
चालु आर्थिक वर्षका लागि वडा कार्यालयमार्फत अघि सारिएका मुख्य योजना तथा कार्यक्रमहरू के–के हुन् ? ती कार्यक्रम कार्यान्वयनका लागि बजेटको अवस्था कस्तो छ ?
हाम्रो वडामा चालु आर्थिक वर्षमा सञ्चालन हुने कार्यक्रमहरू धेरै संख्या तथा विविध क्षेत्रका छन् । लगभग १५ वटा योजना अघि सारिएको छ । विशेष रूपमा विकास निर्माणका योजनाहरूमा पूर्वाधार क्षेत्र बढी महत्त्वका साथ समावेश भएका छन्, किनभने हाल हाम्रो क्षेत्रको आवश्यकता पनि यही पूर्वाधार सुधारमा बढी देखिएको छ । त्यसैले यसै क्षेत्रमा अधिकतम फोकस गर्दै योजनाहरू तर्जुमा गरिएका हुन् । हाम्रा सडकहरूको अवस्थालाई हेर्दा नयाँ सडक विस्तार गर्ने काम खासै आवश्यक छैन । लगभग “एक घर–एक बाटो” को अवस्था निर्माण भइसकेको छ । अब प्राथमिकता सडकहरूको स्तरउन्नति तथा पक्कीकरण तर्फ सरेको छ । बजेट अभावका कारण हाल सबै सडकलाई पक्कीकरण गरी दिन सम्भव भएन; तथापि, हामीले बिस्तारै क्रमबद्ध रूपमा पिच/पक्की सडक बनाउने हाम्रो लक्ष्य र योजना अनुरूप कार्यहरू अघि बढाइरहेका छौँ । त्यस्तै, “एक घर–एक धाराको अवधारणा” अन्तर्गत खानेपानीका मुहान संरक्षण लगायतका कार्यक्रमहरूलाई प्रोत्साहन गर्ने कामहरू पनि जोडदार रूपमा अगाडि बढाइएका छ । साथै, स्वास्थ्य, शिक्षा लगायतका सामाजिक सेवा क्षेत्रका कार्यक्रमहरूलाई समेत योजनामा समेटेर कार्यान्वयन गरिरहेका छौँ । यो आर्थिक वर्षका कार्यक्रमहरू मध्ये लगभग आधाआधि योजनाहरू सम्झौता भइसकेका छन् र कार्यान्वयनमा पनि छन्, भने बाँकी कार्यहरू तदारुकतापूर्वक सुरु गरिने तयारीमा छन् । हामीले क्रमशः ती सबै योजनाहरू पूरा गर्ने प्रतिबद्धता गरेका छौँ । हाम्रो वडाको चालु आर्थिक वर्षको कुल बजेट लगभग रू ७० लाख निर्धारण गरिएको छ र उक्त बजेट भित्रै रहँदै योजनाहरूको कार्य सञ्चालन भइरहेका छ । यस बजेटबाहेक संयुक्त÷सम्पूरक बजेटबाट थप कार्यक्रमहरू पनि अघि बढिरहेका छन् । विशेष उल्लेख्य कुरा, बिपी राजमार्गबाट आरनीसम्म जोड्ने करीब ९ किलोमिटर लामो सडक हाम्रो वडामा पर्ने भएकाले, यसलाई संघीय समपुरक बजेटबाट लगभग रू ३ करोड बजेट प्रदान गरि ठेक्का मार्फत स्तर उन्नति गर्ने कार्य थालिएको छ । यो सडक परियोजना हाम्रो वडाको महत्वपूर्ण योजनाहरूमा पर्दछ र सम्पन्न भएपछि वडाका धेरै नागरिकहरूले प्रत्यक्ष लाभ पाउनेछन् । कार्य हाल भर्खरै सुरु भएकोले अझै केही थप बजेटको आवश्यक पर्ने अवस्था हामीले देखेका छौँ, तर उपलब्ध रहेको बजेटबाट सक्दो बढीभन्दा बढी काम सम्पन्न गर्ने हाम्रो प्रयास जारी छ ।
स्थानीय तहको निर्वाचनका बेला जनतासामु प्रस्तुत गर्नुभएका प्रतिबद्धता तथा आश्वासनमध्ये कति पूरा भएका छन् र कति अझै बाँकी छन् ? बाँकी रहेका काम कहिलेसम्म सम्पन्न गर्ने लक्ष्य छ ?
