
के मा व्यस्त हुनुहुन्छ आजभोली ?
बर्षातले गर्दा सडकहरू बिगारेको थियो । बाटोहरू सफा गरेर पहिलाकै अवस्थामा फर्काउने कामतिर गरिरहेका छौँ ।
केमा व्यस्त हुनुहुन्छ ? चालु आर्थिक बर्षको लागि भनेर बनाइएको योजनाहरु कति सम्पन्न भए ? कति बाँकी छ ?
यसै महिनामा आएको भीषण वर्षाले गर्दा धेरै स्थानमा पहिरो गएको थियो र बाटो बन्द भएको थियो । हामीले तत्काल उक्त पहिरोलाई पन्छ्याउन सकेका थिएनौँ, तर हाल धमाधम उक्त पहिरो पन्छाउने काम अगाडि बढाएका छौँ । यस आर्थिक वर्षको सबै कार्यक्रमहरू सुरु भइसकेका छैनन् । दशैं–तिहारको बेलामा काम थोरै ढिला भएको छ, तर अब आर्थिक वर्षका कार्यक्रमहरू क्रमिक रूपमा सुरु हुँदैछन् ।
कस्ता खालका कार्यक्रमलाई प्राथकिता दिनुभएको छ ? नागरिकहरुबाटा कस्ता कार्यक्रमको लागि धेरै माग आउँने गरेको छ ?
हाम्रो लोकल स्तरमा देखिने तथा प्रत्यक्ष आँखाले देखिने अप्ठ्यारोहरू जहाँजहाँ आएका त्यसलाई मध्यनजर गर्दै धेरै थोरै गरेर हामीले कार्यक्रमहरूलाई विभाजन गरेका छौँ । हामीले यस्ता कार्यक्रमहरू शिक्षा, स्वास्थ्य, खानेपानी सबैलाई जोड दिएर अगाडि बढाएका छौँ । यही नै काम गर्नेभन्दा पनि स्थानीय स्तरमा देखिएको समस्या हाम्रो प्रमुख शिक्षा, स्वास्थ्य, कृषि खानेपानी लगायतका सबै विषय समेट्छौं । पूर्वाधार अलि बढी आवश्यकताको विषय भएकाले पूर्वाधारलाई विशेष प्राथमिकता दिएका छौँ । त्यो बाहेक अरु क्षेत्रले पनि उत्तिकै प्राथमिकता पाएका छन् । हामीले हाम्रो तर्फबाट गर्न सकेनौं भने पनि अरु निकायसँग समन्वय गरेर भएपनि कार्यक्रमहरू चाहिँ गरिरहेकै छौँ ।
बालबालिका, महिला, अपाङ्गता भएका नागरिकको क्षेत्रमा वडाले कसरी काम गरिरहेको छ ?
गतवर्ष लक्षित समुदायलाई आर्थिक रुपमा सशक्त बनाउनुपर्छ भन्ने उद्देश्यका साथ बिभिन्न कार्यक्रमहरु गरेका थियौँ । यो बर्ष पनि यस्ता कार्यक्रमहरु रहेका छन् । महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति लगायतका समूहका लागि हामीसँग गत वर्ष पनि शीर्षकमा नभए तापनि पर्याप्त बजेट उपलब्ध थियो र कार्यक्रमहरू सञ्चालन गरेका थियौं । विषेशगरी उहाँहरुलाई आर्थिक पाटोमा सहयोग हुने गरी विभिन्न खालका कार्यक्रमहरु गर्दै आएका छौँँ । हामीसँग लक्षित समुदायका लागि थुप्रै कार्यक्रमहरू छन् । हामीले सक्दो संशोधन गर्दै कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएका छौँ । यद्यपि पर्याप्त बजेट छैन । सबै काम केवल बजेटले मात्र सम्भव हुँदैन । हामी बैठक बसेर लक्षित समुदायलाई कसरी अघि बढाउने र उपलब्ध बजेटलाई कसरी प्रभावकारी रूपमा सञ्चालन गर्ने भन्ने विषयमा छलफल गर्छौं । हामीले लक्षित समुदायका लागि स्रोतहरू निश्चित गरेका छाँै ।
स्वास्थ्यको लागि कार्यक्रम के के बनेको छ ? योजना के छ ?
नेपाल सरकारद्वारा निःशुल्क रुपमा प्रदान हुँदै आएका सबै खालका औषधिहरू नियमित रुपमा हामीले स्वास्थ्य संस्था मार्फत प्रदान गरिरहेका छौँ । हाम्रो वडामा प्रदेश अस्पताल रहेको छ । प्रदेश अस्पताल रहेको कारण त्यहाँका लागि हामीले छुट्टै कार्यक्रम सञ्चालन गर्ने आवश्यकता आउँदैन । हामीले स्थानीय स्तरबाट जे सहयोग गर्न सकिन्छ, सानोसानो भए पनि गरिरहेका छौँ । यस प्रदेश अस्पतालको उपस्थितिले हाम्रो वडाका नागरिकले सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गरिरहेका छन् । वडाबाट हामीले सामान्य स्वास्थ्य सेवाहरू त निरन्तर रुपमा प्रवाह गरिनैरहेका छौँ । स्वास्थ्यको लागि विषयगत शाखाहरूबाट पनि योजना बन्ने गरेको छ । सरसफाईको, खोप, पोषणका कार्यक्रमहरु पनि छ । विभिन्न अवर्नेसका कार्यक्रमहरू पनि छन् । विभिन्न क्याम्पेन तथा शिविरका कार्यक्रमहरू पनि छ ।
शिक्षामा के छ प्रगती ?
