पूर्वाधारको क्षेत्रको विकास हुनुपर्छ

  • काभ्रे खबर
  • / अन्तरर्वार्ता /
  • २०८२ आश्विन ३१, शुक्रबार (१ महिना अघि)
  • ५१८ पटक पढिएको

पूर्वाधारको क्षेत्रको विकास हुनुपर्छ

केमा व्यस्त हुनुहुन्छ ? चालु आर्थिक बर्षको लागि भनेर बनाइएको योजनाहरु कति सम्पन्न भए ? कति बाँकी छ ?
चालु आर्थिक वर्षमा हामीले प्राथमिकताका आधारमा योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने प्रमुख कार्यहरूमध्ये पूर्वाधार विकासका विषयहरू अत्यन्त महत्वपूर्ण रहेका छन् । पूर्वाधार विकास अन्तर्गत विशेषगरी सडक निर्माण तथा मर्मतका कामहरूलाई उच्च प्राथमिकतामा राखिएको छ । यसका लागि आवश्यक बजेटको व्यवस्थापन पनि गरिएको छ, जसबाट ती योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहज हुने विश्वास लिइएको छ । यस्तैगरी, खानेपानीको सहज पहुँच, गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षामा सुधार, सिंचाइ प्रणालीको विस्तार तथा आधुनिक कृषि प्रणालीको प्रवद्र्धन जस्ता समावेशी तथा दीगो विकासका पक्षहरूलाई समेत योजनामा समेटिएको छ । यी सबै क्षेत्रहरूमा लक्षित कार्यक्रम तथा परियोजनाहरू संचालन गर्ने उद्देश्यले आवश्यक स्रोत र साधनको व्यवस्थापन गरिएको छ । यसका साथै, महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत महिलाहरूको सामाजिक तथा आर्थिक क्षमताको वृद्धि गर्न विभिन्न किसिमका तालिमहरू संचालन गर्ने योजना बनाइएको छ । यस कार्यका लागि पनि आवश्यक बजेट विनियोजन भइसकेको छ । महिलाहरूलाई स्वरोजगार, उद्यमशिलता, सीप विकास, तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने खालका तालिमहरू प्रदान गरिनेछन् । यसरी, चालु आर्थिक वर्षमा सरकारको ध्यान समग्र सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारको विकासमा केन्द्रित हुनेछ । समावेशी विकासको दृष्टिकोणले योजनाहरू बनाइएका छन्, जसले समुदायमा प्रत्यक्ष प्रभाव पार्ने विश्वास गरिएको छ। यी सबै कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवाला निकायबीच समन्वय तथा सहकार्यको आवश्यकता पनि औंल्याइएको छ ।
कस्ता खालका कार्यक्रमलाई प्राथकिता दिनुभएको छ ? नागरिकहरुबाटा कस्ता कार्यक्रमको लागि धेरै माग आउँने गरेको छ ?
पूर्वाधारको क्षेत्रको विकास हुनुपर्छ । त्यसमा पनि सडकहरू पक्की अथवा राम्रो बनाउन सकिएन भने अरु कामहरु गर्ने गारो नै पर्छ । नागरिकहरूको माग पनि पूर्वाधारकै क्षेत्रमा बढी हुन्छ । त्यसैले हामीले कामहरू पनि यही क्षेत्रमा बढी गरिरहेका हुन्छौ । धार्मिक हिसाबले मन्दिर, गुम्बा निर्माण तथा संरक्षणको लागि पनि माग आइरहेको हुन्छ । त्यसलाई पनि सम्बोधन गर्छौं । विशेषगरी नागरिकहरूबाट आएका मागलाई नै सम्बोधन गर्ने गरी योजना बनाउँछौ । आवश्यकता कतिको छ भन्ने कुरालाई नै मध्यनजर गर्छौं ।
बालबालिका, महिला, अपाङ्गता भएका नागरिकको क्षेत्रमा वडाले कसरी काम गरिरहेको छ ?
लक्षित समुदायको लागि क्षमता अभिवृद्धिका कार्यक्रमहरूलाई नै विशेष जोड दिइरहेका छौँ । गृहिणी महिलाहरूलाई आयआर्जनसँग जोडिने खालका कार्यक्रमहरू पनि गर्दै आएका छौँ । वडाले छुट्टै बजेटहरू व्यवस्थापन गरेर गर्न सकेन भने पनि पालिका मार्फत यस्ता कार्यक्रमको आयोजना हुँदै आएका छन् । जसमा हाम्रा वडाका नागरिकहरु पनि समेटिनुहुन्छ । यसमा पनि विशेषगरी घरेलु उत्पादनसँग जोडिएर कार्यक्रमहरू हुन्छ । जस्तै साबुन बनाउने, मुढा बनाउने तालिमहरू सञ्चालन हुँदै आएको छ । अपाङ्गता भएका व्यक्तिहरूको लागि पनि हामीले कार्यक्रम गर्दै आएका छौँ । जस्तै व्हीलचेयर वितरण गर्ने काम पालिकाबाट पनि भएको छ । यो क्षेत्रमा सोचे जसरी धेरै कार्यक्रम चाहिँ हुन पाएको छैन तर वडाको क्षमताले भ्याए अनुसारको कामहरू चाहिँ निरन्तर रुपमा भइरहेको हुन्छ ।
स्वास्थ्यको लागि कार्यक्रम के के बनेको छ ? योजना के छ ?
हामीले घुम्ती सेवा सञ्चालन गरिरहेका छौँ । सर्ने रोगभन्दा पनि नसर्ने रोग पछिल्लो समय जटिल बन्दै गएको कारण गाउँपालिकामा भएका स्रोतसाधनकै सदुपयोग काम गर्दै आएका छौँ । व्यवस्थापन भएसम्म गाउँपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका मार्फत प्रत्येक महिना घरघरमा नै गएर सेवा दिने काम गर्दै आएका छौँ । सुत्केरी महिलाहरूलाई पनि हामीले विभिन्न खालका सेवा दिँदै आएका छौँ । बर्थिङ सेन्टरको पनि व्यवस्था छ । गाउँपालिका भरि डेलिभरी केस आएमा एम्बुलेन्स भाडामा छुटदिएका छौँ । वडामार्फत हामीले एम्बुलेन्स पनि सञ्चालन गरिरहेकाले थप सहज भएको छ । स्वास्थ्यको क्षेत्रमा हामीले जे जति सक्छौं, हाम्रो क्षमताले जति भ्याउँछ त्यति कार्यक्रम नियमित रुपमा निरन्तर गइरहेको छ ।
शिक्षामा के छ प्रगती ?
गुणस्तरीय तथा आवश्यक शिक्षा सबैका लागि सुनिश्चित गर्नका निम्ति हामी पछिल्लो समय विशेष रूपमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै आएका छौँ । समाजको समग्र विकासका लागि शिक्षालाई आधार मान्दै हामीले शिक्षाको पहुँच र स्तर उकास्न विभिन्न पहलहरू गरेका छौँ । यसै सन्दर्भमा हाम्रो पालिकाभित्र अवस्थित बुद्ध हिमालय माध्यमिक विद्यालय एक प्रमुख शैक्षिक केन्द्रको रूपमा स्थापित भएको छ, जहाँ कक्षा १२ सम्मको अध्ययन सुविधा उपलब्ध रहेको छ । उक्त विद्यालयमा शैक्षिक सुधारका विविध कार्यक्रमहरू कार्यान्वयन गर्दै, हामीले विद्यार्थीहरूलाई आवासीय सेवा सहितको समग्र शिक्षाको अवसर प्रदान गर्दै आएका छौँ । यसले विशेषगरी दूरदराजका विद्यार्थीहरूलाई शिक्षा प्राप्तिमा सहजता प्रदान गर्नुका साथै अनुशासित र शैक्षिक वातावरणमा रहन प्रेरित गरेको छ । शिक्षाको गुणस्तरमा सुधार ल्याउनका लागि अतिरिक्त कक्षाहरूलाई पनि विशेष प्राथमिकतामा राखिएको छ । विद्यालयमा दैनिक रूपमा बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म पठनपाठनको व्यवस्था गरिएको छ, जसले विद्यार्थीलाई नियमित, गहिरो र सुदृढ शिक्षण–सिकाइ प्रक्रियामा सहभागी