नतिजामुखी कामका लागि प्रतिबद्ध छौं


नतिजामुखी कामका लागि प्रतिबद्ध छौं

गाउँपालिकाको पछिल्लो विकास निर्माणका कामको अवस्था तथा चालु आर्थिक वर्षको बजेट कार्यान्वयनबारे जानकारी गराइदिनुहोस् ।
पछिल्लो दुई वर्षको अवधिमा गाउँपालिकाले विभिन्न प्रकारका विपद्को सामना गर्नुपरेको छ । प्राकृतिक विपद्ले जनजीवन, भौतिक संरचना तथा विकास निर्माणका काममा उल्लेखनीय असर पारेपछि गाउँपालिकाको प्रमुख ध्यान विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण र त्यसपछिका विकास निर्माणका कार्यलाई निरन्तरता दिने दिशामा केन्द्रित रह्यो । विपद्बाट कसरी सुरक्षित रहने, सम्भावित जोखिमलाई कसरी न्यूनिकरण गर्ने र प्रभावित क्षेत्रको पुनःनिर्माण कसरी प्रभावकारी रूपमा अगाडि बढाउने भन्ने विषयमा विभिन्न योजना तथा कार्यक्रमहरू कार्यान्वयन गरिँदै आएका छन् । यसै सन्दर्भमा गाउँपालिकाले प्रदेश तथा सङ्घीय सरकारसँगको समन्वयमा सञ्चालन गरिने समपूरक विकास आयोजनाहरूलाई प्राथमिकताका साथ अघि बढाएको छ । तीमध्ये केही आयोजनाहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन् भने केही योजनाहरू ठेक्का प्रक्रियामा रहेका छन् र निर्माण कार्य सुरु हुने चरणमा छन् । त्यसका अतिरिक्त शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा सामाजिक विकाससँग सम्बन्धित नियमित कार्यक्रमहरू पनि निरन्तर रूपमा सञ्चालन भइरहेका छन् । चालु आर्थिक वर्षमा गाउँपालिकाको कुल बजेट ६७ करोड रुपैयाँ रहेको छ । सो बजेटलाई विपद् व्यवस्थापन, विकास निर्माण, आधारभूत सेवा प्रवाह तथा समग्र गाउँपालिकाको दिगो विकासमा केन्द्रित गरी खर्च गर्ने लक्ष्य लिइएको छ ।
विपद्का कारण क्षति पुगेका भौतिक संरचना, विशेषगरी सडक सञ्जालको पुनःनिर्माण तथा स्तरोन्नतिका लागि गाउँपालिकाले के–कस्ता योजना र प्राथमिकताहरूका साथ काम गरिरहेको छ ?
विपद्का कारण गाउँपालिकाभित्रका धेरै भौतिक संरचनाहरूमा गम्भीर क्षति पुगेको थियो । ती संरचनाहरूलाई पुनः पहिलेकै अवस्थामा फर्काउन समय लागिरहेको छ । विशेषगरी सडक सञ्जालमा विपद्ले अत्यधिक असर पु¥याएको हुँदा ती सडकहरूलाई पुनः सञ्चालनयोग्य बनाउने तथा अझ व्यवस्थित र दिगो बनाउने काम चुनौतीपूर्ण बनेको छ । गाउँपालिकाको आफ्नै बजेटले मात्र सम्पूर्ण सडक सञ्जाललाई तत्काल सुधार र स्तरोन्नति गर्न सम्भव नभएको अवस्था छ । यद्यपि, गाउँपालिकाले कम्तीमा पनि बाह्रै महिना सडक सञ्जाल सञ्चालनयोग्य हुनुपर्छ भन्ने लक्ष्यका साथ काम गरिरहेको छ । यही प्राथमिकताका कारण गत आर्थिक वर्षमा पनि सडक पूर्वाधार क्षेत्रमै बढी बजेट विनियोजन गरिएको थियो र चालु आर्थिक वर्षमा समेत सो कार्यलाई निरन्तरता दिइएको छ । सबै सडक सञ्जाललाई एकैपटक पक्कीकरण गर्न सम्भव नभए पनि चरणबद्ध रूपमा स्तरोन्नति गर्ने योजना अनुसार काम अघि बढाइएको छ । यसैक्रममा चालु आर्थिक वर्षभित्र वडा नम्बर १ को सिमानासम्म सडक पिच गर्ने लक्ष्य लिइएको छ । बेथानचोक क्षेत्रलाई पूर्ण रूपमा पहिलेकै अवस्थामा फर्काउन केही समय लाग्ने देखिए पनि गाउँपालिकाको तर्फबाट सडक मर्मत, पुनःनिर्माण तथा दीर्घकालीन समाधानका लागि निरन्तर र जोडदार प्रयास भइरहेको छ ।
कार्यक्रमहरू गर्नको लागि अरु निकायहरूसँगको समन्वय कस्तो छ ?
गाउँपालिकाको मात्रै बजेटले गाउँपालिकाको समग्र विकास गर्न त गाह्रै हुन्छ । त्यसकारणले हामीले अन्य निकायहरूसँग नियमित रुपमा समन्वय छलफल गरिरहेका हुन्छौँ र जनप्रतिनिधिज्यूहरूको समन्वयकारी भूमिका एकदमै राम्रो पनि छ । प्रदेश सरकार संघ सरकारसँग हामीले विशेष सहयोगहरु माग्छौं । त्यो बाहेक हामीले अन्य निकायहरूबाट पनि पाउने सहयोगमा समन्वय गरिरहेका छौँ । प्रदेश समपुरक योजनाहरू छन् । संघीय विशेष अनुदान प्रदेश विशेष अनुदानका कार्यक्रमहरू पनि छन् । सकभर धामीले आफ्नै स्रोतसाधनलाई प्रयोग गरेर कार्यक्रमहरू गर्ने प्रयास गर्छौं । ठुला योजनाहरूको लागि चाहिँ यसरी हामीले माथिल्लो निकायबाट सहयोग मागेर पनि कार्यक्रम गरिरहेका छौँ । प्रदेश सङ्घ सरकारसँग चाहिँ विपत् व्यवस्थापनपछि विकास निर्माणका काममा प्रत्यक्ष समन्वय सहकार्य गरेरै काम गरिरहेका छौँ ।
शिक्षा क्षेत्रको विकास र गुणस्तर सुधारका लागि गाउँपालिकाले हाल के–कस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेको ?
शिक्षा क्षेत्रतर्फ गाउँपालिकाले विगतदेखि सञ्चालन हुँदै आएका कार्यक्रमहरूलाई निरन्तरता दिइरहेको छ । आधारभूत तथा माध्यमिक तहको शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले लागू गरिएका पुराना कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिँदै आएको छ । ती कार्यक्रमहरूले विद्यार्थीको सिकाइ स्तर सुधार, विद्यालय व्यवस्थापन सुदृढीकरण तथा शिक्षक क्षमतावृद्धिमा महत्वपूर्ण योगदान पु¥याइरहेका छन् । यसका अतिरिक्त, चालु अवधिमा नयाँ पहलका रूपमा ‘अध्यक्षसँग घुम्ती शिक्षा कार्यक्रम’ सञ्चालनमा ल्याइएको छ । उक्त कार्यक्रमअन्तर्गत विद्यालयमै पुगेर विद्यार्थीहरूलाई व्यवहारिक र सिर्जनात्मक शिक्षामा जोड दिने उद्देश्यले योग, नृत्यलगायतका सह–पाठ्यक्रमगत विषयहरूलाई सिकाइ प्रणालीमा समावेश गरिएको छ । यस कार्यक्रममार्फत विद्यार्थीहरूको शारीरिक, मानसिक तथा नैतिक विकासमा सहयोग पुग्ने विश्वास लिइएको छ । नयाँ कार्यक्रमबाहेक शिक्षा क्षेत्रमा सञ्चालन भइरहेका अन्य सबै कार्यक्रमहरू भने अघिल्ला वर्षहरूकै निरन्तरताका रूपमा अघि बढिरहेका छन् । उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै शिक्षाको पहुँच र गुणस्तर दुवैमा सुधार ल्याउनेतर्फ गाउँपालिकाले निरन्तर प्रयास गरिरहेको छ ।
स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले सञ्चालन गरिरहेका कार्यक्रमहरू कस्ता छन् ? विशेष गरी गर्भवती तथा सुत्केरी महिलाका लागि, गरिब तथा असहाय नागरिकका लागि र मोतियाबिन्दु भएका व्यक्तिहरूका लागि के–कस्ता सेवा र सुविधा उपलब्ध गराइएको छ ?
स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले जनताको स्वास्थ्य संरक्षण र सुधारमा केन्द्रित भएर विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यसमा सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले नियमित स्वास्थ्य जाँचका कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन भइरहेका छन् । यी कार्यक्रमहरूले प्राथमिक स्वास्थ्य परीक्षण, रोग पहिचान, परामर्श तथा प्रारम्भिक उपचार सुविधा उपलब्ध गराउँदै समुदायमा स्वास्थ्य सचेतना बढाउने कार्यमा सहयोग पु¥याइरहेका छन् । गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य सुनिश्चित गर्न विशेष पोषण कार्यक्रमहरू सञ्चालनमा छन् । यसले मातृ–शिशु स्वास्थ्य सुधार, पर्याप्त पोषण र स्वास्थ्य शिक्षा मार्फत दीर्घकालीन लाभ पु¥याउने लक्ष्य राखेको छ । त्यस्तैगरी, गरिब तथा आर्थिक रूपले असहाय व्यक्तिहरूका लागि आवश्यक उपचार र स्वास्थ्य सम्बन्धी सहयोग कार्यक्रमहरू पनि नियमित रूपमा उपलब्ध गराइरहेको छ । साथै, मोतियाबिन्दु (Cataract) भएका बिरामीहरूका लागि निःशुल्क उपचार सेवा पनि गाउँपालिकाले व्यवस्था गरेको छ, जसले दृष्टिहीनताको समस्या भएकालाई उपचार गराउने अवसर प्रदान गर्दै जीवनस्तर सुधार्न सहयोग पु¥याएको छ । यसरी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा सबै उमेर समूह र वर्गलाई लक्षित गरेर समग्र स्वास्थ्य सेवा पहुँच विस्तार गर्न निरन्तर प्रयास गरिरहेको छ । पछिल्लो समय हामी आयुर्वेद चिकित्सालाई पनि अगाडि बढाउनुपर्छ भनेर लागिपरेका छौँ । स्पा सेवालाई पनि अगाडि बढाउन लागिरहेका छौँ । आयुर्वेदसँग सम्बन्धित औषधिहरू पनि पालिकाले खरिद गरेर निःशुल्क वितरण गरिरहेको छ ।
लक्षित समुदायको समावेशी विकासका लागि गाउँपालिकाले हरेक वर्ष के–कस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ, साथै सीप विकास र संस्कृति संरक्षणका क्षेत्रमा के–कस्ता पहलहरू गरिएको छ ?
गाउँपालिकाले हरेक वर्ष लक्षित समुदायलाई केन्द्रमा राखेर विभिन्न सामाजिक समावेशी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई समेट्ने गरी लक्षित समुदायका कार्यक्रमहरू योजनाबद्ध रूपमा कार्यान्वयन गरिँदै आएका छन् । यस्ता कार्यक्रमहरूको उद्देश्य सामाजिक सुरक्षा, सहभागिता र अवसरको समान पहुँच सुनिश्चित गर्नु रहेको छ । यसका साथै स्थानीय पहिचान जोगाउने उद्देश्यले संस्कृति संरक्षण तथा प्रवद्र्धनसँग सम्बन्धित कार्यक्रमहरू पनि निरन्तर रूपमा सञ्चालन भइरहेका छन् । स्थानीय कला, संस्कार र परम्परालाई संरक्षण गर्दै नयाँ पुस्तासम्म हस्तान्तरण गर्न यस्ता कार्यक्रमहरू प्रभावकारी माध्यम बनेका छन् । लक्षित समुदायका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ उनीहरूको सीप विकासमा विशेष ध्यान दिइएको छ । त्यसका लागि विभिन्न किसिमका व्यावसायिक तथा सीपमूलक तालिमहरू प्रदान गरिँदै आएका छन्, जसले रोजगारी सिर्जना, आयआर्जन वृद्धि तथा जीवनस्तर सुधारमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ । यसरी गाउँपालिकाले समावेशी विकासको अवधारणालाई आत्मसात गर्दै सबै वर्ग र समुदायलाई विकासको मूलधारमा ल्याउन निरन्तर प्रयास गरिरहेको छ ।
प्रशासनिक कार्यलाई अझ बल बनाउन वा कार्यक्रमलाई पारदर्शी बनाउन के कस्ता गतिविधि सञ्चालन भएका छन् कसरी काम गर्नुभएको छ ?
गाउँपालिकाले सञ्चालन गर्ने सम्पूर्ण गतिविधि, योजना तथा कार्यक्रमहरू पारदर्शी रूपमा अघि बढाइँदै आएका छन् । अहिलेको डिजिटल प्रविधिको अधिकतम उपयोग गर्दै गाउँपालिकाले आफ्ना कामकारबाहीलाई खुला र सर्वसुलभ बनाउने नीति अपनाएको छ । यसअन्तर्गत योजना, बजेट, कार्यक्रम, सूचना तथा निर्णयहरू नियमित रूपमा गाउँपालिकाको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिँदै आएका छन् । सार्वजनिक सरोकारका हरेक विषयमा समयमै सूचना प्रकाशन गर्ने व्यवस्था गरिएको छ, जसले नागरिकलाई जानकारी पाउने अधिकार सुनिश्चित गरेको छ । विकास निर्माणका काममा उपभोक्ता समिति गठन गर्नुपर्दा समेत अगावै सूचना प्रकाशन गरिने गरिन्छ । सो सूचना सार्वजनिक भएपछि मात्रै सरोकारवाला नागरिकको सहभागितामा उपभोक्ता समितिहरू गठन गरिन्छन्, जसले प्रक्रिया पारदर्शी र उत्तरदायी बन्न मद्दत पु¥याएको छ । यसरी सूचना प्रविधिको प्रयोगमार्फत सुशासन कायम गर्ने, नागरिकको विश्वास अभिवृद्धि गर्ने र स्थानीय सरकारप्रति जवाफदेहीपन बढाउने दिशामा गाउँपालिकाले निरन्तर प्रयास गरिरहेको छ ।
पालिकामा तत्काल खानेपानीको अवस्था कस्तो छ सुधारका योजनाहरू के छ ?
विपद् आउनु अघिसम्म गाउँपालिकाभित्र खानेपानीको अवस्था क्रमशः सुधार हुँदै गएको थियो । तर पछिल्लो समय आएको विपद्का कारण खानेपानीसँग सम्बन्धित धेरै संरचनाहरू पूर्ण रूपमा ध्वस्त हुन पुगे, जसले गर्दा स्थानीयवासीहरूलाई खानेपानी आपूर्तिमा गम्भीर समस्या उत्पन्न भयो । दैनिक उपभोगका लागि समेत पानी अभाव हुने अवस्था सिर्जना भएपछि गाउँपालिकाले तत्काल समाधानतर्फ ध्यान केन्द्रित ग¥यो । विपद् पश्चात् गाउँपालिकाको पहल तथा विभिन्न सहयोगी संस्थाहरूको सहकार्यमा खानेपानीको क्षेत्रमा उल्लेखनीय सुधार हासिल भएको छ । यसका लागि बाहिरबाट ठूलो प्रयास गरेर सहयोग माग्नुपर्ने अवस्था आएन, किनभने विभिन्न गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले स्वतःस्फूर्त रूपमा सहयोग प्रदान गरे । विशेषगरी रेडक्रसजस्ता संस्थाबाट प्राप्त सहयोगले खानेपानी संरचना पुनःनिर्माण र विस्तारमा महत्वपूर्ण योगदान पुगेको छ । यसैक्रममा करिब २७ हजार मिटर खानेपानी पाइपलाइन विस्तार तथा जडानको काम सम्पन्न भइसकेको छ । साथै, खानेपानीको दिगो आपूर्ति सुनिश्चित गर्न विभिन्न स्थानमा इन्टेक ट्याङ्की निर्माणका कामहरू पनि सम्पन्न गरिएका छन् । यी प्रयासहरूको परिणामस्वरूप अहिले गाउँपालिकामा खानेपानीको अवस्थाले उल्लेखनीय सुधार देखाएको छ र स्थानीयवासीहरूले राहत महसुस गर्न थालेका छन् ।
कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि गाउँपालिकाले हाल के–कस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ?
कृषि क्षेत्रको विकास र किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । कृषिको उत्पादनशीलता बढाउनका लागि माटो परीक्षणका कार्यक्रमहरू सञ्चालन गरिएका छन्, जसबाट माटोको अवस्था अनुसार उपयुक्त बाली छनोट तथा मल व्यवस्थापन गर्न किसानहरूलाई सहयोग पुगेको छ । यसका साथै आधुनिक कृषि प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न उपकरण तथा सामग्रीहरू खरिद गरी किसानहरूलाई वितरण गरिँदै आएको छ । कृषि उत्पादन वृद्धि र लागत न्यूनीकरणका लागि विभिन्न शीर्षकअन्तर्गत अनुदानका कार्यक्रमहरू पनि नियमित रूपमा सञ्चालन भइरहेका छन् । खेतीबालीमा देखिने विभिन्न रोग तथा कीराको प्रकोप नियन्त्रणका लागि प्राविधिक सहयोग तथा आवश्यक उपायहरू अपनाइँदै आएका छन् । त्यस्तै पशुपालनतर्फ पनि विशेष ध्यान दिइएको छ । पशुमा निःशुल्क गर्भाधान (कृत्रिम गर्भाधान) का कार्यक्रमहरू सञ्चालन भइरहेका छन्, जसले पशु उत्पादन र गुणस्तर सुधारमा सहयोग पु¥याएको छ । यसैगरी, पशु तथा बाख्रामा लाग्ने विभिन्न रोगहरूको रोकथाम तथा उपचारका लागि निःशुल्क औषधि वितरण कार्यक्रमहरू पनि सञ्चालन गरिँदै आएका छन् । यसरी गाउँपालिकाले कृषि तथा पशुपालन दुवै क्षेत्रलाई समेट्दै किसानको जीवनस्तर उकास्न निरन्तर प्रयास गरिरहेको छ ।
पर्यटन प्रवर्धनलाई जोड दिन के कसरी काम भइरहेको छ ?
हाम्रो माया एउटा वरिष्ठ पाक छ यसलाई आधुनिक पद्धतिमा राख्नको लागि करिब साढे तीन करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यसको मुख्य उद्देश्य भनेको बाह्य पर्यटक भित्र आउने हो । हाम्रोमा तीन तले झरना छ । विपदपछि यो झरनाको संरचनामा केही काम गर्नुपर्ने भएकाले पालिकाले बजेट विनियोजन गरेर यसलाई तपाईँले व्यवस्थामा फर्काउने भनेर प्रयास गरिरहेका छौँ ।
आगामी वर्षहरूका लागि गाउँपालिकाले के–कस्ता दिगो विकासका योजना तथा प्राथमिकता तय गरेको छ, विशेषगरी सडक पूर्वाधार र शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा पर्यटन प्रवद्र्धनका क्षेत्रमा के–कस्ता लक्ष्य राखिएका छन् ?
आगामी वर्षहरूका लागि गाउँपालिका आफ्ना योजना र प्राथमिकताका विषयमा स्पष्ट रहेको छ । दिगो विकासको अवधारणालाई केन्द्रमा राख्दै दीर्घकालीन योजना अनुसार काम गर्ने लक्ष्य लिइएको छ । विशेषगरी पूर्वाधार विकासतर्फ प्राथमिकता दिँदै वडा नम्बर १ देखि ६ सम्मका सबै सडक सञ्जाललाई बाह्रै महिना सहज रूपमा सञ्चालन हुन सक्ने अवस्थामा पु¥याउनेतर्फ गाउँपालिकाले सक्दो प्रयास गर्ने योजना बनाएको छ । यसका अतिरिक्त हाल सञ्चालन भइरहेका नियमित विकास तथा सेवा प्रवाहका कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ । शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पर्यटन प्रवद्र्धनलगायतका क्षेत्रलाई समान रूपमा महत्व दिँदै समन्वयात्मक रूपमा अगाडि बढाइने नीति लिइएको छ । यी सबै क्षेत्रलाई समेटेर समावेशी, सन्तुलित र दिगो विकास हासिल गर्ने उद्देश्यका साथ आगामी योजनाहरू कार्यान्वयन गरिनेछ । यसरी गाउँपालिकाले दीर्घकालीन सोच, स्पष्ट लक्ष्य र जनमुखी कार्यक्रममार्फत समग्र विकासलाई गति दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

बेथानचोक साप्ताहिकबाट ।

ताजा अपडेट

२०८२ माघ २३, शुक्रबार

कर्मले मन जित्दै सुमन

यो साताको प्रचलित

खोजी गर्नुहोस