हाम्रो वडामा एउटा नमुना विद्यालय पनि रहेको छ । यस विद्यालयमा ठूलो चुनौती देखिन्छ । करिब २७ जना शिक्षक कार्यरत छन् । स्रोत जुटाउन नसकेका कारण हामीले ठाउँबाट सहयोग रकम उठाउने गरेका छौँ । करिब वर्षमा करिब ५०÷५५ लाख रुपैयाँ त्यहाँबाट उठाउने गरिएको छ । यस विद्यालयमा दरबन्दी काम छ । करिब १२०० जना विद्यार्थीले अध्ययन गर्ने भएकाले शिक्षक संख्या पर्याप्त छैन। हाम्रो वडाको अरु विद्यालयहरूमा यस्तो समस्या छैन । यस विद्यालयमा आन्तरिक स्रोतबाट २७ शिक्षक कार्यरत छन् । विद्यालयमा फ्याकल्टी धेरै छन् र सेक्सन पनि विभाजित छन् । विद्यार्थी धेरै भएका कारण सहयोग उठाउन बाध्य भएका छौँ । वडाको बजेटबाट ५–१० लाख हालेर पर्याप्त समाधान आउँदैन । यस समस्या समाधानका लागि राज्यले शिक्षाको दरबन्दी विस्तार गर्नु आवश्यक छ । विद्यार्थी धेरै भएकाले पढाउने काम रोक्ने सम्भावना छैन । यो विद्यालय सहरीकरणको बीचबिन्दुमा पर्ने भएकाले बाहिरी क्षेत्रबाट आउने विद्यार्थी पनि यहाँ अध्ययन गर्छन्। यस कारणले हाल यस्ता चुनौतीहरूको सामना गर्नुपरेको छ । सामुदायिक विद्यालयलाई गुणस्तरमा अबल बनाउनको लागि हामीले प्रयास गरिरहेका छौँ । त्यो विषयमा पनि छलफल भएको छ । दिवा खाजाको कुरालाई अझ कसरी प्रभावकारी बनाउने भनेर पनि हामीले छलफल गरिरहेका छौँ । भर्ना अभियानको काम लगभग सक्किएको छ । कसरी हाम्रो शैक्षिक गुणस्तरलाई अब्बल बनाउन सकिन्छ त्यो विषयमा पनि छलफल गर्दै अगाडी बढेका छाँै ।
विपद् व्यवस्थापनको लागि वडामा पूर्व तयारी स्वरुप केही व्यवस्थापन गरिएको छ ?
विपद्को योजनाहरु रहेको छ । वडा स्तरमा वडा स्तरिय समितीहरु रहेको छ । विपद्प्रतिकार्य टोली भनेर चाहिँ छ हामीसँग । विपतको पूर्व तयारीका लागि हामीले यस आर्थिक वर्षमा अक्षय कोष पनि राखेका छौँ । अघिल्लो आर्थिक वर्षमा अक्षय कोष नराखिएर कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएको थियो । तर यस वर्ष वडाको सिलिङबाट नै कोष राखेर आवश्यक अवस्थामा तत्काल उपयोग गर्न सकिने व्यवस्था मिलाएका छौँ । हामीले विपद आउन सक्ने सम्भावनालाई ध्यानमा राखेर पूर्वतयारीका लागि केही रकम पहिला नै छुटाएका छौँ । सामनहरु चाहिँ व्यवस्थापन गरेका छैनौँ बजेट नै राखेर काम गरिरहेका छौँ । हामीले विपदको बेलामा आवश्यकताको आधारमा अरु कार्यक्रमहरूलाई पनि थप गर्नेछौ । विपतरूपमा यही आउँछ भन्न सकिने विषय पनि होइन। त्यसैले हामीले बस्छौँ ।
वडामा खानेपानीकोे अवस्था के छ ?
