
० यो सालका लागि तपाईको निकायमा मुख्य के–के योजना अघि सार्नु भएको छ ? बजेटको अवस्था के छ ?
यो बर्ष हामीले स्वास्थ्य र शिक्षालाई नै लक्षित गरेर कार्यक्रमहरू बनाएका छौँ । यसैगरी सडकका विषयहरु पनि हाम्रो प्राथमिकताका विषय हुन् । नाला–नगरकोट सडकलाई लगभग पाँच करोड ३३ लाखको टेन्डर निकाल्न पठाएकाछौँ । यसको लागि इस्टमेट गर्ने काम सम्पन्न भइसकेको छ । यसैगरी स्वास्थ्य चौकी भवन निर्माण गर्ने काम गतवर्ष लगभग आधाआधी सकिसकेको छ । गतवर्ष ३६ लाख ८६ हजार रूपैयाँको लागत लागेको थियो भने यो वर्ष यसलाई पूरा गर्न थप बजेट मन्त्रालयबाट आउनेछ भन्नेमा हामी विश्वस्त छौँ । यसको इस्मेट भनेको लगभग ७० लाखको हो । खानेपानीको काम पनि लगभग ७५ प्रतिशत सम्पन्न भइसकेको छ । यो आर्थिक वर्ष र आगामी आर्थिक वर्षगरी दुई वर्षको अवधिमा हामीले खानेपानीको काम सकाउँछौं भन्ने अपेक्षा लिएका छौँ । सडकको काम पनि द्रुत गतिमा भइरहेको छ । कम्तीमा पनि सबै वडामा एम्बुलेन्स छिर्न सक्ने बाटो बन्नुपर्छ भन्ने हाम्रो उद्देश्य हो । यसको लागि सडक पक्की बनाउने, नाली बनाउने, ढलान गर्ने लगायतका कामको लागि एउटा योजनामा १० देखि ३० लाख रुपैयाँ बजेटसम्म विनियोजन गरेर काम गरिरहेका छौँ । प्रदेश सरकारबाट पनि हामीले राम्रो बजेट प्राप्त गरेका छौँ । चारवटा सडकको लागि २५÷२५ लाख रुपैयाँ बजेट रहेको छ । यो वर्ष चाहिँ सडकको कामहरू निकै तीव्र गतिमा अगाडि बढिरहेको छ । त्यो बाहेक हामीले गर्नुपर्ने अरु नियमित कामहरू त छदैछ । आवश्यकताको आधारमा हामीले अरु कामहरु पनि गरिरहेका छौँ ।
० महिला, दलित, अल्पसंख्यक र पछाडि पारिएका वर्गका लागि के–के कार्यक्रमहरु छन् ?
लक्षित समुदायको कार्यक्रमहरू हाम्रो सम्भवत कुनै पनि आर्थिक वर्षमा छुटेका छैनन् । हाम्रो तर्फबाट हामीले सक्दो पहल गरेर कार्यक्रमहरूलाई अगाडि बढाएका छौँ । भ्रमणका कार्यक्रमहरू पनि गरिरहेका हुन्छौं । गत वर्ष चारवटा गाडी सहित जेष्ठ नागरिकहरुलाई भ्रमणको कार्यक्रम गरेका थियौँ। गर्भवती महिलाहरूलाई विभिन्न पोषणका कार्यक्रमहरू पनि सञ्चालन गरिरहेका हुन्छौँ । जस्तै अण्डा, गेडागुडी लगायत विभिन्न सामग्रीहरु वितरण गर्ने गरेका छौँ । यसमा विभिन्न सीपमूलक तालिमहरू पनि प्रदान गरिरहेका हुन्छौँ । विशेषगरी नगरपालिकाबाट पनि छुट्टै शाखागत रुपमा यस विषयमा कार्यक्रमहरू भइरहेको हुन्छ । वडाले पनि आफ्नो बजेटले भ्याए अनुसारको यस विषयलाई समेट्ने गरी कार्यक्रम गरिरहेको हुन्छ ।
० विपद् व्यवस्थापनको लागि विषेश योजनाहरु छन ?
