई समेत टेवा पुग्ने हिसाबले फलफुलका बिरुवाहरू रोपेका छौँ ।
सिंहदरबार भन्ने भनाईले सार्थकता पाएको छ ?
मलाई लाग्छ यो भनाइले सार्थकता पाएको छ । हिजोको दिनमा केही समस्या पर्यो भने नागरिकहरूको गुनासो राख्ने ठाउँसम्म पुग्न समय लाग्थ्यो अथवा सुनुवाई नै हुँदैन थियो । अहिले उहाँले आफूलाई परेको स–सानो समस्या पनि वडा कार्यालयसम्म आएर राख्न सक्नुहुन्छ र सकभर वडाले पनि त्यसलाई समाधान गर्ने प्रयास गर्छौं । हामी जनप्रतिनिधि भएको नाताले उहाँहरूको घरघरमै पनि गइरहेका हुन्छौँ । उहाँहरूको समस्या सुनिरहेका हुन्छौँ । सेवा लिन उहाँहरू सधैं वडा धाइराख्नुपर्छ भन्ने छैन । समस्या परेको खण्डमा हामी नै पनि उहाँहरूको घर दैलोमै पुगेर पनि सेवा दिन्छौ । सानो एउटा खानेपानीको पाइप मर्मत सम्भार, सडक स्तरउन्नति, आर्थिक अवस्था कमजोर भएका कारण उपचार नपाउनुभएको वा औषधि खान नसक्नु भएको छ भने पनि हामीले सहयोग गरेका छौँ । यो कुरालाई मध्यनजर गर्ने हो भने घरघरमा सिंहदरबार भन्ने भनाइले सार्थकता पाएको छ भन्ने लाग्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस