
चालु आर्थिक वर्षको लागि भनेर बनाइएको योजनाहरु के के छन् ? बजेट कति छ ? कतिवटा कार्यक्रम सम्पन्न भयो ?
चालु आर्थिक वर्षको लागि भनेर हामीले विभिन्न शीर्षकमा विविध कार्यक्रमहरु बनाएका छौँ । तर, विशेषगरी अघिल्लो वर्षको असोजमा गएको बाढी पहिरोले धेरै सडकहरु प्रभाव परेका थिए । यो वर्ष तिनकै स्तरोन्नति गर्नुपर्ने कामहरु थाती थिए । त्यसकारण पनि नयाँ कार्यक्रमहरू धेरै गर्ने यो वर्ष अवसर जुटेन । सडकहरूलाई पहिलेका अवस्थामा फर्काउने गरी बजेटहरू विनियोजन गरेका छौँ । अहिले त्यो काम सुरु भइरहेको छ । खानेपानीको क्षेत्रमा पनि काम भइरहेको छ । खानेपानीको लागि पनि मर्मत र सुधारका कार्यक्रमहरू लिएर काम गरिरहेका छौँ । चालु आर्थिक वर्षमा विशेषगरी विपद्जन्य काममा नै बजेटै धेरै खर्च हुने भएको छ । खानेपानी, सिँचाइ र सडकमा ठूलो क्षति भएको थियो । हामीले यति नै शीर्षकलाई राम्रोसँग समेट्ने गरी यो वर्ष कार्यक्रम गरिरहेका छौँ । त्यसकारण अरु क्षेत्रलाई हामीले धेरै समेट्न सकेका पनि छैनौँ । खानेपानीको काम पनि बिग्रिएको चाहिँ हामीले सुधार गरेर सम्पन्न गर्न सक्ने भयौँ । पहिले बृहद खानेपानी मार्फत ल्याइएका वा वितरण भइरहेका खानेपानीका योजनाहरू ल्याउन सकेका छैनौँ । किनभने त्यो मुख्य रोशी खण्डको सबै खानेपानीको पाइपहरू बगाएको अवस्था छ । त्यसैले त्यसतर्फ हामीले काम गर्न सकेका छैनौँ । अरु स्थानीय स्रोतबाट सञ्चालन भइरहेका खानेपानीको काम सकाएका छौँ । सडकको काम पनि हामी यो आर्थिक वर्षको अन्तिमसम्ममा पहिलेकै अवस्थामा फर्कन सक्ने सम्भावना छ । बाढी पहिरोले हामीलाई असर गरिरहेकै बेला तत्कालीन अवस्थालाई समाधानको खोजी गर्नेगरी पनि काम गरेका थियौँ । त्यसबाहेक हामीले वडाबाट प्रदान गर्दै आएको नियमित सेवाहरूले निरन्तरता पाएको नै छ ।
बाढी पहिरो लक्षित कार्यक्रम भइरहँदा लक्ष्य समुदायका कार्यक्रमहरू अलि ओझेल परेकी भन्ने पनि छ नि ?
हो । लक्षित समुदायको कार्यक्रमहरू अलि पछाडि धकिलेको अवस्था छ । हामीले तत्कालीन अवस्था कस्तो छ भन्ने कुरालाई मुख्य ध्यानमा राखेर काम गरिरहेका हुन्छौं । तर यो वर्ष चाहिँ हामीले लक्षित समुदायको लागि भनेर केही बजेट विनियोजन गरेका थियौँ । तर जेन्जी आन्दोलनपछि यस्ता योजनाहरू कटौती गरेर भएपनि काम गर्नु भन्ने निर्देशन भए बमोजिम यो वर्षको बजेट चाहिँ हामीले कार्यान्वयन गर्न पाएनौँ । त्यसैले यो वर्ष लक्षित समुदायको कार्यक्रमहरू प्रभावित हुने चाहिँ देखिएको छ । हामीले लक्षित समुदायसँग जोडिएको कार्यक्रमहरू विगतका वर्षहरूमा चाहीँ गरेका थियौँ । गत वर्ष पनि बिपद्लेप्रभाव चाहिँ पर्यो । माथिल्लो निकायबाट आउने कार्यक्रमहरू पनि रोकिँदैछ भन्ने कुरा छ तर आगामी वर्षहरूमा चाहिँ हामी अवस्था सहज रह्यो भने निरन्तर रुपमा गर्नेछौं ।
चालु आर्थिक वर्षमा ठुला योजनाहरू के के सम्पन्न हुँदैछ वडामा ?
