नगर शिक्षा योजनालाई निरन्तरता दिने योजना छ

  • काभ्रे खबर
  • / अन्तरर्वार्ता /
  • २०८२ मंसिर १५, सोमबार (१ हप्ता अघि)
  • १३४ पटक पढिएको

नगर शिक्षा योजनालाई निरन्तरता दिने योजना छ

यो आर्थिक बर्षमा शिक्षाको लागि भनेर कस्ता–कस्ता खालका कार्याक्रमहरु छन् ? कति बजेट विनियोजन गरिएको छ ?
हामीले नगरपालिकाका सामुदायिक र संस्थागत दुवै प्रकारका विद्यालयलाई समेट्दै दुई समूह बनाएर टेबल–टेनिस प्रतियोगिता आयोजना गर्दैछौँ । एउटा १९ वर्षमुनिका विद्यार्थीका लागि र अर्को १४ वर्षमुनिका विद्यार्थीका लागि । काभ्रे जिल्लामा पहिलो पटक यसरी हामीले यो कार्यक्रमको आयोजना गरेका छौँ । कक्षा कोठा व्यवस्था भएका विद्यालयहरूमा नगरपालिकाले निःशुल्क टेबल टेनिस बोर्डहरू पठाइरहेको छ । प्रधानाध्यापक ज्यूहरूलाई सञ्चार खर्चको व्यवस्था गरेका छौँ । शिक्षक कर्मचारीहरूलाई हामीले नियमित मासिक तलब भत्ताहरू निकासा गरिहेका छौँ । केही समय अगाडी पालिका संवाद कार्यक्रम पनि आयोजना गरेका थियौँ । मेयरसँग विद्यार्थी कार्यक्रम पनि सम्पन्न भएको छ । यसैगरी संस्थागत विद्यालय एबिएम स्कुलले आइएसओ २१००१ र चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालयले आइएसओ २१००१ मापदण्ड प्राप्त गरिसकेको अवस्था छ भने, शिक्षा सदन माध्यमिक विद्यालयले पनि आइएसओ २१००१ मापदण्ड प्राप्त गर्ने चरणमा रहेको छ । यसैगरी हिलिङ वा तनाव व्यवस्थापन गर्नको लागि हिलिङ टुगेदर नेपालसँगको समन्वय र सहकार्यमा मनोसामाजिक परामर्श कार्यक्रम १८ वटा विद्यालयमा सञ्चालन गरेका थियौँ । थप विद्यालयहरूमा पनि यो कार्यक्रम गर्ने चरण सुरु हुँदैछ । समुदायिक र संस्थागत विद्यालयका शिक्षकहरूलाई चार चरणसम्म हामीले यस विषयमा तालिम दिएका थियौं । सामुदायिकतर्फ बाल विकासका शिक्षकलाई पनि तालिम दियौँ । अहिले चाहिँ संस्थाले नै आर्थिक तथा प्राविधिक सहयोगले विद्यालयमा आधारित दुई दिने तालिम १८ वटा विद्यालयमा तालिम सप्पन्न गरिसक्नुभएको छ । वृद्धिमार्ग निर्देशनको समीक्षा कार्यक्रमहरू पनि सम्पन्न भइसकेको छ ।
परिक्षापछीको नतिजालाई राम्रो बनाउन के कसरी कामगरिरहनुभएको छ ?
शिक्षण सिकाई र नतिजालाई गुणस्तरीय बनाउन वा सुधार गर्न परीक्षाहरूबाट नै सुरु हुनुपर्छ भनेर कक्षा आठको केन्द्र नै तोकेर परीक्षा सञ्चालन गर्दै आएका छौँ । कोडिङ डिकोडिङ गरेर नै नतिजाहरू निकालिरहेका छौँ । नतिजा विश्लेषण पनि गर्छौं । कक्षा आठको परीक्षा निर्धारण गरेपछिको पहिलो एसइइ ब्याजले निकै राम्रो नतिजा ल्याउन सफल भएका छन् । विगतकोभन्दा उल्लेखनीय सुधार पनि भएको छ । अघिल्लो वर्ष एसइमा काभ्रे जिल्लामै जम्मा एक जनाको चारजीपीए आएको थियो भने, यो वर्ष चाहिँ बनेपाकै ५ जना विद्यार्थीेको चार जीपीए आयो । सामुदायिक ९४ प्रतिशत र संस्थागतको ९५ प्रतिशत विद्यार्थी उत्तीर्णदर रहेको छ । यो नतिजाको अवस्थालाई हेर्ने हो भने पछिल्लो समय सामुदायिक संस्थागत दुवैको नतिजा सुधारात्मक छ । गुणस्तर वृद्धि भइरहेको छ भन्ने हामीले बुझेका छौँ । पालिकाको स्रोतबाट हामीले शिक्षक व्यवस्थापनको काम पनि गरिरहेका छौँ । यसैगरी पालिकाकै स्रोतबाट थप दुईजना खेलकुदका शिक्षक पनि नियुक्त हुनुभएको छ । उहाँहरुले अहिले सामुदायिक विद्यालयमा तीनवटा समूह बनाएर आलोपालो प्रशिक्षण गरिरहनुभएको छ ।
शिक्षा क्षेत्रमा पालिकालाई अब्बल बनाउनको लागि के कस्तो काम काम गरिरहेको छ ? केही नयाँ योजना पो बनाएको छ की ?
स्थानीय पाठ्यपुस्तक बनेपा परिचय कक्षा १ देखि ८ सम्म लागू भइसकेर दोस्रो संशोधनपछि पाठ्यपुस्तकमै विकास गरेर हामीले कार्यान्वयनमा ल्याएका छौँ । स्थानीय पाठ्यपुस्तक लागू गर्ने र छपाउने यो भेगमा हामी अग्रस्थानमै पर्छौं । हामी नियमित रुपमा शैक्षिक बुलेटिन र क्यालेण्डरहरू निकाल्छौँ । शैक्षिक बुलेटिनको अहिले सातौं अङ्क प्रकाशित उन्मुख छ । आर्थिक बर्ष ८०÷८१ मा भ्ल्क्क्ग्च्भ् परियोजनामा वित्तीय प्रगतिको आधारमा बागमती प्रदेशमै प्रथम भएका थियौँ । यो वर्ष पनि हामी अग्रस्थानमा छौँ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यो वर्षको हामीले सुरुवात गर्न लागिरहेका छौँ । कअयगत, लअअ का विद्यार्थीहरू परेडबाट यो कार्यक्रमको उद्घाटन हुनेछ । गत वर्षको छैटौं राष्ट्रपति रनिङशील प्रतियोगितामा पनि हाम्रो अघिल्लो वर्षको सहभागिता र नतिजा राम्रै थियो । सामुदायिक र संस्थागत विद्यालयको संयुक्त बैठकहरू पनि राख्ने गरेका छौँ । यसमा सफल अभ्यासहरू पनि आदानप्रदान हुने गरेको छ । सगन अनुगमन पनि गर्छौ । बनेपा नगरपालिकाले विद्यार्थीको भविष्य सुरक्षित र व्यवस्थापन गर्न सामुदायिक विद्यालयमा “वृद्धिमार्ग निर्देशन कार्यक्रम” स्थापना गरेको छ । विद्यालयभित्रै करियर मार्गदर्शन, मनो–परामर्श, सीप पहिचान र शैक्षिक सल्लाह प्रदान गर्नको उद्देश्यले सुरु गरिएको यो कार्यक्रम अन्तर्गत आजाद माध्यमिक विद्यालयमा विशेष “वृद्धिमार्ग निर्देशन इकाइ” स्थापना गरिएको छ । यस इकाइमार्फत विद्यार्थीलाई आफ्नो रुचि, क्षमता काठमाडौँ विश्वविद्यालय र बनेपा बहुप्राविधिक शिक्षालयसँगको सहयोगमा हामीले विभिन्न सिपमूलक तालिमहरू दिएका छौँ । जसमा पाँचवटा विषय समेटिएका थिए । प्लम्बर, कम्प्युटर हार्डवेर, अटो मोबाइल बिल्डिङ इलेक्ट्रिसियन सँग सम्बन्धित तालिमहरू दिएका थियौँ ।
शैक्षिक सामग्री प्रदर्शनी, विभि शन्न अतिरिक्त क्रियाकलापले कस्तो प्रभाव पारेको छ ?
माध्यमिक तहको विज्ञान विषयको शैक्षिक सामग्री प्रदर्शनीमा ३१ वटा विद्यालयको सहभागिता रहने गरी कार्यक्रमहरू गरेका थियौँ । जसमा एक हजार ४ सय ५ जना विद्यार्थीहरूद्वारा अवलोकन भएको थियो । आधारभूत तहको ६ देखि ८ का विद्यार्थीको हाजिरी जवाफ प्रतियोगिता पनि गरेका थियौँ । यसमा ७५ जना विद्यार्थी सहभागी हुनुभएको थियो । १ देखि ५ कक्षासम्मका विद्यार्थीको चित्रकला प्रतियोगिता भएको थियो । जसमा ३३ वटा विद्यालय सहभागी हुनुहुन्थ्यो । हामीले सामुदायिक संस्थागत विद्यालयका शिक्षकहरूलाई स्काउट तालिम पनि दिएका छौँ । कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरू नेपाली हस्तलेखन प्रतियोगिता पनि भएको थियो । यसमा जम्मा २५ वटा विद्यालय सहभागी भएको थियो । यो कार्यक्रम पनि निकै भव्यताको साथ सम्पन्न भयो ।
शिक्षकहरूलाई बेलाबखतमा तालिम प्रदान गर्ने अथवा प्राविधिक कुराको ज्ञान दिने काम कतिको भएको छ ?
शिक्षकहरूलाई हामीले एआइ सम्बन्धी तालिम पनि दिएका छौँ । यो तीन दिनको थियो भने, गत वर्ष पनि हामीले एआई सम्बन्धी तालिम दिएका थियौँ । पाठ्यक्रम, बालविकास सम्बन्धी तालिम सञ्चालन भएको छ ।
विद्यालको संरचना निमार्ण तथा स्तरउन्नती गर्नको लागि पालिकाले कत्तिको सहयोग गर्ने गरेको छ ?
भौतिक सुधारका कुराहरू हामीले हाम्रो तर्फबाट सकेको गरेको छौँ । प्रदेश, संघबाट पनि बेलाबखतमा आएका भौतिक विकास निर्माणका कामलाई हामीले सहजीकरण गरिरहेका हुन्छौँ । चण्डेश्वरी मा।विमा पनि भौतिक निर्माण भइरहेको अवस्था छ । भक्तेश्वरमा माबिमा पालिकाले पनि सहयोग गरेको थियो भौतिक निर्माणका कुरामा । विद्यालयको आवश्यकता र नगरपालिकाको क्षमताअनुसार भौतिक निर्माणको पाटोहरू पनि बलियो छ । भौतिक पूर्वाधार सुधारका कार्यक्रमहरू त नियमित रुपमा भइरहेको हुन्छ । यसैअन्तर्गत लभग्रीन नेपालले दुईवटा विद्यालयमा भवन सहित आठवटा कम्प्युटरको व्यवस्था गरिदिएको छ । यसले थप सहज भएको छ । प्रदेश स्तरीय आवसिय विद्यालय भवन जुन, आदर्श बालविकास केन्द्रमा निर्माण भइरहेको छ । जेन्जि आन्दोलनमा हाम्रो भौतिक संरचनाहरू तथा तथ्याङ्कहरूमा क्षति पुग्दा पनि हामीले सेवामा कमी हुन दिएका छैनौँ । सेवालाई चुस्त दुरुस्त पार्दै विद्यालय बस सञ्चालनको लागि अनुदान दिइरहेका छौँ । विद्यालयमा भएका बहसलाई प्रति वस केही रकमअनुदान दिइरहेका छौँ ।
छात्राबुद्धिको कार्याक्रहरु कत्तिको छ ?
नेपाल सरकारद्वारा सञ्चालित विभिन्न छात्रावृत्तिका कार्यक्रमहरू त नियमित रुपमा नै सञ्चालन भइरहेको छ । संस्थागत विद्यालयमा अध्ययन गर्नेहरूलाई पनि वडाको सिफारिसको आधारमा हामीले नीति बनाएका छौँ । त्यो नीतिमा टेकेर उनीहरूलाई छात्रवृत्ति प्रदान गरिरहेका छौँ । प्राविधिक शिक्षा अध्ययन गर्न चाहनेहरू जसको आर्थिक अवस्था कमजोर छ, उहाँहरुलाई हामीले सिफारिसको आधारमा एक लाख देखि ५ लाखसम्मको बजेट विनियोजन पनि गरेका हुन्छौँ । विभिन्न सङ्घसंस्था पूर्व विद्यार्थी अभिभावकहरूद्वारा भएका सहयोगलाई हामीले आवश्यक परेका विद्यार्थीहरूलाई छात्रवृत्तिको रुपमा प्रदान गर्ने कुरा त छँदै नै छ । बनेपा नगरपालिकाले पनि उत्कृष्ट प्रतिभा भएका विद्यार्थीहरूलाई छनोट गरेर सम्मान पुरस्कार वितरण गर्ने काम पनि गरिरहेको छ । यसले पनि विद्यार्थीहरूलाई थपटेवा पुगेको छ । छात्रवृत्तिको अर्थ हामीले अमाउन्टमा मात्रै होइन अन्य कुराहरुमा पनि सहयोग गरेर प्रदान गरिरहेका छौँ ।
सामुदायिक विद्यालयमा विद्यार्थी केन्द्रित गर्नको लागि पालिकाको तर्फबाट के गर्दै हुनुहुन्छ ?
सामुदायिक विद्यालयमा विद्यार्थीहरू केन्द्रित गराउनुपर्छ भन्ने हिसाबले हामीले पहिलेदेखि नै विभिन्न कार्यक्रमहरु गरिरहेका छौँ । यसोभन्दैमा संस्थागत विद्यालयलाई नसमेट्ने भन्ने होइन । हाम्रा कार्यक्रमहरु समान हुन्छन् तर पनि हामीले सामुदायिक विद्यालयमा गर्नुपर्ने हाम्रो दायित्वहरु नियमित रुपमा पूरा गरिरहेका छौँ । विद्यार्थीहरू कतै घट्दो क्रममा छन् । कतै बढ्दो क्रममा छ । यसलाई ब्यालेन्समा ल्याउन चाहिँ आवश्यक छ । जस्तै चण्डेश्वरी माध्यमिक विद्यालयमा अहिले करिब ११ सयभन्दा बढी विद्यार्थी अध्ययनरत हुनुहुन्छ । यसैगरी शिक्षा सदन माध्यमिक विद्यालयमा पनि विद्यार्थीको दर बढ्दो मात्रामा छ । विद्यार्थी तथा अभिभावकहरूलाई आकर्षित गर्नको लागि हामीले विभिन्न शैक्षिक सुधारका कार्यक्रमहरू ल्याउनुपर्ने हुन्छ । गुणस्तर सुधारका कार्यक्रमहरु ल्याउनुपर्ने हुन्छ । त्यो हामीले नियमित रुपमा गरिरहेका छौँ । सामुदायिक सामुदायिक विद्यालयलाई मात्र तुलना गर्नेभन्दा पनि सामुदायिक र संस्थागत विद्यालयमा अध्ययन गरिरहेका बालबालिकाहरूलाई एउटै छानामुनि ल्याएर स्वस्थ प्रतिस्पर्धा पनि गराउँछौँ । जसले गर्दा सामुदायिक विद्यालय पनि संस्थागत भन्दा कम छैनन् भन्ने कुरा प्रमाणित गर्न सहज भएको हुन्छ । यसमा हामीलेभन्दा पनि अभिभावकहरूले दुईवटा विद्यालयलाई एकै ठाउँमा राखेर हेर्दा आएको नतिजालाई आफै तुलना गर्न सक्नुहुन्छ । हामीले यसमा भन्नेभन्दा पनि उहाँहरुले बनाउनुभएको धारणा म्याटर गर्छ । अभिभावकहरूलाई पनि बेलाबखतमा विभिन्न ओरिन्टेसनका कार्यक्रमहरू सञ्चालन भइरहेको हुन्छ ।
शिक्षा क्षेत्रमा नगरपालिकाको आगामी योजना के कस्ता छन् ?
अब चाहिँ नगर शिक्षा योजनालाई निरन्तरता दिने भन्ने हाम्रो योजना छ । संस्थागत विद्यालयलाई पनि नियमन गर्दै जाने कार्यक्रम रहेको छ । प्रविधिमैत्री विद्यालय निर्माणमा जोड दिइरहेका छौँ । सामुदायिक विद्यालयमा विद्यार्थीहरू टिकाई राख्नलाई गुणस्तरीय सुधार लगायतका कुराहरूमा विशेष जोड दिँदै जानेछौँ । सामुदायिक विद्यालयभित्र पनि हामीले आमा समूहहरू गठन गरेका छौँ । विद्यालयमा गणित, विज्ञान र अङ्ग्रेजीका शिक्षकलाई पनि विशेष फोकस गरेर कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ । यसले गर्दा विद्यार्थीहरूको शैक्षिक सुधारमा टेवा पुग्ने हाम्रो अपेक्षा हो । शिक्षकहरू क्वालिफाइड हुनु भनेको पनि शैक्षिक सुधारमा टेवा पुग्ने एउटा विशेष माध्यम हो । नियमित तल भत्ताका कामहरू भनेको त भइनैहाल्छ । संघीय अनुदानका कार्यक्रमहरू पनि भइनै रहेका हुन्छौँ । दिवा खाजा स्यानिटरी प्याड विद्यालय नर्सका कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन् । यसको पनि प्रभावकारिता निकै नै उत्कृष्ट छ । विद्यालय सञ्चालनको लागि अनुदानका कुराहरू नियमित रूपमा भइरहेको छ । समाजिक लेखा परीक्षण, विद्यालय सुधार योजनाका काम र इन्टरनेट जडानका काम पनि भइरहेको छ । स्यानेटरी प्याड वितरणको कार्यक्रम लागू भएदेखि सुरुदेखि नै हामीले विद्यालयले नै खरिद गर्न सक्ने गरी व्यवस्था गरेका छौँ । वार्षिक परीक्षाहरू हामीले नियमित व्यवस्थित रूपमा सञ्चालन गरिरहेका छौँ । यो क्रमलाई हामी आगामी दिनमा पनि निरन्तरता दिँदै जानेछौँ । शिक्षक तालिमका कार्यक्रमले नै आगामी दिनमा निरन्तरता पाउनेछन् । शैक्षिक सामग्री प्रदर्शनीका कार्यक्रमहरू पनि भइरहेको छ । आगामी दिनमा पनि हामी यसलाई निरन्तर रुपमा अगाडि बढाउने छौँ । स्मार्ट बोर्डहरू सकभर धेरै राख्ने प्रयास गरिरहेका छौँ । नगर स्तरीय प्रतिभा पहिचानका कार्यक्रमहरू पनि भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस