नियमित स्वास्थ्य कार्यक्रमहरु सञ्चालनमा छन्

  • काभ्रे खबर
  • / अन्तरर्वार्ता /
  • २०८२ मंसिर १५, सोमबार (१ हप्ता अघि)
  • १९१ पटक पढिएको

नियमित स्वास्थ्य कार्यक्रमहरु सञ्चालनमा छन्

० चालु आर्थिक बर्षमा स्वास्थ्य शाखाले गर्ने गतिविधि के के हुन ?
यो वर्ष स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । दुलालथोकमा रहेको पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रलाई हामीले १० बेडको आधारभूत अस्पतालमा परिणत गरेका छौँ । काभ्रेमा ‘प्रथम सेवाबिन्दु’ भनेर छुट्याइएका स्थानहरूमध्ये हाम्रो प्राथमिक स्वास्थ्य केन्द्र पनि परिरहेको थियो, जुन अहिले आधारभूत अस्पताल बनेको छ । त्यहाँबाट स्वास्थ्य बीमाको कार्यक्रम पनि सुरु गरिएको छ । हाम्रा निरन्तर रूपमा चलिरहेका कार्यक्रमहरूले पनि यथावत् निरन्तरता पाएका छन् । गत असोज २८ र २९ गते सिभिल अस्पतालसँगको समन्वयमा विशेषज्ञ चिकित्सकहरूलाई लिएर बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेका थियौँ, जसबाट करिब १,७०० जनाले सेवा प्राप्त गर्नुभएको थियो । रेयुकाईसँगको समन्वयमा आँखासम्बन्धी विभिन्न शिविरहरू सञ्चालन भइरहेका छन् । निजामती अस्पतालको टोलीसँग मिलेर चलाइएको शिविरमा मोतियाबिन्दुका समस्या देखिएका २०–२५ जनाको रेयुकाईमार्फत उपचार गराइएको थियो । त्यस्तै, धुलिखेल अस्पतालसँगको सहकार्यमा प्रजनन स्वास्थ्यसम्बन्धी भिआइ क्याम्प सञ्चालन गरिएको थियो, जहाँबाट पहिचान भएका केसहरूको थर्मोको लाइन गर्ने काम हामीले गरेका छौँ । तिलगंगा आँखा अस्पतालसँगको समन्वयमा स्वास्थ्यकर्मीहरूका लागि दुई दिने आधारभूत आइ केयरसम्बन्धी तालिम पनि सञ्चालन गरेका छौँ । समग्रमा, हाम्रा नियमित स्वास्थ्य कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन भइरहेका छन् ।
० अभियानको रुपमा के के कार्य गर्दै हुनुहुन्छ ?
नगरपालिकाले, र सिंगो राष्ट्रले नै, फागुन महिनामा ‘नसर्ने रोग पहिचान अभियान’लाई अगाडि बढाएको छ । हाम्रो नगरपालिकामा पनि नसर्ने रोगहरू बढ्दै गइरहेका कारण यस विषयमा विशेष ध्यान दिइएको छ । फागुन महिनाभरि नै अभियानलाई सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्यका साथ हामी निरन्तर अघि बढिरहेका छौँ । हामीले सञ्चालन गर्ने सबै स्वास्थ्य शिविरहरूमा नसर्ने रोगको पहिचानलाई प्राथमिकतामा राखिन्छ र पहिचान भएका रोगहरूलाई उपचारको दायरामा ल्याउने लक्ष्यसहित कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ । समय–समयमा आँखासम्बन्धी शिविरहरू पनि सञ्चालन हुँदै आएका छन् । मोतियाबिन्दु जस्ता केसका लागि यो छुट्टै अभियानको रूपमा नचलाई पनि हामीले वर्षमा झण्डै १२–१३ पटक आँखासम्बन्धी शिविर सञ्चालन गर्दै आएका छौँ । त्यसैगरी, ज्येष्ठ नागरिकका लागि दन्त (दाँत) स्वास्थ्य शिविर पनि सञ्चालन गरिँदै आएको छ । यस आर्थिक वर्षमा पनि यस्तै प्रभावकारी स्वास्थ्य कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन भइरहेका छन् ।
० महिला तथा गर्भवती स्वास्थ्यका लागि कुनै विशेष कार्यक्रमहरु छन् ?
आधारभूत अस्पतालबाट हामीले हरेक महिनामा विशेषज्ञ डाक्टरहरूलाई ल्याएर स्वास्थ्य जाँचका कार्यक्रमहरू सञ्चालन गरिरहेको छौँ । विपन्न तथा महिलाहरूका लागि निःशुल्क सेवा उपलब्ध गराइएका छन् । अन्त गएर उपचार गर्न नसक्ने, रोगले गर्दा घरभित्रै गुम्सिएर बस्नुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यले हामीले यस्तो मासिक कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएका छौँ । क्याल्सियम, फोलिक एसिडजस्ता पोषक पूरक पदार्थहरू नगरपालिकाले स्वयं खरिद गरेर वितरण गर्दै आएको छ । साथै, गर्भवती महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा पनि उपलब्ध गराइएको छ ।
० दरवन्दीको अवस्था के छ ?
हाम्रो पालिकामा सबै स्वास्थ्य चौकी (हेल्थ पोस्ट) रहेका छन्, जहाँ दरबन्दी व्यवस्था छ, र अस्पतालमा पनि दरबन्दी तोकिएको छ । त्यसैले तत्काल नयाँ दरबन्दी आवश्यक पर्ने अवस्था हाल छैन। पालिकामा एक कार्यविधि पनि रहेको छ, जसअनुसार स्वास्थ्य क्षेत्रमा महामारीजस्ता विपत् उत्पन्न हुनसक्ने परिस्थितिमा पहिले जिल्ला जनस्वास्थ्य कार्यालयलाई जानकारी गराइन्छ । आवश्यकता परेमा उहाँहरूको सहकार्यमा टिम परिचालन गर्न सकिन्छ । यदि हामीकहाँ उपलब्ध प्राविधिक जनशक्ति पर्याप्त भएमा उहाँहरूसँग समन्वय गरी काम गर्न सकिन्छ । तर आवश्यक कर्मचारी नभएका खण्डमा केन्द्रसँग समन्वय गरेर पनि समस्या समाधान गर्न सकिन्छ । जिल्लासँगको सहकार्यमा देखिएका समस्या ‘रिवार्ड सिस्टम’ मार्फत समाधान गर्ने व्यवस्था पनि रहेको छ । यदि कहिल्यै नयाँ वा पूर्वदेखिका समस्याभन्दा फरक प्रकृतिका चुनौती आइपरे पनि, उही प्रक्रिया—समयमै जानकारी, सहकार्य, समन्वय र उपलब्ध स्रोत–साधनको अधिकतम प्रयोग—मार्फत समाधान गर्ने हाम्रो प्रयास रहन्छ ।
० जिल्ला जनस्वास्थ्य कार्यालयसँगको समन्वय र कार्यक्रमको अवस्था के छ ?
जिल्ला जनस्वास्थ्य कार्यालयसँगको समन्वय र सहकार्य नियमित रूपमा भइरहेको छ । उहाँहरू प्रदेश अन्तर्गतबाट सञ्चालन हुनुहुन्छ भने हामी स्थानीय सरकारले सञ्चालन गर्ने निकाय हौँ । तर जहाँबाट सञ्चालित भए पनि दुवैको उद्देश्य स्वास्थ्य सेवाकै क्षेत्रमा काम गर्नु नै हो । तालिमसम्बन्धी अधिकांश कार्यक्रमहरू जिल्ला जनस्वास्थ्य कार्यालयबाट नै सञ्चालन हुने गर्छन् । स्थानीय तहमा प्राविधिक पक्षबारे पर्याप्त स्रोत वा क्षमता नरहने भएकाले आवश्यकताअनुसार तालिम तथा ओरिन्टेसनका कार्यक्रमहरू जिल्ला जनस्वास्थ्य कार्यालयबाट उपलब्ध गराइन्छ । यसरी हामी निरन्तर समन्वयमा रही स्वास्थ्यसम्बन्धी गतिविधिहरू अघि बढाइरहेका छौँ ।
० नगरभित्रका स्वास्थ्यालयमा श्रोत साधनको अवस्था के छ ?
समग्र नेपालभर स्रोत–साधन पूर्ण रूपमा उपलब्ध हुन्छन् भन्ने छैन । उपलब्ध स्रोत–साधन सीमितै हुन्छन्, तर ती सीमित स्रोत–साधनलाई कसरी प्रभावकारी रूपमा प्रयोग गर्ने भन्ने कुरा मुख्य हो । त्यस्तै, स्थानीय स्तरमा उपलब्ध स्रोत–साधनलाई पनि कसरी उपयोगमा ल्याउने भन्ने मुद्दा महत्त्वपूर्ण हुन्छ । नगरपालिकाभित्र जे–जति राजस्व (रेभिन्यु) उठ्छ, सो मध्ये ६–८ प्रतिशत स्वास्थ्य क्षेत्रमा खर्च गर्ने गरिन्छ । यसले हामीलाई पर्याप्त बजेट जुटाउन सहयोग पुगेको छ । सहरी स्वास्थ्य केन्द्रमा नगरपालिकाकै बजेटबाट पाँच जना कर्मचारी राखिएको छ । स्वास्थ्य चौकी तथा अहिलेको आधारभूत अस्पतालमा पनि आवश्यक स्थानमा नगरपालिकाकै बजेटबाट अतिरिक्त कर्मचारी व्यवस्था गरिएको छ । यसले सेवा सञ्चालनमा थप सहजता पुगेको छ । अस्पताल सञ्चालनका लागि भनेर नगरपालिकाले छुट्टै बजेट पनि विनियोजन गरेको थियो । सोही बजेटबाट आवश्यक पूर्वाधार, उपकरण, कम्प्युटर, प्रिन्टर, बीमा कार्यक्रम सञ्चालनका लागि आवश्यक सफ्टवेयर लगायतका सामग्रीहरू व्यवस्था गर्न सहयोग हुँदा काममा निकै सहजता आएको छ ।यसलाई पर्याप्त छ भन्न खोजिएको भने होइन, तर यसले हाम्रो कार्य क्षमता र सेवा प्रवाहलाई निकै सहज बनाएको भने पक्का हो ।
०नगरको एम्बुलेन्स कति छन ? अवस्था के छ ?
नगरपालिकामा चारवटा एम्बुलेन्स छ । त्योमध्ये एउटा एम्बुलेन्समा जिपीएस पनि जडान भएको छ । त्यो मध्ये एउटा नगरपालिकामै बसेको हुन्छ । अर्को आधारभूत अस्पतालमा हुन्छ। एम्बुलेन्स छ जसरी नेपाल सरकारले तोकेको स्टान्डर्डप अनुसार चाहिँ छैन । तर काम चाहिँ चलेको छ ।
० आपतकालिन स्वास्थ्य सेवाका लागि तयारी अवस्था के छ ?
¥यापिड फोर्स दिम छ हाम्रोमा । के आपत परिहाल्यो भने त्यो टिम तुरुन्तै परिचालन भएर काम गर्छ । समयसमयमा बैठकहरू हुन्छ के गर्ने कसरी गर्ने भन्ने प्लानिङहरु हुन्छ । हामीले केही बजेट यो टिमको लागि पनि विनियोजन गर्ने गर्छौं । कतिबेलामा कस्तो आपत आइपर्छ वा तुरुन्तै समाधान पनि गरि नसक्ने भन्ने अवस्था त हुँदैन । किनभने विपत कत्रो र कस्तो खालको आउँछ भन्ने हामीलाई पूर्व जानकारी हुँदैन तर हामी पूर्व तयारी भएर बस्न सक्छौ । त्यसैले पनि हामीले विभिन्न कार्यक्रमहरु कामहरु गरिरहेका हुन्छौँ ।
० सरकारको स्वास्थ्य बीमाको कार्यक्रमको अवस्था के छ ?
पाँचखाल आधारभूत अस्पताल हाइवेमै छ, त्यसले गर्दा पनि पाँचखालसँगै मण्डनदेउपुर, भुम्लु र केही सिन्धुपाल्चोक देखि पनि यहाँ सेवा लिन आइपुग्नुहुन्छ । ३० देखि ५० जनासम्म हामीले यो सेवा लिरहनुभएको हुन्छ । यहाँ ट्रिटमेन्ट हुन्छ भने यही गर्ने, नत्र रिफर गर्ने काम हुन्छ । पालिकाको बजेटबाट खरिद गरेर त्यहाँ चाहिने आवश्यक पर्ने इन्फ्रास्ट्रक्चर, सफ्टवेयर, मेनपावरहरू राख्ने काम गरेका छौँ । स्वास्थ्य बीमाको कार्यक्रम राम्रो भइरहेको छ । नागरिकहरूले स्वास्थ्य सेवामा यसले थप पहुँच पुर्याउने काम गरेको छ । लगभग २ महिना भयो हामीले यसरी सेवा प्रदान गर्न थालेको । राम्रो भइरहेको छ ।
० कार्यक्रम गर्दा कस्ता समस्या देखिएका छन् ? तिनको समाधान कसरी गरिरहनुभएको छ ?
कार्यक्रमहरू गर्न त्यति धेरै ठूलो समस्या त छैन बजेटको समस्याहरू भनेको नियमित रुपमा भइरहन्छ । भने जति सबै कार्यक्रम गर्न बजेटले पुग्दैन मन भएर मात्र पनि नहुने रहेछ कतिपय अवस्थामा तर जनप्रतिनिधिज्यूहरुले सकेको सपोर्ट चाहिँ गरिरहनु भएको छ । यसले गर्दा थप सहज भएको छ । म्यानपावरहरू पनि पुग्नुपर्यो हामीसँग भएको स्रोत साधनलाई हामीले सदुपयोग गर्छौं । यदि यहाँको बजेटले मात्र पुगेको छैन भने हामी अन्य संघ संस्थाहरुसँग पनि साझेदारी समन्वय गरेर काम गर्छौं । औषधिहरू अभाव हुन दिएका छैनौँ सकभर । यदि भइहाल्यो भने पनि हामीले जिल्लासँग समन्वय गरेर ल्याउँछौ । कहिलेकाहीँ एउटै उद्देश्य बोकेका कार्यक्रमहरू पनि जुद्न जान्छन् । विशेषगरी संघसंस्थासँग गर्ने साझेदारीका कार्यक्रममा यस्तो अवस्था आयो भने उहाँहरुसँग कोर्डिनेसन गरेर सकभर एउटै कार्यक्रम गरेर प्रभाव कम भन्दा प्रभावकारी कार्यक्रम कुन कुन गर्न सकिन्छ भनेर छलफल हामी काम गर्छौं ।
० अन्त्यमा यो बसाइमा भन्न केही छुट्यो कि !
हामीले कुनै नयाँ समस्याहरू पायौँ भने वा हामीले सधैं सुनेजस्तो भन्दा फरक खालको समस्याहरु देख्यौ भने हामीले जिल्लामा समन्वय गर्ने र त्यहाँबाट पनि समस्याको समाधान हुन सकेन भने केन्द्रमा समन्वय गर्ने यसरी समस्याको समाधान कसले समाधान गर्न सक्छ । त्यसअनुसार हामी समस्याको समाधान गर्न टिमहरू परिचालन गरी काम गर्ने गरेका छौँ । पोषणको कार्यक्रमहरू हामीलाई संघबाटै पनि आएको छ । त्यहाँबाट पनि हामीले काम गरिरहेका छौँ । पोषणका कार्यक्रमहरू पनि सञ्चालन भइरहेका हुन्छन् । त्यसका लागि आगामी कार्ययोजना के के गर्नुपर्छ भन्ने हिसाबले पनि हामीले काम गरिरहेका हुन्छौँ । माथिबाट आएको बजेटहरूलाई हामीले यसरी पनि सदुपयोग गरिरहेका छौँ, भने केही बजेटहरु यसको लागि विनियोजन गर्ने गरी काम गरेका छौँ । गर्भवती महिलाहरूलाई पोषण सम्बन्धी जानकारी दिइने अथवा उहाँहरूको लागि पोषणका खानेकुराहरु वितरण गरेर गरेर भएपनि यो कार्यक्रमलाई हामीले नियमितता दिएका छौँ ।

ताजा अपडेट

खोजी गर्नुहोस