यो वर्षको ठूला योजनाहरू चाहिँ सडककै क्षेत्रमा छन् । धेरै सडकहरू पहिलेकै अवस्थामा फर्काउनुपर्ने भएका कारण हामीले त्यही क्षेत्रलाई बढी फोकस गरेर कार्यक्रम गरिरहेका छौँ । धेरै भत्केका ठाउँहरू थियो, जहाँ पक्की पर्खाल दिनुपर्ने ठाउँमा पक्की पर्खाल बनाउनतिर लाग्यौँ । सडकभन्दा बाहिरका ठूला योजनामा चाहिँ खानेपानीका कामहरू छन् । गत आर्थिक वर्षमा सम्पन्न गरेको एउटा डिप बोरिङको काम छ हाम्रोमा, जहाँ विद्युत लाइनको अभावको कारण हामीले त्यसलाई सञ्चालन गर्न सकेका थिएनौँ । अबको केही दिनमा नै यो काम सम्पन्न हुनेछ । त्यसपछि झन्डै ५ सय घरधुरीले नियमित खानेपानी पाउने अवस्था रहन्छ ।
पछिल्लो खानेपानीको अवस्था वडामा कस्तो छ ?
डिपोरिङबाट प्रभावित क्षेत्रमा खानेपानीको पहुँच पु¥याउने हाम्रो काम अघि बढिरहेको छ । हाम्रो पहलका क्रममा अघिल्लो वर्ष हामीले करिब एक हजार घरधुरीसम्म खानेपानी वितरण प्रणाली पु¥याइसकेका थियौं । तर, त्यो काम सम्पन्न भएको झण्डै तीन महिना नबित्दै, गत असोज महिनमा आएको बाढी–पहिरोले उपत्यकामा दौडिरहेको पाइपलाइनहरू पूर्ण रूपमा ध्वस्त गरिदियो । त्यसपछि हाल धेरै घरधुरीहरू पुनः खानेपानीको अभावमा संकटमा परेका छन् । वडाले अविलम्ब व्यवस्था मिलाउने प्रयास गरिरहेको भए पनि, एकल पहलले समस्या छिटो समाधान गर्न पर्याप्त भएन । तत्कालका लागि हामी असहज र चुनौतीपूर्ण अवस्थामा छौँ । ती अवस्थामा हामीले विचार–विमर्श गरिरहेका छौँ कि क्रमशः प्रणाली पुनस्र्थापित हुनेछ र सहजता फर्कने छ भन्ने आशा राख्दैछौँ ।
स्वास्थ्यमा वडाका सबै नागरिकको सहज पहुँच छ ?
हाम्रो वडा भरिमा पाँचवटा स्वास्थ्य क्याम्प संचालन हुनेछ । जसमध्ये दुईवटा सम्पन्न भइसकेको छ । यो क्याम्प चाहिँ हामीले महिला लक्षित गरेर सञ्चालन गरिरहेका छौँ । पाठेघरको मुखको क्यान्स,र स्तन क्यान्सरको टेस्ट गरेर ३० देखि ६० वर्षसम्मका महिला दिदीबहिनीहरूको यसरी स्वास्थ्यको चेकजाँच गर्ने काम भइरहेको छ । अर्को महिनाको दोस्रो हप्तासम्ममा हरेक घरधुरीका महिला दिदीबहिनीहरूको स्वास्थ्य चेक जाँच गराइसक्नेछौँ । धुलिखेल अस्पतालको सहयोगमा यो एउटा राम्रो काम भएको छ । यसमा अहिले बढ्दै गएको पाठेघरको क्यान्सर जस्ता घातक रोगहरू पहिचान गरेर स्वास्थ्य चेक जाँच गराइरहेका छौँ । रोग लागिसकेपछि मात्रै चेक जाँच गराई थाहा पाउने परिपाटी रहँदै आएकोमा हामीले यसरी यो कामको सुरुवात गरेका छौँ । त्यो बाहेक ब्लड प्रेसर, सुगर जस्ता रोगको लागि पनि हामीले विभिन्न क्याम्पहरु सञ्चालन गर्दै आएका छौँ । नगरपालिकाको आयोजनामा हरेक वर्ष दुईपटक जेष्ठ नागरिकहरूको स्वास्थ्य जाँच निःशुल्क रुपमा गर्दै आएका छौँ । जुन हामी घरघरमा नै गएर गर्छौं । यसले निकै राम्रो प्रभाव पारेको छ ।
कृषिको लागि वडामा के कस्ता कार्यक्रम संचालन हुँदै आएको छ ?
हाम्रोमा कृषिका लागि पनि विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आएको छ । विशेष गरी दशौं हजार रोपनी सिंचाईले ढाक्ने गरी मल्पी लिलावती सिंचाइ कुलो थियो । त्यो धेरै ठाउँमा अघिल्लो वर्षको बाढीले पुरिएको थियो । केही ठाउँमा भत्किएको पनि थियो । अघिल्लो वर्षको बजेटले भत्किएका ठाउँहरूलाई मर्मतसंहार गरी पहिलेकै अवस्थामा फर्कायो भने कुलोमा बढीले असर गरेपछी ४८ दिन लगातार श्रमदान मार्फत सञ्चालन गर्ने काम गर्यौ । त्यो अभियानले गर्दा माघको दोस्रो हप्तामा सबै ठाउँमा सिंचाई पुग्न सक्नेगरी काम सम्पन्न भयो । यो वर्ष चाहिँ कुलोको कामहरू त्यति धेरै हुन सकेको छैन । अघिल्लो वर्षको तुलनामा कम तर यो वर्ष पनि कुलोहरू धेरै पुरिएको छ भन्ने सूचनाहरू छ । त्यो कुलोले चाहिँ विशेषगरी पनौतीको वडा नम्बर ४, ७ र ८ को धेरै खेतहरू सिञ्चित हुन्छ । हामी अब फेरि त्यो कुलोलाई सफा गरेर सिँचाइलाई व्यवस्थित गर्ने तर्फ लाग्नेछौँ । यसैगरी हामीसँग वडा भित्र रहेका अरु साना सिंचाईका काम निकै राम्रो भएको थियो अघिल्लो वर्ष । सबै सिंचाईका खण्डहरू पक्की हुने अवस्थामा हामी पुगिसक्ने पनि थियौँ । मल्पिलिलावतीको बाहेक दुईवटा सिचाई को सबै भाग पक्की बनाउने काम भइसकेको छ ।
शैक्षिक विकासको लागि वडागत पहलहरू के कस्तो छ ? आगामी दिनमा योजनाहरू के गर्ने भन्ने तयारीमा हुनुहुन्छ ?
