अभियानकै रुपमा स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छौं

  • काभ्रे खबर
  • / अन्तरर्वार्ता /
  • २०८२ माघ १४, बुधबार (१ हप्ता अघि)
  • १३७ पटक पढिएको

अभियानकै रुपमा स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छौं

० नगरपालिकाले यस आवका लागि स्वास्थ्यका कार्यक्रमहरु के के छन् ?
हाम्रोमा बिभिन्न शर्षिकमा गत बर्षहरुमा जस्तै काम भइरहेको छ । एचडीबी खोप अभियानसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने योजना रहेको थियो । उक्त कार्यक्रम प्रारम्भिक रूपमा फागुन महिनामा सञ्चालन गर्ने भनिएको भए पनि, निर्वाचनका कारण सम्भावित समय व्यवस्थापनमा चुनौती आउने देखिएकाले हामीले कार्यक्रमको मिति अगाडि सार्दै माघ महिनामै सम्पन्न गर्ने गरी आवश्यक तयारीसहित कार्य अघि बढाइरहेका छौँ । यसरी समयमै कार्यक्रम सम्पन्न गर्नाले लक्षित समूहमा खोप सेवा सहज रूपमा उपलब्ध गराउने र अभियानलाई प्रभावकारी रूपमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । विशेषगरी सुनौला हजार दिन कार्यक्रमलाई हामीले प्राथमिकताका साथ निरन्तरता दिइरहेका छौँ, जसले आमा र शिशुको स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पु¥याइरहेको छ । जनसङ्ख्याको अवस्था समयअनुसार घटबढ भइरहने र महामारीको स्वरूप पनि फरक–फरक हुने भएकाले, सम्भावित जोखिमलाई मध्यनजर गर्दै हामीले आपतकालीन कार्ययोजना पनि तयार पारेका छौँ । यस कार्ययोजनाले महामारी फैलिन नदिन तथा फैलिहालेमा त्यसको प्रभाव न्यूनिकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । यसका साथै, नगरपालिकाले विपद् व्यवस्थापनका लागि छुट्टै शीर्षकमा बजेट विनियोजन गर्दै आएको छ । कुनै आपतकालीन वा जटिल अवस्था आइपरेमा तत्काल आवश्यक स्रोतसाधन व्यवस्थापन गर्न सकिने गरी नगरपालिकाले थप बजेट उपलब्ध गराउन सक्ने अवस्था पनि रहेको छ । यसले महामारी तथा अन्य विपद्को समयमा नागरिकको स्वास्थ्य र सुरक्षालाई सुनिश्चित गर्न नगरपालिकालाई सक्षम बनाएको छ ।
०अभियानको रुपमा के के कार्य गर्र्दै हुनुहुन्छ ?
अभियानकै रूपमा हामीले विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छौँ । ती कार्यक्रमहरूमध्ये आँखा शिविर कार्यक्रम प्रमुख कार्यक्रमका रूपमा रहेको छ । हामीले यो कार्यक्रम गत वर्ष पनि सञ्चालन गरेका थियौँ । उक्त कार्यक्रम अत्यन्तै प्रभावकारी देखिएको र नागरिकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएकाले यस वर्ष पनि निरन्तरता दिने निर्णय गरेका छौँ । गत वर्ष नगरपालिकाका सबै वडामा सञ्चालन गरिएको आँखा शिविरबाट करिब १,५२३ जना नागरिकले प्रत्यक्ष लाभ लिनुभएको थियो । तीमध्ये १०० जनाभन्दा बढीको आँखाको सफल शल्यक्रिया (अपरेसन) गरिएको थियो। आँखामा मासु पलाउने समस्या २६ जनामा देखिएको थियो, जसमध्ये १९ जनाको अपरेसन सफलतापूर्वक सम्पन्न भएको थियो। साथै २४३ जना नागरिकलाई निःशुल्क चस्मा वितरण गरिएको थियो। यो सम्पूर्ण कार्यक्रम हामीले रेउकाईसँगको सहकार्य र समन्वयमा सम्पन्न गरेका थियौँ । यसका साथै, हामीले नसर्ने रोगहरूको पहिचान तथा रोकथामका लागि पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ । यसअन्तर्गत मधुमेह (सुगर), रक्तचाप (प्रेसर), पिसाब परीक्षण, बीएमआई (द्यःक्ष्) परीक्षणलगायतका स्वास्थ्य जाँचहरू गर्दै आएका छौँ । यी कार्यक्रमहरूले नागरिकहरूको स्वास्थ्य अवस्थाबारे प्रारम्भिक जानकारी प्राप्त गर्न र समयमै उपचारमा पहुँच पु¥याउन महत्वपूर्ण भूमिका खेलेका छन् । यस वर्ष मात्रै हालसम्म तीन हजारभन्दा बढी नागरिकको स्वास्थ्य जाँच सम्पन्न भइसकेको छ । चुनावी कारणले केही कार्यक्रमहरू अस्थायी रूपमा अघि सारिएको भए तापनि, केही कार्यक्रमहरू चुनावअघि नै सञ्चालन भएका छन् भने बाँकी कार्यक्रमहरू चुनाव सम्पन्न भएपछि निरन्तर रूपमा सञ्चालन गर्ने योजना रहेको छ । नगरपालिकाले नै बजेट विनियोजन गरी ‘नगरप्रमुख जेष्ठ नागरिक स्वास्थ्य जाँच कार्यक्रम’ तथा ‘नसर्ने रोग पहिचान कार्यक्रम’लाई विशेष प्राथमिकताका साथ अघि बढाउँदै आएको छ । यसैगरी, अभियानकै रूपमा विद्यालयहरूमा स्वास्थ्य शिक्षा प्रदान गर्ने र बालबालिकाको नियमित स्वास्थ्य जाँच गर्ने कार्य पनि भइरहेको छ । यस क्रममा स्वास्थ्यकर्मीहरूले बालबालिकाको स्वास्थ्य अवस्थाको स्क्रिनिङ गरी प्राथमिक उपचारमै समाधान गर्न सकिने, नगर अस्पतालमा उपचार गर्नुपर्ने तथा विशेषज्ञ चिकित्सकको सेवा आवश्यक पर्ने अवस्थाहरूको पहिचान गर्दै आएका छौँ । गत वर्ष हामीले इको हिमाल नेपालसँगको समन्वयमा विद्यालयस्तरमा आँखा, नाक, कान र घाँटीसम्बन्धी स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेका थियौँ। यस वर्ष पनि सोही संस्थासँग सहकार्य गर्दै सम्भव भएमा विद्यालयहरूमा दन्त स्वास्थ्यलाई विशेष प्राथमिकता दिँदै कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ । त्यसबाहेक, अन्य नियमित स्वास्थ्य सेवा तथा कार्यक्रमहरू पनि निरन्तर रूपमा सञ्चालन भइरहेका छन् ।
० कुनै महामारी वा विपत् आइ लाग्यो भने परिचालनको लागि कुनै पूर्व तयारी छ ?
प्रत्येक वर्षको सुरुवातमा हामी महामारी नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरणका लागि आवश्यक समितिहरू गठन गर्दै आएका छौँ । पालिकास्तरमा गठन गरिने महामारी व्यवस्थापन समितिको संयोजकत्व नगर प्रमुखज्यूले गर्नुहुन्छ भने स्वास्थ्य शाखा प्रमुख सदस्य–सचिवको भूमिकामा रहनुहुन्छ । यसरी गठित समितिहरूले महामारीको रोकथाम, तयारी तथा प्रतिकार्यका कार्यहरू समन्वयात्मक रूपमा सञ्चालन गर्दै आएका छन् । महामारी व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन स्वास्थ्य शाखा प्रमुखको संयोजकत्वमा रहने व्यवस्था भए पनि, हाम्रो पालिकामा मेडिकल अफिसर उपलब्ध भएकाले उहाँकै संयोजकत्वमा छुट्टै समिति गठन गरिएको छ। उक्त समितिमा प्यारामेडिक स्वास्थ्यकर्मीहरू, नर्सहरू तथा आवश्यक अन्य स्वास्थ्य जनशक्तिलाई समेटिएको छ । सबै भौगोलिक क्षेत्रलाई समेट्न सक्ने, आपतकालीन अवस्थामा तुरुन्त समय दिन सक्ने तथा फिल्डमा खटिन सक्ने क्षमतायुक्त व्यक्तिहरूलाई छनोट गरी समितिमा समावेश गरिएको छ । आवश्यकता परेमा यो समिति तत्काल परिचालन हुने गरी तयारी अवस्थामा राखिएको छ ।
० महिला तथा गर्भवती स्वास्थ्यका लागि कुनै विशेष कार्यक्रमहरु छन् ?
पालिकाले हरेक वर्ष सुत्केरी महिलाहरूको स्वास्थ्य तथा पोषण अवस्थालाई सुदृढ बनाउने उद्देश्यले सुत्केरी पोषण खर्च उपलब्ध गराउँदै आएको छ । यसका साथै, सुरक्षित सुत्केरीलाई प्रोत्साहन गर्ने उद्देश्यले सुत्केरी प्रोत्साहन रकमसमेत प्रदान गर्ने व्यवस्था गरिएको छ । यी कार्यक्रमहरूले गर्भावस्था र सुत्केरी अवस्थाका महिलाहरूलाई स्वास्थ्य संस्थामा सेवा लिन उत्प्रेरित गर्नुका साथै आमा र शिशुको स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पु¥याइरहेका छन् । यसैक्रममा ‘न्यूनतम सेवा मापदण्ड कार्यक्रम पनि पालिकामा सञ्चालनमा रहेको छ । हाल यो कार्यक्रम एउटा स्वास्थ्य संस्थामा मात्र बाँकी रहेको छ भने बाँकी सबै स्वास्थ्य संस्थाहरूमा सफलतापूर्वक कार्यान्वयन भइसकेको छ । नगर अस्पतालको हकमा भने जिल्ला जनस्वास्थ्य कार्यालयसँगको सहकार्यमा उक्त मापदण्ड पूरा गर्ने प्रक्रिया अघि बढाइने छ । गर्भवती, सुत्केरी महिला तथा कर्णधार कार्यक्रमअन्तर्गत नवशिशुहरूलाई लक्षित गरी पोषण खर्च प्रदान गर्ने स्पष्ट प्रणाली पनि पालिकाले विकास गरेको छ । यस प्रणालीमार्फत पोषणसम्बन्धी सहयोगलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्य लिइएको छ । गर्भवती महिलाहरूलाई थप सहजता प्रदान गर्ने उद्देश्यले प्रत्येक दुई–तीन महिनाको अन्तरालमा वडास्थित स्वास्थ्य संस्थाहरूमा घुम्ती सेवामार्फत भिडियो एक्स–रे (अल्ट्रासाउण्ड) सेवा उपलब्ध गराउने तयारी भइरहेको छ । यसका लागि आवश्यक पूर्वतयारीका कामहरू अघि बढाइएका छन् । उक्त कार्यक्रमले गर्भवती महिलाहरूलाई नगर अस्पताल वा टाढाका स्वास्थ्य संस्थामा धाउनुपर्ने बाध्यता कम हुने र समयमै गर्भावस्थाको अवस्था थाहा पाउन सहज हुने अपेक्षा गरिएको छ । यस कार्यक्रम सञ्चालनका लागि आवश्यक तालिम प्राप्त जनशक्ति पालिकासँग उपलब्ध रहेको छ । वडास्थित स्वास्थ्य संस्थाहरूले गर्भवती महिलाहरूलाई सेवा लिनका लागि बोलाउने, समन्वय गर्ने तथा सहजीकरण गर्ने भूमिकामा रहनेछन् । नगर अस्पतालमा सुत्केरी हुन आउने महिलाहरूका लागि आउन–जान निःशुल्क एम्बुलेन्स सेवा निरन्तर रूपमा प्रदान गर्दै आएको छ । साथै, अन्य कुनै अस्पतालमा रेफर गर्नुपर्ने अवस्था आएमा पनि बिरामीलाई लान–ल्याउन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइन्छ । जटिल स्वास्थ्य अवस्थाका सुत्केरी महिला तथा अन्य बिरामीहरूका लागि समेत यो सेवा निःशुल्क रूपमा प्रदान हुँदै आएको छ । त्यसका अतिरिक्त, मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका बिरामीहरूलाई उपचारका लागि स्वास्थ्य संस्थामा ल्याउने र घर फर्काउने कार्यका लागि पनि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएको छ । यसले मानसिक स्वास्थ्य सेवामा पहुँच बढाउन र प्रभावित व्यक्तिहरूलाई समयमै उपचारमा ल्याउन महत्वपूर्ण सहयोग पु¥याएको छ ।
० दरवन्दीको अवस्था के छ ?
अहिले चाहिँ नगरपालिकाले दरबन्दीको अवस्था फुलफिल गरेको छ । तथापि बागमती सरकारले नै पूरा गरिदिनुपर्ने चौथो तहको पदपूर्ति नहुदा हामीसँग अझै पनि केही पदहरू रिक्त रहेका छन् । केही स्वास्थ्य संस्थाहरूमा कर्मचारी अत्यावश्यक भएको अवस्था पनि छ । लोकसेवासँग पनि माग भएर गत वर्ष नै सूचना निकालेर अन्तर्वार्ता भइसकेका केही जनशक्तिको पदपूर्ति नभएको अवस्था छ । यसले गर्दा केही स्वास्थ्य संस्थामा अहिले पनि समस्या चाहिँ छ । आधारभूत अस्पतालमा लगभग पुग्ने जनशक्ति छ । अस्पतालले पनि भिडियो एक्सरेको सेवाहरू सुरुवात गरिसकेको छ। नर्सहरू पनि पर्याप्त हुनुहुन्छ तर वडास्थित केही स्वास्थ्य संस्थामा चाहिँ जनशक्ति थप गर्नुपर्नेछ ।
० जिल्ला स्वास्थ्य जनस्वास्थ्य कार्यालयसँगको समन्वय र कार्यक्रमको अवस्था के छ ?
सम्बन्धित निकायहरूसँगको समन्वय अत्यन्तै राम्रो रहेको छ र हामीले अधिकांश कार्यक्रमहरू सहकार्य तथा साझेदारीको माध्यमबाट सञ्चालन गर्दै आएका छौँ । सोही क्रममा केही स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरूलाई लक्षित गरी स्थलगत (अनसाइट) तालिमसमेत प्रदान गरिएको छ । यसले स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्न तथा सेवाको गुणस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेलेको छ । यसका अतिरिक्त, विभिन्न थप स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू पनि निरन्तर रूपमा सञ्चालन हुँदै आएका छन् । प्रदेशस्तरबाट सञ्चालन भई आएका कार्यक्रमहरूको हकमा भने कुन कार्यक्रम कसलाई उपलब्ध गराउने भन्ने विषय सम्बन्धित निकायको छनोट प्रक्रियामा निर्भर हुने भएकाले त्यसको निर्णय स्वाभाविक रूपमा उनीहरूकै जिम्मेवारीभित्र पर्दछ । तथापि, ती कार्यक्रमहरू पालिकामा प्रभावकारी रूपमा कार्यान्वयन होउन् भन्ने उद्देश्यले हाम्रो तर्फबाट आवश्यक समन्वय, सहजीकरण तथा सहयोग निरन्तर रूपमा हुँदै आएको छ । आगामी १४ गते सम्बन्धित निकायहरूसँगको समन्वयमा परिवार नियोजनसम्बन्धी एकदिने स्वास्थ्य क्याम्प सञ्चालन गर्ने तयारी गरिएको छ । उक्त क्याम्पमार्फत समुदायस्तरमा परिवार नियोजनसम्बन्धी सेवामा पहुँच विस्तार गर्ने लक्ष्य लिइएको छ । यसैगरी, केही गैरसरकारी तथा अन्य संस्थाहरू पनि पालिकामा आएर काम गर्न इच्छुक भएका छन् । ती संस्थाहरूको विवरण हामीले सम्बन्धित निकायलाई उपलब्ध गराइसकेका छौँ । साथै, स्वयंसेविकाहरूलाई लक्षित तालिमका लागि आवश्यक पर्ने विवरणसमेत माग गरिएकाले हामीले स्वयंसेविकाहरूको सम्पूर्ण विवरण उपलब्ध गराएका छौँ । अस्पतालको न्यूनतम सेवा मापदण्ड समीक्षा कार्यक्रमको हकमा भने, हाल हाम्रो पालिकामा आवश्यक जनशक्तिको अभाव रहेकाले उक्त कार्यक्रम सम्बन्धित निकायमार्फत सञ्चालन हुने गरी प्रक्रिया अगाडि बढाइएको छ । यसमार्फत अस्पतालको सेवा गुणस्तर सुधार तथा मापदण्डअनुसारको सेवा सुनिश्चित गर्ने लक्ष्य लिइएको छ ।
० नगरको एम्बुलेन्स कति छन ? अवस्था के छ ?
हाल पालिकामा सञ्चालन गर्न मिल्ने एम्बुलेन्स जम्मा दुईवटा रहेका छन् । तीमध्ये एउटा एम्बुलेन्सको सेवा अवधि १० वर्ष पूरा भइसकेकाले प्राविधिक रूपमा प्रयोगयोग्य नठहरिएकाले थन्क्याएर राखिएको अवस्था छ । अर्को एउटा एम्बुलेन्स भने हालसम्म सञ्चालनमा रहेको भए पनि, तत्कालका लागि इन्जिनमा देखिएको प्राविधिक समस्याका कारण मर्मतका लागि ग्यारेजमा पठाइएको छ । यस अवस्थाका कारण नियमित एम्बुलेन्स सेवा प्रभावित हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै, पालिकाले हाल वैकल्पिक व्यवस्थामार्फत आवश्यक सेवा प्रदान गरिरहेको छ । आपतकालीन अवस्थामा सेवामा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले अन्य संस्थाहरूसँग समन्वय गरी एम्बुलेन्स सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । यसै सन्दर्भमा, नेपाल रेडक्रस सोसाइटीको एउटा एम्बुलेन्स पनि पालिकामा उपलब्ध रहेको छ । उक्त एम्बुलेन्स सेवा प्रयोग गर्दा मर्मतसम्भार तथा सञ्चालन खर्चका लागि रेडक्रस सोसाइटीले नगरपालिकाबाट केही रकम लिने व्यवस्था रहेको छ। आपतकालीन अवस्थाहरूमा नागरिकलाई समयमै सेवा पु¥याउनका लागि पालिकाले आवश्यक समन्वय र सहकार्य गर्दै आएको छ ।
० आपतकालिन स्वास्थ्य सेवाका लागि तयारी अवस्था के छ ?
हाम्रो नगरपालिकाभित्र रहेका कुल ११ वटा स्वास्थ्य संस्थाहरू नेपाल सरकारद्वारा तोकिएको मापदण्ड तथा डिजाइनअनुसार निर्माण गरिएका छन् । तीमध्ये तीनवटा स्वास्थ्य संस्थाहरू भने हालसम्म पूर्ण रूपमा निर्धारित मापदण्ड पूरा गर्न नसकेको अवस्थामा रहेका छन् । ती संस्थाहरूमा आवश्यक संरचनागत सुधार तथा थप व्यवस्थापनको आवश्यकता देखिएको छ । मानव स्रोतको अवस्थालाई हेर्दा, स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको संख्या समग्रमा लगभग पर्याप्त रहेको छ । यसले स्वास्थ्य सेवा प्रवाहलाई निरन्तर र प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पु¥याएको छ । त्यसैगरी, औषधि, उपकरण तथा अन्य भौतिक साधनस्रोतको सन्दर्भमा आधारभूत (बेसिक) आवश्यकताहरू अधिकांश स्वास्थ्य संस्थाहरूमा पर्याप्त मात्रामा उपलब्ध छन् । भर्खरै सञ्चालनमा आएका नयाँ स्वास्थ्य संस्थाहरूलाई बाहेक अन्य पुराना स्वास्थ्य संस्थाहरूमा भने करिब ७५ देखि ८३ प्रतिशतसम्मको अनुपातमा आवश्यक साधनस्रोतहरू पूर्ण रूपमा उपलब्ध भइसकेका छन् । आगामी दिनहरूमा मापदण्ड नपुगेका स्वास्थ्य संस्थाहरूमा आवश्यक सुधार गर्दै साधनस्रोत तथा संरचनागत पक्षलाई थप सुदृढ बनाउने योजना रहेको छ, जसबाट नगरपालिकाभित्र स्वास्थ्य सेवाको पहुँच र गुणस्तर अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
० सरकारको स्वास्थ्य बीमाको कार्यक्रमको अवस्था के छ ?
हाम्रो नगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत प्रथम बिन्दु सेवा सुरु भएको धेरै समय भएको छैन । यस कार्यक्रमको क्रमिक कार्यान्वयनका क्रममा हाल पेसन (एबतष्भलत) सेवा औपचारिक रूपमा शुभारम्भ भइसकेको छ । यसपछि स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत समावेश भएका औषधिहरूको बिक्री तथा वितरणका लागि आवश्यक पूर्वतयारीका कामहरू पनि अगाडि बढाइरहेका छौँ । यद्यपि, हालको अवस्थालाई मध्यनजर गर्दा केही चुनौती र अन्योलतासमेत देखिएको छ । काठमाडौँलगायत देशका विभिन्न ठूला अस्पतालहरूले समेत विभिन्न कारणले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतका सेवाहरू बन्द गर्नुपरेको अवस्था रहेको छ । यस्तो परिस्थितिमा पूर्ण रूपमा नगरपालिकामै निर्भर रहने हाम्रोजस्तो सानो स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा लागू गर्दा, भविष्यमा सेवा प्रदान गरेबापतको भुक्तानी समयमै प्राप्त नहुने वा भुक्तानी प्रक्रियामा समस्या आउन सक्ने हो कि भन्ने आशङ्का पनि उत्पन्न भएको छ । यसका बाबजुद पनि, नागरिकलाई स्वास्थ्य बीमामार्फत सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आवश्यक तयारी र समन्वयका कार्यहरू निरन्तर रूपमा अगाडि बढाइरहेका छौँ । आगामी दिनहरूमा सम्बन्धित निकायसँग थप समन्वय गरी देखिएका समस्या तथा चुनौतीहरूलाई समाधान गर्दै कार्यक्रमलाई व्यवस्थित रूपमा कार्यान्वयन गर्ने योजना रहेको छ ।
० आगामी कार्ययोजना के के बनाउनु भएको छ ?
नगरपालिका स्वास्थ्यको कार्यक्रमप्रति निकै सकारात्मक रहेको छ । विद्यालय नर्सलाई हामीले हरेक स्वास्थ्यका कार्यक्रममा परिचालन गर्दै आएका छौँ । उहाँहरुले पनि गुनासो गर्ने ठाउँ सकेसम्म हामी राख्दैनौँ । आगामी निर्वाचनलाई लक्षित गर्दै हेल्थ डेक्सहरू राख्नको लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्दै मात्र विवरणहरू पठाएको अवस्था छ ।
पलाञ्चोक साप्ताहिकबाट ।

ताजा अपडेट

२०८२ माघ २३, शुक्रबार

कर्मले मन जित्दै सुमन

यो साताको प्रचलित

खोजी गर्नुहोस