
चालु आर्थिक वर्ष को कार्यक्रमहरू को अवस्था के छ ? कतिवटा सिर्जना सम्पन्न भयो ? कतिवटा बाँकी छ ?
चालु आर्थिक वर्ष २०८२/८३ को लागि नगरसभाबाट पारित भएका बजेट तथा योजनाहरू कार्यान्वयनको चरणमा रहेको छ । समन्वय अहिले ठेक्काका कामहरू अगाडि बढिरहेको अवस्था छ । संघीय सरकार र प्रदेश सरकारबाट पनि कार्यक्रमहरू आएका छन् । संघबाट एउटा र प्रदेशबाट १७ वटा योजना हाम्रोमा छ । लगभग पाँच करोडको बजेटमार्फत यी योजनाहरू सम्पन्न हुनेछन् । तीनवटा कुलोको काम रहेको छ । पर्यटनमा पनि तीनवटा योजना रहेको छ । पूर्वाधारमा एउटा योजना छ । नगरपालिकाबाट पनि ६० लाखको बजेट सिलिङमा आएको छ। त्यो बजेटबाट पनि हामीले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नेछौं । वडाबाट निर्णय भएर कार्यपालिका बैठकको लागि योजनाहरू गएका छन् । कार्यपालिकाको बैठक बसेर ती निर्णयहरू कार्यान्वयन गराउने तरखरमा छन् । संचारको एउटा योजनाको बजेट लगभग ३ करोडको छ । त्यो पनि टेन्डरको प्रक्रियामा छ अलिकति ढिला सुस्ति चाहिँ भइरहेको छ । यो काम पनि छिट्टै हुनेछ भन्नेमा हामी आशावादी छौँ । यसको अवलोकन गरी डिपिआर तयार पार्ने काम सम्पन्न भइसकेको छ। केही समयमा ठेक्का खुल्छ भनेर हामीलाई जानकारी पनि गराउनु भएको छ । हामीले महिला, बालबालिका, शिक्षा, स्वास्थ्य, कृषि, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, पूर्वाधार, खानेपानी, सिंचाई लगायतका विविध विषयमा कार्यक्रमहरू गर्दै आएका छौँ । हामीले पर्यटन प्रवर्द्धनका कामलाई पनि जोड दिँदै आएका छौँ । पाँच वटा तटबन्दको काम पनि हुँदैछ । यसको लागि साइट इस्टमेटको कामहरू धमाधम भइरहेको छ । दुईवटाको सम्पन्न पनि भइसक्यो । गतवर्षहरूभन्दा यो वर्ष अलि धेरै र राम्रा कामहरू सम्पन्न हुन लागिरहेको छ। यसमा हामी सन्तुष्ट पनि छौँ । यो वर्ष अलि धेरै काम भनेको सिंचाइ, तटबन्द र पर्यटनको लागि धेरै कार्यक्रमहरू रहेको छ ।
वडामा खानेपानीको अवस्था कस्तो छ ?
खानेपानीको अवस्था सुधारात्मक छ । हामीले धेरै कामहरू खानेपानीको क्षेत्रमा पनि गरिरहेका छौँ । एक घर एक धाराको अभियान पनि हामी सम्पन्न गर्ने चरणमा छौँ । लगभग ९० प्रतिशत खानेपानीको काम सम्पन्न भइसकेको छ । १० प्रतिशत अझै बाँकी छ । खानेपानीको लागि हामीले उपभोक्ता समितिहरू बनाएर पनि काम गरिरहेका छौँ । उपभोक्ता समितिमा हामीले बजेटहरू नै राखेर काम गरिरहेका छौँ । खानेपानी आयोजनाको दुईवटा योजनाहरू रहेको छ हाम्रोमा । कार्यक्रमहरू गर्नको लागि हामीले संघ सरकार, प्रदेश सरकार विभिन्न संघसंस्थासँग समन्वय साझेदारीका कामहरू गरिरहेका छौँ । प्रदेशबाट पनि हामीलाई सहयोगहरू आइरहेको छ । पहिलेकोभन्दा प्राविधिक पाटोमा हामीलाई यो वर्षमा अलि धेरै सहज भएको हामीले पनि महसुस गरेका छौँ ।
लक्षित समुदायका कार्यक्रमहरू कतिको भइरहेको छ ? महिला बालबालिकाका क्षेत्रमा वडाको के छ प्रगति ?
लक्षित समुदायका कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन् । विशेषगरी सीपमूलक तालिममा हामीले फोकस गरेका छौँ । नगरपालिकाबाट पनि लक्षित समुदायका कार्यक्रमहरू सञ्चालन भइरहेको छ । अहिले हामीले वडाबाट पनि सकेका कार्यक्रमहरु गरिरहेका छ । बालबालिकाहरूका क्षेत्रमा पनि काम भएको छ। बालमैत्रीका कुराहरुलाई अगाडि बढाएका छौँ । यसैगरी अपाङ्गता भएका व्यक्ति जेष्ठ नागरिक दलित पछाडि परिएका समुदाय सबैलाई समेट्ने हाम्रो प्रयास जारी छ । बालमैत्री वडा बनाउने भनेर हामी लागि परेका छौँ । यसको लागि रु. ५ लाख रुपैयाँ बजेट विनियोजन गरेका छौँ । कसरी हुन्छ लक्षित समुदायसम्म हाम्रा कार्यक्रमहरू पुर्याउनेमा हाम्रो विशेष जोड छ । उहाँहरूलाई आत्मनिर्भरताको बाटोमा लैजान सकियो भने उहाँहरू आफै सक्षम हुनुहुन्छ र आगामी दिनमा हामीले विशेष कार्यक्रम भनेर गर्नुपर्ने अवस्था पनि सिर्जना हुन सक्छ । यसो भयो भने हामी निकै खुसी हुनेछौ । हाम्रा कार्यक्रमहरू सफल भएको देखिनेछ ।
भौतिक पूर्वाधार विकासका कुरामा वडा कतिको अग्रसर छ ?
भौतिक कुराहरूमा नागरिकहरूको पनि माग भइरहन्छ । आवश्यकता पनि हुन्छ । त्यसकारणले हामीले भौतिक पूर्वाधार विकासमा सकभर काम गरिरहेका हुन्छौ । प्रदेश र संघबाट आउने अधिकांश योजनाहरू भौतिक संरचनाका कुराहरुलाई नै लिएर हुन्छ । हामीले पनि सकभर जोड दिइरहेका छौँ । यद्यपि वडाले गर्ने भनेर मात्र पनि नहुँदो रहेछ । यसमा बजेटका कुराहरुले कतिपय ठाउँमा निकै अप्ठ्यारोमा पार्छ तर हाम्रो तर्फबाट गर्नुपर्ने पहल कदममा कमी हुन दिएका छैनौँ । देयाली समुदायको देयाली घर भनेर बनाउने भन्ने एउटा योजना छ । यसको लागि २० लाख रुपैयाँ बजेट पनि विनियोजन भएको छ । विभिन्न सडक सञ्जाल पक्की बनाउने कुराहरू पनि छन् । खानेपानीका कुराहरू पनि अगाडि बढिरहेको अवस्था छ ।
वडाका धेरै नागरिकहरू कृषिमा पनि आत्मनिर्भर हुनुहुन्छ । उहाँहरुलाई पनि समेट्ने र समग्र कृषि क्षेत्रको विकासको लागि भनेर वडाले गरेको कामहरू के कस्तो छ ?
समग्र कृषि क्षेत्रको विकासलाई हुने गरेर पनि विभिन्न कार्यक्रमहरू बनाइरहेका छौँ । साझेदारीमा कार्यक्रम गर्नको लागि वडाको तर्फबाट रु.७ लाख रुपैयाँ बजेट पनि छ । वडाभित्र आठ नौ वटा कृषिका समूहहरू पनि छन् । उहाँहरूसँग पनि समन्वय गरेर विभिन्न कार्यक्रम गर्ने भनेर लागिपरेका छौँ । च्याफ कटर, हाते ट्रयाक्टर, मकै छोडाउने मेसिनहरू, पैसा काट्ने मेसिनहरूको लागि मागहरू आइरहेको छ । त्यसैले गर्दा सशर्तसँग साझेदारीमा हामीले पनि केही बजेट राखेर काम गरेका छौँ ।
कार्यक्रमहरू गर्नको लागि अन्य निकायहरूसँग समन्वय सहकार्य कतिको गरिरहनुभएको छ ?
वडाकै बजेटको भरले त वडाको विकास गर्न गारै हुन्छ । हामीले अन्य निकायहरूसँग समन्वय सहकार्य गर्नैपर्ने हुन्छ । पहिले त हामीले नगरपालिकासँग नै गर्छौ । त्यसपछि संघ, प्रदेश छ । विभिन्न संघसंस्थाहरूसँग पनि हामीले गर्छौ । प्रदेशबाट मात्रै यो वर्ष १५ वटा योजना परेको छ । पुरातत्त्व विभागबाट पनि दुईवटा योजना परेको छ । अरु संघसंस्थाले पनि कृषि पशु, शिक्षा लगायतका विषयमा काम गरिरहेको छ । दुईवटा सहकारीबाट कृषि र पशुपालनको क्षेत्रमा केही सहयोग भएको छ । यसले गर्दा किसानहरूलाई पनि राहत पुगेको छ । विशेषगरी महिलाहरूलाई नै लक्षित गरेर सञ्चालन भएका कार्यक्रमहरू छन् । हामीले पनि हाम्रो तर्फबाट गर्नुपर्ने सहयोगलाई कमी राखेका छैनौँ ।
शैक्षिक विकासको लागि एउटा भित्र के-के कार्यक्रमहरू सञ्चालन भएका छन् ?
बनेपा नगरपालिकाभरि नै अग्रणी र प्रतिष्ठित संस्थाको रूपमा परिचित डेडी थुम्का माध्यमिक विद्यालय हाम्रै सामुन्ने अवस्थित छ। यो विद्यालयले दशकौंदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ र यसबाट उत्पादन भएका विद्यार्थीहरूले समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान दिइरहेका छन् । यहाँबाट अध्ययन सम्पन्न गरेर बाहिरिएका पूर्वविद्यार्थीहरू राजनीतिक नेतृत्व, व्यावसायिक उद्यमशीलता, चिकित्सा, इन्जिनियरिङ लगायतका विधाहरूमा उच्च पदमा आसीन भइसकेका छन् । उनीहरूले मात्र होइन, शिक्षाको क्षेत्रमा पनि प्रत्यक्ष सक्रिय सहभागिता जनाइरहेका छन् । कतिपयले विद्यालयलाई आर्थिक सहयोग, पूर्वाधार विकास र छात्रवृत्ति कार्यक्रमहरू मार्फत सहयोग गरिरहेका छन् । हामी शैक्षिक विकासलाई थप गति दिन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँग सक्रिय सहकार्य र समन्वयमा जुटिरहेका छौँ । वडा कार्यालयले स्थानीय स्तरमा आवश्यक पहलकदमी गर्दैछ भने बनेपा नगरपालिकाबाट पनि वार्षिक बजेट विनियोजन गरी विशेष कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । यसले गर्दा शिक्षाको गुणस्तरमा उल्लेखनीय सुधार भएको छ । विशेष गरी अतिरिक्त कक्षा सञ्चालनमा हामीले विशेष जोड दिएका छौँ । कमजोर विद्यार्थीहरूलाई लक्षित गरी विज्ञान, गणित, अंग्रेजी जस्ता विषयहरूमा नि:शुल्क अतिरिक्त पठनपाठनको व्यवस्था गरिएको छ । यसबाट विद्यार्थीहरूको शैक्षिक स्तर उकास्न र प्रतिस्पर्धात्मक परीक्षामा सफल बनाउन मद्दत पुगेको छ । यसरी नै हाम्रो नगरपालिकालाई शैक्षिक हबको रूपमा स्थापित गर्दै लगेका छौँ ।
स्वास्थ्य क्षेत्रमा वडाका नागरिकको पहुँच कतिको छ ?
हाम्रा वडाका सम्पूर्ण नागरिकहरूलाई स्वास्थ्य सेवामा सहज र प्रभावकारी पहुँच उपलब्ध छ, जसले गर्दा स्वास्थ्य सम्बन्धी चिन्ता न्यून छ । वडा भित्रै स्वास्थ्य चौकी स्थापित छ जसले दैनिक आधारमा सामान्य स्वास्थ्य जाँच, औषधि वितरण, खोप अभियान र मातृशिशु स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । यसबाहेक, नजिकै अवस्थित नगर अस्पतालले आपतकालीन सेवा, विशेषज्ञ परामर्श र उन्नत उपचार सुविधा उपलब्ध गराउँदैछ । वडा भित्र नियमित रूपमा विभिन्न निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन भइरहेका छन्, जसबाट स्थानीय नागरिकहरूले विशेषज्ञ सेवाबाट लाभ लिइरहेका छन् । आँखा शिविर मार्फत मोतिबिन्दु जाँच र शल्यक्रिया, दाँत शिविरमा दन्त स्वच्छता तथा उपचार, हाडजोर्नी तथा छाला शिविर मा सम्बन्धित रोगहरूको औषधि उपलब्ध हुँदै आएको छ। विशेष गरी महिलाहरूका लागि पाठेघर सम्बन्धी शिविरहरू मा नियमित जाँच, क्यान्सर स्क्रिनिङ र परिवार नियोजन सल्लाह दिइन्छ, जसले महिलाहरूको स्वास्थ्यलाई मजबुत बनाउँदैछ । यी शिविरहरू वडा कार्यालय, स्वास्थ्य चौकी र विभिन्न एनजीओ/आइएनजीओको सहकार्यमा सञ्चालन हुन्छन् । यसले गर्दा ग्रामीण तथा शहरी नागरिकहरूले घरनजिकै नै उच्चस्तरीय सेवा पाएका छन्, जसबाट स्वास्थ्य खर्च घटेको छ र जीवनस्तर उकासिएको छ। हामी निरन्तर यस्ता कार्यक्रम विस्तार गर्दै लगेका छौँ ।
कार्यालयबाट सम्पादन हुने सबै कामहरुको नागरिक बडापत्र तयार गरि सबैले देख्ने ठाउँमा राखी तेस बमोजिम अनुसरण भएका छन ? छैनन भने कहिलेबाट गर्नुहुन्छ ?
नगरपालिकाले सबै आफ्नो कार्यालयमा नागरिक बडापत्र राखेको छ। वडाहरूमा पनि बडापत्र छ। नगरपालिकाले अझै सूचना प्रवाह गर्नको लागि डिजिटल माध्यमबाट पनि दिइरहेका हुन्छौँ ।
कार्यक्रमहरू सम्पन्न गर्नको लागि के कस्ता समस्या आएका छन् ? आकाश छन् भने तिनको समाधान कसरी गरिरहनु भएको छ ?
हामीले आएका चुनौतीहरूको सामना गर्दै समस्याको समाधान पनि निकाल्दै आएका छौँ । हामीले जे जस्तो समस्या आएको छ तिनलाई पहिलो प्राथमिकतामा राखेर काम गरेका छौँ । सबैको सहमतिमा नै काम गर्ने हुँदा त्यस्तो ठूलो समस्या त छैन। आइपर्यो भने पनि हामी समाधान गर्नेछौं । नागरिकहरूको माग असीमित हुन्छ अनि बजेट सीमित । यसले गर्दा चाहिँ कहिलेकाहीँ समस्या हुन्छ तर हामीले विभिन्न निकायहरुसँगको समन्वय साझेदारीमा काम गरिरहेका छौँ । यसले गर्दा केही राहत पुगेको छ ।
बेथानचोक साप्ताहिकबाट ।