
० यो सालका लागि तपाईको निकायमा मुख्य के के योजना अघि सार्नु भएको छ ?, बजेटको अवस्था के छ ?
अहिले हामी नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने तरखरमा छौँ । यसको लागि हामीले वडाहरुलाई पहिले बालमैत्री घोषणा गर्नुपर्ने भएकाले यसको लागि पनि विभिन्न चरण पार गर्ने क्रम जारी छ । अहिले एउटा वडा बालमैत्री घोषणा भइसकेको अवस्था छ भने, बाँकी रहेका ११ वटा वडालाई पनि बालमैत्री घोषणा गर्नुपर्नेछ । जति पनि हामीले सूचकहरू पूरा गर्नुपर्ने हुन्छ त्यसको हामी अन्तिम अन्तिममा पनि छौँ । हामी छिट्टै नै नगरलाई बालमैत्री घोषणा गर्ने भनेर लागिपरेका छौँ । हामीले सडक सञ्जालहरू विस्तार गर्ने कामहरू लगभग पूरा गरेका छौँ । अब चाहिँ पक्की बनाउने तर्फ पनि हामी तरखर छौँ । सुरुमा हामीले मुख्य सडकलाई प्राथमिकता दिएका छौँ । त्यसपछि भित्री सडकहरू पनि बिस्तारै पक्कि हुन्छन् । देउपुरको बाटोहरू पिच गर्ने क्रममा रहेको छ । यसैगरी चण्डेनी सडक पनि पिच हुने क्रममै रहेको छ । देउपुरको बाटो चाहिँ शहरी विकास मन्त्रालय सङ्घको बजेटबाट निर्माण हुन लागिरहेको हो भने फेदि चण्डेनी सडक चाहिँ सम्म पूरक बजेटमार्फत पक्की हुन लागेको हो । डुडामुख तिमल्सिना गाउँ जाने सडक लगायत अरु केही सडकहरू नगरको समेत बजेटमा सम्पन्न हुनेगरी काम भइरहेको छ ।
०चुनाव ताका जनतालाई दिनु भएको आश्वासन के कति पुरा भए कति बाँकी छन् ?
हामीले यतिवटा चाहिँ सकाउने नै भन्नेभन्दा पनि समुदायसँग बसेर त्यहाँको आवश्यकता समस्यालाई पहिचान गरेर कार्यक्रम बनाउने भन्ने हो । स्वास्थ्य, शिक्षा, खानेपानी पूर्वाधारका विषयमा के कति आवश्यकता छ, ठाउँअनुसार हामीले खोजी गर्नुपर्छ । वर्षातले गर्दा हामीलाई दुई वर्षमा निकै नै पछाडि धकेल्यो । सम्पन्न भइसकेका धेरै धेरै योजनाहरु सुरुदेखि सुरु गर्नुपर्ने अवस्थामा ल्यायो । यसले गर्दा चुनौती पनि बढ्यो । तथापि हामीले बिस्तारै रिकभर चाहिँ गर्दै गएका छौँ । हामीले घोषणापत्रमा बोलेका धेरै कुराहरू पूरा गरिसकेका पनि छौँ । लगभग हामी अन्तिम चरणमा छौँ । बाँकी रहेका कुराहरू पनि हाम्रो बाँकी अवधिमा हामी सम्पन्न गर्नेछौँ । नागरिकहरूको मागअनुसार सबै पूरा गर्न सकेन होला । तर हामीले सक्दो प्रयास चाहिँ गरिरहेका छौँ । हाम्रो बजेट सिमित ताली भ्याएसम्म हामीले काम गरेका छौँ ।
०शिक्षाका लागि के के गर्नु भयो ? जस्तो आधारभूत शिक्षा, माध्यमिक शिक्षाका लागि के गर्नुभएको छ ?
शैक्षिक विकासको लागि हाम्रो तर्फबाट हामीले प्रयास गरिरहेका छौँ । विशेषगरी दिवाकालीन खाजालाई टेवा पुरी पुगोस् भनेर हामीले भइरहेको कार्यक्रमलाई थप सहज बनाउँदै विभिन्न संघसंस्थाहरूसँग पनि समन्वय गरिरहेका छौँ । हामीलाई एसइइ लगायतका नतिजामा पनि राम्रो नतिजा निकाल्न सफल भएका छौँ । मावि र निमावीको दरबन्दी नगरपालिका आफैले पनि फ्रुटफिल गर्ने प्रयास गरिरहेको छ । सबै विद्यालयहरूले कम्तिमा पनि छ महिना अगाडि अतिरिक्त कक्षा लगायत विभिन्न क्रियाकलाप मार्फत विद्यार्थीहरुलाई तयार अवस्थामा राख्ने गर्नुहुन्छ । भौतिक पूर्वाधारमा पनि विद्यालयहरूलाई बलियो बनाउन हामी लागिपरेका छौँ । अधिकांश विद्यालयका संरचनाहरू राम्रै छन् । केही विद्यालयहरूमा भौतिक संरचनालाई बलियो बनाउन हाम्रो तर्फबाट प्रयास भइरहेको छ ।
०तपार्ईको निकायमा सडकको अवस्था के छ ?
विपदले गर्दा हामीलाई बाटोहरू पुनः बनाउनुपर्ने अवस्थामा पु¥यायो । त्यसैले हामीले विपदले गर्दा बिग्रेका सडकहरूलाई हामी मर्मत गर्ने काम गरिरहेका छौँ । विपदले अप्ठ्यारोमा परेका घरहरूलाई अनि यसले अस्थायी आवास निर्माण गराउने काम गरिरहेका छौँ । बिपदले गर्दा विस्थापित भएर पनि जोखिममा बसिरहेको वडा नम्बर ११ को मसार गाउँलाई एकीकृत बस्ती बनाउने भनेर अगाडि बढिरहेका छौँ ।
०आधारभुत स्वास्थसेवा आफ्नो पालिका भित्र २४ सै घन्टा प्राप्त गर्न सक्ने बाताबरण निर्माण भएको छ ? एम्बुलेन्स सेवा संचालन भएको छ ।
भर्खरै मात्र हामीले साधारण स्वास्थ्य सेवा प्रथम बिन्दु सुरुवात गरेका छौँ । अब नगरपालिकाबाटै एक्सरे, इसिजि लगायतका सेवा दिन सक्ने भएको छ । नगरवासीसँगै छिमेकी पालिकाका नागरिकलाई पनि हामीले यो सेवा दिन सक्ने भएका छौँ । नगरवासीहरूको लामो समयदेखि यो आवश्यकताको विषय पनि थियो । अहिले आएर पूरा भएको छ । यसमा हामी सन्तुष्ट छौँ । हाम्रोमा हाल १५ वटा स्वास्थ्य संस्थाहरू रहेका छन् । १२ वटा स्वास्थ्य चौकी छ । तीनवटा सहरी स्वास्थ्य केन्द्र छन् । ती सबै समस्याबाट महिला, बालबालिका, वृद्ध, अपाङ्गता भएका नागरिक सबैलाई सहज रुपमा सेवा प्रदान गर्न सहजीकरण गर्ने काम भइरहेको छ । वृद्धहरूलाई सुगर प्रेसर लगायतका जाँच गराउनुको साथै औषधिहरु उपलब्ध गराइरहेका छौँ । घरघर टोल टोलमा गएर पनि औषधि उपचारका कामहरू गर्ने र विभिन्न शिविरका कार्यक्रमहरू पनि सञ्चालन गरिरहेका हुन्छौँ । स्वास्थ्य संस्थाका कर्मचारी विद्यालय नर्सहरुले सहजीकरण गर्ने गर्नुभएको छ । सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा पु¥याउनु हाम्रो मुख्य कर्तव्य हो र लक्ष्य पनि । त्यसको लागि हामीले गर्नुपर्ने काम गरिरहेका छौँ । यसलाई हामी निरन्तर रुपमा अगाडि बढाउनेछौ ।
० कृषिलाई आधुनिकिकरण, यान्त्रिकिकरण , व्यावसायिकरण र बजारीकरण गर्ने कार्यक्रम ल्याउनु भएको छ ?
कृषिको लागि पनि हामीले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ । विशेषगरी नगरकोटमा हामीले हाट बजार सञ्चालन गर्ने गरेका छौँ । जुन अति नै राम्रो भएको छ । यसले बिचौलियालाई कम गर्दै उत्पादक र उपभोक्ताको सम्बन्धलाई डाइरेक्ट जोड्ने काम गरिरहेको छ । हामीले अहिले एकवडा एक प्राविधिक पनि राखेका छौँ । जसले गर्दा किसानलाई सहज भएको छ । यसैगरी बीमाको लागि सहजीकरण गर्ने काम भएको छ । यसैगरी पशुको लागि निःशुल्क रुपमा औषधि उपलब्ध गराइरहेका छौँ । पशुहरूको खोप व्यवस्थापनको काम पनि भइरहेको छ । लगाइएको खोपहरूको तथ्याङ्क राख्ने काम पनि भएको छ । नगरपालिकाले नगर प्रोफाइल निर्माण गरेर नगरपालिकामा भएका अवस्थाको बारेमा पहिचान गर्ने काम भएको छ । नगरपालिकाको पाँच वर्षीय आवधि योजना निर्माण गर्ने काम भएको छ । अहिले सबैभन्दा ठूलो समस्याको विषय भनेको किसानहरूको लागि मल हो । हामीलाई प्रदेश सरकारले तोकेको कोटा अनुसार हाम्रा वडाभित्र रहेका सहकारी मार्फत मल दिइरहेका छौँ । कोटाहरू थप गर्नको लागि पनि प्रयास गरिरहेका छौँ । कृषि कार्यालय र विभिन्न सहकारीहरूसँग समन्वय गरेर किसानहरूलाई कृषि औजार उपकरण दिने काम पनि गरिरहेका छौँ । पशुहरूलाई आवश्यक पर्ने विभिन्न औषधि र भ्याक्सिनका कार्यक्रमहरू पनि सञ्चालन भइरहेको छ ।
० महिला, दलित, अल्पसंख्यक र पछाडि पारिएका वर्गका लागि के के कार्यक्रमहरु छन् ?
आर्थिक उपार्जनका काममा उहाँहरुलाई जोड्न सकियो भने उहाँहरु आत्मनिर्भर हुनुहुन्छ भन्ने हाम्रो ध्यय हो । त्यसकारणले महिलाहरूलाई उत्पादनका कार्यक्रमसँग जोडिरहेका छौँ । एउटा वडामा कम्तिमा पनि एउटा कार्यक्रम लैजानुपर्छ भनेर हामीले काम गरिरहेका छौँ । कतै कृषि सम्बन्धी तालिमहरु सञ्चालन गरेका छौँ । कतै साबुन बनाउने तालिम सञ्चालन गरेका छौँ । झोल साबुन, हरपिक उत्पादन ढाकाको कपडा बुनाई, मखमलको जुत्ता बनाउने लगायतका तालिम सञ्चालन गरेका छौँ । यसले गर्दा धेरै महिला दिदीबहिनीलाई उद्यमी बन्नको लागि प्रेरित गरिरहेको छ । धेरै जनाले काम पनि सुरु गर्नुभएको छ । अपाङ्गता भएका व्यक्तिहरूलाई पनि उहाँहरूको वर्गअनुसारको तालिम दिएका छौँ । ग, घ वर्गमा पर्नुुभएको छ भने उहाँहरूलाई धुप बनाउने लगायत जे गर्न सक्नुहुन्छ गर्नसक्ने खालका तालिमहरु उहाँलाई प्रदान गरेका छौँ । कच्चा पदार्थहरू उपलब्ध गराएर भएपनि उहाँहरूलाई आत्मनिर्भरतातिर उन्मुख गर्ने काम गरिरहेका छौँ । हामीले एकल महिलाहरूको लागि पनि टेम्पो चलाउने तालिम दिएका थियौँ । यसले उहाँहरुलाई आत्मनिर्भरताको बाटोतिर उन्मुख गराएको छ ।
० नगरपालिकाका सबै कार्यालयमा नागरिक वडापत्र छ ?
नगरपालिकाले सबै आफ्नो कार्यालयमा नागरिक बडापत्र राखेको छ । वडाहरूमा पनि बडापत्र छ । नगरपालिकाले अझै सूचना प्रवाह गर्नको लागि डिजिटल माध्यमबाट पनि दिइरहेका हुन्छौँ । नगरपालिकाभित्र विद्यालय स्वास्थ्य चौकी वडा कार्यालय सबै गरी ७० वटा कार्यालयहरू छन् । तिनमा हामीले निःशुल्क इन्टरनेट सेवा प्रदान गरिरहेका छौँ ।
० नगरपालिकामा खानेपानीको अवस्था के छ ? पर्यटन प्रद्र्धनमा के छ नयाँ योजना ?
खानेपानीको काम पनि द्रुत रुपमा अगाडि बढिरहेको छ । विपदले गर्दाखेरि बृहत मण्डन खानेपानी चाहिँ केही समयको लागि रोकिएको छ । बजेटहरू थप व्यवस्थापनको लागि हाम्रो तर्फबाट अनुरोध गर्ने काम भइरहेको छ । नालदुम बृहत खानेपानी आयोजना जुन प्रदेश खानेपानी मन्त्रालयको सहयोगमा सम्पन्न हुने चरणमा रहेको छ । लगभग अन्तिम चरणमा आइपुगिसकेको छ । यी दुई खानेपानीको आयोजना सम्पन्न भइसके पछाडि चाहिँ धेरै सहयोग हुने हामीले देखेका छौँ । नगरपालिकाका सतप्रतिशत नागरिकको घरमा खानेपानी सहितको धारो पु¥याउनु हाम्रो मुख्य उद्देश्य पनि हो । वडा नम्बर ३ मा एउटा संस्थासँग साझेदारी गरेर होमस्टे सञ्चालन पनि गरेका छौँ । किसानहरूलाई टेवा पु¥याउनको लागि हामीले विभिन्न खालका तालिमहरू पनि उहाँहरु मार्फत समन्वयमा गरिरहेका छौँ । कृषि र पर्यटन हाम्रो प्रमुख प्राथमिकताको विषय हो । नगरकोटमा आएका पाहुनालाई नगरसम्म पु¥याउनको लागि हामीले विभिन्न दिवस लगायतका कार्यक्रमहरु गरिरहेका हुन्छौँ । विभिन्न खालका क्याम्पेनहरू पनि सञ्चालन गरिरहेका छौँ । यसैगरी हामीले पर्यटन प्रवर्धनका लागि होमस्टेको सुरुवात गरेका हौँ। त्यहाँ नगरकोटमा रहेका विभिन्न होटलसँगको साझेदारीमा समन्वयमा हामीले आउने पर्यटकलाई १० प्रतिशत छुट दिने भनेर पनि सुरुवात गरेका छौँ । नगरकोट भ्रमण वर्षभरिमा विभिन्न प्याकेजहरू सञ्चालन गर्ने गरेका गरिरहेका छौँ । नगरकोटमा आउनुभएका पर्यटकलाई कम्तिमा पनि ट्रेकिङ गराएर कुन्ताबेसीसम्म ल्याउने र कुन्ताबेसीबाट थामी डाँडासम्म पु¥याउने भन्ने कार्यक्रम रहेको छ ।