गराइरहेको छ । यस अवधिमा पाठ्यक्रमसँग सम्बन्धित अतिरिक्त अभ्यास, पुनरावृत्ति, शंका समाधान कक्षा र विविध शैक्षिक गतिविधिहरू सञ्चालन भइरहेका छन् । शिक्षकहरूको भूमिका पनि यस प्रक्रियामा अत्यन्तै महत्त्वपूर्ण रहेको छ । विद्यालयका सम्पूर्ण शिक्षकगण शैक्षिक सुधारका लागि पूर्ण समर्पणका साथ लागिपर्नु भएको छ । उहाँहरूको निरन्तर मेहनत, उत्साह र प्रतिबद्धताले विद्यालयको शैक्षिक वातावरणमा सकारात्मक परिवर्तन ल्याएको देखिन्छ । विद्यार्थीहरूको सिकाइ क्षमतामा आएको सुधार, परीक्षा परिणाममा देखिएको प्रगति तथा शैक्षिक अनुशासनमा देखिएको परिपक्वता यसैको प्रमाण हो । यी सफल प्रयासहरूले हामीलाई यो अनुभूति दिलाएको छ कि प्रत्येक विद्यालयमा न्यूनतम शैक्षिक तथा भौतिक सुविधा सुनिश्चित गर्नु अत्यावश्यक छ । आधारभूत पूर्वाधार, दक्ष जनशक्ति, आधुनिक शिक्षण पद्धति र समर्पित व्यवस्थापनले मात्र शिक्षामा दीगो सुधार सम्भव हुन्छ भन्ने हाम्रो बुझाइ बनेको छ । त्यसैले, हामी निरन्तर रूपमा हाम्रा सबै शैक्षिक संस्थामा यस्ता सुविधाहरू सुनिश्चित गर्नका लागि जोड दिइरहेका छौँ । हाम्रो उद्देश्य भनेको विद्यार्थीलाई केवल प्रमाणपत्र उपलब्ध गराउनु मात्र होइन, उनीहरूलाई जीवनोपयोगी सीप, ज्ञान र मूल्य प्रणालीले सुसज्जित बनाउनु हो, जसले भविष्यमा उनीहरूलाई सफल नागरिकका रूपमा अघि बढ्न सहयोग पु¥याओस्। यस दिशामा हामीका प्रयासहरू निरन्तर जारी रहनेछन ।
वडामा खानेपानीकोे अवस्था के छ ?
खानेपानीको अवस्था अहिले राम्रो छ । एक घर एक धारा हामीले सम्पन्न गरिसकेका छौँ । अहिले थप व्यवस्थापनको कामहरू भइरहेको छ । गाउँपालिकाभरिको वडामध्ये हाम्रो वडा न्यून स्रोत भएको वडा हो । यद्यपि हामीले पहिलो कार्यकालमै एक घर एक धाराको काम चाहिँ सम्पन्न गर्यौ तर व्यवस्थापनको काममा चुनौती भइरहेको छ ।
हामीले चालु आर्थिक वर्षमा कार्यक्रमहरू गर्नको लागि अरु निकायहरूसँग कतिको समन्वयात्मक भूमिका निर्वाह गरिरहनुभएको छ ?
गाउँपालिकामा पर्याप्त स्रोत छैन । ठूला कार्यक्रमको लागि संघ प्रदेशको भर पर्नुपर्ने हुन्छ । संघ र प्रदेशले खटाएर दिएको बजेट एकदमै न्यून छ । गाउँपालिकामा आर्थिक उपार्जन गर्ने कुनै ठूलो स्रोत नभएको हुँदा राजस्व खासै सङ्कलन हुँदैन । संघ र प्रदेशमा हामीले माग गर्छौं । त्यहाँबाट आएको बजेट तथा कार्यक्रमहरू सञ्चालन हुन्छन् । माथिल्लो निकायकै भरपर्नुपर्ने हुँदा हामीले सोचे जसरी विकास निर्माणको कामहरू गर्न चाहिँ सकिरहेका छैनौँ । नागरिकहरूको इच्छाआकांक्षा मागहरू धेरै ठूलो छ । त्यसलाई परिपूर्ति गर्न एकैपटक त सक्दैनौ तर बिस्तारै हामीले गर्दै गइरहेका छौँ । संघ प्रदेशसम्ममा पहुँच पु¥याउन सकिएन भने त एकदमै गाह्रो छ । यद्यपि भएका स्रोत साधनको सदुपयोग गर्दै हामीले विकास निर्माणका काम गरिरहेका छौँ । त्यो बाहेक गैरसरकारी संघसंस्थाहरूसँग पनि हामीले समन्वय गरेर काम गरिरहेका छौँ ।
वडामा कृषि केन्द्रित कार्यक्रम के कस्ता छन् ?
त्यसैको लागि किसानहरूलाई चाहिने यान्त्रीकरण वितरणको योजना बनाएका छौँ । यसैगरी मल ढुवानीको लागि नगरपालिका मार्फत नै व्यवस्थापन गर्ने काम गरिरहेका छौँ । वडामा कृषिको सम्भावना एकदमै धेरै छ । किसानहरूको उत्पादनमा बढावा दिन नसकेसम्म उहाँहरूको आर्थिक बाटो कमजोर नै रहन्छ भन्ने हिसाबले हामीले सकेको कामहरु गर्दै आएका छौँ । सिँचाइको क्षेत्रमा पनि हामीले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ । किसानले उत्पादन उत्पादन गर्नुभएका सामानहरू बजारसम्म ल्याउनको लागि सहजीकरण गर्ने कुराहरू पनि छन् । बजारसम्म आइपुग्नको लागि पूर्वाधार बलियो हुनुपर्छ भनेर हामी लागिपरेका छौँ । नागरिकहरूबाट पनि पूर्वाधार विकासको लागि धेरै माग आउँछ ।
चुनाव ताका नागरिकलाई दिनुभएको आश्वासन कति पुरा भयो ? कति बाँकी छ ?
जनताको आधारभूत आवश्यकताहरूलाई पूर्ति गर्नु हाम्रो दायित्व हो । त्यसको लागि हामीसँग भएका स्रोत साधनलाई सही ढंगले परिचालन गरी काम गर्नेगरी घोषणापत्र बनाएका थियौँ । घोषणापत्रमा हामीले जनाएको प्रतिबद्धतालाई पूरा गर्न भएका स्रोत साधनको प्रयोग गर्दै यहाँका नागरिकहरूको आधारभूत आवश्यकतालाई पूरा गर्ने प्रयास गरिरहेका छौँ । सबैभन्दा पहिलो कुरा सुशासनको हो । वडा कार्यालयबाट प्रवाह हुने सेवालाई गुणस्तर ढङ्गबाट विद्युतीकरण प्रणाली अन्तर्गत प्रवाह गरिरहेका छौँ । नागरिकहरूको अपेक्षानुरूप हामीले सेवा प्रवाह गरिरहेका छौँ । नागरिकहरूको अपेक्षा बढी हुन्छ । हामीसँग बजेट सीमित हुन्छ । यो एउटा समस्या पनि छ । यसको लागि हामीले योजनाहरूको प्राथमिकीकरण गरेर काम गर्दै आएका छौँ ।
अभियान सहतिका केही कार्यक्रमहरू गरिरहनुभएको छ त ?
कृषिलाई हामीले प्राथमिकतामा राखेकाले विभिन्न अभियानका कार्यक्रम सहित यसलाई अगाडि बढाइरहेका छौँ । त्यसको लागि किसानहरूले उत्पादन गरेका सामानहरू बजारीकरणको लागि हामी जोडदार रुपमा अगाडि बढिरहेका छौँ । जनहितका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरू पनि गर्दै आएका छौँ । यो पनि अभियान स्वरूप नै सञ्चालन हुन्छ । रेबिजका कार्यक्रमहरू पनि हामीले सचेतनाको रुपमा नै सञ्चालन गर्दै आएका छौँ । भर्ना अभियानका कार्यक्रमहरू पनि अभियानकै रूपमा सञ्चालन हुन्छ । विभिन्न स्वास्थ्य शिविरहरु पनि सञ्चालन हुँदै आएको छ ।
वडामा नागरिक बडापत्रको व्यवस्थापन गरिएको छ ?
नागरिक बडापत्र राखिएको छ । सोहीअनुसार हामीले काम पनि गर्दै आएका छौँ । हाम्रोमा पहिलेदेखि नै थियो नागरिक बडापत्र ।
कार्यक्रम कार्यान्वयनमा कुनै समस्या आएका छन् ?
कार्यक्रमहरू सञ्चालन गर्न गराउन कुनै समस्या हुँदैन । किनभने कार्यक्रम छनोट गर्दा नै हामी टोल बस्तीमा पुगेर नागरिकहरूको अपेक्षा अनुसार नै काम गर्छौं । हामीले सङ्कलन गरेर लिएर आएका योजनाहरू प्राथमिकीकरण गरेर काम गर्छौं । त्यसो गर्दा हामीलाई योजना कार्यान्वयनमा खासै समस्या छैन । अहिलेसम्म योजनाहरू फ्रिज हुने अवस्था पनि आएको छैन । सबै योजनाहरू आवश्यकताको आधारमा नै सञ्चालन गर्छौं ।

ताजा अपडेट

खोजी गर्नुहोस