विपद व्यवस्थापनमा रहेको कोष भैपरि आउने ठाउँमा नै खर्च हुने हो । अन्य ठाउँमा हामीले खर्च गर्दैनौँ । लगभग हामीसँग ७ लाख जति बजेट रह्यो भने दशैं पछाडि कुनै ठाउँमा खर्च गर्नु परेन भने हामीले आवश्यकता हेरेर खर्च गर्छौं । गत वर्ष असोजमा गएको बाढी पहिरोमा हाम्रो वडामा धेरै क्षति भएन । त्यसकारण पनि हामीलाई सहज भयो । यो वर्ष पनि त्यस्तो विषम परिस्थिति नआओस् भन्ने हामी चाहन्छौँ । हामीले विपद व्यवस्थापनको पाटोमा गर्नुपर्ने अरु कामहरुलाई निरन्तरता दिँदै जानेछौं ।
० पर्यटन प्रवर्धनको कामहरू कतिको गरिरहनुभएको छ ?
पर्यटन प्रवद्र्धनको क्षेत्रमा पनि राम्रै काम भइरहेको छ । टावर नजिकै हामीले मन्दिर निर्माण गर्ने कामहरू अगाडि बढाइसकेका छौँ । प्रदेश सरकारबाट पनि राम्रै बजेटहरू आइरहेको छ । प्रदेश सरकारबाट त खेलकुद मैदान, मठ मन्दिर लगायतका विषयमा बजेटहरू पाइरहेका छौँ । जिल्ला वन कार्यालय र नापी कार्यालयसँगको समन्वयमा टावर वरिपरि झाडी सरसफाई तथा सुधार र ट्रस्ट हाल्ने कार्यको लागि पालिकाबाट नै बजेट विनियोजन गरेर काम गरिरहेका छौँ । त्यो बाहेक अरु पर्यटन प्रवद्र्धनका नियमित कामहरू त भइने रहेको छ । बजेटहरु पनि हामीले विनियोजन गरेर नै काम गरिरहेका छौँ ।
० तपाईको वडामा खानेपानीको अवस्था कस्तो छ ? सुधारात्मक योजनाहरु के के बनाउनुभएको छ ?
लगभग ७० प्रतिशत खानेपानीको काम सम्पन्न भइसकेको अवस्था छ । किसानहरूको लागि हामीले सिँचाइ कुलोको कामहरू पनि गर्दै आएका छौँ । यो वर्ष पनि गर्नेछौँ । प्रदेश सरकारबाट पनि यसको लागि केही बजेट प्राप्त भएको छ । खानेपानीको लागि अबको केही समयमा खासै समस्या नहोला । हामीले यस क्षेत्रमा राम्रो काम गर्दै आएका छौँ । खानेपानीको स्रोतहरू पनि हाम्रो वडामा राम्रै रहेकाले थप सहज नै भइरहेको छ । डिप बोरिङ गर्नुपर्ने भन्ने जस्ता समस्याहरु हाम्रोमा छैन । खानेपानीको काममा अब शुद्ध खानेपानीको कामहरू गर्दै जानुपर्नेछ । यसको लागि हामी तयारी छौँ ।
० कृषिलाई आधुनिकिकरण, यान्त्रिकिकरण, व्यावसायिकरण र बजारीकरण गर्ने कार्यक्रम ल्याउनु भएको छ ?
कृषिमा हाम्रो वडा निकै सम्भावना भएको क्षेत्र पनि हो । त्यसकारण पनि हामीले कार्यक्रमहरूलाई सोहिअनुसार अगाडि बढाउँदै लगेका छौँ । संघ प्रदेशले कृषिमा गरेको वर्गीकरणले गर्दाखेरि हामी अलि समस्यामा छौँ । बजार क्षेत्रलाई हेरेर ग्रामीण भेगलाई पनि सोहिअनुसारले निर्णय गरिदिएको छ । यसले गर्दा किसानहरु मारमा पर्नुभएको छ । लम्पिस्किन विरुद्धको खोप लगायत विभिन्न खोपका कार्यक्रमहरू हामीले गरिरहेका हुन्छौँ । विभिन्न कृषिका औजार उपकरण वितरण, बोटबिरुवा बिउभिजन वितरणका कामहरू पनि भइरहेको हुन्छ । किसानलाई समस्या परेको बेलामा हामीले यति समस्यालाई पहिलो प्राथमिकतामा राखेर नै काम गरिरहेका हुन्छौँ ।
० आधारभुत स्वास्थसेवा आफ्नो वडाभित्र २४ सै घन्टा प्राप्त गर्न सक्ने बाताबरण निर्माण भएको छ ?
हाम्रो वडाको एरिया अलि ठूलो भएकाले हामीले दुईवटा स्वास्थ्य चौकी सञ्चालन गरिरहेका छौँ । एउटा भवनको अवस्था जीर्ण भएर हामी निर्माणधीन चरणमा छौँ । यो भवनको काम आधा सम्पन्न भइसकेको छ । आधा बाँकी छ । यसको लागि संघीय सरकारबाट बजेट आउने कुरा भइरहेको छ । वडा नम्बर ४ मा नगर अस्पताल रहेको छ । त्यहाँबाट चाहिँ २४ सै घण्टा सेवा प्रदान हुँदै आएको छ । यसमा हाम्रा वडाका नागरिकहरुले पनि सेवा लिरहनु भएको छ । त्यसकारण रात्रिकालीन सेवा चाहिँ हाम्रो वडाबाट दिन सकेका छैनौं तर हाम्रो वडाबाट स्वास्थ्य चौकीद्वारा प्रदान हुने सबै सेवा सुविधाहरु आवश्यकता परेको समयमा निरन्तर रुपमा प्रदान गर्दै आएका छौँ ।
० रोजगारीको अवसर सिर्जना हुने खालका कार्यक्रम चाहीँ छ की छैन ?
छ । यसमा हामीले केही काम गरेका पनि छौँ । जस्ता की प्रधानमन्त्रि रोजगार कार्यक्रम अहिले पनि चलिरहेको छ । यसले राम्रो प्रतिफल पनि दिइरहेको छ । अर्को भनेको कृषिका कार्यक्रमहरुमा महिला तथा युवाहरुलाई जोड लिएका छौँ । यसको विभिन्न तवरबाट अवधारणा बनाईरहेका छौँ । यसले उहाँहरुलाई कृषिमा आत्मनिर्भर बनाउन र अरुलाई पनि कृषिमा आउनको लागि उत्प्रेरणा दिने अनि रोजगारीको सिर्जना गर्ने वातावरण बनाउने छ । विभिन्न खालका तालिमहरुको कार्यक्रम छ हामीसंग । यसले पनि उहाँहरुलाई स्वरोजगार बनाउछ । हामीले वडागत रुपमा गर्ने कामसंग नगरपालिकाले पनि विभिन्न कार्यक्रम गर्छ । महिलाहरुको लागि त नगरपालिकाले पनि तालिमको कार्यक्रमहरु ल्याउदैँ आएको छ । जसले गर्दा उहाँहरुलाई आत्मनिर्भर बनाउनुको साथै स्वारोजगार बनाएको छ । यसमाहामी आवश्यकताको आधारमा स्वारोजगारका कार्यक्रमहरु ल्याउने छौँ ।
० बालमैत्री वडा बनाउनको लागि यहाँको कार्यकालमा कस्ता कामहरु हुनेछ ?
बालमैत्री वडा बनाउनको लागि हामीले वालक्लबहरु गठन गरिरहेका छौँ । नगरस्तरिय बाल सञ्चालन पनि गठन गरिरहेका छौँ । बेला बेला आवश्यकताको आधार पुर्नगठन पनि गरिरहेका हुन्छौँ । उहाँहरुलाई विभिन्न किसिमका तालिमहरु पनि प्रदान गरिरहेका हुन्छौँ । पहिलो कुरा त हामीले बालमैत्री भनेको के हो त्यो बुझ्न जरुरी छ । बालमैत्री स्थानीय शासन भन्नाले बाल बचाउ, बाल संरक्षण, बाल विकास, र अर्थपूर्ण बाल सहभागिताजस्ता बाल अधिकारका सवाललाई स्थानीय निकायको नीति, संरचना, प्रणाली र कार्य प्रक्रिया र व्यवहारमा संस्थागत गर्ने शासकीय पद्धतिलाई बालमैत्री भनेर बुझ्नुपर्छ । अव कुरा भयो बलमैत्री वडा घोषणा गर्नेको । कतिपय स्थानीय तहहरुले बालमैत्री स्थानीय शासनलाई सूचक पूरा गर्ने र घोषणा गर्ने विषयमा मात्र बुझेको देखिन्छ । अहिले बालमैत्री स्थानीय शासनले धेरैजसो घोषणाको हल्ला गर्ने र त्यसपछि फेरि पुरानै अवस्थामा फर्कने परिस्थिति भोगिरहेको देखिन्छ । त्यसैले बालमैत्री स्थानीय शासनलाई अवलम्बन गर्ने स्थानीय तहहरूले बालबालिकासम्बन्धी स्थानीय विकास योजना बनाउन जरुरी छ । यसको लागि हामी काम गर्नेछौँ । नगरपालिकाबाट पनि यसको लागि पहल हुन जरुरी छ । यो सानो काम होइन । सिंगो वडामा परिवर्तन ल्याउछ यसले । यसका सूचकहरु पुरा गर्नको लागि सहज छैन । तर ५ बर्षको अबधीमा हामीले सकेका जति काम चाहीँ गछौँ ।
० चुनाव ताका जनतालाई दिनु भएको आश्वासन के कति पुरा भए कति बाँकी छन् ?
चालु आर्थिक वर्षसम्म आइपुग्दा हामीले चुनावमा बोलेका प्रतिबद्धताहरू ८० प्रतिशत जति पुरा गर्नेछौँ । हामी हाम्रो कार्यकालको लगभग अन्तिम अन्तिममा आइपुगिसकेका छौँ । यहाँसम्म आइपुग्दा हामीले बोलेका धेरै कुराहरू पूरा गरिसकेका छौँ । बाँकी रहेको अवधिमा हामी सकेसम्म शतप्रतिशत नै बोलेका कुराहरु पुरा गर्ने प्रयास गर्नेछौ ।
० शिक्षाका लागि के–के गर्नु भयो ? जस्तो आधारभूत शिक्षा, माध्यमिक शिक्षाका लागि के गर्नुभएको छ ?
शिक्षाको लागि त हामीले निकै काम गरिरहेका छौँ । जस्तो बालबालिकाहरूलाई शिक्षाको पहुँचसम्म पुर्याउने काम भइरहेको छ । विद्यालयको भौतिक सुविधादेखि गुणस्तर सुधारमा पनि विशेष ध्यान दिएका छौँ । शिक्षक व्यवस्थापन, विद्यालय बस व्यवस्थापन लगायत आवश्यक सहयोग व्यवस्थापनको बाटोमा बाटोमा हामीले विशेष ध्यान दिएका छौँ । शिक्षाको क्षेत्रमा पनि हामीले विभिन्न योजनाहरू सम्पन्न गर्दै शैक्षिक गुणस्तलाई वृद्धि गर्ने गरी काम गरिरहेका छौँ । पछिल्लो समय सामुदायिक विद्यालयभन्दा पनि नीजी विद्यालयमा विद्यार्थी र अभिभावक आकर्षित भइरहेको अवस्था छ । हामीले सामुदायिक विद्यालयमा पनि विद्यार्थीहरूलाई आकर्षित गराउनको लागि विभिन्न कार्यक्रमहरू गर्दै आएका छौँ । बेलाबेलामा हामी अभिभावक शिक्षा कार्यक्रम पनि सञ्चालन गरिरहेका हुन्छौँ ।
० कार्यक्रम कार्यान्वयनमा केही समस्या छ ?
कार्यक्रम गर्दै जाने क्रममा समस्याहरू त आइरहन्छन् । कहिले सडक, बाटोघाटो, खानेपानी लगायतका कार्यक्रम गरिरहँदा सानातिना समस्याहरू त आइरहेको हुन्छ । हामीले यस्तो समस्याहरू आइरहँदा स्थानीय नागरिक त्यहाँका अगुवा व्यक्तिहरू लगायत सबै क्षेत्रलाई समेट्ने गरी मान्छेहरूलाई भेला गराएर हामीले समस्याको समाधान खोजी गर्छौँ ।