चुनावी माहोलका क्रममा हामीले जे–जे काम गर्ने भनेर घोषणापत्रमा उल्लेख गरेका थियौँ, ति मध्ये धेरै कामहरू अहिलेसम्म पूरा भइसकेका छन् । तथापि, पूर्वाधार सम्बन्धी केहि कामहरू अझै बाँकी छन्, र ती कामहरू पनि हामी निरन्तर अग्रसर भएर अघि बढाइरहेका छौँ । हामीले घोषणापत्रमा उल्लेख गरेका सबै प्रमुख कामहरूमा हामीले पहल गरिसकेका छौँ । कतिपय कामहरू पूरा भइसकेका छन् भने कतिपय कामहरू अझै बाँकी छन्, जसको कारण हाम्रो कार्यकालमा केही समय अझ बाँकी भएकोले हामी ती सबै कामहरू उक्त अवधि भित्र सम्पन्न गर्ने लक्ष्यका साथ निरन्तर प्रयासरत छौँ । बाँकी रहेका कामहरूमध्ये सडकलाई ग्राभल गर्ने, पक्की नालिका निर्माण गर्ने जस्ता पूर्वाधार सुधारका योजना परेका छन् । त्यस्तै, विविध कृषि सामग्री, औजार तथा उपकरण वितरण जस्ता कार्यक्रमहरू पनि हामीले घोषणापत्रमा उल्लेख गरेका थियौँ र ती कार्यहरू निरन्तर अघि बढाइरहेका छौँ । केही कुराहरू गरिने भनिए पनि बजेटको सीमितताका कारण कार्यान्वयनमा ढिलाइ वा चुनौती आएको उदाहरणहरू पनि धेरै छन् । बजेट सीमित हुन्छ र आवश्यकता तथा माग धेरै हुन्छ, जसलाई सन्तुलन मिलाउनु भनेको चुनौतीपूर्ण कार्य हो । यद्यपि, यो कठिनाइलाई हामीले पहिचान गरेका छौँ र उपलब्ध स्रोत र परिस्थितिअनुसार सक्दो प्रयास गरिरहेका छौँ ।
‘घर–घरमै सिंहदरबार’ भन्ने अवधारणालाई व्यवहारमा उतार्न वडा स्तरबाट के–कस्ता कामहरू गरिएको छ ? यसले जनताको दैनिकीमा के परिवर्तन आएको छ ?
नागरिकहरू अहिले सेवाप्राप्तिमा निकै सन्तुष्ट र खुसी देखिनुहुन्छ । आवश्यक सेवा तथा सुविधा घर–दैलोमै पुग्ने भएकाले अब त पहिलेझैँ “कहाँ जाने?” भनेर खोज्दै हिँड्नुपर्ने अवस्था छैन । जनप्रतिनिधिहरू हरेक पाइलामा नागरिकसँगै रहनु भएको र सेवाहरू उपलब्ध गराइरहनु भएकोमा जनता समेत धन्यवाद र प्रशन्नता प्रकट गर्दै आउनु भएको छ । विकास तथा निर्माण सम्बन्धी कामहरू एकैपटक पूर्ण हुने कुराहरू त होइनन्, तर पहिलेभन्दा अहिले नागरिकहरूले धेरै सकारात्मक परिवर्तन र सुधार महसुस गरिरहेका छन् भन्ने कुरा हामीले प्रत्यक्ष देखेका छौँ । जनताको काममा कुनै प्रकारको पूर्वाग्रह नराख्दै हामीले समान रूपले सबैका कुरा सुन्ने र समाधानका प्रयास गर्ने चेतना राखेका छौँ । यसक्रममा नागरिकहरू पनि खुल्ला मनले आफ्ना कुरा भन्न हिचकिचाउनु नहुने बनाइरहनु भएको छ, र यसले स्थानीय लोकतान्त्रिक प्रक्रियालाई अझ सुदृढ बनाएको छ ।
शिक्षाको क्षेत्रमा वडा कार्यालयले के–कस्ता पहलहरू गरेको छ ? विशेषगरी आधारभूत तथा माध्यमिक शिक्षाको गुणस्तर सुधारका लागि के–कस्ता कार्यक्रम सञ्चालन भएका छन् ?
हाम्रो वडामा जम्मा दुईवटा विद्यालय रहेको छ । एउटा आधारभूत विद्यालय र अर्को माध्यमिक विद्याल८ । यी दुवै विद्यालयमा शैक्षिक गुणस्तर र भौतिक संरचनाको सुधार आवश्यक देखिएकोले हामीले बिस्तारै सुधार गर्दै अघि बढाएका छौँ । विद्यालयको दरबन्दीको सङ्ख्या कम रहेकोले शिक्षक तथा कर्मचारी आवश्यकतामा कमी हुँदै आएको थियो । यसलाई मध्यनजर राखेर वडाले स्वयं केही बजेट विनियोजन गरी दरबन्दीको परिपूर्ति र गुणस्तर सुधारतर्फ पहल गरेको छ । शैक्षिक गुणस्तरलाई अझ उकास्नका लागि विभिन्न अतिरिक्त क्रियाकलापहरू, जस्तै विद्यार्थी गतिविधि, तालिम तथा अन्य रुचिमूलक कार्यक्रमहरू समेत सञ्चालनमा ल्याइएका छन्, जसले अध्ययन प्रवृतिलाई सकारात्मक रूपले प्रभावित गर्ने विश्वास हामीले राखेका छौँ । समग्र रूपमा भन्नुपर्दा, वडाले शिक्षामा हुने सुधारका सबै आवश्यक कामहरूमा सक्रिय भूमिका लिएको छ र निरन्तर लगातार योगदान पु¥याइरहेको छ । हामीले विद्यालय तथा विद्यार्थीलाई जति सहयोग दिन सक्छौँ, त्यसमा कुनै कमी नहुने प्रतिबद्धताका साथ काम गरिरहेका छौँ ।
वडामा खानेपानीको समस्या समाधान गर्न वडाले के–के पहलहरू गरेका छन् ?
२०७२ सालको भूकम्पले हाम्रो वडाका अधिकांश खानेपानीका मुहानहरू सुकाएका थिए, जसका कारण वडाभित्र खानेपानीको गंभीर समस्या उत्पन्न भएको थियो । उक्त अवस्था समाधान गर्न हामी पछिल्ला वर्षहरूदेखि निरन्तर रुपमा लागिरहेका छौँ । केही स्थानका छुटेका मुहानहरूबाट अहिले पुनः केही पानी निकास हुन सुरु भएको छ, तर त्यो पूर्ण रूपमा पर्याप्त भने भएको छैन । यसै कारणले हामीले बैकल्पिक खानेपानी स्रोतहरू मार्फत समुदायसम्म पिउने पानी कसरी निरन्तर र दिगो रूपमा पु¥याउन सकिन्छ भनेर योजनाबद्ध रूपमा काम गरिरहेका छौँ । हामीले खानेपानी समस्यालाई प्राथमिकतामा राख्दै, चारवटा डिप बोरिङ जस्ता योजनाहरू सञ्चालन गरेका छौँ, जसमार्फत घरेलुस्तरमा पानी वितरणको काम भइरहेको छ । यसले गर्दा अहिले खानेपानी पाउन धेरै सहज र सरल भएको महसुस गरिएको छ र पानीको आपूर्तिमा जटिल अवस्था पहिलेजस्तो छैन । खानेपानी संयन्त्रहरूको लामो अवधिसम्म सञ्चालन सुनिश्चित गर्न र कुनै अवरोध नआउनोस् भनी वडाबाट मर्मत–संभारका लागि समेत आवश्यक बजेट विनियोजन गरिदै आएको छ, जसले सेवा निरन्तरता श्रमणामा मद्दत पु¥याइरहेको छ ।
हाम्रो वडामा स्वास्थ्य सेवा व्यवस्था कसरी सुधारिएको छ र नागरिकहरूले कस्तो सुविधा पाएका छन् ?
