सडक पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखेका छौं


सडक पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखेका छौं

वडामा कुन–कुन विकासका योजना अघि बढाईएको छ ?, ती योजनाहरू कार्यान्वयन गर्दा कस्ता चुनौतीहरू आएका छन् र हालको अवस्था के छ ?
मेरो निर्वाचनकालपछि वडामा विभिन्न गौरवका योजनाहरू अघि बढाइएका छन्, जसमध्ये धेरै योजनाहरू सम्पन्न भइसकेका छन् भने केही अन्तिम चरणमा रहेका छन् । यसै क्रममा वडा नं. ५ मा करिब पौने पाँच करोड रुपैयाँ लागतमा निर्माण भइरहेको स्वास्थ्य भवन हाल सम्पन्न हुने चरणमा पुगेको छ, जसले स्थानीय नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास लिइएको छ । त्यसैगरी, करिब २५ मिटर लामो च्याल्टि खोलामाथिको पक्की पुल निर्माण कार्य सफलतापूर्वक सम्पन्न भइसकेको छ, जसले वर्षायाममा हुने आवतजावतको समस्या धेरै हदसम्म समाधान गरेको छ । च्याल्टिदेखि कामी डाँडासम्म जाने सडक निर्माणका लागि करिब ६ करोड रुपैयाँको टेन्डर प्रक्रिया सम्पन्न भएको थियो । तर टेन्डर पाउने कम्पनी बारम्बार परिवर्तन हुँदा काममा केही समय समस्या र अवरोध देखिएको थियो । हाल भने पुनः पहिलेकै कम्पनीसँग आवश्यक समन्वय गरी उक्त सडक निर्माण कार्य सम्पन्न गर्न सफल भएका छौँ । गाउँपालिकाले वार्षिक रूपमा कम्तीमा ५ किलोमिटर सडक पिच गर्ने लक्ष्यअनुसार अगाडि बढिरहेको अवस्थामा, २०८१ सालको असोज महिनामा आएको भीषण बाढी र पहिरोले तयार भइसकेका तथा निर्माणाधीन संरचनाहरूमा ठूलो क्षति पु¥यायो । यस कारणले गर्दा धेरै योजनाहरू सुरुदेखि नै पुनः सुरु गर्नुपर्ने अवस्था आयो। सोही कारण निर्धारित समयमै सडक पिचको काम अघि बढ्न सकेन । विपद् व्यवस्थापन नै पहिलो आवश्यकता भएकाले गाउँपालिकाका अधिकांश बजेटहरू बाढी–पहिरो प्रभावित क्षेत्रमा केन्द्रित गर्नुपर्ने अवस्था सिर्जना भयो । थप आर्थिक स्रोतको व्यवस्थापन गर्न नसक्दा केही योजनाहरू हालसम्म पनि पूर्ण रूपमा सम्पन्न गर्न सकिएको छैन । हिउँदको समयमा सवारी साधन सञ्चालनमा खासै समस्या नदेखिए पनि बर्खायाममा भने सडकको अवस्था अत्यन्तै जटिल हुने गरेको छ, जुन समस्या अहिले पनि हामीले भोगिरहेकै छौँ । गाउँपालिकाको आन्तरिक आम्दानी स्रोत निकै सीमित रहेको र प्रदेश तथा संघ सरकारबाट प्राप्त हुने बजेट पनि पर्याप्त नहुँदा विकास निर्माणका कामहरूमा चुनौती थपिएको छ । यस्ता कठिनाइका बाबजुद पनि हामीले गाउँपालिकाका सबै क्षेत्र र वर्गलाई समेट्ने गरी सन्तुलित विकासका प्रयासहरू निरन्तर अगाडि बढाइरहेका छौँ ।
आगामी दिनहरूमा वडाले विकासका कुन–कुन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएको छ र त्यसका लागि के–कस्ता रणनीतिहरू अपनाइँदै छन् ?
