
चालु आर्थिक वर्षको लागि भनेर बनाइएको योजनाहरु कार्यान्वनको सुरु भयो ? बजेट कति छ ? कुन क्षेत्रलाई लक्षित गरेर कार्यक्रम बनाउनु भएको छ ?
वडाको चालु आर्थिक वर्षको बजेट सिलिङ जम्मा ३० लाख रुपैयाँ रहेको छ । प्रदेश सरकार र संघीय सरकारबाट पनि हाम्रोमा चालु आर्थिक वर्षमा केही योजना परेको थियो । प्रदेश सरकारबाट २ करोड ७० लाख बराबरको एउटा सडकको लागि कार्यक्रम परेको छ भने सङ्घीय सरकारबाट समपूरक अन्तर्गत अर्को एउटा सडकको कार्यक्रम रहेको छ । मुख्य गरी ठूला कार्यक्रम त यी दुईटा मात्रै हुन् तर जेन्जी आन्दोलनले गर्दा नेपालमा आएको परिस्थितिले यी दुई कार्यक्रम पनि हुन्छन् कि हुँदैनन् भन्ने अनयोलता छाएको छ । अरु ठूला कार्यक्रमहरू वडामा बनेका छैनन् । सानातिना कार्यक्रमहरू मात्रै छन् । सामान्य मर्मत सम्हारको कार्यक्रम रहेको छ ।
वडाको समग्र विकासका निम्ति अरु निकायहरुसँग तपाईहरुको समन्वय कत्तिको छ ? नगरपालिका, प्रदेश र सङ्घीय सरकार अथवा अन्य संघसंस्थाहरूबाट कार्यक्रम कति वटा छ ?
अन्य निकायहरूबाट पनि हामीले निरन्तर रूपमा समन्वय गरेर विभिन्न कार्यक्रमहरू ल्याइरहेका छौँ । विगतदेखि नै समन्वयको माध्यमबाट प्रभावकारी रूपमा काम गर्दै आएको अनुभव अहिले पनि कायम राख्ने उद्देश्य रहेको छ । तर, पछिल्लो समय सरकार परिवर्तन भइरहने क्रमले प्रशासनिक स्थायित्वमा असर पुगेको र योजनाहरू कार्यान्वयन गर्न केही कठिनाइहरू देखिएको छ । सरकार बारम्बार परिवर्तन हुँदा पहिले पनि चुनौती त थियो, तर अहिले झन् जेनजी आन्दोलन पछि त झन् स्थिति अन्योलपूर्ण बनेको छ । हालको अवस्थाले कहाँ, कसरी र कुन निकायसँग समन्वय गर्ने भन्ने स्पष्टता नआएकाले तत्काल कार्यक्रम अघि बढाउन केही अप्ठ्यारो देखिएको छ । योजनाहरू त तयार छन्, तर त्यसको भविष्य के हुन्छ भन्ने अन्योलता छ । यद्यपि, चुनौतीका बाबजुद पनि उहाँले अघिल्ला वर्षहरूमा सफलतापूर्वक अन्य निकायहरूसँग सहकार्य गर्दै कार्यक्रम सञ्चालन गरेका थियाँै । अघिल्लो पटक हामीले विभिन्न संघसंस्था र सरकारी निकायसँग मिलेर काम गर्दा राम्रो परिणाम आएको थियो । त्यसैले, अहिले पनि जहाँ सकिन्छ, समन्वयको अभ्यासलाई निरन्तरता दिन हामी प्रतिबद्ध छौँ । अहिलेको संक्रमणकालीन अवस्थाले तत्काल समन्वयमा कठिनाइ उत्पन्न गरे पनि दीर्घकालीन रूपमा सहकार्य र साझेदारीलाई निरन्तरता दिइने छ ।
वडाले कस्ता कार्यक्रमलाई लक्षित गरेर बजेट बनाएको छ ?
आवश्यकता के छ भन्ने कुरा महत्वपूर्ण हुने रहेछ । हामीले पहिलेदेखि नै पूर्वाधारको कार्यक्रमहरूलाई अलि बढी जोड दिने गरेका थियौं । किनभने आवश्यकता त्यही थियो । तर पक्की बनाउन नसक्दा चाहिँ समस्या हुन्छ । जस्तै सडकहरु पुरै पक्की बनाउन बजेट भनेजति हुँदैन हरेक वर्ष बजेट थप्दै त्यो कामलाई पूरा गर्दा बर्खामा पहिरो जाने जस्ता समस्याले निकै गाह्रो हुने रहेछ ।
लक्षित समुदायको कार्यक्रमहरू पनि संचालन भइरहेका छन् ? कस्ता विषयलाई संबोधन गर्नुभएको छ ?
महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित समुदाय हामीले सबैलाई समेटेर कार्यक्रम बनाएका छौँ । विशेषगरी सीपमूलक कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएका छौँ । विशेषगरी महिलाहरूले माग गर्नुभएको कार्य सिपमूलक तालिमहरू बढी दिँदै आएका थियौँ । जस्तै मुढा बनाउने, अचार बनाउने, सिलाई बुनाई, मैनबत्ती बनाउने, साबुन बनाउने, डल बनाउने र पार्लर लगायतका तालिमहरू दिएका छौँ तर त्यो तालिमले खासै दिगोपन पाएजस्तो देखिँदैन । तालिम प्राप्त गरिसकेपछि त्यसलाई व्यवसायिक रुपमा निकै कमले उतार्नु भएको छ । त्यसैले यो वर्ष चाहिँ सामानहरू नै उपलब्ध गराउनेगरी काम गर्ने कि भन्ने योजना छ । जस्तै दलित समुदायको लागि पन्चेबाजा वितरण गर्ने कि भन्ने योजना छ । यसले गर्दा हाम्रो पन्चेबाजा जुन परम्परागत रुपमा चल्दै आएको छ, यसको संरक्षण पनि हुन्छ भन्ने हिसाबले यो कार्यक्रम ल्याएका हौँ । यसले उहाँहरूको आर्थिक गतिविधिमा पनि अलि सहज हुन्छ भन्ने हाम्रो अपेक्षा छ ।
वडामा खानेपानीको अवस्था कस्तो छ ?
हाम्रोमा बृहद खानेपानीको केही योजनाहरू सञ्चालन भइरहेका थिए । गत वर्षको विपदले गर्दा ती योजनाहरूमा धक्का लाग्यो । भकुण्डे चौकी डाँडा खानेपानीको काम सम्पन्न गर्नको लागि चाहिँ हामी तीव्र गतिमा लागि परेका छौँ । यसैगरी खनालथोक लिफ्ट खानेपानी योजना पनि पुननिर्माणको काम अगाडि बढिरहेको छ । अर्को एउटा डिप बोरिङको योजना पनि गत वर्षको पदले ध्वस्त बनाएको छ । यसलाई फेरि निर्माण गर्नुपर्ने भएको छ । हाम्रो वडामा खानेपानीको लागि धेरै गाह्रो पनि छैन र अहिले सहज वातावरण पनि बनिसकेको छैन । धेरै पुननिर्माण गर्नुपर्ने भएको छ । यसको लागि हामी एउटा लागि परेका छौँ ।
कृषिको लागि तपाईँको वडामा चालु आर्थिक वर्षभित्र के कस्तो कार्यक्रम गर्दै हुनुहुन्छ ?
पछिल्लो समय कृषिलाई व्यावसायिक रूपमा रूपान्तरण गर्नुपर्छ भन्ने सिद्धान्तलाई आधार बनाएर हामी लागिपरेका छौँ । हाम्रो अनुरोध पनि यही हो । म किसान हो भनेर जो बाहिर आउनुभएको छ उहाँहरुभन्दा पनि जसले वास्तवमै कृषि गरिरहनुभएको किसानी गरिरहनुभएको हुन्छ । उहाँहरु फ्रन्टमा देखिनुहुन्न । यसले गर्दा कार्यक्रमहरू गराउँदा चाहिँ अलि समस्या हुने रहेछ हामीले जुनसुकै खेती गरे पनि व्यवसायिक रुपमा अगाडि बढाउन सकियो भने मात्रै त्योबाट राम्रो प्रतिफल लिन सकिन्छ । गत वर्ष कृषि यन्त्रीकरण अन्तर्गत हामीले ट्रायक्टरहरू वितरण गरेका थियौँ । विभिन्न समूहमार्फत हाते पम्प, पानी तान्ने मेसिनहरू पनि वितरण गरेका थियौँ । फलफुल खेती गर्न चाहनेहरूलाई पनि हामीले बरु निःशुल्क बिरुवा वितरण गर्छौं भनेर आह्वान गरिरहेका हुन्छौँ । गत वर्ष केही कृषकहरूले यसरी बिरुवा पनि लगाउन सुरु गर्नुभएको थियो । जे गरेपनि व्यावसायिक रूपमा गर्नुभयो भने चाहिँ राम्रो हुन्छ । जस्तै सुन्तलाको बिरुवा लगाएर फेरि त्यसको वरिपरि मकै पनि लगाइदिनु हुन्छ । यसले गर्दा त्यसले राम्रो उत्पादन दिन सक्दैन ।
शिक्षाको क्षेत्रमा वडाको लगानी कत्तिको हुनेगरेको छ ? यो बर्ष कार्यक्रमहरु के के छ ?
शैक्षिक शुद्धिकरणमा पहिलो प्राथमिकता हुनुपर्छ भन्ने हाम्रो जोड हो । समग्र नगरपालिकामा एसइइको नतिजा राम्रै आएको छ । केही राजनीतिक आस्था राख्ने शिक्षकहरुले राजनीतिक आस्था बोकिनै रहनुभन्दा चाहिँ समस्या हुने रहेछ । शिक्षालाई पूर्णत स्थानीय तहलाई जिम्मा लगाउन सकियो भने चाहिँ अलि सहज हुन्छ कि भन्ने हो नत्र भने छरपष्ट भएजस्तो देखिएको छ । यसले समस्या पनि आइरहेको छ । पूर्णरूपमा राजनीतिमा संलग्न भएकाहरूले नै सबै क्षेत्र बिग्रिएको हो भन्ने जनमानस रहेको छ तर त्यस्तो होइन विभिन्न क्षेत्रमा राजनीतिक तत्व हाबिहुँदा समस्या आएको हो । यो सबैले बुझ्न जरुरी छ । समग्र देशभरि नै विद्यालय मर्ज हुनु एकदमै आवश्यक रहेको छ । विद्यार्थीभन्दा शिक्षक धेरै हुने अवस्था रहने हो भने अबको समय निकै मुस्किल हुन्छ । यतिको हुँदा पनि नतिजा शून्य भएपछि त समस्या भयो । अब यो कुरा चाहिँ संघीय सरकार र प्रदेश सरकारले पनि बुझ्न आवश्यक छ ।
स्वास्थ्यको लागि वडागत रुपमा भइरहेका कार्यक्रमहरु के के छन् ?
मैले समग्रमा देखेको चाहिँ, स्थानीय तह मातहत रहेका स्वास्थ्य संस्थाहरूबाट राम्रो सेवा प्रदान हुँदै आएको छ । औषधि अभाव भएको छैन । प्रदेश स्तरीय अस्पतालमा चाहिँ डाक्टर नर्सहरू पुर्ण फुलफिल हुँदैनन् । कोटामा पुग्ला तर हाजिरीमा देखिँदैन । हाम्रो स्थानीय स्तरमा सानो एउटा गाउँघर क्लिनिक नै भएपनि उहाँहरुले पूर्ण रुपमा सेवा सुविधा पाइरहनुभएको हुन्छ । अझ नेपाल सरकारले दिने बाहेक हामीले सकेको थप सेवा सुविधा पनि उपलब्ध गराउन प्रयास गर्छौं । स्वास्थ्य सेवा पाउनबाट कोही पनि बञ्चित हुन नपरोस् भन्ने कुरामा वडा विषेश सजक भएर काम गरिरहेको छ ।
यो कार्यकाल सक्किन अब धेरै लामो समय बाँकी छैन । वडाको समग्र विकासलाई लिएर अब तपाईको योजना के छ ?
हामीले सुरुदेखिनै जनताको आवाज सुनेरै काम गर्दै आएका छौँ । नागरिरकको माग के हो र वास्तवमा समुदायलाई के आवश्यक छ भन्ने कुरालाई हामीले सधैं नीति तथा योजनाको केन्द्रमा राखेका छौँ । वडाको समग्र विकासका लागि जनताको आवश्यकता र सुझाव सुन्नु नै पहिलो कदम हो । त्यसैले सुरुदेखि नै नागरिकसँग प्रत्यक्ष संवाद गर्दै, उहाँहरूका माग र प्राथमिकताअनुसार योजना बनाउने कार्यलाई निरन्तरता दिइँदै आएको छ । जस्तो चुनावको समयमा पनि हामीले अनावश्यक ठूलो कुरा गरेर जनतालाई भ्रममा पार्ने काम गरेका थिएनौँ । हामीले सधैं व्यवहारिक कुरा मात्रै गरेका थियौँ । जुन हामीले पूरा गर्न सक्छौँ भन्नेमा विश्वास थियो । विकास भन्नाले खाली ठूला सपना देखाउनु होइन, जनताले महसुस गर्ने साना–साना सुधारहरू ल्याउनु हो । हामीले त्यही सोचका साथ हाम्रा प्रतिबद्धताहरूलाई कार्यान्वयन गर्ने प्रयास गर्दै आएका छौँ । अहिले पनि वडास्तरमा भएका विभिन्न आवश्यकता र समस्यालाई सम्बोधन गर्न उहाँहरूको टोली सक्रिय रूपमा काम गरिरहेको छ । वडाका सडक, खानेपानी, सरसफाइ, स्वास्थ्य सेवा र शिक्षा क्षेत्रका सुधारका लागि निरन्तर पहल भइरहेको छ । हामीले हाम्रो तर्फबाट वडाको हितमा सक्दो पहल गरिरहेका छौँ । संसाधन सीमित छन्, तर योजनाबद्ध रूपमा काम गर्न सके उपलब्ध परिणाम पनि ठूला नै हुनेछन् । भविष्यका योजनामा पनि नागरिक सहभागिता नै मुख्य आधार हुनेछ । आगामी दिनमा परिस्थिति जस्तोसुकै आए पनि हामी त्यसै अनुसार योजना परिमार्जन गर्दै काम गर्दै जानेछौँ ।