गत वर्ष पानीका कारण गएको पहिरोले खानेपानीमा केही असर भने पु¥याएको थियो, तर यस आर्थिक वर्षमा त्यस्तो असर देखिएको छैन । हाम्रो वडाका सबै घरहरूमा पानी बोरिङ गरी लिफ्टिङ गरिएको छ । अलिकति माक्लो भेगमा पानी कानपुर खानेपानीबाट आउने भएकाले त्यहाँ अलिकति असुविधा छ । समग्रमा हाम्रा सबै वडाहरूमा घरघरमा धारा उपलब्ध छन् । भूकम्पपछिका वर्षमा खानेपानीका स्रोतहरू सबै सुकेका थिए । माख्लो भेगमा खानेपानी अलिकति महँगो पर्ने भएकाले वडाले सब सिटी गर्ने गरेको छ । तर खानेपानीका लागि दीर्घकालीन समाधान यो होइन । तेमाल खानेपानी परियोजना बन्दैछ, तर हालसम्म काम पूरा भइसकेको छैन । यसले दीर्घकालीन आवश्यकतालाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।
हामीले चालु आर्थिक वर्षमा कार्यक्रमहरू गर्नको लागि अरु निकायहरूसँग कतिको समन्वयात्मक भूमिका निर्वाह गरिरहनुभएको छ ?
नगरपालिकाको पनि आन्तरिक स्रोत निकै न्यून भएको कारण हामीले अरु निकायहरूसँग समन्वय गर्नैपर्ने हुन् छ। बजेटको अभाव हुन्छ । जनताको माग धेरै हुन्छ । उहाँहरूको आशा आकांक्षा सबै पूरा गर्नको लागि हाम्रो वडाको बजेटले भ्याउँदैन । त्यसैले सकेको पहल हामीले गरिरहेका हुन्छौ ।
वडामा कृषि केन्द्रित कार्यक्रम के कस्ता छन् ?
कृषिको लागि पनि हामीले विभिन्न कार्यक्रमहरू बनाइरहेका छौं तर यही कार्यक्रम गर्ने भनेर टुङ्गो लागेको छैन। हामीले हरेक वर्ष कृषिका विभिन्न विषयलाई सम्बोधन गर्दै आएका छौँ । तालिम अनुदानका कार्यक्रमहरू हामीले पहिलेदेखि नै गर्दै आएका हौँ। र यो वर्ष पनि निरन्तर रूपमा गर्नेछौँ । नगरपालिकाको कृषि शाखा मार्फत पनि कामहरु भइरहेको हुन्छ ।
चुनाव ताका नागरिकलाई दिनुभएको आश्वासन कति पुरा भयो ? कति बाँकी छ ?
हामीले चुनाव ताका गर्छु भनेको कामहरू धेरै बाँकी छ । धेरै सम्पन्न गरिसकेका पनि छौँ । नागरिकहरूको पनि आशा धेरै हुन्छ । समयअनुसार उहाँहरूको माग पनि बढ्दै जान्छ । हाम्रो तह हाम्रो क्षमताले जति भ्याउँछ, त्यति हामीले गरिरहेका छौँ । हाम्रो स्रोतहरूले भ्याएन भने हामीले नगरपालिका प्रदेश संघीय सरकारसँग पनि बजेटहरु माग गरेर कार्यक्रम गरिरहेका छौँ । हाम्रो नगरको पनि बजेटहरू कम नै हुन्छ । माथिल्लो निकायबाट आउने बजेटहरु पनि पहिलेको तुलनामा कम भएको छ । आन्तरिक स्रोतहरू कम हुँदा हामीले भने जसरी धेरै काम चाहिँ गर्न सकेका छैनौँ । वडाको सिलिङ भनेको जम्मा करिब ४० लाखको हुन्छ । यसको बावजुद पनि हामीले कार्यक्रमहरू गरिरहेक गरिरहेका छौँ । हामीलाई विपतले गर्दा केही समस्यामा पारेको थियो । विशेषगरी गत असोज महिनामा गएको बाढी पहिरोले क्षति पुर्याएको थियो। अहिले भने हामी बिस्तारै पुनर्निर्माणतिर उम्किसकेका छौँ । यो वर्ष बाढी पहिरोले धेरै क्षति नपुर्याएको कारण सहज भयो ।
अभियान सहतिका केही कार्यक्रमहरू गरिरहनुभएको छ त ?
अभियानका कार्यक्रमहरू विभिन्न भइरहेका हुन्छन् । विशेषगरी स्वास्थ्य शिक्षाका विषयलाई लिएर हामीले अभियानको कार्यक्रम गर्ने गरेका छौँ । अभियान चलाउन पनि कुन समयमा के आवश्यकता पर्छ भन्ने कुरालाई विशेष मध्यनजर गर्छौं । सोहीअनुसार हामीले अभियानसहित कार्यक्रम गर्ने गरेका छौँ । त्यसले निकै राम्रो प्रभाव पनि पर्ने गरेको छ । अभियानको कार्यक्रम चलाउँदा हामीलाई विभिन्न संघसंस्थाहरुले पनि सहयोग गर्ने गरेको छ ।
वडामा नागरिक बडापत्रको व्यवस्थापन गरिएको छ ?
नागरिक बडापत्र राखेका छौँ । हामीले पहिलेदेखि नै बडापत्र राख्दै आएका छौँ । अहिले पनि छ ।