शिक्षामा भौतिक सुधारलाई जोड दिएका छौं

  • काभ्रे खबर
  • / अन्तरर्वार्ता /
  • २०८२ मंसिर १५, सोमबार (१ हप्ता अघि)
  • १०६ पटक पढिएको

शिक्षामा भौतिक सुधारलाई जोड दिएका छौं

चालु आर्थिक वर्षका कार्यक्रमहरू के भइरहेको छ ? कतिवटा योजना बनेका छन् ? कति सम्पन्न भए ? कति बाँकी छ ?
चालु आर्थिक वर्षमा विकास निर्माणको लागि जम्मा ४८ वटा योजनाको लागि बजेट विनियोजन भएको छ । प्रदेशको थप ६ वटा र पूर्वाधारको ६ वटा गरी जम्मा ५९ वटा जति योजना रहेको छ । ती योजनाहरू करिब ८० प्रतिशत ठेक्कामा गइसकेको अवस्था छ । अहिले ती योजनाहरू कार्यान्वयनको चरणमा छ । विगतका वर्षहरूमा भण्डारी गाउँ र सुनथान जोड्ने एउटा पुल त्यो, निर्माणको चरणमा छ । भर्खरै मात्र सुरुवात भएको छ । वडा भवन पनि सम्पन्न हुने चरणमा रहेको छ । कृषि, पर्यटनको लागि पनि विभिन्न कार्यक्रमहरू भइरहेको छ । पर्यटन क्षेत्रको विकासको लागि शारदादेबि मन्दिर आसपास पर्यटन प्रवद्र्धनको निमित्त केही पूर्वधार तयार हुँदैछ । सहरी विकास योजना अन्तर्गत स्पोर्ट बन्दै छ । खानेपानीको लागि शारदा देबिस्थान क्षेत्र र माथिल्लो बेल्टको लागि डिप बोरिङको काम भइरहेको छ । डिप बोरिङ अहिले लगभग तयार भइसकेको अवस्था छ । डिप बोरिङको लागि ट्याङ्की बन्ने काम सकिसकेको छ र ट्रान्सफरमा राख्ने काम पनि सकिसकेको छ । त्यहाँबाट ३ सय घरधुरीको लागि खानेपानी वितरणको लागि पाइपहरू लिएर आएको छौँ । अहिले पनि पर्याप्त बजेट त छैन । सकेसम्म यो कार्यक्रम हामी यही आर्थिक वर्षमा सम्पन्न गर्नेछौँ । नौबिसे फाँटमा सिँचाइको काम पनि भइरहेको छ । केही भागहरू बिग्रिएको अवस्था छ, त्यसलाई सुधार गर्नुपर्नेछ । हालसालै म सिँचाई कार्यालय पुगेर आफैंले यसको लागि पहल गरेर आएको थिए । यसैगरी २ वटा फाँटको लागि १०÷१० लाखको योजना थियो । त्यो कार्य सम्पन्न गर्नको लागि प्रक्रिया सुरु गरिरहेका छौँ । पाँच लाखभन्दा बढीको योजनाहरू निर्माण व्यवसायी मार्फत ठेक्का प्रक्रियामा गएर काम गर्नेछौँ । ५९ वटा योजनामध्ये १२ वटा योजना चाहिँ उपभोक्ता समितिबाट र बाँकी योजनाहरू ठेक्का मार्फत नै सम्पन्न हुनेछ । जम्मा अहिलेसम्म छ वटा योजना मात्रै ठेक्का लगाउन बाँकी रहेको छ । अरु योजना ठेक्कामा गइसकेको छ ।
चुनावको बेलामा घोषणा पत्रमा उल्लेख गर्नुभएको कति काम पुरा भयो ? कति बाँकी छ ?
हामीले चुनावको बेलामा बोलेका सबै कुराहरू पूरा गर्न त समय नै लाग्छ । २०५४ सालदेखि नै वडाको जनप्रतिनिधि भएर विभिन्न कार्यभार सम्हाल्दै आएको छु । पाँच वर्षीय अवधिमा गर्ने भनेर केहि दीर्घकालीन योजनाहरु बनाएका थियौँ । त्यही योजनाको आधारमा हामीले पछिल्ला वर्षहरूमा काम गर्दै आएका थियौँ । २०७४ सालदेखि नै घोषणापत्र जारी गरेअनुसार ७० प्रतिशत काम पूरा भइसक्यो । वडामा पहिले विद्युतीकरणमा जम्मा तीनवटा ट्रान्सफर्मर मात्रै थियो । अहिले आठवटा ट्रान्सफर्मर छ । पहिले सबै काठका पोलहरू थिए, अहिले ११ सय वटा पोल बदली भएको छ । अहिले ६ किलोमीटर हाइटेन्सन लाइन बिस्तार भएको छ । भूकम्प पछाडि वडा कार्यालयहरू पनि सबै खण्डहर भएको थियो । अहिले लगभग पाँच रोपनी जग्गा खरिद गरेर हामीले जिल्लाकै नमुना वडा बनाएका छौँ । विद्यालयको भौतिक अवस्था पनि सुधार भएको छ । शैक्षिक गुणस्तर वृद्धि गर्दै नतिजाहरू पनि सुधार गर्दै ल्याइरहेका छौँ । महिलाहरूलाई पनि आयआर्जनसँग जोड्ने सीप विकासका कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएका छौँ । नगर, प्रदेश र सङ्घको कार्यक्रमलाई हामीले पूर्णरुपमा सम्पन्न गर्दै आएका छौँ । हामीले सकेसम्मका कार्यक्रमहरू गरिरहेका नै छौँ । भूकम्प, विनाशकारी बाढीपहिरो, कोभिड लगायतका विभिन्न कुराहरुले हाम्रो कार्यकालमा कार्यक्रम गर्नको लागि समस्या चाहिँ भयो । एउटा सामुदायिक विद्यालय विद्यार्थी नभएर नौबिसे फाँटमा विद्यालय विस्थापित भएको थियो । त्यो ठाउँमा छ÷सात लाख रुपैयाँ बजेट खर्च गरेर जेष्ठ नागरिक मिलन केन्द्र भनेर थप पूर्वाधार राखेर स्थापना गरेका छौँ ।
वडामा नागरिक बडापत्र राखिएको छ ?
नागरिक बडापत्र डिजिटल रुपानै व्यवस्थापन गरिएको छ । त्यो हामीलाई नगरबाट नै व्यवस्थापन भएको हो । हामी छिट्टै नै नयाँ वडा कार्यालयमा सर्दैछौँ । त्यहाँ गएपछि पनि व्यवस्थित रूपमा नै राख्नेछौँ ।
सडक विस्तार तथा स्तर उन्नतीको काम चाहीँ कत्तिको भइरहेका छ ?
हाम्रो वडामा मुख्य बस्तीहरू १८ वटा टोल रहेको छ । जहाँ १९ किलोमिटर बाटो छ । यसमध्ये १० किलोमिटर बाटो पक्की भइसकेको छ भने अब नौ किलोमिटर बाँकी छ । यो बर्खा सबै बेला गाडी जान्छ । कतिपय बाटोहरू पहिरोले भत्काएको छ । सडकको डिलहरू भत्केर साँघुरो भएको छ । यो सबै पूर्णरूपमा सम्पन्न गर्न त वडाको बजेटहरू पनि धेरै हुँदैन । त्यसकारण जे जति सक्छौ, जालीहरू राखेर अत्यावश्यक ठाउँहरू पहिचान गरेर हामीले काम गरेका छौँ । विद्यालयको भवनहरूमा धेरै क्षति नपुगोस् भनेर वाल लगाउने कामहरू भएको छ । संस्थागत उपभोक्ता समितिहरू मार्फत सम्झौता गराएर कामहरू भइरहेको छ । शरीर विकास अन्तर्गत डेढ किलोमिटर जति सडक पिचको लागि निरन्तर काम भइरहेको छ । गत आर्थिक वर्षदेखि नै निरन्तर रूपमा चलिरहेको छ । यो आर्थिक वर्षमा डेढ किलोमिटर सडक चाहिँ पक्की बन्नेछ भन्ने लागिरहेको छ । नाग्रेचौरमा २६÷५५ को मिनी रङ्गशालाको काम भैरहेको छ ।
विपद् व्यवस्थापनमा के छ पूर्व तयारी ?
बेलाबेला विद्ले समस्यामा पारिरहेको हुन्छ । विपत् व्यवस्थापनको लागि हामीले विभिन्न सामग्रीहरु वडामा पनि राखेका छौँ । धेरै राख्न नसकेपनि थोरै सामानहरू राखिएको छ । जसले विपद परेको समयमा राहत दिन सक्छ । नगरपालिकामा छुट्टै कोषको पनि व्यवस्था गरिएको छ ।
शैक्षिक सुधारका लागि वडागत पहल के भइरहेको छ ? शैक्षिक गुणस्तर सुधारका लागि वडाले कस्तो खालको भूमिका निभाइरहेको छ ?
शिक्षामा हामीले भौतिक सुधारलाई पनि जोड दिएका छौँ । भौतिक सुधार मात्र नभएर शैक्षिक गुणस्तर सुधारका कुरा पनि हुन्छन् । यसको लागि पनि हामीले हाम्रो तर्फबाट पहल गरिरहेका छौँ । विशेषगरी अतिरिक्त कक्षा सञ्चालन गर्न माध्यमिक तहसम्म सञ्चालन हुने विद्यालयलाई भनिरहेका छौँ । यसको लागि बिहानी अतिरिक्त कक्षाहरू सञ्चालन गर्नका लागि जोड दिने काम भएको छ । विद्यालय पोशाकको लागि पनि हामीले सकभर विभिन्न दाताहरूसँग कुरा गरिरहेका हुन्छौं । गरिब तथा जेहनदार विद्यार्थीहरू जसलाई सामुदायिक विद्यालयमा अध्ययन गर्न पनि विभिन्न आर्थिक पाटोले समस्या पारेको हुन्छ । उहाँहरूलाई समस्यामा नपार्नु र माथि उकास्न हाम्रो तर्फबाट सकेको पहल गरिरहेका हुन्छौँ । यसका लागि विद्यालय पोशाक, स्टेसनरीका सामान, खाजा लगायतका कुरामा हामीले पहल गरिरहेका हुन्छौँ । विद्यालयमा कम्प्युटरको व्यवस्था पनि गरेका छौँ । विद्यालयमा स्मार्ट बोर्डको व्यवस्था भएको छ । विभिन्न अतिरिक्त कक्षाहरू पनि सञ्चालन भइरहेको छ । पछिल्लो समय हामीले पहल गरिसकेपछि शिक्षामा सुधार हुँदै गएको छ ।
स्वास्थ्यमा वडाका सबै नागरिकको पहुँच छ ?
स्वास्थ्यमा पनि हाम्रा नियमित कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । कहिँ कतै औषधि अभाव भएको भन्ने छैन । हामीले सकभर कार्यक्रमहरू स्वास्थ्यको क्षेत्रलाई नै समेट्ने गरी गरिरहेका छौँ । स्वास्थ्य केन्द्रहरूमा डाक्टरको दरबन्दी छ तर पनि व्यवस्थापन गर्न सकिएको छैन । वडाले छुट्टै व्यवस्थापन गर्न सक्ने कुरा भएन नगरले पहल गरिरहेको छ । माथिल्लो निकायबाट पनि जति ताकेता गर्दा पनि पठाउन नसकिरहेको अवस्था हामीले देखेका छौँ । यसले गर्दा अलिकति मर्का परिरहेको छ भन्ने हामीलाई महसुस गरिरहेका छौँ । तर हामीले त्यहाँ चाहिने आवश्यक कुराहरू चाहिँ पूरा गरेका छौँ । तर जनशक्ति अभावलाई चाहिँ हामीले व्यवस्थापन गर्न सकेका छैनौँ ।
कृषि क्षेत्रलाई प्रवद्र्धन गर्न के–के काम भइरहेको छ ? बाँकी समग्र कृषि क्षेत्रलाई अगाडि बढाउन कसरी काम गरिरहनुभएको छ ?
यसमा पनि राम्रो काम भइरहेको छ । हाम्रोमा बढी सुन्तला र आलु खेती हुन्छ । हामीले ५० प्रतिशत अनुदानमा विभिन्न अनुदानका कार्यक्रमहरु पनि ल्याएका छौँ । खुल्लामा आलु खेती गर्नभन्दा पनि मल्चिङ गरेर आलु खेती गर्दा ४० प्रतिशत नै बढी उत्पादन हुने रहेछ । यही कुरालाई मध्यनजर गर्दै हामीले अनुदानको व्यवस्था गरेका छौँ । हामीले नगरपालिकाबाट अभियानकै रूपमाको पशु बीमा कार्यक्रम सञ्चालन गरेका छौँ । केही गरी पशुधनको नोक्सान भइहाल्यो भने यो कार्यक्रमले गर्दा उनीहरूलाई पनि राहत मिल्छ । कृषिको लागि पनि हामीले विभिन्न कार्यक्रम गरिरहेका छौँ । विशेषगरी नगरपालिकाको कृषि शाखाबाट पनि कार्यक्रम हुँदै आएको छ । प्लास्टिक टनेल, मल्चिङ प्लास्टिकको कार्यक्रम आईरहेको छ । कृषिमै आत्मनिर्भर भएर गर्नेहरू विशेष गरेर जसले टनेलका कार्यक्रमहरूमा सहभागी हुनुहुन्छ, उहाँहरूको लागि पनि बाटो खुल्ला गरिएको छ ।
वडामा खानेपानीको अवस्था के छ ? थप सुधारका योजना के–के छन् ?
खानेपानीमा पनि हामीले सुधार गर्दै गएका छौँ । गत असोजको बाढी पहिरोले एकीकृत खानेपानीको आठ किलोमिटर पाइप बगायो । हाम्रै वडामा ट्याङ्की थियो । ट्याङ्की बगाइसकेपछि निकै समस्यामा पर्यो । अहिले चाहिँ हामीले ट्याङ्कीहरू पुनः व्यवस्थापन गरिसकेका छौँ । जहाँ डेढ लाख लिटर पानी अट्छ । यसले थप सहयोग पुग्ने हामीले अपेक्षा लिएका छौँ । यसरी नै हामी खानेपानीको काममा सुधार गर्दै जानेछौँ ।
महिला, बालबालिका, युवा तथा जेष्ठ नागरिकको लागि पनि कार्यक्रम बनाउनुभएको छ ?
हामीले कार्यक्रमहरू त गरि नै रहेका हुन्छौं । गतवर्षको बाढी पहिरोले केही कार्यक्रमलाई निरन्तरता दिन पाएका थिएनौं तर यो वर्ष निरन्तरता दिएका छौँ । एक वर्ष महिला, युवा र जेष्ठ नागरिकको लागि केही कार्यक्रम गर्नुपर्छ भनेर लागिपरेका छौँ । यसका लागि ६÷७ लाख रुपैयाँ बजेट पनि विनियोजन भएको छ । उहाँहरूलाई नै भेला गराएर उहाँहरूको माग बमोजिम नै हामी कार्यक्रमहरू गर्नेछौँ । यसैगरी स्वास्थ्यको क्षेत्रमा पनि हामीले विभिन्न कार्यक्रमहरू गरिरहेका छौँ । सुत्केरी महिला गर्भवती महिलाहरूको लागि पोषणको कार्यक्रम सञ्चालन भइरहेको हुन्छ । तीन महिना पछाडि नौ महिनासम्मका गर्भवती महिलाहरूलाई अण्डा वितरण गर्छौं । ६ महिनादेखि २४ महिनासम्मका बालबालिकाको लागि लिटो पिठो वितरण गर्छौं । यसैगरी खोपका कार्यक्रमहरू नियमित रुपमा चलिरहेको छ । कर्मचारीहरूको चाहिँ समस्या नै भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस