
० नगरपालिकाको पछिल्लो गतिविधि के कस्तो छ ?
चालु आर्थिक वर्षमा हामीले जे जति कार्यक्रमहरू गर्ने भनेर बजेट विनियोजन गरेका थियौँ, त्यसबाट कार्यक्रम गर्नको लागि हामी अहिले योजना सम्झौताको चरणमा रहेका छौँ । जेन्जी आन्दोलन पछि अवस्था फरक हुन गयो । संरचनाहरूमा क्षति पुगेसँगै हामीले गर्नुपर्ने कामहरूमा धेरै समस्या आइपर्यो । कामको भार एकैपटक बढी पर्न गयो । धेरैवटा योजनाहरू टेन्डरमा पनि गएका छन् । शिक्षा, स्वास्थ्य, कृषि, महिला, बालबालिका लगायतका शीर्षकमा गर्ने भनिएको कार्यक्रम भर्खर हुँदैछ । यो चौमासिक भित्रको सबै काम धमाधम सुरु भइरहेको छ । अहिले राष्ट्रपति रनिङ सिल्ड चलिरहेको छ । यसैगरी शिक्षकहरूको तालिम पनि सञ्चालन भइरहेको छ भने महिला, बालबालिकाको १६ दिने अभियान सञ्चालन गरिरहेका छौँ । लोकसेवा तयारी कक्षाहरू पनि सञ्चालन गराइरहेका छौँ । अहिले हामीले ओरिन्टेसनको कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ । बालमैत्री अभियानका कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन् । स्वास्थ्यको पनि नियमित कार्यक्रमहरु सञ्चालन भइरहेको छ । पहिलो चौमासिकमा विविध समस्याले गर्दा हामीले धेरै कामहरू गर्न सकेनौँ । योपटक चाहिँ हामीले कार्यक्रमहरुलाई धमाधम अगाडि बढाइरहेका छौँ ।
० महिला, दलित, अल्पसंख्यक र पछाडि पारिएका वर्गका लागि के–के कार्यक्रमहरु छन् ?
महिला, बालबालिका, जेष्ठ नागरिक सबैको क्षेत्रमा कार्यक्रमहरू निकै बनाएका छौँ । अझ विशेषगरी महिलाहरूको क्षेत्रमा त निकै कार्यक्रम भएका छन् । तत्कालको लागि चाहिँ महिला हिंसा विरुद्धको कार्यक्रम सञ्चालन गर्दैछौँ । एउटा गोष्ठी गरेर अपाङ्ग दिवस पनि मनाउँदै छौँ । महिला सीमान्तकृत दलित र पिछडिएका वर्गका लागि लोकसेवाको तयारी कक्षाहरू सञ्चालन गरिरहेका छौँ । उद्यमशीलताका कार्यक्रमहरू पनि छ । त्यो चाहिँ सुरु भएको छैन । अपाङ्गता भएका व्यक्तिहरूको लागि विभिन्न सीपमूलक तालिमहरू प्रदान गरिरहेका छौँ । यसको लागि विभिन्न सङ्घसंस्थाहरूसँग पनि कोर्डिनेसन गरिरहेका छौँ । हामीले सूचनाहरू निकाल्ने काम सक्काएका छौँ । त्यो बाहेक विभिन्न सचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरिरहेका नै छौँ ।
० नगरपालिका कहिलेसम्मा बालमैत्री घोषणा हुन्छ ?
यस वर्ष हामीले हाम्रो पालिकालाई “बालमैत्री नगरपालिका” घोषणा गर्ने लक्ष्यसहित काम अघि बढाएका थियौँ । सोही अनुरुप, बालबालिकाका अधिकार, सुरक्षाः, शिक्षा, स्वास्थ्य, पोषण, सहभागीता र समग्र कल्याण सुनिश्चित गर्ने उद्देश्यले विभिन्न कार्यक्रम र पहलहरु सञ्चालनमा रहेका थिए । यसअघिका केही घटनाक्रम र कठिनाइका कारण हाम्रो काम अलिकति सुस्त परेको भए पनि, अहिले हामी पुनः सक्रिय भई, बालमैत्री घोषणा गर्न आवश्यक सबै मापदण्ड पूरा गर्ने काममा संलग्न भएका छौँ । हामीले पालिका तथा वडा तहमा बालबालिकाको संरक्षण र विकासको लागि नीति, योजना र कार्यक्रमहरु डिजाइन गरी कार्यान्वयन सुरु गरिसकेका छौँ । हामी विश्वास गर्छौँ, चाँडै नै हाम्रो लक्ष्य सफल हुनेछ र हाम्रो पालिका “बालमैत्री” घोषणा गर्न योग्य बनाएर, बालबालिकाको हित र अधिकार सुनिश्चित गर्न सकिनेछ । हामी सबै सरोकारवालाहरूसँग मिलेर यो अभियानलाई दिगो र प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्छौँ ।
० आधारभुत स्वास्थसेवा तपाईको पालिका भित्र २४ सै घन्टा प्राप्त गर्न सक्ने बाताबरण निर्माण भएको छ ?
यस वर्ष हाम्रो पालिकामा स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरु निरन्तर सञ्चालन भइरहेका छन् । नयाँ पहलहरुका साथै, पहिलेदेखि चलेका राम्रा कार्यक्रमहरु पनि निरन्तरता पाएका छन् । उदाहरणका लागि, गत वर्ष हामीले पालिकाका सबै १२ वटा वडामा पाठेघर (सर्भाइकल) स्क्रिनिङ कार्यक्रम सञ्चालन गरेका थियौँ । त्यस क्रममा महिला स्वास्थ्य जाँच गरिएका तथा समस्या देखिएकाका लागि यस वर्ष पुनः कार्यक्रम गर्ने योजना बनाएका छौँ । केही महिलाहरुको रिपोर्ट पोजिटिभ समेत देखिएकोले, उनीहरुलाई उचित परामर्श र उपचारको व्यवस्थाका लागि हाम्रो सतर्कता जारी रहेको छ । हामी ६ महिनामा एक पटक फलो–अप गर्ने व्यवस्था पनि गर्दै आएका छौँ । अर्कोतिर, नियमित स्वास्थ्य सेवाहरु जस्तै पोषण, सीधाचेक, बालबालिका र आमाबाबुलाई लक्षित स्वास्थ्य जाँच तथा अन्य क्याम्पहरु लगायत यी सबै कार्यक्रमहरु पनि निरन्तर संचालन भइरहेका छन् । हाम्रो उद्देश्य सम्पूर्ण नागरिक, विशेषगरी महिला र बालबालिकाको स्वास्थ्य रक्षा र सामूहिक कल्याण सुनिश्चित गर्नु हो । हामी आशा गर्छौँ — यी स्वास्थ्य पहलहरुबाट हाम्रो पालिका अझ स्वस्थ, सशक्त र सुरक्षित बन्नेछ । हाम्रा प्रयास निरन्तर रहिरहनेछ र समुदायलाई स्वस्थ जीवन सुनिश्चित गर्ने हाम्रो अभियान दिगो रहनेछ ।
० खानेपानी त सरसफाईका कार्यक्रमहरु के के छन् ?
सडक खानेपानी योजनाका कामहरू नगरसभाले पास गरिसकेको छ । एक घर एक धारा भनेर पनि हामीले कार्यक्रमहरू राखेका छौँ । यो कार्यक्रममा अभियानकै रुपमा सुरु भएको निकै समय भइसकेको छ । यसमा राम्रो काम भएको छ । फोरहोरमैला व्यवस्थापनलाई एउटा कम्पनीलाई जिम्मा दिएका छौँ । त्यही मार्फत भइरहेको छ । टोल विकास संस्था बनाएर त्यहाँबाट पनि काम गर्ने भनेर हामी लागिरहेका छौँ । खानेपानीको लागि बजार क्षेत्रमा विशेष समस्या हुँदै आएको छ । जहाँ अन्तबाट बसाई सरेर आउनुभएका नागरिकहरु अथवा रेन्टमा बस्ने बढ्दै जाँदा खानेपानीको समस्या बढ्दै जाने रहेछ । एकीकृत खानेपानी अब तत्काल सम्पन्न हुन सक्ने अवस्था रहेन । खानेपानी संस्थानहरूसँग मिलेर अहिले डिप बोरिङ खन्ने लगायतका कामहरु त भइरहेको छ भएका मूलहरूलाई संरक्षण गर्ने कामहरू भएको छ । वडा नम्बर ६ मा यो वर्ष एक घर एक धारा सबैकोमा पुग्छ । किनभने त्यहाँ डिप बोरिङ मार्फत नै हामीले यो कार्यक्रम सम्पन्न गरेका हौँ । वडा नम्बर ७ र ९ मा पनि डिपबोरिङका कार्यक्रमहरू सञ्चालन भइरहेको छ । यसले पनि सबै घरधुरीमा समाधान हुन्छ भन्ने चाहिँ होइन तर पनि केही हदसम्म यसले सहयोग हुन्छ ।
० चुनाव ताका जनतालाई दिनु भएको आश्वासन के कति पुरा भए कति बाँकी छन् ?
यस वर्ष हामीले पहिले घोषणा गरेका विभिन्न कार्यक्रममध्ये अधिकांश कार्यहरु पूरा गरिसकेका छौँ । बाँकी रहेका कार्यक्रमहरु पनि निरन्तरता साथ अगाडि बढिरहेका छन् । जहाँसम्म खानेपानीको एकीकृत प्रणाली (एक घर–एक धारा) को कुरा हो — थुप्रै क्षेत्रमा पानीको व्यवस्था सफलतापूर्वक पूरा भएको छ । तर, विपत्ति र त्यसपछि देखिएको अवरोधका कारण केही योजना, विशेष गरी विभिन्न क्षेत्रहरुको एकीकृत खानेपानी आयोजनाको काम अझै समाप्त गर्न सकिएको छैन । त्यस्तै, ढलान र पिचिङ (सडक, बाटो वा अन्य पिच काम) नियमित रुपमा भइरहेको छ । हामीले जनताको अपेक्षा र वाचा अनुसार प्रतिबद्धता साथ काम गर्दै आएका छौँ । अहिले हाम्रो लक्ष्य छ, जहाँ बाँकी रहेका कामहरू छन्, ती सबै सक्ने छौँ । समय पहिले अपेक्षित जस्तो नभए पनि सकेसम्म सकभर हाम्रा वाचा र प्रतिबद्धताहरु पूरा गर्ने हाम्रो दृढ छ ।
० जनताले घरमै सिंहदरवार महशुस हुने के के काम गर्नुभयो ?
“घर घरमा सिंहदरबार” भन्ने कुरा हामीले भन्नेभन्दा पनि नागरिकहरूले महसुस गर्ने कुरो हो । हाम्रो तर्फबाट सकेसम्म सेवा प्रवाह र काम–कारवाहीमा निरन्तरता दिइरहेका छौँ । विपत्तिको बेलामा समेत सेवा नरोकिकन वडा तहबाट प्रदान गरिने सबै सेवाहरु नियमित रुपमा प्रदान गरिरहेकै छौँ । स्वास्थ्य, शिक्षा, कृषि, महिला–बालबालिका लगायत सबै क्षेत्रमा लक्षित रहेर कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ । निःशुल्क स्वास्थ्यबीमा, निःशुल्क पशु–बीमा लगायतका योजना पनि लागू गरिएका छन् । हामी चहिँरहेका छौँ कि यी सेवाहरु र कार्यक्रमहरु जनताले “महसुस” गरुन् मात्र घोषणा र वचनमा सीमित नहोस् । अन्ततः — हाम्रो उद्देश्य होः जनतासँग गरिएको प्रतिबद्धता र वचन पूरा गर्दै, सेवा र सुबिधा घर–घर, व्यक्तिसम्म पु¥याउनु ।
० कृषिलाई आधुनिकिकरण, यान्त्रिकिकरण , व्यावसायिकरण र बजारीकरण गर्ने कार्यक्रम ल्याउनु भएको छ ?
कृषिमा पनि हाम्रो नियमित कार्यक्रमहरू सञ्चालन भइरहेको छ । हरेक शुक्रबार बनेपाको लागेको महादबजार लाग्छ । यो निकै राम्रो भइरहेको छ । धेरैजनाले सेवा पाउनुभएको छ र किसानहरूलाई पनि यसले सहज भएको छ । टनेल टनेल प्लास्टिक विभिन्न औजार उपकरणहरू हरेक वर्ष हामीले अनुदान स्वरूप किसानलाई प्रदान गर्दै आएका छौँ । प्राविधिक सहयोगहरू पनि हामीले निरन्तर रुपमा गरिरहेका छौँ । अर्गानिक मल उत्पादनमा प्रोत्साहन गरेका छौँ । अर्गानिक मल उत्पादन गर्न हाम्रो तर्फबाट सहयोग पनि हुँदै आएको छ । तालिमहरू दिने गोठ सुधारका कार्यक्रमहरू गर्ने गरिरहेका छौँ । मौरी पालनलाई पकेट क्षेत्र बनाउने भनेर हामी लागि परेका छौँ । निःशुल्क पशु बीमा गरिदिने काम भएको छ । लम्पि स्किन लगायतका रोगहरूको निःशुल्क खोप पनि लगाइदिइरहेका छौँ ।
० कार्यालयबाट सम्पादन हुने सबै कामहरुको नागरिक बडापत्र तयार गरि सबैले देख्ने ठाउँमा राखी तेस बमोजिम अनुसरण भएका छन ? छैनन भने कहिलेबाट गर्नुहुन्छ ?
नागरिक बडापत्र पहिलेदेखि नै हेको छ, र अहिले पनि लागू अवस्थामा छ । सार्वजनिक सेवा र जनसेवाका कामहरु नागरिक बडापत्रमा उल्लेख भएका मापदण्ड अनुसार सञ्चालन हुँदै आएका छन् । हामी हाम्रो तर्फबाट सकेसम्म नागरिक बडापत्रमा उल्लेखित सेवा, व्यवस्था र जिम्मेवारी पूरा गर्न कटिबद्ध छौँ । विपत्ति वा अनियमितता आए पनि, सेवा प्रवाहमा निरन्तरता दिनुपर्छ भन्ने हाम्रो ध्येय र जिम्मेवारी हो ।
० यो सालका लागि तपाईको निकायमा कस्ता योजहरु प्राथमिकतामा छ ? मुख्य के के योजना अघि सार्नु भएको छ ?
नागरिकहरूको माग र आवश्यकता केमा छ भन्ने कुरा विशेष हुन्छ । जहिले पनि हाम्रोमा नागरिकहरुबाट माग आउने र आवश्यकता पनि हुने भनेको पूर्वाधारका क्षेत्रहरु हुन् । तिनलाई नै हामीले प्राथमिकता दिएर काम गरिरहेका छौँ । खानेपानी, सडक विषयहरू सधैं आइरहेका हुन्छन् । यिनले विशेष प्राथमिकता पाएका छन् । सम्पदा संरक्षणका कुराहरू पनि छन् । स्वास्थ्य, शिक्षा र कृषि पनि हाम्रा प्राथमिकताका विषयहरु हुन् । यही नै हाम्रो मुख्य प्राथमिकता भन्ने छैन तर यिनीहरु चाहिँ हाम्रो विशेष प्राथमिकताभित्र पर्छन् । नागरिकहरूबाट माग पनि यिनै विषयमा धेरै आउँछन् । महिला बालबालिकाका कुराहरू पनि छन् ।
० न्यायिक समितीको काम नियमित चलेको छ ?
न्यायक समितिको कामहरू पनि भइरहेको छ । भदौमा भएको जेनजी आन्दोलनले गर्दा हाम्रा धेरै दस्तावेजहरु जलेर गए । धेरै तथ्याङ्कहरू रहेनन् । गत वर्ष दर्ता भएका ३५ वटा मुद्दामध्ये १० वटा फैसला हुन बाँकी थियो । जुन यो वर्षको लागि सरेको थियो । डकुमेन्टहरू जल्दा हामीलाई धेरै नै समस्या चाहिँ भएको थियो । यस वर्ष पनि हामी एकोमा दर्ता हुन आएका धेरैवटा मुद्दाहरू छन् ।