डिजिटल विद्यालय निर्माण हाम्रो योजना हो


डिजिटल विद्यालय निर्माण हाम्रो योजना हो

यो आर्थिक बर्षमा शिक्षाको लागि भनेर कति बजेट विनियोजन गरिएको छ ? कस्ता–कस्ता खालका कार्याक्रमहरु छन् ?
हामीले नियमित गर्ने कार्यक्रमहरु जस्तै नै छन । गतवर्षको वर्षाले गर्दा केही विद्यालयहरूमा भौतिक क्षति पुगेको छ । अहिलेसम्म ती क्षतिग्रस्तै विद्यालयमा अध्यापन गराइरहेका छौँ । त्यसमा मर्मत संम्भारका कामहरूलाई पछिल्लो समय हामीले अगाडि बढाइरहेका छौँ । क्षति नै पुगेको त लगभग १२ वटा विद्यालयमा छ तर तत्कालीन अवस्थामा मर्मत सम्भार नगरी नहुने चार पाँचवटा विद्यालय छ । तिनलाई चाहिँ अहिले हामीले अगाडि बढाएका छौँ । ५०÷६० लाख खर्च नगरपालिकाले नै यसको लागि गर्दैछ भने केही रकम साझेदार संघसंस्थाहरूबाट सहयोग आउँदैछ । डिजिटल विद्यालय निर्माणको लागि काम गर्ने हाम्रो धुलिखेल नगरपालिकाको विगतदेखिको नै योजना हो । यसलाई पूर्णता दिनको लागि हामीले अहिले पनि काम निरन्तर रूपमा गरिरहेका छौँ । केही रकम नै विनियोजन गरेर सिमित विद्यालयमा यो कार्यक्रम पनि हामीले सञ्चालन गरिरहेका छौँ । अहिले सरकारी विद्यालयमा निःशुल्क शिक्षा छ र शुल्क मात्रै निःशुल्क भएर हुँदैन त्यसमा एउटा विद्यार्थीलाई धेरै कुराहरूको आवश्यक पर्छ । त्यसैले शैक्षिक सत्र २०८३ देखि कार्यान्वयन गर्ने गरी सीमान्तकृत र विपन्न बालबालिकाहरूको लागि पोशाक, स्टेसरी, खानपिन लगायतका सुविधा प्रदान गर्नको लागि एउटा कार्यविधि बनाउन लागेका छौँ । यो शैक्षिक सत्र २०८३ देखि लागू हुनेछ । शैक्षिक गुणस्तर सुधारको लागि अभिभावक, शिक्षक, म्यानेजमेन्ट टिमसँग कसरी काम गर्न सकिन्छ भन्ने विषयमा पनि अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग समन्वय गरेर हामी काम गर्दैछौँ । आन्तरिक रूपमा हामीले त्यसको बेसिक कामहरू चाहिँ गरिरहेका छौँ तर अझ थप कामलाई अगाडि बढाउन हामीले प्राथमिकताका साथ काम गरेका छौँ । यो कार्यक्रम पनि २०८३ देखि नै लागू हुनेछ । अरु त हाम्रा नियमित कार्यक्रमहरू नै छन् । नगरपालिकाले क्वालिटी इन्स्योर गर्नको लागि नयाँ पद्धतिको कार्यक्रम लागू गरेको छ । यो बर्ष शिक्षामा खेलकुदको समेत गरेर नगरको मात्र ३ करोड २९ लाख भन्दा धेरै छ । सङ्घीयको बजेट त शिक्षक तलबमा धेरै जान्छ । जुन २५ करोड भन्दा माथि छ ।
शिक्षक दरबन्दीको अवस्था कस्तो छ ?
धुलिखेल नगरपालिका भित्रका विद्यालयहरूमा शिक्षक दरबन्दीको व्यवस्थापनलाई लिएर पहिले केही चुनौतीहरू रहँदै आएका थियो । मावि र निमावी तहमा विषयगत दरबन्दी पूरा हुनुपर्ने भएता पनि, धेरै विद्यालयहरूमा आवश्यक संख्या अनुसार शिक्षकको दरबन्दी अपुग नै रहेको अवस्था देखिएको थियो । यसलाई दृष्टिगत गर्दै नगरपालिकाले कुल ११ वटा दरबन्दी सिर्जना गरेको छ । र यस कार्यलाई लागू गरेको छ वर्ष भइसक्यो । विशेषतः साइन्स र म्याथेम्याटिक्स (विज्ञान र गणित) विषयका लागि मात्र होइन, समग्र शैक्षिक आवश्यकताअनुसार शिक्षक दरबन्दी विस्तार गर्ने काम नगरपालिकाले निरन्तर गइरहेको छ । शिक्षण सहयोग अनुदान समाप्त भएको समयदेखि अधिकांश विद्यालयहरूमा शिक्षक अभावले गर्दा हाहाकार मच्चिएको थियो, तर धुलिखेल नगरपालिकाभित्रका विद्यालयहरूमा यस प्रकारको अनावश्यक अवस्था नआओस् भनेर, नगरपालिका अझै पहिले नै जिम्मेवारी बोध गर्दै आवश्यक व्यवस्थापन गुर्नेतिर लागिरहेको छ । यसैगरी, प्राथमिक तहका गणित र विज्ञान विषयका शिक्षकलाई प्राथमिकताको आधारमा नियुक्ति तथा व्यवस्थापन गर्ने काममा नगरपालिकाले केन्द्रित ढङ्गले पहल गरेको छ । थप रूपमा, माथिल्लो योग्यता भएका प्राथमिक तहका विषयगत शिक्षकहरूलाई समेत व्यवस्थापन गरिएकाले दरबन्दी सम्बन्धी समस्याहरूलाई धेरै हदसम्म समाधान गर्न मद्दत पुगेको छ । प्राथमिक तहमा पनि हाल १ सय १५ जना शिक्षकहरू दरबन्दीमा आबद्ध छन्, जसमा धेरैजसो शिक्षकहरू लामो समयदेखि शैक्षिक पेशामा संलग्न रहँदै आएका अनुभवी शिक्षण व्यावसायीहरू हुन् । यी शिक्षकहरूलाई समयसंगै प्रविधिमैत्री बनाउने तालिम तथा समर्थन कार्यक्रम पनि सञ्चालन गर्दै, हामीले उनीहरूलाई आधुनिक शिक्षण दृष्टिकोणमा अगाडि बढाइरहेका छौँ । यसरी, शिक्षक दरबन्दीलाई सहज, प्रभावकारी र विद्यार्थीसँग मेल खाने खालको बनाउँदै, नगरपालिकाले निरन्तर काम गर्दै आएको छ र यसलाई अघि बढाउने प्रतिबद्धता कायम राखेको छ ।
छात्राबुद्धिको कार्याक्रहरु कत्तिको छ ?
धुलिखेल नगरपालिकामा छात्रवृद्धि कार्यक्रमका लागि विभिन्न किसिमका पहलहरू दीर्घकालीन तथा अन्तरिम रूपमा सञ्चालन हुँदै आएका छन् । छात्रवृद्धिका लागि केही संघ–संस्थाहरूले पनि साथ दिइरहेका छन् । यी संघ–संस्थाहरूले आफैले पहिचान गरी योग्य विद्यार्थीहरूलाई छात्रवृद्धि प्रदान गर्ने कार्य गर्दै आएका छन् । यद्यपि, यस्तो पहल दीर्घकालीन कार्यक्रम नहुन पनि सक्ने सम्भावना रहँदा, विद्यार्थीहरूलाई सहयोग पुग्ने एउटा सकारात्मक माध्यमको रूपमा यो कार्यक्रम अर्थपूर्ण मानिन्छ । नगरपालिकाभित्र इमिसमा नै रहेनेगरी गरिब लक्षित छात्रवृद्धि कार्यक्रम पनि संचालनमा छ, जुन कार्यक्रम हामी स्वयं योजना र कार्यान्वयन गर्छौँ । यस अन्तर्गत छात्रवृद्धि पाउन योग्य विद्यार्थीहरूलाई छान्ने र प्रदान गर्ने प्रक्रिया सञ्चालन हुन्छ । विगतमा १५० जना विद्यार्थीले करिब पाँचदेखि छ हजार रुपैयाँसम्म छात्रवृद्धि पाएका छन् । त्यस्तै, गत वर्ष नौ विद्यार्थीले, र यस वर्ष दुई–तीन विद्यार्थीले छात्रवृद्धि प्राप्त गरेका छन् । यसले देखाउँछ कि कार्यक्रम निरन्तर रूपमा विद्यार्थीहरूलाई सहयोग पु¥याइरहेको छ । सरकारबाट प्रदान हुने नियमित छात्रवृत्ति कार्यक्रमहरू समेत निरन्तर जारी छ र योग्य विद्यार्थीहरूलाई उपलब्ध गराइँदै आएको छ । धुलिखेलमा रहेको दुई वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि विशेष रूपमा स्थानीय स्तरका विद्यार्थीहरूमाथि निःशुल्क अतिरिक्त कक्षाहरू सञ्चालन भइरहेका छन् । त्यस्तै, अन्य स्थानबाट आउने विद्यार्थीहरूका लागि ५०% छुट दिइने व्यवस्था समेत लागू गरिएको छ, जुन पनि छात्रवृत्ति कार्यक्रमकै एक अंग मानिन्छ । छात्रवृद्धि कार्यक्रम अन्तर्गत खान, पोसाक, स्टेशनरी तथा अन्य आवश्यक सहयोग प्राप्त गर्न समस्या सामना गरिरहेका सीमान्तकृत (लक्षित) विद्यार्थीहरूलाई सहायता पु¥याउने योजना पनि लागू भैरहेको छ । यसका लागि कार्यविधि निर्माणको प्रक्रिया अहिले बनावट चरणमा छ, जसले गर्दा संरचित र दीर्घकालीन रूपमा कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ । थप रूपमा, सञ्जीवनी विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूका लागि पनि विशेष रूपले छात्रवृद्धि तथा समायोजन कार्यक्रमहरू उपलब्ध छन् । यी विद्यार्थीहरू छात्रावासमै अध्ययनरत भएकाले, उनीहरूको आवश्यकता अनुसार छात्रवृद्धि तथा सहायता उपलब्ध गराउने गरिन्छ । यसरी, धुलिखेल नगरपालिकाले अलग–अलग तहमा छात्रवृद्धि कार्यक्रमहरूलाई समयसंगै रूपान्तरण गर्दै, व्यापक रूपमा विद्यार्थीहरूको शिक्षा तथा समावेशी विकासमा केन्द्रित पहलहरू अगाडि बढाइरहेको छ ।
विद्यालको संरचना निमार्ण तथा स्तरउन्नती गर्नको लागि पालिकाले कत्तिको सहयोग गर्ने गरेको छ ?
संरचनाका कुराहरू त पर्याप्त नै थिए । त्यति धेरै समस्या त थिएन । पञ्चकन्या विद्यालय जुन हाइवेकै छेउमा छ । त्यहाँ चाहिँ हामीले प्रदेश सरकारको पनि सहयोग लिएर बिल्डिङ बनाउने काम गरेका छौँ । त्यतिले मात्र नपुग्ने भएर विदेशी दातृ संस्थासँग पनि सहयोग लिने कि भनेर हामीले पहल गरिरहेका छौँ । यदि भएन भने हामी नगरको तर्फबाट भएपनि त्यसलाई कम्प्लिट गर्नेछौँ । संरचना निर्माण गर्नको लागि जहाँ जग्गाहरूको अभाव छैन ती विद्यालयहरूमा त हामीले काम गरिएका छौँ । सक्दो संरचनाहरू निर्माणमा काम गरिरहेका छौँ । संरचना राम्रो भएपनि विद्यालय मर्ज भएका कारण कतिपय बिल्डिङहरू यत्तिकै बसेको अवस्था पनि छ । यसरी बसेका विद्यालयहरू अन्य कार्यालयहरू स्थापना गराउन सकिन्छ कि भनेर नगरले नै काम पनि गरिरहेको छ । हुन त वर्षहरूमा गएको आएको वर्षातले गर्दा केही विद्यालयका संरचनाहरूमा क्षति पुगेको छ । बिल्डिङमै भन्दा पनि वरिपरिका पर्खाल, खेलमैदान लगायतका ठाउँमा क्षति पुगेको छ । यसको लागि प्रमोद समारको काम हामीले अहिले गरिरहेका छौँ । अरु संरचनाहरू पूर्ण रुपमा पुग्ने नै छ । लगभग २५ वटा जति बिल्डिङ त पछिल्लो वर्षहरूमा हामीले निर्माणै गर्यौ ।
अहिले त सामुदायिक विद्यालयमा पनि अंग्रेजी माद्यमबाट पढाउने कामहरु भइरहेको छ ? तपाईको पालिका भित्रका विद्यालयमहरुमा के छ ?
त्यति ठूलो विषय पनि होइन । यो यसमा भाषाका कुराहरु मात्रै हुन् । हाम्रो अधिकांश विद्यालयमा अंग्रेजी माध्यमबाट नै पठनपाठन हुन्छ । विज्ञान गणित र अङ्ग्रेजी विषयमा हामीले अंग्रेजी माध्यम नै प्रयोग गर्नुपर्ने हुन्छ । त्यहाँ अधिकांश शब्दहरू अंग्रेजी माध्यममै हुन्छन् । त्यसमा अंग्रेजी माध्यम नै लागू गर्नुपर्छ भन्ने होइन जुन पहिलेदेखि नै हुँदै आएको छ । नेपाली, समाजिक र स्थानीय करिकुलमका विषयहरू त नेपाली भाषामा नै अध्ययन गराउनुपर्यो । भाषा नै सिक्ने कुरा त अन्य कोहीसँग भाषिक गतिविधिलाई अगाडि बढाउने बित्तिकै अन्तरक्रिया हुनुपर्छ भन्ने छैन । अन्तर्राष्ट्रिय भाषा भएकाले सबैले प्राथमिकता दिनु चाहिँ सामान्य नै हो ।
सामुदायिक विद्यालयमा विद्यार्थी केन्द्रित गर्नको लागि पालिकाको तर्फबाट के गर्दै हुनुहुन्छ ?
हामीले गर्ने विभिन्न शैक्षिक गतिविधिहरू सबै विद्यार्थी अभिभावकलाई आकर्षण गर्ने तरिकाकै छन् । सामुदायिक विद्यालयमा जति पनि पछिल्लो समय गतिविधि बढ्दै गइरहेका छन् तिनले पक्कै पनि सकारात्मक प्रभाव पारिरहेको छ भन्ने हामीलाई लागेको छ । हाम्रोमा संस्थागत र सामुदायिक विद्यालय दुवैमा राम्रो कोर्डिनेसन छ । आफ्नो स्वइच्छाले निजी विद्यालय रोज्नु तल कुरा भयो तर शिक्षाको गुणस्तर वा अन्य सुविधाले गर्दा सामुदायिक विद्यालय छोडेको भन्ने छैन । बरु सामुदायिक विद्यालयमा चाहिँ पछिल्ला वर्षहरुमा विद्यार्थी फर्कँदोक्रम बढ्दो मात्रामा छ ।
धुलिखेल नगरपालिकाका विद्यालयहरू कतिको प्रविधिमैत्री छ ?
प्रविधिका कुराहरुमा हामी समयसँगै चल्नुपर्छ । समयसँगै नयाँ प्रविधिलाई पनि हामीले अपनाउँदै जानुपर्छ यसको लागि काम निरन्तर भइरहेको छ । दुई चारवटा कम्प्युटर राख्ने बित्तिकै त्यो आइसिटी भयो भन्न मिल्दैन । अहिले त्यसमा धेरै कुराहरू छ । इन्टरनेटका कुराहरू छन् । अहिले त झन स्मार्टबोर्ड लगायतका नयाँ कुराहरू र आइटी फ्रेन्डली टेक्नोलोजी अनुसारका सामग्रीहरू राख्ने कुराहरू छन् । एकैचोटि त गर्न सकिँदैन तर हामीले हरेक वर्ष क्रमश ल्याबहरूलाई विकसित गर्ने गरी काम गरिरहेका छौँ। फेरि संरचना बनाएर मात्रै भएन यसलाई सञ्चालन गर्नको लागि जनशक्तिका कुराहरु पनि हुन्छन् । यसको लागि छुट्टै शिक्षक राख्न सक्ने सम्भव पनि हुँदैन । हामीसँग मौजदात रहनुभएका शिक्षकहरूलाई नै परिचालन गर्नुपर्ने हुन्छ । त्यसैले हरेक वर्ष हामीले आइसिटीसँग सम्बन्धित रहेर शिक्षकहरूलाई क्रमश तालिम पनि दिँदै आएका छौँ । यसको लागि शिक्षक साथीहरूले पनि निकै चासो दिनुभएको छ ।

बेथानचोक साप्ताहिकबाट ।

ताजा अपडेट

२०८२ माघ २३, शुक्रबार

कर्मले मन जित्दै सुमन

यो साताको प्रचलित

खोजी गर्नुहोस