हामीले हालका दिनहरूमा विकासका सबै काममध्ये सडक पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखेर अगाडि बढिरहेका छौँ । किनकि विकासको मूल आधार नै सडक हो भन्ने हाम्रो स्पष्ट बुझाइ छ । सडक राम्रो भए मात्र शिक्षा, स्वास्थ्य, व्यापार, कृषि तथा समग्र आर्थिक गतिविधि सहज रूपमा अघि बढ्न सक्छन् । हाम्रो क्षेत्रको वर्तमान आवश्यकता पनि यही भएकाले अबका दिनहरूमा मुख्य सडकहरूलाई केन्द्रमा राखेर योजना बनाएर काम गर्ने नीति लिएका छौँ । आगामी चरणमा मुख्य सडकहरूमा ग्राभेल गर्ने, जोखिमयुक्त तथा कमजोर खण्डहरूमा सुधार गर्ने, साथै पहिरोले क्षति पु¥याएका स्थानहरूमा संरक्षणात्मक वाल तथा अन्य संरचना निर्माण गर्ने योजना अगाडि सारेका छौँ । यसले वर्षायाममा हुने जोखिम कम गर्नुका साथै सडकको दिगोपन पनि बढाउने विश्वास लिएका छौँ । सडकसँगै हामीले शिक्षा क्षेत्रलाई पनि समानान्तर रूपमा अगाडि बढाउने लक्ष्य लिएका छौँ । शिक्षा क्षेत्र सुदृढ गर्न सकियो भने दीर्घकालीन विकासका आधारहरू बलिया हुने हाम्रो ठम्याइ छ । शिक्षामा लगानी गर्न सके मानव संसाधन सक्षम बन्छ र त्यसले समग्र विकास प्रक्रियालाई गति दिन्छ भन्ने विश्वासका साथ हामी यस क्षेत्रमा पनि निरन्तर प्रयासरत छौँ । विशेषगरी अबका दिनहरूमा स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्ने नीति अवलम्बन गर्ने योजना छ । स्थानीय स्तरमा उत्पादन हुने सामग्री तथा साधनहरू प्रयोग गर्न सकियो भने विकास लागत घट्नुका साथै स्थानीय अर्थतन्त्र पनि चलायमान हुने हामीले देखेका छौँ । हाम्रो गाउँपालिकामा जल, जमिन, जंगल, खनिज तथा जडीबुटी जस्ता प्राकृतिक स्रोतहरू प्रशस्त छन् । यी स्रोतहरूलाई नेपाल सरकारको कानुनी प्रक्रिया अन्तर्गत सही ढंगले उपयोग गर्न सकियो भने यहाँको समृद्धिमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ । यसरी आन्तरिक पूँजीको जग बलियो बनाउन सकियो भने समग्र विकास प्रक्रिया अझ सहज र दिगो हुने विश्वास हामीले लिएका छौँ । त्यसका अतिरिक्त, खानेपानी, विपद् व्यवस्थापन, शिक्षा, स्वास्थ्य लगायतका नियमित तथा आधारभूत सेवा प्रवाहका कामहरू पनि निरन्तर रूपमा अगाडि बढाइरहेका छौँ ।
लक्षित तथा आर्थिक रूपमा कमजोर समुदायको सशक्तीकरणका लागि गाउँपालिकाले के–कस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ?
गाउँपालिकाले समग्र विकाससँगै लक्षित समुदायलाई केन्द्रमा राखेर विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । विशेषगरी आर्थिक रूपमा कमजोर तथा निम्न आयस्तर भएका समुदायहरूलाई कसरी आत्मनिर्भर र स्वावलम्बी बनाउन सकिन्छ भन्ने विषयमा विशेष ध्यान दिइएको छ । परम्परागत सहयोग मात्र नभई दीर्घकालीन आम्दानीको आधार तयार गर्ने उद्देश्यका साथ सीपमूलक तथा आयआर्जनमुखी कार्यक्रमहरू अगाडि बढाइएका छन् । यस अन्तर्गत सिलाई–कटाई, बारिस्ता तालिम, अचार तथा घरेलु खाद्य सामग्री उत्पादन जस्ता व्यवसायिक सीप विकासका तालिमहरू सञ्चालन गरिरहेका छौँ । यस्ता तालिमहरूले लक्षित समुदायका व्यक्तिहरूलाई स्वरोजगार बन्ने अवसर दिएको छ भने स्थानीय स्तरमै आयआर्जनका नयाँ सम्भावनाहरू पनि सिर्जना गरेका छन् । विशेषगरी महिलाहरूलाई प्राथमिकतामा राखेर कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ । महिलाहरूलाई चुलोचौकोमा मात्र सीमित नराखी आर्थिक गतिविधिमा सक्रिय रूपमा सहभागी गराउनु आवश्यक छ भन्ने हाम्रो स्पष्ट धारणा छ । महिलाहरूलाई आम्दानीका स्रोतमा जोड्न सकियो भने परिवारको आर्थिक अवस्था मात्र होइन, समाजको समग्र विकासमा समेत सकारात्मक परिवर्तन आउने हाम्रो विश्वास छ । त्यसैले महिलाहरूलाई सीप, अवसर र आत्मविश्वास प्रदान गरेर आत्मनिर्भर बनाउने उद्देश्यका साथ गाउँपालिका निरन्तर रूपमा काम गरिरहेको छ । यस्ता कार्यक्रमहरूले महिलाहरूको आर्थिक सशक्तीकरणसँगै सामाजिक भूमिका पनि मजबुत बनाउँदै लगेको देखिएको छ ।
वडामा हाल खानेपानीको अवस्था कस्तो छ ?
खानेपानीको क्षेत्रमा हाम्रो गाउँपालिकामा पछिल्ला वर्षहरूमा पहिलेको तुलनामा उल्लेखनीय सुधार आएको थियो । सुरक्षित र नियमित खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ हामीले विभिन्न योजनाहरू अघि बढाएका थियौँ र तीमध्ये धेरै योजनाहरू सफलतापूर्वक सम्पन्न पनि गरिसकेका थियौँ । यसले स्थानीय बासिन्दाहरूको दैनिक जीवनमा सहजता ल्याएको थियो । तर २०८१ सालको असोज महिनामा आएको भीषण बाढी र पहिरोले खानेपानी क्षेत्रमा अत्यन्तै ठूलो क्षति पु¥यायो । सो विपद्का कारण गाउँपालिकाभरिका करिब ९० प्रतिशत खानेपानी संरचनाहरू पूर्ण वा आंशिक रूपमा ध्वस्त हुन पुगे । यसले एकैचोटि ठूलो जनसंख्यालाई खानेपानीको गम्भीर समस्यामा पारेको थियो । यस कठिन परिस्थितिमा गाउँपालिकाले तत्काल पहल गर्दै विभिन्न दातृ निकाय तथा सहयोगी संस्थाहरूसँग समन्वय र सहयोगको आग्रह ग¥यो । खानेपानीका पाइप, सामग्री तथा आपतकालीन व्यवस्थापनमा सहज बनाउन शान्तिजनार्दर्श, नेवा लगायतका संस्थाहरूले सहयोग प्रदान गरे, जसका कारण प्रभावित क्षेत्रमा अस्थायी रूपमा भए पनि खानेपानीको आपूर्ति पुनः सञ्चालन गर्न सम्भव भयो । त्यसपछि २०८२ सालमा पुनः आएको बाढी–पहिरोले केही स्थानमा असर पु¥याए पनि अघिल्लो वर्षजस्तो व्यापक क्षति भने हुन सकेन । संरचनाहरू पूर्ण रूपमा ध्वस्त हुन नपाएकाले खानेपानी व्यवस्थापनलाई नियन्त्रणमा लिन सहज भयो । हालको अवस्थामा, क्षतिग्रस्त संरचनाहरूको मर्मत, पुनर्निर्माण तथा नयाँ योजनाहरूको सुरुवात पुनः पहिलेजस्तै गतिमा अघि बढेको छ । दीर्घकालीन रूपमा सुरक्षित, दिगो र भरपर्दो खानेपानी सेवा सुनिश्चित गर्न गाउँपालिका निरन्तर रूपमा काम गरिरहेको छ ।
वडाले शिक्षा क्षेत्रमा के–कस्तो प्रयास गरिरहेको छ ?
शैक्षिक क्षेत्रमा पनि हामीले हाम्रो तर्फबाट गर्नुपर्ने दायित्व र जिम्मेवारीहरू इमानदारीपूर्वक पूरा गर्दै आइरहेका छौँ । शिक्षा समाजको मेरुदण्ड हो भन्ने बुझाइका साथ स्थानीय तहदेखि लिएर वडासम्मले सक्दो पहल गरिरहेका छन् । नेपाल सरकारले शिक्षा क्षेत्रलाई अनिवार्य तथा निःशुल्क घोषणा गरेको छ, जुन उद्देश्य र भावनाको हिसाबले सकारात्मक कदम हो । तर व्यवहारिक रूपमा हेर्दा यस विषयमा हामी पूर्ण रूपमा सहमत हुन सकिरहेका छैनौँ । यदि बालविकासदेखि कक्षा १२ सम्म अध्यापन हुँदै आएका विद्यालयहरूमा आवश्यक दरबन्दी समयमै उपलब्ध गराइएको भए अवस्था केही फरक हुन सक्थ्यो । विद्यालय सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार, दक्ष जनशक्ति र स्रोतसाधन बिना निःशुल्क शिक्षाको घोषणा मात्र पर्याप्त हुँदैन । विद्यालयमा थोरै शुल्क उठाउँदा पनि “निःशुल्क शिक्षा हुँदा किन शुल्क तिर्ने ?” भन्ने सोच अभिभावकहरूमा विकसित भएको देखिन्छ । यसले विद्यालय व्यवस्थापनमा थप चुनौती सिर्जना गरेको छ । खेतबारीमा धान छरेर मलजल नगरी राम्रो बालीको आशा गरेजस्तै, आवश्यक लगानी र व्यवस्थापन नगरी गुणस्तरीय शिक्षाको अपेक्षा गर्नु अव्यावहारिक देखिन्छ । विद्यालयहरूमा कम्प्युटर लगायतका विभिन्न आधुनिक सामग्रीहरू उपलब्ध त छन्, तर ती सामग्रीहरू प्रयोग गर्न सिकाउने दक्ष जनशक्ति अभाव छ । प्रायः प्रत्येक विद्यालयमा कम्प्युटर भए तापनि कम्प्युटर शिक्षकहरू नहुनु दुःखद पक्ष हो । वडाको सीमित बजेटले भ्याएसम्म शिक्षक व्यवस्थापन गर्ने प्रयास भइरहेको छ । तर आर्थिक स्रोतको कमीका कारण शिक्षकहरूलाई पर्याप्त पारिश्रमिक दिन सकिएको छैन। कतिपय विद्यालयहरूमा हजुरबुवादेखि नातीसम्म पढाउने एउटै शिक्षक अहिले पनि कार्यरत हुनुहुन्छ । लामो समयसम्म एउटै शैली र पद्धतिबाट अध्यापन हुँदा शिक्षामा नयाँपन र नवप्रवर्तन ल्याउन कठिन भएको अनुभूति भइरहेको छ । आजको युग सूचना प्रविधिको युग हो । नयाँ प्रविधि र आधुनिक शिक्षण सिकाइ विधिसँग भिज्न सक्ने शिक्षकहरूको आवश्यकता झनै बढ्दै गएको छ । प्रविधिमैत्री, नवप्रवर्तनशील र समयअनुकूल शिक्षक बिना शिक्षाको गुणस्तर सुधार गर्न कठिन छ । यद्यपि यी चुनौतीहरूका बाबजुद पनि शिक्षा क्षेत्रको विकासका लागि आवश्यक पहल–कदमी हाम्रो तर्फबाट सक्दो रूपमा पूरा गरिरहेका छौँ भन्ने कुरामा हामी प्रतिबद्ध छौँ ।
गाउँपालिकाबाट स्वास्थ्य क्षेत्रमा कस्ता कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ?
स्वास्थ्य क्षेत्र अत्यन्तै संवेदनशील र नागरिकको जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले यस क्षेत्रमा आवश्यक सबै कामहरू हाम्रो तर्फबाट निरन्तर रूपमा गरिँदै आएका छन् । स्वस्थ नागरिक बिना समृद्ध समाज निर्माण सम्भव हुँदैन भन्ने बुझाइका साथ स्थानीय तहले स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधार गर्न विशेष ध्यान दिँदै आएको छ । यसअघि स्वास्थ्य भवनहरूको अवस्था राम्रो नहुँदा जस्ताको टिनको छानामुनि स्वास्थ्य संस्था सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्था थियो । गर्मी, जाडो र वर्षायाममा यस्तो संरचनामा स्वास्थ्य सेवा प्रदान गर्नु निकै कठिन थियो । विशेषगरी औषधिहरू सुरक्षित रूपमा भण्डारण गर्न नसक्दा ती ड्यामेज हुने सम्भावना अत्यन्तै प्रबल रहन्थ्यो, जसले सेवाको गुणस्तरमा समेत प्रतिकूल असर पारिरहेको थियो । यस समस्यालाई समाधान गर्न स्थानीय तहबाट निरन्तर रूपमा आवाज उठाइयो । हाम्रो यो माग बिस्तारै सम्बन्धित निकायहरूको ध्यानाकर्षण गर्दै माथिल्लो तहसम्म पुगेको छ । अन्ततः उक्त मागको सुनुवाइ हुँदै बहुवर्षीय योजना अन्तर्गत हाल एउटा स्वास्थ्य संस्था पक्की भवनको रूपमा निर्माण भइरहेको छ । अहिले उक्त भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ, जसले स्थानीयवासीहरूमा ठूलो आशा र उत्साह पैदा गरेको छ । यो बाहेक पनि स्वास्थ्य क्षेत्रका अन्य आवश्यक कामहरू हामीले निरन्तर रूपमा गरिरहेका छौँ । गाउँपालिकाबाट नियमित रूपमा सञ्चालन हुने स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू प्रभावकारी रूपमा अघि बढाइएका छन् । मातृशिशु स्वास्थ्य, खोप कार्यक्रम, पोषणसम्बन्धी सचेतना तथा सरसफाइका कार्यक्रमहरू निरन्तर सञ्चालनमा छन् । साथै विभिन्न समयमा निःशुल्क स्वास्थ्य शिविरहरू आयोजना गरेर सर्वसाधारणलाई आधारभूत स्वास्थ्य सेवा नजिकैबाट प्रदान गर्ने प्रयास भइरहेको छ । यी सबै पहलहरू स्वास्थ्य सेवाको पहुँच विस्तार र नागरिकको जीवनस्तर सुधारतर्फ केन्द्रित छन् ।
चुनावमा गरिएका प्रतिबद्धतामध्ये कति प्रतिशत काम सम्पन्न भएका छन् ? कति बाँकी छ ? आगामी योजना के छ ?
चुनावको समयमा जनतासामु राखिएका प्रतिबद्धताअनुसार हामीले करिब ६० देखि ७५ प्रतिशत कामहरू सफलतापूर्वक सम्पन्न गरिसकेका छौँ । सीमित स्रोतसाधन र विविध चुनौतीका बाबजुद पनि जनअपेक्षा पूरा गर्ने दिशामा हाम्रो प्रयास निरन्तर रहँदै आएको छ । तर गत वर्षहरूमा आएको बाढी र पहिरोले ठूलो क्षति पु¥याएपछि हामीले सम्पन्न गरिसकेका तथा अघि बढाइरहेका धेरै विकास निर्माणका कामहरू पुनः गर्नुपर्ने अवस्था सिर्जना भयो । प्राकृतिक प्रकोपका कारण भौतिक संरचनाहरू ठूलो मात्रामा ध्वस्त भए, जसले विकासको गतिलाई केही समयका लागि पछाडि धकेल्यो । यस्ता विपद्का बाबजुद पनि हामी निराश नबनी बिस्तारै पुनः उठ्ने प्रयासमा जुटिरहेका छौँ । क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणसँगै दीर्घकालीन योजनाहरूलाई पनि समानान्तर रूपमा अघि बढाइएको छ । विशेषगरी शिक्षा र स्वास्थ्य जस्ता संवेदनशील तथा आधारभूत विषयहरूलाई केन्द्रमा राखेर भावी योजना तर्जुमा गरिएको छ, किनभने यी क्षेत्रको सुदृढीकरण बिना दिगो विकास सम्भव हुँदैन । भौतिक संरचनाहरूलाई अझ बलियो र दिगो बनाउने काम प्राथमिकतामा राखिएको छ । विद्यालयका भवनहरू सुधार, आवश्यक नयाँ संरचनाको निर्माण, शिक्षक व्यवस्थापन तथा शैक्षिक वातावरण सुधारका लागि विभिन्न प्रयासहरू गरिएका छन् । यसैगरी स्वास्थ्य क्षेत्रका पूर्वाधार र सेवा प्रवाहलाई सुदृढ बनाउने दिशामा पनि काम भइरहेको छ । यद्यपि कतिपय कामहरू गर्ने इच्छा हुँदाहुँदै पनि आर्थिक रूपमा सक्षम नहुँदा ती कामहरू समयमै सम्पन्न गर्न कठिन भएको अनुभव गरिएको छ । गाउँपालिकाको आर्थिक स्रोत कमजोर भएको कारण विकास निर्माणका कामहरूमा केही अवरोध र ढिलाइ अवश्य देखिएको छ । त्यसका बाबजुद पनि उपलब्ध स्रोतको अधिकतम उपयोग गर्दै योजनाबद्ध रूपमा काम अघि बढाइरहेका छौँ भन्ने कुरामा हामी प्रतिबद्ध छौँ ।

पलाञ्चोक साप्ताहिकबाट ।

ताजा अपडेट

खोजी गर्नुहोस