निर्माणसम्बन्धी कामहरु नियमित अगाडि बढिरहेका छन्


निर्माणसम्बन्धी कामहरु नियमित अगाडि बढिरहेका छन्

चालु आर्थिक वर्षमा तपाईको वडाले कस्ता–कस्ता कार्यक्रमहरू सञ्चालन गरेको छ ? आगामी योजना के के छन् ?
चालु आर्थिक वर्षमा हामीले जनस्वास्थ्य तथा पोषण सुधारलाई प्राथमिकतामा राख्दै विभिन्न शीर्षकअन्तर्गत कार्यक्रमहरू तय गरेका छौँ । ती सबै कार्यक्रमहरू कार्यान्वयन गर्न आवश्यक बजेट पनि समयमै विनियोजन गरिएको छ । विशेषगरी गर्भवती महिलाहरूको स्वास्थ्य अवस्था सुधार गर्ने उद्देश्यले पोषणसम्बन्धी कार्यक्रमलाई निरन्तर रूपमा अगाडि बढाउँदै आएका छौँ । यस कार्यक्रमअन्तर्गत कुनै पनि महिलालाई गर्भवती भएको थाहा पाउने बित्तिकै, उहाँहरूलाई दिनको एउटा अण्डाका दरले पोषण सहयोग प्रदान गर्ने व्यवस्था गरिएको छ । यसरी एक महिनामा उहाँहरूले ३० वटा एककृत अण्डा प्राप्त गर्नुहुन्छ । गर्भावस्थामा आवश्यक पोषण सुनिश्चित गर्न तथा आमा र शिशुको स्वास्थ्य जोखिम न्यूनीकरण गर्न यो कार्यक्रम प्रभावकारी हुँदै आएको छ । उक्त कार्यक्रम नयाँ होइन, यो हाम्रो अघिल्लो आर्थिक वर्षदेखि नै सञ्चालनमा रहेको कार्यक्रम हो । अघिल्लो वर्ष प्राप्त सकारात्मक प्रतिफल र स्थानीय स्तरबाट आएको उत्साहजनक प्रतिक्रियालाई ध्यानमा राख्दै, चालु आर्थिक वर्षमा पनि यस कार्यक्रमलाई निरन्तरता दिइएको हो । आगामी दिनमा यस कार्यक्रमलाई अझ प्रभावकारी र पहुँचयोग्य बनाउँदै लैजाने हाम्रो योजना रहेको छ ।
वडाले शैक्षिक क्षेत्रमा कस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ?
शैक्षिक क्षेत्रको सुदृढीकरण हाम्रो प्रमुख प्राथमिकतामध्ये एक हो । यही उद्देश्यका साथ हामीले वडा भित्र अध्ययनरत बालबालिकाका लागि निःशुल्क स्टेशनरी सामग्रीको व्यवस्थापन गरेका छौँ । यस कार्यक्रमले अभिभावकहरूलाई पर्ने आर्थिक भार कम गर्नुका साथै बालबालिकाको अध्ययन–अध्यापन प्रक्रियालाई थप सहज र प्रभावकारी बनाएको छ।हाम्रो वडामा हाल जम्मा तीनवटा मात्र विद्यालय सञ्चालनमा रहेका छन् । सीमित शैक्षिक संरचना भए पनि उपलब्ध स्रोत र साधनलाई अधिकतम प्रयोग गर्दै शिक्षा क्षेत्रमा गुणस्तरीय सुधार ल्याउने प्रयास भइरहेको छ । नियमित पाठ्यक्रमका अतिरिक्त, वैकल्पिक शिक्षाका रूपमा जापानी भाषा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि विशेष कक्षा सञ्चालन गरिएको छ । यसले विद्यार्थीहरूलाई भविष्यमा वैदेशिक अध्ययन तथा रोजगारीका अवसरतर्फ अग्रसर हुन सहयोग पु¥याएको छ । त्यसैगरी, शिक्षण गुणस्तर कायम राख्न वडाकै पहलमा दरबन्दी सिर्जना गरी शिक्षकहरूको व्यवस्थापन गरिएको छ । सिर्जना गरिएको दरबन्दीअनुसार शिक्षकहरूलाई वडाबाटै नियमित रूपमा तलब भत्ता उपलब्ध गराउँदै आएका छौँ । यसले शिक्षकहरूको मनोबल उच्च राख्नुका साथै विद्यालयको पठन–पाठनलाई निरन्तर र व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पु¥याएको छ ।
वडाले धर्म, संस्कृति र पर्यटन प्रवर्धनका लागि कस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ?
धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ हामीले निरन्तर रूपमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौँ । हाम्रो क्षेत्रको पहिचान बोकेको महत्वपूर्ण सांस्कृतिक धरोहरका रूपमा रहेको पलाञ्चोक क्षेत्रमा वर्षको दुई पटक रथ यात्रा आयोजना हुँदै आएको छ । परम्पराअनुसार दशैंको टिकाको दिनको भोलिपल्ट र बुद्ध जयन्ती तथा चण्डीपूर्णिमाका अवसरमा रथ यात्रा निकाल्ने चलन रहँदै आएको छ । पहिले–पहिले उक्त रथ यात्रा ४८ घण्टासम्म चल्ने भव्य जात्राका रूपमा मनाइन्थ्यो । तर समय परिवर्तनसँगै, नयाँ पुस्ताको घट्दो चासो र विभिन्न व्यावहारिक कारणले गर्दा यो परम्परा बिस्तारै लोप हुँदै गइरहेको अनुभूति हामीले गरेका छौँ । यही अवस्थालाई मध्यनजर गर्दै, मौलिक संस्कृति र परम्पराको संरक्षण गर्नु हाम्रो दायित्व ठानी हामीले हरेक वर्ष दुई दिने सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएका छौँ । उक्त कार्यक्रममा स्थानीय कलाकारहरूका साथै राष्ट्रियस्तरका कलाकारहरूको सहभागिता रहने गरेको छ । यसले स्थानीय कला, संस्कृति र पहिचानलाई उजागर गर्नुका साथै आन्तरिक पर्यटन प्रवर्धनमा समेत टेवा पु¥याएको छ । हालका वर्षहरूमा यस जात्रा र सांस्कृतिक कार्यक्रमप्रति स्थानीयवासी तथा बाह्य आगन्तुकहरूको चासो पुनः बढ्दै गएको देखिन्छ । मानिसहरूले फेरि यसबारेमा खुलेर चासो व्यक्त गर्न थालेका छन्, जसले हामीले सञ्चालन गर्दै आएको यो कार्यक्रम सफल दिशातर्फ अघि बढिरहेको स्पष्ट संकेत गर्छ ।
सामाजिक सुरक्षा भत्ता लिन सेवाग्राहीहरूलाई किन पाँचखाल जानुपर्ने अवस्था छ ? यी समस्यालाई समाधान गर्न वडाले के–कस्ता व्यवस्था गरेको छ ?
सामाजिक सुरक्षालाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यले हामीले वृद्धभत्ता सहजीकरणसम्बन्धी अर्को कार्यक्रम पनि सञ्चालन गरेका छौँ । यस कार्यक्रममार्फत ज्येष्ठ नागरिकहरूले पाउने सेवासुविधा सरल, सहज र सम्मानजनक तरिकाले उपलब्ध गराउने प्रयास भइरहेको छ । वृद्धभत्ता लिनका लागि हाम्रो क्षेत्रका ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीहरूलाई पाँचखाल पुग्नुपर्ने अवस्था रहेको छ । यहाँबाट पाँचखालसम्मको दूरी करिब १० किलोमिटर पर्ने भएकाले उमेर पुगेका वृद्धवृद्धा, एकल महिला तथा अशक्त व्यक्तिहरूका लागि आवत–जावत आफैंमा चुनौतीपूर्ण बन्दै आएको थियो । धेरैजसो अवस्थामा आफन्तलाई पठाएर भत्ता झिकाउने गर्दा पूरा रकम घरसम्म नपुग्ने, बीचमै खर्च हुने वा पारदर्शितामा समस्या आउने गुनासोहरू पनि आइरहेका थिए । यी व्यावहारिक समस्यालाई गम्भीरतापूर्वक मध्यनजर गर्दै, हामीले सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीहरूका लागि विशेष व्यवस्था गरेका छौँ । विशेषगरी एकल महिला तथा वृद्धवृद्धालाई लक्षित गरी निःशुल्क यातायातको व्यवस्था गरिएको छ । भेग तथा आवश्यकताअनुसार समय तोकी यातायातको व्यवस्थापन गरिन्छ, जसले गर्दा सेवाग्राहीहरूलाई सहज र सुरक्षित रूपमा भत्ता लिन जान सक्ने वातावरण बनेको छ। साथै, प्रभु बैंकसँग आवश्यक समन्वय गरी उहाँहरूले लामो लाइन बस्न नपर्ने व्यवस्था पनि मिलाइएको छ । यसरी यातायातदेखि बैंकिङ प्रक्रियासम्म सहजीकरण गरिदिँदा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिहरूले सम्मानजनक, सुरक्षित र सहज रूपमा आफ्नो हकअधिकार उपयोग गर्न पाएका छन् । यो कार्यक्रमले ज्येष्ठ नागरिक र एकल महिलाप्रतिको सामाजिक उत्तरदायित्वलाई व्यवहारमै उतार्ने प्रयासका रूपमा सकारात्मक प्रभाव पारेको छ ।
नागरिकलाई सेवा सहज बनाउन वडाले कस्तो व्यवस्था गरेको छ ?
वडा कार्यालय भौगोलिक रूपमा माथिल्लो भेगमा अवस्थित रहेको छ भने साविकको वडा नम्बर ३ तल्लो भेगमा पर्दछ । तल्लो भेगमा जनघनत्व तुलनात्मक रूपमा धेरै भएकाले त्यहाँका नागरिकहरूलाई वडा कार्यालयसम्म पुगेर सेवा लिन असहज हुने अवस्था थियो । यही वास्तविकतालाई ध्यानमा राख्दै, सेवा प्रवाहलाई नागरिकको नजिक पु¥याउने उद्देश्यका साथ हामीले विशेष व्यवस्था गरेका छौँ । नागरिकहरूलाई सहज रूपमा सेवा उपलब्ध गराउन हरेक हप्ताको बुधबार वडा सचिवसहितको टोली तल्लो भेगमै पुगेर सेवा प्रदान गर्दै आएको छ । यसका लागि हामीले ‘सेवा क्षेत्र’का रूपमा छुट्टै एउटा भवन नै व्यवस्थापन गरेका छौँ, जहाँबाट नियमित रूपमा वडा कार्यालयका सेवासुविधाहरू उपलब्ध गराइन्छ । यसले नागरिकहरूलाई समय, खर्च र झन्झट सबै हिसाबले ठूलो राहत दिएको छ । यसका साथै स्वास्थ्य सेवाका कार्यक्रमहरू पनि टोलीसहित तल्लो भेगमै सञ्चालन गरिन्छ । यद्यपि माथिल्लो भेगको पलाञ्चोकमै साठीघर स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टर सञ्चालनमा छ, जहाँबाट स्वास्थ्यसम्बन्धी सेवा सुविधा लिन सकिन्छ । तर उक्त क्षेत्रको जनघनत्व कम भएकाले तल्लो भेगका धेरै नागरिकहरूलाई त्यहाँसम्म पुग्न कठिनाइ हुने गरेको थियो । यस अवस्थालाई मध्यनजर गर्दै, तल्लो भेगका नागरिकहरूलाई समेत स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले हामीले त्यहीँ पुगेर सुगर तथा प्रेसर जाँच, आवश्यक औषधि वितरण लगायतका स्वास्थ्यसम्बन्धी सेवा प्रदान गर्दै आएका छौँ । यसरी सेवा नागरिकको ढोकामै पु¥याउने हाम्रो प्रयासले स्वास्थ्य सचेतना बढाउनुका साथै नियमित स्वास्थ्य परीक्षणमा नागरिकको पहुँचसमेत विस्तार भएको छ ।
वडामा हाल विकास निर्माणका कामहरू कस्तो अवस्थामा छन् ? ठूलो बजेटमार्फत तत्कालका लागि कति वटा काम सञ्चालन हुँदैछन् ?
वडामा विकास निर्माणसम्बन्धी कामहरू नियमित रूपमा अगाडि बढिरहेका छन् । पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै चालु आर्थिक वर्षमा केन्द्रीय सरकारबाट करिब ३ करोड रुपैयाँ बराबरको बजेट प्राप्त भएको छ । उक्त बजेट नागबेलीदेखि कालिका मन्दिरसम्मको सडक स्तरउन्नति कार्यका लागि विनियोजन गरिएको हो । यस सडकखण्डको स्तरोन्नतिपछि आवागमन सहज हुनुका साथै स्थानीय बासिन्दा र धार्मिक पर्यटकहरूलाई समेत ठूलो सुविधा पुग्ने अपेक्षा गरिएको छ । त्यसैगरी, साविक वडा नम्बर ७ अन्तर्गत पर्ने गैरीगाउँ साइटमा नगर र प्रदेश सरकारबाट प्राप्त पूरक बजेटसमेत जोड्दा कुल करिब ३ करोड रुपैयाँ बराबरको बजेट उपलब्ध भएको छ । यो ठूलो बजेटमार्फत तत्कालका लागि दुईवटा महत्वपूर्ण विकास निर्माणका कामहरू सञ्चालन गरिने तयारी भइरहेको छ । यी कामहरू क्षेत्रको दीर्घकालीन विकास र पूर्वाधार सुदृढीकरणका दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिएका छन् । नगरपालिकाबाट नियमित रूपमा प्राप्त हुने बजेटमार्फत सञ्चालन हुने विकास निर्माणका कामहरू भने वार्षिक योजना तथा कार्यक्रमअनुसार निरन्तर रूपमा कार्यान्वयन भइरहेका छन् । यसरी विभिन्न तहका सरकारसँग समन्वय गर्दै वडामा विकास निर्माणका कामलाई तीव्रता दिइएको छ र आगामी दिनमा पनि आवश्यकताअनुसार थप योजनाहरू अघि बढाउने हाम्रो लक्ष्य रहेको छ ।
हाल वडामा खानेपानी आपूर्तिको अवस्था कस्तो छ ?
पाँचखालको सुनकोशी बृहत् खानेपानी आयोजना सम्पन्न भएपछि त्यसको प्रत्यक्ष लाभ सबैभन्दा बढी पाउने वडा भनेकै हाम्रो वडा हो । यो आयोजनाअन्तर्गत निर्माण भएका करिब ८० प्रतिशत संरचना हाम्रो वडाभित्र नै रहेका छन्, जसका कारण यहाँका नागरिकहरूले खानेपानी सेवामा उल्लेखनीय सुधार महसुस गर्न थालेका छन् । हाल मन्दिर क्षेत्र वरपर २४ सै घण्टा नियमित रूपमा खानेपानी आपूर्ति भइरहेको छ । त्यसैगरी वडाका अन्य क्षेत्रहरूमा पनि बिहान कम्तीमा पाँच–छ घण्टासम्म पानी उपलब्ध गराइँदै आएको छ । यसले लामो समयदेखि देखिँदै आएको खानेपानी अभावको समस्यालाई क्रमशः कम गर्दै लगेको छ । खानेपानी जस्तो आधारभूत आवश्यकतामा सुधार आउँदा नागरिकहरूको दैनिकी सहज हुनुका साथै स्वास्थ्य र सरसफाइको अवस्थामा समेत सकारात्मक परिवर्तन देखिन थालेको छ । यसरी सुनकोशी बृहत् खानेपानी आयोजनाको प्रभावकारी कार्यान्वयनसँगै हाम्रो वडामा खानेपानीसम्बन्धी समस्याहरू बिस्तारै निराकरण हुँदै गइरहेका छन् ।
वडाले स्वास्थ्य क्षेत्रलाई कसरी प्राथमिकता दिएको छ ? गर्भवती महिला र बालबालिकालाई लक्षित कार्यक्रमहरू के–कस्ता छन् ?
