हाम्रो वडा कृषिमा नै निर्भर छ

  • काभ्रे खबर
  • / अन्तरर्वार्ता /
  • २०८२ कार्तिक ४, मंगलबार (१ महिना अघि)
  • २४० पटक पढिएको

हाम्रो वडा कृषिमा नै निर्भर छ

केमा व्यस्त हुनुहुन्छ आजभोलि ?
दशैं नजिकिसक्यो त्यसैले वडामा हामीले नयाँ कामको सुरुवात गरेका छैनौँ । पुराना जति पनि गतिविधि भइरहेका थिए ती, तिनले निरन्तरता पाइरहेका छन् भने नियमित हुने कामहरुले पनि निरन्तरता पाएको छ । बस्तीमा जाने बाटोहरू, शाखा बाटोहरू सरसफाई गर्ने, पहिरो पन्छ्याउने काम भइरहेको छ ।
चालु आर्थिक वर्षको लागि भनेर बनाइएको योजनाहरु कार्यान्वनको सुरु भयो ? बजेट कति छ ? कुन क्षेत्रलाई लक्षित गरेर कार्यक्रम बनाउनु भएको छ ?
यो वर्ष विशेषगरी बाटोको कामहरूलाई नै प्राथमिकता दिएर काम गर्नेछौँ । मुख्य सडकहरूको लागि प्रदेश सरकारद्वारा नै बजेटहरू परेर काम सुचारु भइरहेको छ । लगभग १५ करोड बजेट परेको छ । वडाले चाहिँ बस्ती स्तरमा जाने सडकहरूको लागि बजेट विनियोजन गरेको छ । यसैगरी हामीले खानेपानीमा पनि समान रूपमा बजेट विनियोजन गरेर काम गरिरहेका छौँ ।
लक्षित समुदायको कार्यक्रमहरू पनि संचालन भइरहेका छन् ? कस्ता विषयलाई संबोधन गर्नुभएको छ ?
खानेपानीको लागि हामीले एक घर एक धाराको अभियान सहित नै कार्यक्रमहरू गरेका थियाँै । यो अभियानले सार्थकता पाउने चरणमा छ । लगभग हामी अन्तिम चरणमा पुगिसकेका छौँ । सोहीअनुसार नै हामीले बजेटहरू विनियोजन गरेर काम गरिरहेका छौँ ।
स्वास्थ्यको क्षेत्रमा वडाको लगानी कत्तिको हुनेगरेको छ ? कार्यक्रमहरु के के छ ?
स्वास्थ्यको क्षेत्रमा पनि हामीले सक्दो प्रयास गरेर काम गरिरहेका छौँ । नयाँ भिजन सहित नै स्वास्थ्यका विभिन्न कार्यक्रम तथा योजनाहरुलाई अगाडि बढाएका छौँ । स्वास्थ्यमा सबै नागरिकको पहुँच पुग्नुपर्छ भन्ने हाम्रो मुख्य उद्देश्य हो । त्यसैले हरेक दिन हाम्रो वडाको साबिकका सातवटा वडाहरुमा शिविर सञ्चालन हुने गरेको छ । आलोपालो प्रणालीमा एउटा वडामा एक दिन पर्नेगरी यसरी हामीले शिविर सञ्चालन गरिरहेका छौँ । स्वास्थ्यको क्षेत्रमा पनि सुधार हुँदै गएको छ ।
वडाले कस्ता कार्यक्रमलाई लक्षित गरेर बजेट बनाएको छ ?
सबै क्षेत्र समान नै छ । सिँचाइको लागि पनि हामीले राम्रै काम गरिरहेका छौँ । प्रदेश सरकारबाट पनि सिंचाइको लागि राम्रै भोलुममा बजेट विनियोजन भएर आएको छ । यसले हामीलाई थप सहज भएको छ । संस्कृतिलाई पनि जगेर्ना गर्नुपर्छ भन्ने हाम्रो वडाको विशेष जोड रहेको छ । हाम्रोमा तामाङ समुदायको बस्ती बाक्लै छ । त्यस हिसाबले हामीले तामाङ समुदायको संस्कृति परम्परा जगेर्ना गर्ने उद्देश्यका साथ छ्योरदेन बनाउने काम गरेका गरेका गरेका छौँ । अहिलेसम्म दुईवटा छ्योरदेन बनाइसक्यौँ । यसैगरी गुम्बा बनाउने काम पनि प्राथमिकताका साथ हेरेर अगाडि बढाइरहेका छौँ । गुम्बा निर्माणको लागि केही पैसा पनि जुटाएका छौँ ।
चुनावको बेलामा गर्ने भनेर तयार घोषणा पत्रका काम कति पुरा भए कति बाँकी ? बाँकी कार्याकाल अबधिभर कत्तिको काम पुरा हुनेछ ?
