
केमा व्यस्त हुनुहुन्छ ? चालु आर्थिक बर्षको लागि भनेर बनाइएको योजनाहरु कति सम्पन्न भए ? कति बाँकी छ ?
। चालु आर्थिक वर्षको वडाको बजेट सिलिङ भनेको जम्मा ५० लाख रहेको छ । यही बजेट मार्फत हाम्रो वडामा कामहरु हुने हो । हाम्रो वडामा लघु उद्यमीहरू खासै छैनन् । त्यसैले त्यस क्षेत्रमा खासै कार्यक्रमहरू पनि बनेको छैन । पूर्वाधारको क्षेत्रमा अलि धेरै कार्यक्रम बनाएका छौँ । योजनाहरु बनाएका छौ । कृषिको लागि हाम्रो वडामा राम्रै सम्भावना छ र मागहरु पनि आएकाले हामीले कृषि क्षेत्रलाई अलि बढी लक्षित गरेर कार्यक्रम बनाएका छौँ । औजार उपकरण वितरण गर्ने कार्यक्रम बनाएका छौँ । नौ लाख रकमको औजार उपकरण वितरणको लागि भनेर बजेट विनियोजन गरेका छौँ । सिँचाइको लागि पनि योजनाहरू बनेको छ । खानेपानीको क्षेत्रमा पनि काम गर्ने भनेर तयारी गरेका छौँ । यसैगरी स्वास्थ्य सम्बन्धी पनि हामीले विभिन्न कार्यक्रमहरु बनाएका छौँ । यो बाहेक हामीले आवश्यकताको आधारमा कार्यक्रमहरू गर्नेछौँ । नागरिकहरूबाट पनि के कस्तो मागहरु आउँछ तिनलाई पनि सम्बोधन गर्दै अगाडि बढेका छौँ ।
हामीले चालु आर्थिक वर्षमा कार्यक्रमहरू गर्नको लागि अरु निकायहरूसँग कतिको समन्वयात्मक भूमिका निर्वाह गरिरहनुभएको छ ?
हामीले नगरपालिका सङ्घ प्रदेशसँग समन्वय गर्ने कुरा त छँदै छ । त्यो बाहेक अरु विभिन्न संघसंस्थाहरूसँगको समन्वयमा पनि काम गरिरहेका छौँ । हामीले हाम्रो तर्फबाट जुन निकायसँग समन्वय गर्दा कार्यक्रम आउन सक्छ ती निकायसँग समन्वय गरिरहेका छौँ । पछिल्लो समय हामीले इको हिमाल नेपालसँग समन्वय गरेर काम गरिरहेका छौँ । त्यो संस्थाले हाम्रो वडामा विभिन्न खालका शैक्षिक गतिविधिलाई टेवा पुग्ने खालका कार्यक्रम गरिरहेको छ । संघ प्रदेशबाट पनि सकेको समन्वय गरेका छौँ र बजेट सोहिअनुसारले आएको पनि छ । त्यहाँबाट चाहिँ विशेषगरी भौतिक पूर्वाधार विकासको क्षेत्रमा बजेटहरू आउने गरेको छ । त्यो बाहेक अरु क्षेत्रमा कमै बजेट आउने गरेको छ ।
बालबालिका, महिला, अपाङ्गता भएका नागरिकको क्षेत्रमा वडाले कसरी काम गरिरहेको छ ?
नगरपालिकाको महिला तथा बालबालिका शाखा अन्तर्गत विभिन्न प्रकारका तालिम र गोष्ठीहरू सञ्चालन भइरहेका छन् । यी कार्यक्रमहरू मार्फत महिलाहरूको क्षमता अभिवृद्धि, आत्मनिर्भरता तथा आर्थिक सशक्तीकरणमा टेवा पुग्ने उद्देश्य राखिएको छ । विशेषगरी सीपमूलक तालिमहरूमा प्राथमिकता दिइएको छ, जसअन्तर्गत सिलाइ–बुनाइ, हस्तकलाका सामग्री निर्माण, उद्यमशीलता विकास, व्यवसायिक सीप अभिवृद्धि लगायतका विषयमा प्रशिक्षणहरू प्रदान गरिँदै आएका छन् । नगरपालिकाले नै यस क्षेत्रलाई प्राथमिकतामा राखी विशेष कार्यक्रमहरू सञ्चालन गर्ने नीति अपनाएको हुँदा, वडास्तरमा छुट्टै बजेट विनियोजन गरिएको छैन । त्यसैले, नगरपालिकाबाट सञ्चालन भएका कार्यक्रमहरूमा वडाले सक्रिय रूपमा सहकार्य गर्दै आएको छ र हाम्रा वडाका नागरिकहरूलाई ती कार्यक्रमहरूमा सहभागी गराउने व्यवस्था मिलाइरहेका छौँ । यसबाट वडाका महिलाहरूले विभिन्न सीप習 गर्न पाई आत्मनिर्भर बन्ने अवसर पाएका छन्, जसले दीर्घकालमा समुदायको समग्र सामाजिक तथा आर्थिक विकासमा पनि सहयोग पु¥याउने विश्वास गरिएको छ ।
वडामा कृषि केन्द्रित कार्यक्रम के कस्ता छन् ?
कृषिको लागि हाम्रो एउटा निकै सम्भावना भएको क्षेत्र हो । विगतका वर्षहरूमा पनि हामीले कृषिमा विविध शीर्षकमा कार्यक्रमहरु गर्दै आएका छौँ । यो वर्ष चाहिँ हामीले कृषि औजार उपकरण वितरण गर्ने भनेर ९ लाख रुपैयाँ बजेट राखेका छौँ । सोही बजेट मार्फत हामी कार्यक्रम गर्छौं । किसानहरूको मागसँगै वडाको आवश्यकता पनि के छ भन्ने कुरा हो । यदि वडा भित्र कृषिमा कुनै कार्यक्रम ल्याउँदा ठूलो परिवर्तन आउँछ भने वडाले त्यसमा विशेष ध्यान दिने नै छ । प्रदेशबाट पनि गोठ सुधार, कृषि प्रवर्धन लगायत विभिन्न विषयमा बेलाबखतमा कार्यक्रमहरू आइरहेको हुन्छ । यसले गर्दा पनि थप सहज भएको छ । तरकारी बालीको लागि पनि विभिन्न खालका कार्यक्रमहरू आइरहेका छ । यसले गर्दाखेरि हाम्रो वडाका किसानहरूलाई पनि थप सहज भएको छ । पछिल्लो समय कृषि चुन, मल लगायतका समस्याहरू चाहिँ आइनै रहेको छ ।
स्वास्थ्यको लागि कार्यक्रम के के बनेको छ ? योजना के छ ?
स्वास्थ्यको क्षेत्रलाई पनि अगाडि बढाउनुपर्छ र यसमा सबैको पहुँच हुनुपर्छ भन्ने हाम्रो पनि जोड हो । हामीले वडागत रुपमा दुई÷तीन लाखको बजेट यस क्षेत्रको लागि विनियोजन गरेका छौँ । यो रकम विशेषगरी स्वास्थ्य क्षेत्रलाई नै चाहिने आवश्यक सामग्रीहरू खरिदमा प्रयोग हुनेछ। वडा भित्र औषधि अभाव हुन नदिने नागरिकहरूलाई सहज र सुलभ रुपमा स्वास्थ्यमा पहुँच पुर्याउन समन्वय गरिने विभिन्न समयमा आएका महामारीहरू उन्मुलनका लागि विशेष पहल गर्ने लगायतका कामहरु त निरन्तर रुपमा चलिरहेको छ । सबै वडाहरूमा स्वास्थ्य चौकी भएकाले सहज पनि भएको छ। नगरपालिकामा नगर अस्पताल पनि भएकाले यसमा थप सहजीकरण भएको छ। स्वास्थ्य बीमा कार्यक्रम पनि नगरबाट नै हुने भन्ने कुरा भएकाले अझै धेरै सहज हुन्छ भन्ने हामीलाई लागेको छ।
शिक्षामा के छ प्रगती ?
हाम्रो वडामा जम्मा दुईवटा सामुदायिक विद्यालय रहेको छ । बाँकी संस्थागत विद्यालय छन् । शिक्षाको लागि पनि विशेषगरी नगरपालिका मार्फत नै कार्यक्रमहरु हुँदै आएको छ । नगरपालिकाले बर्सिनी निकै ठूलो रकम शिक्षाको क्षेत्रमा खर्च गर्दै आएको छ । एउटा क्याम्पस पनि चलाउने भन्ने थियो । त्यो अहिले चलेको छैन । शिक्षामा सबै बालबालिकाको पहुँच हुनुपर्छ भन्ने कुरामा हाम्रो विशेष जोड रहेको छ । हामीले शैक्षिक विकासको लागि वडागत रुपमा जे जति प्रयास गर्न सक्छौं ती गरिरहेका छौँ । आगामी यो क्रमले पनि निरन्तरता पाउनेछ । नगरपालिकाबाट शिक्षाको लागि बजेट तथा कार्यक्रमहरू राम्रै भोलुममा बन्छ तर भने जसरी सुधार ल्याउन सकेको छैन कि भन्ने लाग्छ ।
वडामा खानेपानीकोे अवस्था के छ ?
खानेपानीको अवस्था अहिलेको अवस्थामा हेर्दा पहिलेको तुलनामा धेरै सुधार आएको छ । विगतमा विभिन्न प्राविधिक र स्रोत अभावका कारण नागरिकहरूले खानेपानीको अभाव झेल्नुपरेको भए पनि अहिले धेरै घरपरिवारसम्म सुरक्षित खानेपानी आपूर्ति पुग्न थालेको छ । नगरपालिकाले सञ्चालन गरेको “एक घर, एक धारा” अभियानमार्फत सबै नागरिकलाई आधारभूत खानेपानी सेवामा पहुँच पु¥याउने लक्ष्य राखिएको छ । यद्यपि, यो अभियानलाई पूर्णता दिन भने अझै केही काम बाँकी छ । धेरै घरहरूमा पानीसहितका धारा जडान भइसकेका छन्, तर केही बस्तीहरूमा, विशेषगरी मुहान नजिकका उचाइ र भौगोलिक रूपमा कठिन ठाउँहरूमा अझै धारा पु¥याउन चुनौती रहेको छ । हाल नगरपालिकामा “सुखा क्षेत्र खानेपानी आयोजना” नामक ठूलो परियोजना सञ्चालनमा रहेको छ, जसको लागत करिब १ अर्ब १६ करोड रुपैयाँ बराबरको छ । यो आयोजना सम्पन्न भएपश्चात् मण्डनदेउपुर नगरपालिकाका अधिकांश वडाहरूमा दीर्घकालीन रूपमा खानेपानीको समस्या समाधान हुनेछ भन्ने अपेक्षा गरिएको छ । यस आयोजनाबाट विशेषगरी ती बस्तीहरू लाभान्वित हुनेछन्, जहाँ अहिले पनि खानेपानीको पहुँच सीमित छ वा दैनिक जीवनमा पानीको अभावले कठिनाइ भोग्नुपरेको छ । नगरपालिकाले यस आयोजना मार्फत सुरक्षित, स्वच्छ र दिगो खानेपानी वितरण प्रणाली विकास गर्ने लक्ष्य राखेको छ । स्थानीय तह, उपभोक्ता समितिहरू र सरोकारवाला निकायहरूको सहकार्यमा काम अघि बढाइएको छ । यसरी खानेपानी सेवाको पहुँच विस्तार हुँदै जाँदा नागरिकहरूको जीवनस्तरमा सुधार आउने, स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने र समग्र रूपमा नगरको दिगो विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
अभियान सहतिका केही कार्यक्रमहरू गरिरहनुभएको छ त ?
अभियानकै रूपमा आवश्यकता परेको खण्डमा विभिन्न कार्यक्रमहरू गरिरहेका छौँ । केही कुराहरू अहिलेसम्म पूरा भइसक्नुपर्ने थियो । अभियानको रुपमा आइकन पनि ती कामहरू पूरा भएन कि भन्ने लागेको छ । जस्तै फोहोर महिला व्यवस्थापनको लागि नगरपालिकाले कुरा सुरु गरेको धेरै भयो । वडा नम्बर ७ ले सुरुवात गरेर सिन्धु विकास समितिसँग समन्वय गरेर फोहोर पठाउने काम चाहिँ गरेको छ तर नगरपालिकाले नै गर्न सकिरहेको अवस्था छैन ।
वडामा नागरिक बडापत्रको व्यवस्थापन गरिएको छ ?
नागरिक बडापत्र त राखिएको छ । नागरिक बडापत्र भनेको कुनै पनि सरकारी निकाय, कार्यालय वा सार्वजनिक संस्थाले नागरिक (सेवाग्राही) लाई प्रदान गर्ने सेवाका प्रकार, प्रक्रिया, मापदण्ड र जिम्मेवारीहरू स्पष्ट रूपमा उल्लेख गरिएको सार्वजनिक दस्तावेज हो । जुन हाम्रोमा पनि राखिएको छ । यसले नागरिकलाई कुन सेवा कहाँ, कसरी, कति समयमा, र कति शुल्कमा पाइन्छ भन्ने जानकारी दिन्छ । साथै, सेवा दिनु सम्बन्धी निकाय वा कर्मचारीको जिम्मेवारी र सेवाग्राहीको हक–अधिकार पनि यसमा उल्लेख हुन्छ । जुन हाम्रोमा रहेको छ ।
चुनाव ताका नागरिकलाई दिनुभएको आश्वासन कति पुरा भयो ? कति बाँकी छ ?
बोलेको कुराहरू सबै पूरा गर्न त सकिएको छैन । दलीय हिसाबमा पनि चुनावको बेलामा बहुमत कसको आयो भन्ने कुराले नि केही चाहिँ प्रभाव पार्ने रहेछ । यद्यपि हाम्रोमा सडकको काम राम्रै भएको छ । ग्रामीण सडक विकासको केही कामहरू बाँकी छ । सिँचाइको लागि कुलो बनाउने काम भइरहेको छ । सिंचाइका लागि लगभग १९ किलोमिटर कुलोको काम भइरहेको छ । हाम्रोमा वडा नं ६ मा रहेको औद्योगिक ग्राम जाने सडकको स्ट्रक्चर बनिसकेको छ कालोपत्रे गर्न मात्रै बाँकी छ । नगरपालिकाको प्रशासनिक भवन पनि बनिसकेको छ । चुनावताका हामीले बोलेका धेरै कुराहरू पूरा गरिसकेका छौँ अब केही कुराहरु बाँकी छ त्यो पनि हामी सकेसम्म पूरा गर्छौं ।