स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै वडामा विभिन्न योजना तथा लक्षित कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन हुँदै आएका छन् । नागरिकहरूको आधारभूत स्वास्थ्य आवश्यकतालाई मध्यनजर गर्दै, हामीले उपचारमुखी मात्र होइन, रोकथाम तथा सहजीकरणमुखी कार्यक्रमहरूमा पनि विशेष ध्यान दिँदै आएका छौँ । विशेषगरी मोतियाबिन्दुबाट पीडित नागरिकहरूका लागि निःशुल्क शल्यक्रियाको व्यवस्था गर्न वडाले समन्वयात्मक भूमिका निर्वाह गर्दै आएको छ । सम्बन्धित स्वास्थ्य संस्था, अस्पताल तथा सरोकारवाला निकायहरूसँग सहकार्य गरी सेवा लिनुपर्ने व्यक्तिहरूलाई पहिचान गर्ने, सूची तयार गर्ने तथा उपचार प्रक्रियामा सहजता प्रदान गर्ने काम भइरहेको छ । यसका अतिरिक्त, वडाले नियमित रूपमा प्रदान गर्दै आएको स्वास्थ्यसम्बन्धी सेवा सुविधा त छँदैछन् । गर्भवती महिला, बालबालिका तथा वृद्धवृद्धाको स्वास्थ्यमा प्रत्यक्ष सहयोग पुग्ने खालका कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन भइरहेका छन् । यस्ता कार्यक्रमहरूले नियमित स्वास्थ्य जाँच, परामर्श, पोषण तथा औषधि सहयोगमार्फत जोखिम न्यूनीकरण गर्न मद्दत पु¥याएको छ । यसरी लक्षित वर्गलाई केन्द्रमा राखेर सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रमहरूले नागरिकको स्वास्थ्य अवस्था सुधार गर्न सहयोग पु¥याउनुका साथै, वडामा समग्र स्वास्थ्य सचेतना अभिवृद्धि गर्न समेत महत्वपूर्ण भूमिका खेलेका छन् ।
वडाले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने उद्देश्यले कस्ता पहलहरू गरिरहेको छ ? कृषकहरूका लागि कस्ता अनुदान कार्यक्रमहरू सञ्चालनमा छन् ?
कृषि क्षेत्रमार्फत नागरिकहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले वडाबाट सक्दो विशेष पहलहरू गर्दै आएका छौँ । स्थानीय स्रोत, सीप र सम्भावनालाई उपयोग गरी कृषिलाई आयआर्जनको दिगो माध्यम बनाउने हाम्रो मुख्य लक्ष्य रहेको छ । यही उद्देश्यअनुसार योजनाबद्ध रूपमा विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेको छ । विशेषगरी हाम्रो क्षेत्रलाई मौरी पकेट क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यसहित निरन्तर प्रयास गरिरहेका छौँ । मौरी पालनले कम लगानीमा राम्रो आम्दानी दिन सक्ने सम्भावना बोकेको व्यवसाय भएकाले यसलाई प्राथमिकतामा राखिएको हो । त्यसका लागि आवश्यक पूर्वतयारी, सचेतना तथा कार्यान्वयनका कामहरू अघि बढाइँदै आएका छन् । हाल व्यवसायिक मौरी पालन प्रवद्र्धन गर्न प्रतिष्ठानस्तरीय कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । यसमार्फत इच्छुक किसानहरूलाई व्यवसायिक रूपमा मौरी पालनतर्फ आकर्षित गर्ने, सीप विकास गर्ने तथा उत्पादन वृद्धि गर्न सहयोग पु¥याउने लक्ष्य राखिएको छ । यसैसँगै, कृषकहरूलाई थप प्रोत्साहन गर्न विभिन्न अनुदान कार्यक्रमहरू पनि निरन्तर रूपमा सञ्चालनमा रहेका छन् । विशेषगरी कृषिजन्य सामग्रीहरू खरिद गर्न वडाबाट नै बजेट विनियोजन गरी ५० प्रतिशत अनुदानमा वितरण गर्ने व्यवस्था मिलाइएको छ । यसले किसानहरूको लागत घटाउनुका साथै कृषि उत्पादनमा वृद्धि गर्न र कृषिमा नागरिकको सक्रिय सहभागिता बढाउन महत्वपूर्ण योगदान पु¥याएको छ ।
चुनावका बेला गरिएका प्रतिबद्धता पूरा गर्न सबैभन्दा ठूलो चुनौती के देख्नुभयो ?
चुनावका बेला नागरिकसँग गरेका प्रतिबद्धताहरूलाई सकेसम्म पूरा गर्ने हाम्रो निरन्तर प्रयास रहँदै आएको छ । तर व्यवहारमा आएपछि धेरै कुरा अन्ततः बजेटसँग नै जोडिएर आउने रहेछ भन्ने यथार्थ हामीले महसुस गरेका छौँ । उपलब्ध बजेटको आकार र स्रोतले नै कति काम गर्न सकिन्छ भन्ने निर्धारण गर्ने हुँदा, चाहना मात्र भएर पनि सबै योजना कार्यान्वयन गर्न सकिने अवस्था हुँदैन । पाँचखाल नगरपालिकाको आन्तरिक आयस्रोत अत्यन्तै न्यून रहेको छ । केही हदसम्म इट्टाभट्टाहरू नगरको ठूलो आयस्रोतका रूपमा रहेका थिए, तर त्यो पनि पर्याप्त छैन । वडाको वार्षिक बजेट सिलिङ जम्मा करिब ३० देखि ४० लाख रुपैयाँको मात्र हुन्छ । त्यसमध्ये नियमित कार्यक्रमहरू सञ्चालन गर्दा नै करिब २०–२२ लाख रुपैयाँ खर्च भइहाल्छ । त्यसपछि बाँकी बजेटबाट तत्काल आवश्यक पर्ने विषयहरूलाई प्राथमिकता दिएर काम गर्नुपर्ने बाध्यता हुन्छ । यही कारणले गर्दा चुनावी घोषणापत्रलाई मात्र आधार बनाएर होइन, स्थानीय स्तरमा वास्तवमै के आवश्यक छ भन्ने कुरालाई केन्द्रमा राखेर काम गर्नुपर्ने अवस्था आएको छ । आवश्यकता र सम्भावनाका आधारमा प्राथमिकता निर्धारण गर्नु अहिलेको प्रमुख चुनौती बनेको छ । ऐतिहासिक तथा धार्मिक दृष्टिले अत्यन्तै महत्वपूर्ण पलाञ्चोक भगवतीको मन्दिर हाम्रो वडामा अवस्थित छ । यो मन्दिरले ठूलो धार्मिक, सांस्कृतिक र पर्यटन सम्भावना बोकेको भए पनि नगरपालिकाको तर्फबाट सोचेजति काम हुन नसकेको अनुभूति हामीले गरिरहेका छौँ । वडाको पहलमा दुःख–सुख गर्दै एउटा पार्क निर्माण गरिएको छ, तर मन्दिर परिसरको पार्टी (ढुंगाको आँगन) जिर्ण अवस्थामा भए पनि बजेट अभावकै कारण पुनःनिर्माण गर्न सकिएको छैन । यहाँ गर्नुपर्ने कामहरू धेरै छन्, तर सीमित बजेटका कारण धेरै महत्वपूर्ण कामहरू अधुरा नै रहनु परेको छ । मेरो कार्यकालमा प्रदेश सरकारबाट पलाञ्चोक भगवती मन्दिरका लागि जम्मा ३० लाख रुपैयाँ बजेट प्राप्त भएको थियो । उक्त बजेटबाट भत्किएका पर्खालहरू निर्माण गर्ने र पुनः रङ्गरोगन गर्ने काम गर्दा बजेट धेरै बाँकी रहेन । त्यसैक्रममा मन्दिर क्षेत्रमा सोलार प्रणाली जडान गरिएको छ, जसले करिब दुई घण्टाको ब्याकअप दिने क्षमता राख्दछ । विद्युत् आपूर्ति अवरुद्ध हुँदा पनि यस सोलार प्रणालीले मन्दिर क्षेत्रमा केही हदसम्म सहजता प्रदान गरेको छ । यस्ता साना–साना पहलहरूले सीमित स्रोतबीच पनि सम्भव भएसम्म सेवा सुधार गर्ने हाम्रो प्रयासलाई देखाउँछ ।
बेथानचोक साप्ताहिकबाट ।

ताजा अपडेट

खोजी गर्नुहोस