चुनावको बेलामा पनि हामीले गर्न नसक्ने अथवा हाम्रो क्षमताले नभ्याउने कुराहरु खासै बोलेका थिएनौँ । मैले जति पनि चुनावको बेलामा बोलेको थिए, त्यो बिस्तारै पूरा गर्दै पनि गइरहेको छु । यो काम चाहिँ मैले गर्न सक्छु भन्ने लागेको कुराहरु मात्र बोलेको थिए । चुनावमा बोलेको कुराहरू लगभग पूरा भएको पनि छ । विशेषगरी स्वच्छ खानेपानी वितरण गर्ने भन्ने प्रमुख योजना थियो । यसको कामहरूको लगभग हामी अन्तिम चरणमा आइसकेका छौँ । यो वर्ष यो कामले पूर्णता पाउनेछ । मुख्य सडकहरू पक्की बनाउने भन्ने योजना थियो । सम्भवत मेरो कार्यकालभित्र यो काम पनि पूरा हुनेछ । जम्मा १० किलोमिटरमा ६ किलोमिटर पूरा भइसक्यो । चालु आर्थिक वर्षमा ग्राभेल गर्ने र बेस बनाउने काम हुनेछ भने अर्को वर्षमा पूरा पिच भइसक्ने । हाम्रो वडा लगभग ९५ प्रतिशत तामाङ समुदायको बसोबास रहेको क्षेत्र हो । पहिले कुनै पनि तामाङ समुदायको संस्कृति परम्परा झल्काउने संरचना थिएन । अहिले गुम्बा, छ्योरदेन बनाउने काम भएकाले केही परिवर्तन देखिएको छ । हाम्रो वडामा पानीको मुहानहरूको कमी छैन । पानी प्रशस्तै भएको ठाउँ हो तर, व्यवस्थित तरिकाले त्यसको सदुपयोग भएन कि भन्ने चाहिँ लागेको थियो । त्यसैले हामीले सिँचाइको कामहरूलाई थप व्यवस्थित बनाउने योजना बनायौँ । सोहिअनुसार हामीले विभिन्न ठाउँमा बजेटहरूको माग पनि गरेका थियौँ । अहिले चारवटा ठाउँमा सिंचाईका योजनाहरु सम्पन्न हुने भएको छ । यो हाम्रो लागि खुसीको कुरा पनि हो । कुनै पनि बस्ती घर नछुट्ने गरेर हामीले आवतजावत सहज होस् भन्ने हिसाबले सडकहरु बनाउने काम गरिसकेका छौँ । बत्ती विस्तार गरेका छौँ । कुनै पनि घर अँध्यारो भएर बस्नुपरेको अवस्था छैन । पुराना काठका पोलहरुलाई विस्थापित गरेर नयाँ फलामका पोलहरू राख्ने काम भएको छ । हामीले हाम्रो तर्फबाट सक्दो प्रयास गरेका छौँ । बोलेका कुराहरू सकभर पुरा पनि गरेका छौँ । अब नागरिकहरुले पनि कसरी हेर्नुहुन्छ र कामलाई कसरी मूल्यांकन गर्नुहुन्छ भन्ने कुरा हो । विशेष त उहाँहरुलाई चित्त बुझ्नुपर्यो । मैले चुनावताका बोलेको कुराहरू लगभग लगभग पूरा भएको छ । अझै बाँकी समय छ । सक्दो अझै राम्रो गर्ने प्रयास गर्दै जानेछु ।
कृषिको लागि तपाईँको वडामा चालु आर्थिक वर्षभित्र के कस्तो कार्यक्रम गर्दै हुनुहुन्छ ?
हाम्रो वडा भनेको कृषिमा नै निर्भर भएको क्षेत्र हो । यहाँ उत्पादन हुने कुराहरूलाई मात्र विशेष जोड दिएर काम गर्न सकियो भने धेरै राम्रो पनि हुन्छ । यान्त्रीकरणको कुराहरूलाई पनि विशेष जोड दिएका छौँ । हरेक वर्ष हामीले फरक फरक औजार उपकरणहरू अनुदानमा दिँदै आएका छौँ । यसमा नगरपालिकाले पनि सहयोग गर्दै आएको छ । यसले गर्दा किसानहरूलाई सहज भएको भन्ने हामीले महसुस पनि गरेका छौँ । ट्रयाक्टर र स्प्रेपम्प चाहिँ नागरिकहरूबाट एकदमै धेरै माग भएकोले सकेसम्म मागपूर्ति गर्ने प्रयास गरेका छौँ । यो बर्ष पनि १ सय ५० जति स्प्रेपम्प र ३५ वटा ट्रयाक्टर वितरण गर्ने योजना बनाएका छौँ ।
वडाबाट हुने कामहरु कत्तिको पारदर्शी छ ?
हामीले वडाबाट गर्ने काम पारदर्शी नै छ । वडा नम्बर १ को वडा सचिव, सदस्य, अन्य कर्मचारीहरू मिलेर बजेट बनाउँदा हामीले देखेको सबैभन्दा जरुरी कामहरूलाई प्राथमिकतामा राखेर बजेट बनाउने गर्छौ । नगरले हाम्रो वडालाई भनेर जति पनि बजेट छुट्याउँछ त्यो बजेटलाई हामीले पारदर्शी रुपमा सञ्चालन गरिरहेका हुन्छौं । हामीले उपभोक्ता समिति गठन गरेर उपभोक्तालाई श्रमदान गरेर काम गरिरहेका छौँ । यसरी हामी विकास निर्माणको कामलाई अगाडि बढाइरहेका छौँ ।
शैक्षिक सुधारको लागि वडागत पहल कत्तिको भइरहेको छ ? आगामी योजनाहरु के के छ ?
हाम्रोमा जम्मा दुईवटा विद्यालय रहेका छन् । एउटा आधारभूत र अर्को माध्यमिक विद्यालय रहेको छ । शैक्षिक गुणस्तर अभावको कारण हामीले धेरै समस्याहरु भोग्नुपरेको थियो । त्यसकारण पनि शैक्षिक गुणस्तर वृद्धि हुनुपर्छ । यसमा राम्रो गर्न सकियो भने मात्र पछि परिवर्तन ल्याउन सकिन्छ भन्ने उद्देश्यका साथ हामीले शिक्षामा राम्रै लगानी गर्दै आएका छौँ । बेलाबखतमा शिक्षक अभावहरूले धेरै समस्यामा पर्ने गरेको छ । त्यसकारण वडाले नै बजेट विनियोजन गरेर गत वर्षसम्म दुई÷दुईजना शिक्षक व्यवस्थापन गरेको थियो भने यो वर्ष एकजना हुनुहुन्छ । यसले पनि धेरै राम्रो प्रभाव पारेको छ । अभिभावक सुझाव पनि पछिल्लो समय राम्रो छ । भौतिक सुधारहरू पनि हुँदैछ ।
नागरिक बडापत्र राखिएको छ ?
नागरिक बडापत्र राखिएको छ । सोहिअनुसार हामीले कामहरु पनि गरिरहेका छौँ । नागरिक बडापत्र त पहिलेदेखी नै छ हाम्रोमा ।
कार्यक्रम कार्यान्वयन गर्ने क्रममा कस्ता खालका समस्याहरु आएरका छन् ? तिनको सामाधान कसरी गरिरहनुभएको छ ?
हामीले आएका चुनौतीहरूको सामना गर्दै, समस्याको समाधान पनि निकाल्दै आएका छौँ । हामीले जे जस्तो समस्या आएको छ तिनलाई पहिलो प्राथमिकतामा राखेर काम गरेका छौँ । जस्तो शिक्षामा चाहिँ हामीले गुणस्तर वृद्धि गर्नुपर्छ भनेर लागिपरेका थियौँ । र त्यसले अहिले केही प्रतिफल राम्रो पनि दिएको छ । सबैको सहमतिमा नै काम गर्ने हुँदा त्यस्तो ठूलो समस्या त छैन । आइपर्यो भने पनि हामी समाधान गर्नेछौं । काम गर्दै जाँदा समस्या त आइहाल्छ आएका समस्याहरूलाई हामीले समाधान गर्दै जानेछौँ ।
लक्षित समुदायको कार्यक्रमहरू पनि संचालन भइरहेका छन् ? कस्ता विषयलाई संबोधन गर्नुभएको छ ?
हामीले बजेटहरू बनाउँदा सबै क्षेत्रलाई समेटेर बनाउने गरेका छौँ । महिला, बालबालिका, दलित, अल्पसंख्यक जनजातिको लागि समान रूपमा बजेट विनियोजन हुन्छ । भौतिक कुराहरू अलि बढी आवश्यक हुने भएकाले ती क्षेत्रमा अलि बढी विनियोजन हुन्छन् र बाँकी रहेका क्षेत्रमा समान किसिमले नै हामीले बजेट विनियोजन गर्छौं । बजेट विनियोजन गर्नु पूर्व बजेट छनोटको क्रममा पनि हामीले सबैलाई सबैलाई समेटेर अगाडि बढेका छौँ । जेष्ठ नागरिकहरूलाई अघिल्लो वर्ष हामीले ठूलो राहत वितरण गरेका थियाँै । राहत मात्र वितरण गरेर समस्याको समाधान गर्न सकिँदैन । त्यसैकारणले हामीले महिला र जेष्ठ नागरिकको बजेट शीर्षकबाट हामीले बस्नका लागि विश्राम स्थल बनाएका छौँ । हामीले महिला, बालबालिका, दलित, बृद्धबुद्धा, अपाङ्गता भएका सबै समूदायको लागि योजना बनाएका छौँ । विषेशगरी सचेतनाका कार्यक्रम रहेको छ । सीप सिकाउने खालका योजनाहरु पनि बनाएका छौँ । यसैगरी अनुदानका कार्यक्रममा पनि हामीले उहाँहरुलाई प्राथमिकतामा राखेका छौँ । यसमा उहाँहरुको चाहना अनुसारको योजना बनेको छ । यो सीपमूलक तालिम चाहीँ महिलाहरुको लागि भनेर बनको हो । यसमा हामी सकेसम्म पहल राम्रोको लागि नै गर्नेछौँ । बालबालिकाको लागि पनि सकेसम्म राम्रो योजना तथा कार्यक्रम गर्ने तयारीमा छौँ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस