
वडाको पछिल्लो गतिविधि के के छन् ?
अहिले त हामी नियमित हामीले गर्नुपर्ने कामहरुलाई नै निरन्तरता दिने भनेर लागिरहेका छौँ । विपदले गर्दा हाम्रा वडाका धेरै संरचनाहरू ध्वस्त भएका थिए । विशेषगरी सडक सञ्जालमा निकै क्षति पुगेकाले अहिले हामी मर्मत संहारको काममा जुटिरहेका छौँ । अहिले पनि निरन्तर रुपमा यी कामहरु भइरहेको छ । विपदपछि स्थानीय जनजीवन सामान्य बन्दै गएको छ । अहिले धेरै हदसम्म सहज भइसकेको अवस्था छ । यो वर्ष वडाको लागि छुट्टै सिलिङ बजेट आएको छैन । यसले गर्दा यो यो शीर्षकमा काम गर्ने भन्ने अहिले त्यस्तो केही पनि छैन । हिउँदे अधिवेशनबाट विपदका कार्य गरिसकेपछि के कति बजेट रहन्छ, त्योबाट चाहिँ काम गर्ने भन्ने आउनेछ । नियमित सेवा प्रवाहका कामहरू त भइ नै रहेको छ ।
वडाको छुट्टै सिलिङ नभएतापनि अन्य निकायबाट कार्यक्रमहरू लिएर आउने समन्वय गर्ने, सहकार्य गर्ने काम कत्तिको भइरहेको छ ?
यसको लागि त हामीले पहिले पनि प्रयास गरिरहेका थियौँ । अहिले पनि त्यो क्रम जारी नै छ । हालै मात्र पनि प्रदेश सरकारसँग अति आवश्यक योजनाका विषयमा छलफल गरेर कार्यक्रमको माग गरिरहेका छौँ । देशको परिस्थिति अनुसार हामी पनि चल्न बाध्य छौँ । हाम्रो तर्फबाट गर्नुपर्ने पहल त भइ नै रहेको छ । सङ्घको समपूरक बजेट छ हामीसँग । मुख्य सडकको लागि २ करोड ७० लाख, २ करोड ७० लाख गरेर लगभग ५ करोड ४० लाखको बजेट छ । यस बजेटबाट भन्ज्याङ- भुकदेउ-मेधाम्सुको स्तरोन्नतिको काम हुनेछ । बेलाबेलामा हामीलाई बाढी पहिरो जस्ता विपद आइपरिरहने हुँदा एउटै परियोजनाका लागि पटकपटक बजेट विनियोजन गर्न परिरहेको अवस्था छ। प्रदेश सरकारबाट पनि अर्को एउटा सडकको लागि लगभग ३ करोडको बजेट आएको छ । त्यो बाहेक साना दुई/चार, लाख पाँच लाखसम्मका योजनाहरु पनि छन् ।
विपद अथवा अन्य परिस्थितिमा पनि वडाले प्रदान गर्ने नियमित सेवाहरू निरन्तर चलेका छन् ?
जटिल परिस्थिति आउँदा त परिस्थितिअनुसार हामी पनि चल्नुपर्ने हुन्छ। तर, सकभर हामीले प्रदान गर्ने सेवामा कमी हुन दिएका छैनौँ । वडाले दिन सक्ने सुविधाहरू दिइ पनि रहेको छ । हामीले र जनताले सोचेअनुसार पूर्ण रुपमा सुरक्षितै हुन सकेको छैन भन्ने हामीलाई लागेको छ । कतिपय घरहरू अझै पनि असुरक्षित छ । उहाँहरूलाई पनि आफू सुरक्षित हुन पाए हुन्थ्यो भन्ने हुन्छ । हामीलाई पनि हाम्रा नागरिक सुरक्षित भइदिए हुन्थ्यो भन्ने लाग्छ तर कतिपय अवस्थामा सोचे अनुसार नहुने रहेछ । माथिल्लो निकायबाट पनि अहिलेसम्म पूर्णरूपमा छेदविच्छेद भएका घरधुरीलाई पनि सुरक्षित बनाउन नसकिरहेको अवस्था छ । त्यो बाहेक त बाढी पहिरो वा अन्य परिस्थितिमा हामीले हाम्रा सेवाहरुलाई चुस्तदुरुस्त नै राख्ने प्रयास गरिरहेका हुन्छौँ ।
चुनाव ताका जनतालाई दिनु भएको आश्वासन के कति पुरा भए कति बाँकी छन् ?
घोषणापत्रमा जाहेर भएअनुसार सबै कामहरू त हामीले गर्न सकेका छैनौँ । गरेका कामहरुलाई पनि कतिपय सुरुदेखि नै सुरु गर्नुपर्ने अवस्था रहन गयो विपदले गर्दा । हामीले पनि घोषणापत्रमा हाम्रो वडामा यो यो गर्नेछौँ भनेर उल्लेख गरेका थियौँ । कतिपय पूरा भइसकेका कुराहरु फेरिदेखि गर्नुपर्नेछ । केही योजनाहरूमा हामी ब्याक पनि हुनुपर्यो । विशेषगरी विपदमा माथिल्लो निकायबाट पनि त्यति धेरै चित्त बुझ्दो बजेट र कार्यक्रमहरू आउन सकिरहेको छैन । वडाको मात्र बजेटले सोचेजस्तो सबै परिवर्तन सम्भव पनि नहुने रहेछ । तर हामी प्रयासरत छौँ । अझै पनि हाम्रो बाँकी समय केही छ, यो भित्रमा सकभर बजेट र अवस्थाले भ्याएसम्म हामी कार्यक्रमहरु गर्ने नै छौँ । अब चाहिँ हामी विपदमा पर्नुभएकाहरूलाई सकभर राहत पुग्ने किसिमका कार्यक्रमहरू सञ्चालन गर्ने प्रयास गर्नेछौँ । हाम्रा निकै संरचनाहरू क्षति पुगेको छ । तिनलाई पनि पहिलेकै अवस्थामा फर्काउनु छ । अझ राम्रो बनाउनु छ। यसको लागि पनि प्रयास गर्नेछौ । गोरखा समय सुरु भएपछि अझै पनि डराएर बस्नुपर्ने अवस्था रहेको छ। यसमा के गर्न सकिन्छ भनेर दिगो विकासका योजनाहरु पनि गर्नुपर्ने छ ।
लक्षित समुदायको लागि कार्यक्रमहरू कतिको भइरहेको छ ?
लक्षित समुदायको कामहरु चालु आर्थिक बर्षमा धेरथोर गरिरहेका छौँ पालिकाबाट पनि कि कार्यक्रमहरू सञ्चालन भएका छन् । केही कार्यक्रम सम्पन्न हुने चरणमा नै रहेको छ। हामीले लक्षित समूदायको लागि सीपमुलक तालिमहरुको व्यवस्था गरेका छौँ । क्षमता विकासको लागि भनेर पनि कार्यक्रमको व्यवस्था गरेका छौँ । बालबालिकाको लागि पनि कार्यक्रमहरुको व्यवस्था भएको छ । लक्षित वर्गको लागि वडाले गर्न सक्ने सम्मको कामहरु गरिरहेको छ । हामी यसलाई आगामी दिनमा पनि निरन्तरता दिदैँ जाने छौँ । महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरूको लागि विभिन्न चेतनाका कार्यक्रमहरू पनि सञ्चालन गरिरहेका छौँ ।
कृषिको क्षेत्रमा के कस्ता कार्यक्रम भयो ?
कृषिमा हामीले त्यति धेरै फड्को मार्न सकिरहेका छैनौँ । गर्नुपर्ने कामहरू त धेरै छन् तर बजेट सीमित मात्रामा छ । भौगोलिक अवस्था पनि अलि गाह्रै छ हाम्रोमा । हामिले समय समयमा विभिन्न तालिमहरु पनि प्रदान गरिरहेको छौँ । पछिल्लो समयमा दिइएको तालिमले धेरै किसानहरुले खेतिपातिमा सुधार ल्याइ मुनाफा आर्जन गर्नु भएको उदाहरण पनि हामी सङ्ग छ र अझै आउने दिनमा राम्रो गर्नु हुने छ भन्ने आश राखेका छौँ । कृषिमा हामीले अनुदानका क्षेत्रको कुरालाई अगाडी बढाएका छौँ । सिँचाइ कुलोहरू विपदले भत्काएपछि धेरै खेतीमा असर परेको थियो । गत वर्ष पनि डेढ/दुई सय रोपनि जमिनमा धान रोप्न पाइएन । सबैमा मकै लगाउनुपर्ने अवस्था रहन गयो । आउने वर्षमा पनि धान रोप्न सक्ने स्थिति नरहला जस्तो छ। यसको लागि हामीले हाम्रो तर्फबाट सकेको पहल चाहिँ गरिरहेका छौँ । कमसेकम भएका खेतबारी बाँझो नरहोस् र त्यहाँ गर्नसक्ने आम्दानी गर्न सकियोस् भन्ने कुरामा हामीले विशेष जोड दिँदै आएका छौँ । सिँचाइको लागि हामीले विशेष पहल गर्दै आए पनि सिंचाइको लागि भने जसरी काम चाहिँ गर्न सकिरहेका छैनौँ । त्यो बाहेक पशुपालनका कार्यक्रमहरू त नियमित रुपमा चलिरहेको छ । कृषिमा हामीले सिंचाईको कार्यक्रमलाई प्राथमिकता दिएका छौँ । केही बजेट पनि परेकाले यसमा हामीले केन्द्रित गरेर अगाडी बढेका छौँ । अब आउने बर्षको लागि पनि योजना बनाउने क्रम जारी छ । कृषिको लागि सबै भन्दा ठुलो समस्या भनेको पानीको समस्या रहेको छ । किनकी यहाको भौगोलिक बनावट पनि डाँडाकडा रहेको छ । हाल तरकारी तथा फलफूल खेती गर्दा यस वडा निकै अगाडि जान सक्ने देखिएता पनि यहि पानीको समस्याका कारण अगाडि बढ्न नसकिएको र एक घर एक धाराको अवधारणा पूरा भए पछि मात्र वडा केहि उन्नतिको पथमा अगाडि बढ्न सक्ने हामिले देखेका छौँ । हाल वडामा साधरणतया पहिलेबाट जे खेती गरिरहेको हो त्यहि खेती गरिरहेको अवस्था छ ।
स्वास्थ्यको क्षेत्रलाई बलियो बनाउन वडा स्तरबाट के कस्तो पहल भइरहेको छ ?
स्वास्थ्य क्षेत्रमा पनि पछिल्लो समय निकै सुधार आएको छ । हामीले हाम्रो तर्फबाट गर्ने कार्यक्रमहरूलाई निरन्तरता दिएका छौँ । सरकारले दिएको ३३ प्रकारको औषधी छ त्यो हामिले कहिले पनि टुटाएका छैनौं । स्वास्थ्य क्षेत्रमा जे होस आजसम्म राम्रै रहेको छ । हाम्रो वडामा एउटा एम्बुलेन्स राख्ने लक्ष्य रहेको थियो र त्यसको लागि हामिले पहल गरिरहेका छौँ । चाडै नै हाम्रो त्यो लक्ष्य पूरा हुनेछ भन्न चाहन्छु । नागरिकहरूले स्वास्थ्यमा नियमित सेवा पाइरहनुभएको छ । विभिन्न घरदैलो कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन् । खोपका कार्यक्रमहरू पनि नियमित रुपमा सञ्चालन भइरहेको छ ।
विपद् व्यवस्थापनको लागि केही पूर्व तयारीहरु छ त ?
विपद् व्यवस्थापनको पूर्व तयारी स्वारुप पालिकामा एकमुस्ट रुपमा कोष खडा गरिएको छ । सामग्रीहरू ब्याकअपको रूपमा राख्ने भन्ने चाहिँ छैन। पालिकामा चाहिँ छ । केही अप्ठ्यारो परिहाल्यो भने हामीसँग विपद व्यवस्थापन समिति छ। त्यो समिति परिचालन हुन्छ अप्ठ्यारो परिस्थितिमा । हाम्रो वडा भौगोलिक हिसाबले विकट भएको कारणले गर्दा प्राकृति बिपत्तिको जोखिम ज्यादा हुन सक्ने सम्भावना रहेको छ । त्यसको लागि पनि हामी तयार छौँ । समय समयमा विपत र यसको व्यवस्थापन सम्बन्धि तालिम दिइरहेका छौँ । हामीले वडा स्तरबाट गर्नुपर्ने पहलहरु गरिरहेका छौँ ।
वडामा खानेपानीको अवस्था कस्तो छ ?
खानेपानीको व्यवस्था अहिले राम्रै छ । धेरै सुधारत्मक अवस्था आइसकेको छ । नपुगेका ठाउँमा केही योजनाहरु पनि परेका छन् । वडामा लगभग ९५ प्रतिशतले खानेपानीको सेवाबाट वञ्चित हुनुपरेको छैन । बाँकी ठाउँहरुमा हामी सुधार गर्दै गइरहेका छौँ । महांकाल खानेपानी आयोजनाको काम सम्पन्न भएको छ । यो आयोजनाको कारण करिब ३ सय घरधुरीले खानेपानीको सेवा पाएका छन् । अर्को भनेका चिनछाप खानेपानि पनि सम्पन्न भएको छ । यसबाट एक सय ८५ घरधुरी लाभान्वित भएका छन् । आवश्यक परेको खण्डमा हामी यस्ता कार्यक्रम अझै थप गर्दै जानेछौँ।
शैक्षिक विकासको चालु आर्थिक बर्षमा के कस्ता कर्यक्रम भयो ?
ग्रामीण भेगमा विद्यार्थीहरूको सङ्ख्या घट्दो मात्रामा छ । उच्च शिक्षाको लागि सबै सहर केन्द्रित भइरहँदा गाउँका विद्यालयहरू खाली भइरहेको अवस्था छ । यद्यपि यहाँ रहेका बालबालिकालाई शिक्षाको कमी हुन नदिन अथवा शिक्षाबाट वञ्चित हुन नदिन सकेको कार्यक्रमहरु हामीले सञ्चालन गरिरहेका छौँ । हाम्रो वडामा ६ वटा प्रा.वि रहेका छन् र एउटा श्री सरस्वती मा.वि रहेको छ । कक्षा ११ र १२मा चाहिँ निकै कम छन् विद्यार्थी संख्या । पुर्वाधारको हिसाबले लगभग सबै बिद्यालय राम्रै रहेको छ र त्यस्तो कुनै समस्या देखिएको छैन । पठनपाठनको गुणस्तरको लागि पनि लागिपरेका छौँ । हामिले वडाबाट शिक्षाको लागि गर्नुपर्ने कामहरु गरि नै रहेका छौँ । पहिला मा.वि मा १० कक्षासम्म मात्र पढाई हुन्थ्यो भने अहिले १२ कक्षासम्म पढाई हुन्छ । तर विद्यार्थी सङ्ख्या कम भएका कारण चाहिँ केही समस्या भएको छ । शिक्षा क्षेत्रमा लगभग राम्रो नै छ र अझै राम्रो बनाउन हामी पहल गरिरहेका छौँ ।
पलाञ्चोक साप्ताहिकबाट ।