
० आजकल के मा व्यस्त हुनुहुन्छ ?
हामीले वडामा गर्ने नियमित कामहरूलाई नै निरन्तरता दिएका छौँ । चालु आर्थिक वर्षमा हामीले विभिन्न शीर्षकमा कार्यक्रमहरू राखेका छौँ । तिनलाई हामीले निरन्तरता दिइरहेका छौँ । बाँकी नयाँ योजनाहरूलाई पनि अगाडि बढाइरहेका छौँ । विपदपछि वडालाई पहिलेकै अवस्थामा पुर्याउनको लागि विभिन्न कार्यक्रमहरूलाई अगाडि बढाइरहेका छौँ।
० यो सालका लागि तपाईको निकायमा मुख्य के के योजना अघि सार्नु भएको छ ?, बजेटको अवस्था के छ ?
हामीले गर्ने नियमित कामहरू त छँदैछ, त्यो बाहेक पनि हामीले केही यो नयाँ योजनाका साथ काम गरिरहेका छौँ । पाँच लाखभन्दा माथिका योजनाहरू सबै ठेक्का प्रक्रिया मार्फत गर्ने भन्ने थियो । त्यसैले हामी अहिले ठेक्काका कामहरु धमाधम खुलाइरहेका छौँ । विभिन्न दिवसका कार्यक्रमहरू पनि भइरहेको हुन्छ । लैङ्गिक हिंसाविरुद्धको कार्यक्रम, जेष्ठ नागरिक दिवस, अपाङ्गता दिवस, स्वयंसेविका दिवस लगायतका विभिन्न दिवसका कार्यक्रमहरु पनि हामीले गरिरहेका हुन्छौँ । बालमैत्रीको लगानी योजनाका कार्यक्रमहरू पनि गर्दैछौँ । प्रत्येक वडामा युवा, महिला, बालबालिका लक्षित भनेर हामीले १०-१० लाखका दरले रकम पठाएका छौँ । त्यो रकमबाट पनि कार्यक्रमहरु भइरहेको हुन्छ । तालिम गोष्ठी भेला लगायतका कार्यक्रमहरू त्यहाँको आवश्यकताको आधारमा ती वडाले गर्नेछन् । त्यो कार्यक्रम हामीले वडालाई नै जिम्मा दिएका छौँ । यो बाहेक शिक्षा स्वास्थ्य खानेपानी लगायतका विभिन्न शीर्षकमा कार्यक्रमहरू रहेको छ । हामी क्रमश ती कार्यक्रमलाई सम्पन्न गर्नेछौँ ।
० न्यायिक समितिको पछिल्लो गतिविधि के छन् ?
न्यायिक समितिबाट हामीले नियमित रुपमा आएका मुद्दाहरू हेर्ने काम भइरहेको छ । त्यसको लागि आवश्यक पर्ने बजेट लगायतका कुराहरू त छँदै नै छ । जसरी पहिले कार्यक्रमहरू नियमित हुने गर्थे, अहिले पनि त्यसरी नै समितिको कामहरु निरन्तर रुपमा अगाडि बढिरहेको छ । न्यायिक समिति र पछिल्लो समय पनौती नगरपालिकाको न्यायिक अवस्था के छ भनेर एउटा किताब निकाल्ने भन्ने छ। यसको लागि हामी लागि परेका छौँ ।
० चुनाव ताका जनतालाई दिनु भएको आश्वासन के कति पुरा भए कति बाँकी छन् ? बाँकी कार्यकालमा वडालाई लिएर तपाईंको योजना के छ ?
चुनावताका घोषणापत्रमा भने बमोजिम नै हामीले कामहरू गरिरहेका छौँ । बाढी पहिरो लगायतका विभिन्न समस्याले गर्दा केही असर चाहिँ गर्यो तर पनि हामीले बोलेका कुराहरु पुरा गर्दै गइरहेका छौँ । महाबिपत्तिले गर्दा हामीलाई घोषणापत्र मात्रै फलो गर्नुपर्छ भन्नेतिर लगेन । आवश्यकता के छ ? भन्नेतिर लग्यो । आवश्यकता जे जे हुँदै गयो हामीले त्यसलाई नै फलो गर्दै गयौं। त्यसकारण सेम टु सेम घोषणापत्रमा बोलेकैअनुसार नभए पनि आवश्यकताहरुलाई परिपूर्ति गर्न तर्फ हामी उन्मुख रहिरहेका छौँ । बाटो, पुल लगायतका पूर्वाधारका कार्यक्रमहरूलाई लक्षित गरेर हामी अगाडि बढिरहेका थियौँ। महाविपत्तिले गर्दा हामीले हाम्रो वे नै केही परिवर्तन गर्नुपर्ने परिस्थिति आयो । यद्यपि हामीले गर्नुपर्ने नियमित कामहरुले त निरन्तरता पाएको छ । अबका दिनमा पनि हामी आवश्यकता के हो भन्ने कुरालाई मध्यनजर गरेर नै कामहरू गर्नेछौँ । बोलेका कुरा कतिपय हामीले पूरा गरिसकेका पनि थियौ तर ती संरचनाहरू ध्वस्त हुँदा हामीलाई धेरै धक्का पनि भयो। हामी बिस्तारै उठिरहेका छौँ । अबका दिनमा पनि हामीले गर्नुपर्ने मुख्य कामहरुलाई प्राथमिकतामा राख्दै अगाडि बढ्नेछौ ।
० लक्षित समुदायको लागि तपाईँहरूले के कस्ता कार्यक्रम गरिरहनुभएको छ ?
महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, पिछडिएका वर्ग लगायत सबैलाई समेटेर हामीले धेरथोर बजेट विनियोजन गर्दै कार्यक्रम गरिरहेका छौँ। विशेषगरी उहाँहरुलाई आयआर्जनमूलक कार्यक्रमसँग जोड्नुपर्छ भनेर लागिपरेका हुन्छौ । विभिन्न सीपमूलक तालिमहरू दिने कार्यक्रम भइरहेको हुन्छ । हाम्रो नगरपालिका कृषि र पशुपालनको लागि राम्रो सम्भावना भएकाले कृषि र पशुपालनकै क्षेत्रमा उहाँहरुलाई नयाँ तौरतरिका आधुनिक प्रविधि दिएर अगाडि बढाउन सकियो भने राम्रो हुन्छ भन्ने हाम्रो लक्ष्य छ। त्यसकारण यस्तै खालका गतिविधिलाई हामीले अगाडि बढाइरहेका छौँ । कुनै पनि वर्ष लक्षित समुदायको लागि कार्यक्रम नभएको भन्ने छैन। धेरथोर बजेट राखेर कार्यक्रम गरिरहेका छौँ । महाविपत्ति लगायतका अवस्थामा बजेटहरु कम पर्न गए तर पनि हामीले सकेको बजेट विनियोजन गरेर काम गरिरहेका छौँ ।
कस्ता खालका कार्यक्रमलाई लक्षित गर्नुभएको छ ? हामीले यस्तै खालका कार्यक्रम मात्र गर्ने भन्ने छैन । सबै क्षेत्रलाई हामीले उत्तिकै प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । नागरिकहरूबाट चाहिँ विशेषगरी आयआर्जनका पाटोसँग जोडिनेभन्दा पनि पूर्वाधारसँग जोडिएका विषयहरू बढी लिएर आउनुहुन्छ । हामी चाहन्छौं, पूर्वाधारसँगै उहाँहरू हामीलाई आर्थिक रुपमा सशक्त बनाउने यस्ता खालका कार्यक्रम ल्याउनुपर्यो भन्ने माग आओस् भनेर तर उहाँहरुबाट यस्ता खालका कार्यक्रमहरूको माग कमै आउँछन् । त्यसकारण हामीले आवश्यकतालाई मध्यनजर गरेर कार्यक्रम गर्छौं ।
० शिक्षाका लागि के के गर्नु भयो ? जस्तो आधारभूत शिक्षा, माध्यमिक शिक्षाका लागि के गर्नुभएको छ ?
अहिले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने सन्दर्भमा विद्यालयको गुणस्तर सुधारको लागि भनेर के बजेटहरू विनियोजन गरेका छौँ । आर्थिक कारणले गर्दा बालबालिका विद्यालय जानबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले विभिन्न कार्यक्रम गर्दै आएका छौँ । पनौती नगरपालिका भित्रका विद्यालयमा ९ र १० कक्षामा अध्ययनरत विद्यार्थीहरूको लागि वृद्धिमार्ग निर्देशनका कक्षाहरू निरन्तर रूपमा चलेको छ । पछिल्लो समय हामीले विद्यालयलाई प्रविधि मैत्री बनाउँदै लगिरहेका छौँ । हरेक वर्ष हामीले नयाँ तौर तरिका अपनाउने प्रयास गरिरहेका हुन्छौँ । केही वर्ष अगाडि हामीले पनौती नगरपालिकाभित्रका कुनै पनि विद्यालयमा कम्प्युटर नभएको हुने छैन भनेर सोचेका थियौँ । सोहीअनुसार अहिले त्यो पूरा भएको छ । यसैगरी माध्यमिक विद्यालयमा न्यूनतम एक स्मार्ट बोर्ड अनिवार्य रूपमा राख्ने भन्ने थियो । त्यो कुरामा हामी अहिले निरन्तर रुपमा लागिरहेका छौँ । क्रमश यसलाई हामीले पूरा गर्दै पनि गइरहेका छौँ । केही विद्यालयमा निकै टाढाबाट विद्यार्थीहरू आउनुहुन्छ । जसले गर्दा विद्यार्थीहरूलाई आउन जान निकै कठिनाइ हुँदै आएको हामीले देखेका थियौँ । त्यसकारण उहाँहरूको सहजताको लागि विद्यालय बस बिद्यालयले सञ्चालन थियो । त्यसमा थप सहयोग हामीले पनि गरिरहेका छौँ । पठनपाठनको लागि आवश्यक पर्ने थप नयाँ नयाँ खोज गर्ने अनुसन्धान गर्ने विश्लेषण गर्ने कुराहरू पनि उहाँले प्रविधिमा गर्न सक्ने भएकाले शिक्षाको गुणस्तरलाई थप मजबुत बनाउन सहयोग मिलिरहेको अवस्था छ । विशेषगरी विद्यालय सहयोगी शिक्षक लगायतका तालिमका कुराहरु पनि छ । हालै मात्र हामीले राष्ट्रपति प्रतियोगिता सम्पन्न गरेका छौँ।
० कार्यक्रमहरू सम्पन्न गर्नको लागि के कस्तो समस्याहरू आइरहेका छन् ? तिनको समाधान कसरी भइरहेको छ ?
समस्याहरू त कार्यक्रम गर्दा नआउने भन्ने हुँदैन । सानातिना समस्याहरू आइरहेका हुन्छन्। विशेषगरी पछिल्लो समय आएको बाढी पहिरोले निम्त्याएको समस्या निकै जटिल बन्यो । यसलाई हामीले विभिन्न दातृ निकाय लगायतको सहयोगमा केही राहत पुग्यो । त्यो बाहेक नागरिकहरूबाट एकदमै महत्वकांक्षी योजनाहरू आउँछन् । हामीसँग बजेटको सिमितता हुन्छ । यसले पनि कहिलेकाहीँ समस्या चाहिँ पार्छ। तर समाधान नै गर्न नसक्ने समस्याहरु भन्ने त हुँदैन । ठूलाठूला बाढी पहिरो लगायतका समस्या त समाधान हुँदै गए भने ती पनि हुन्छन् । बाढी पहिरोले समस्यामा पारेका घरधुरीको डाटा संकलन गरेका छौँ । घरहरू पनि बनाउनुपर्नेछ। यसको लागि नागरिकहरूलाई आह्वान पनि गरिरहेका छौँ । बिस्तारै समस्याको समाधानतिर हामी उन्मुख भइरहेका छौँ ।
० कार्यक्रमहरू गर्न अन्य निकायहरूसँगको समन्वय कतिको छ ?
नगरपालिकाले विभिन्न संघसंस्थासँग समन्वय गरिरहेको हुन्छ। त्यो बाहेक प्रदेश सँगसँगै पनि हाम्रो नियमित कोर्डिनेसनका कार्यक्रमहरू सञ्चालन भइरहेको हुन्छ । बाढी पहिरोको बेलामा राम्रै सहयोगहरू पनि आएको थियो । पछिल्लो समय चाहिँ त्यस्ता सहयोगहरु सुन्ने नै छन् । तर पनि हाम्रो तर्फबाट गर्नुपर्ने पहल कदममा हामीले कमी हुन दिएका छैनौँ । अहिले चाहिँ हामीले नगरपालिकाको स्रोत र साधनले जे जति भ्याउँछ त्यति नै कार्यक्रम गरिरहेका छौँ । हामीले योभन्दा अगाडि पनि विकासको लागि विभिन्न तह र तप्कासँग समन्वय सहकार्य गरेकै थियौँ । संघ र प्रदेशलाई पनि हाम्रो क्षतिहरूको विवरण सहित तथ्याङ्क आएपछि सबै जानकारी गराउनेछौँ । कृषि, पशु चौपाय, खानेपानीमा पुगेको क्षति, पूर्वाधारको क्षेत्रमा पुगेको क्षेतीको बारेमा जानकारी गराएका छौँ । आगामी दिनमा पनि हामी समन्वयको पाटो यसैगरी अगाडि बढाउनेछौँ ।
० तपार्ईको निकायमा स्वास्थ्य, खानेपानी तथा सडकको अवस्था के छ ?
स्वास्थ्यको अवस्था पहिलेकोभन्दा सुधारात्मक रहेको छ । स्वास्थ्यका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौँ भने खानेपानीको क्षेत्र पनि हाम्रो महाविपत्तिले गर्दा निकै क्षति पुर्याएको थियो । सडकमा पनि बाढिले निकै क्षति पुर्यायो । बिस्तारै हामी यी तीनै क्षेत्रलाई अगाडि बढाइरहेका छौँ । पुननिर्माण पुनर्स्थापनाका कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ । स्वास्थ्यको विषय अति संवेदनशील विषय भएकाले यसमा हाम्रो विशेष प्राथमिकता पनि रहेको छ । स्वास्थ्य क्षेत्रलाई बलियो बनाउँदै लैजानको लागि हाम्रो तहबाट हामीले प्रयासहरु गरिरहेका छौँ । यसमा हामीले नयाँ बन्ने कार्यक्रमहरुमा पनि विशेष ध्यान दिनेछौँ । केही समयको लागि चाहिँ परामर्शको कार्यक्रमहरू पनि राख्नुपर्छ कि भन्ने चाहिँ हामीले अनुभूति गरेका छौँ । अहिले तत्कालको लागि हामीले देखेको कार्यक्रमहरू तिनै रहेका छन् । पछि आवश्यकताका आधारमा के के हुन्छ त्यो गर्दै जानेछौँ । आधारभुत स्वास्थसेवा हाम्रो पालिका भित्र २४ सै घन्टा प्राप्त गर्न सक्ने बाताबरण निर्माण भएको छ । कुशादेबी हेल्थ पोष्ट, पनौती हेल्थ पोष्टमा छ अनि खोपासी स्वास्थ्य कार्यालयमा पनि रहेको छ । त्यहाँ हामीले २४ सै घन्टा सेवा प्राप्त गर्न सक्ने वातावरण बनाएका छौँ । एम्बुलेन्स सेवा पनि पहिलेदेखीकोलाई नै निरन्तरता दिएका छौँ । एम्बुलेन्स सेवा अवस्था हेरेर नै निःशुुल्क नै गरेका छौँ । ३ वटा बर्थिङ सेन्टरहरु २४ सै घन्टा चल्छ । एउटा चाहीँ दिनको समयमा मात्र सेवा प्रदान गर्ने गरेका छौँ ।
० कृषिलाई आधुनिकिकरण, यान्त्रिकिकरण , व्यावसायिकरण र बजारीकरण गर्ने कार्यक्रम ल्याउनु भएको छ ?
कृषिको लागि हाम्रो क्षेत्र निकै सम्भावना भएको क्षेत्र भएको हुँदा हामीले कृषिलाई बढी लक्षित गरेर कार्यक्रमहरु गरिरहेका छौँ । पशुपंक्षी बीमा कृषिमा विभिन्न औजार उपकरणका कामहरू नियमित रूपमा वितरण भइरहेको छ। प्लास्टिक टनेलहरू पनि अनुदानमा दिइरहेका छौं यिनीहरू चाहिँ ५०प्रतिशत अनुदानमा दिएका हौँ । कृषि औजारहरूमा ट्र्याक्टरको लागि अलि बढी नै माग आउने हुँदा हामीले ट्रयाक्टर वितरणलाई पनि प्राथमिकतामा राखेर नै काम गरिरहेका छौँ । tractor वितरणको कामहरू टेन्डर मार्फत नै गर्ने भएको हुँदा हामी त्यसतर्फ उन्मुख भइरहेका छौँ ।
० कार्यालयबाट सम्पादन हुने सबै कामहरुको नागरिक बडापत्र तयार गरि सबैले देख्ने ठाउँमा राखी तेस बमोजिम अनुसरण भएका छन ?
बडापत्र सबै वडामा पनि राखिएको छ । हाम्रो होडिङ बोर्डहरु पनि छ । यसलाई हामीले निरन्तरता दिएका छौँ । कार्यालयबाट सम्पादन हुने सबै कामहरुको नागरिक बडापत्रलाई सबैले देख्ने ठाउँमा राखी तेस बमोजिम अनुसरण भएका छन् । यो कुरालाई नागरिकहरुले अनुभूती गर्नुभएको छ । हामीले नगरपालिकाबाट सम्पादन हुने सबै काममा सकेसम्म पारदर्शिता अपनाएका छौँ ।
० कहिलेकाँही अनियमितताका कुरा आउँछन् भ्रष्टाचारमा शून्य सहनसिलता अपनाइएको छ ? नतिजा कस्ता आएका छन् ?
अपनाइएको छ । नीतिगत रुपमा छुट्टै बनाएर पनि लैजानुपर्नेछ । अहिले चाहिँ हामीले सामान्य रुपमा नै गर्नुपर्ने कामहरू गरिरहेका छौँ । थप कसरी सुधार गर्दै जाने भन्ने खालका योजनाहरू चाहिँ छ ।