हामीले शिक्षाको क्षेत्रमा नियमित रूपमा कामहरू गरिरहेका छौँ । नियमित कक्षाका अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्ने कुराहरू पनि छन् । तर त्यो पनि काम भइरहेको पाईरहेका छौँ । पछिल्लो समय भने ती अतिरिक्त–शैक्षिक कार्यक्रमहरू निरन्तर सञ्चालन हुन सकेका छैनन् । हाम्रो नगरपालिका बालमैत्री नगरपालिका भएकाले बालबालिकासँग सम्बन्धित कामहरू नियमित रूपमा गरिरहेका छौँ । विद्यालय बाहिरका खेल, सृजनात्मक गतिविधिहरु, बाल सहभागिता, सामुदायिक चेतना अभिवृद्धि जस्ता पहलहरू हामीले अघि बढाएका छौँ । तर, अहिलेको अवस्थामा केही चुनौतीहरु पनि छन् । अतिरिक्त शिक्षाका कार्यक्रमहरुमा स्रोत, समय, समन्वय सबै ठिक रुपमा जुटाउन कठिनाइ भइरहेको छ । यद्यपि हामी आशा गर्छौँ कि जति बाँकी छन् ती क्रमशः सुधारिने छन्, नियमितता फर्किने छ ।
चुनावताका जनतालाई दिनु भएको आश्वासन के कति पुरा भए ? कति बाँकी छन् ? अबको योजना के छ ?
अघिल्लो वर्ष नै हामीले चुनावताका घोषणापत्रमा उल्लेख गरेका कुराहरू ८० प्रतिशत सम्पन्न भइसके भन्ने कुराहरू राखेका थियौँ । हामीले घोषणा गरेका शतप्रतिशत नै कामहरू हामी सम्पन्न गर्न सक्थ्यौ । बाढी पहिरो लगायतका विविध परिस्थितिले गर्दा सम्पन्न भएका धेरै कामहरू फेरि शून्यबाट सुरु गर्नुपर्ने अवस्था रहन गयो । अहिले पनि हामीले सबै काम अहिले तत्काल नसकेपनि धेरै कुराहरू सम्पन्न गरिसकेका छौँ । खानेपानीको काम अहिले पूर्णरूपमा सम्पन्न भइसक्नुपर्ने थियो । त्यसमा ढिलाई भइरहेको छ । सहरी क्षेत्रका बस्तीहरूमा ढल मार्फत सफाईको काम गर्नुपर्ने थियो । जुन भनेजति गर्न सकिरहेका छैनौँ । खानेपानी ढल निकासका यी कुराहरू छन् । हामीले पक्की बनाउँछु भनेको केही सडकहरु चाहिँ काम गर्न बाँकी नै छ । किनभने बजेट त्यता खर्च भयो । यसले चाहिँ केही प्रभाव पारेको छ । यद्यपि हामीले घोषणा गरेको सम्पन्न भइसकेको छ ।
वडाको समग्र विकासको लागि अन्य निकायसँगको समन्वयात्मक भूमिका वडाले कसरी निर्वाह गरिरहेको छ ?
हामीले संघीय बजेट प्राप्त गर्न सकेनौँ । प्रदेश सरकारसँग अनुरोध गरेर केही बजेट प्राप्त गरेका थियौँ । ती मन्त्रालय मार्फत तालुक निकायमा योजना पठाउने, नियमित सम्पर्क गर्ने समन्वय गर्ने कामहरूमा चाहिँ हामी सफल नै भएका छौँ । धेरैजसो मन्त्रालयगत रूपमा आएका बजेटहरूमा जति ठेक्का लागेर बाँकी रहन्छ । त्यसको पनि पुरै काम गरिनुपर्छ भन्नेमा हामी लाग्यौँ । हाम्रो तह र तप्काबाट हुनसक्ने समन्वय सहकार्य भएको छ । हरेक विषयगत शाखाहरू मार्फत आउने कार्यक्रमहरू पनि सम्पन्न नभएर बजेट यसै खेर गएको भन्ने अहिलेसम्म छैन ।
बेथानचोक साप्ताहिकबाट ।