हाम्रो वडामा स्वास्थ्य संस्था विगतका वर्षहरूमा नै निर्माण भइसकेको भएकाले स्वास्थ्य सेवा प्रदानमा सहज वातावरण सुनिश्चित भएको छ । यस संस्थाबाट नेपाल सरकारले उपलब्ध गराउने सबै प्रकारका आवश्यक औषधिहरू निशुल्क प्रदान गरिने व्यवस्था गर्न हामी निरन्तर पहल गर्दै आएका छौँ । हाम्रो स्वास्थ्य संस्था एउटा सहरी स्वास्थ्य केन्द्रको रूपमा सञ्चालनमा रहेकाले वडाका सबै नागरिकहरूल आफ्नो स्वास्थ्य उपचार तथा सेवा सहज रूपमा प्राप्त गर्न पाएका छन् । त्यसका साथै, बेलाबखतमा स्वास्थ्य शिविर कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन्, जसले नागरिकहरूलाई थप सेवाहरू पुग्ने अवस्था बनाइरहेको छ । वडाबाट नै विशेष खालका स्वास्थ्य कार्यक्रमहरू नियमित रूपमा संचालन हुदै आएका छन्, जसले सामुदायिक स्वास्थ्य सेवामा थप मजबुत भूमिका खेलिरहेको छ ।
कृषिलाई आधुनिकीकरण, यान्त्रिकीकरण, व्यावसायीकरण तथा बजारीकरण गर्न वडा कार्यालयले के–कस्ता कार्यक्रम ल्याएको छ ?
कृषि क्षेत्रमा पनि हामीले हाम्रो सक्षम सीमाभित्र आउने सामान्य तथा प्रायोगिक खालका योजनाहरूलाई प्रभावकारी रूपमा अघि बढाएका छौँ । यस अन्तर्गत कृषकलाई कृषि सामग्री, औजार र उपकरणहरूको अनुदान कार्यक्रमहरू सञ्चालनमा रहेका छन्, जसले साना कृषकहरूलाई उत्पादनशीलता बढाउन सहयोग पु¥याइरहेकाछ । विशेषतः खेतबारी जोत्ने मिनी टिलरको माग अत्यन्तै धेरै भएकोले, यसलाई हामीले आफ्ना कार्यक्रमहरूमा समावेश गरेका छौँ । त्यसैगरी मकै छोडाउने मेसिन, स्प्रे पम्प जस्ता अन्य कृषि औजारहरूको पनि ठूलो माग देखिएको छ । यी सबै उपकरण र सामग्रीको वितरण सम्बन्धी छनोट प्रक्रिया अहिले अगाडि बढिरहेको छ । कुन उपकरण कस्को आवश्यकता र उपयोगका लागि उपयुक्त हुन्छ भन्ने आधारमा उचित छनोट र प्राथमिकता तय गरिरहेका छौँ । यसै सिलसिलामा कृषक छनोटको कामहरू पनि भइरहेको छ । यो कार्यक्रम आगामी फागुन महिनामा आयोजना गरिने योजनाअनुसार अघि बढाइनेछ, जसले कृषकलाई थप प्रोत्साहन र सहयोग प्रदान गर्ने अपेक्षा राखिएको छ ।
महिला, दलित, अल्पसंख्यक तथा पछाडि पारिएका वर्गहरूको सशक्तीकरणका लागि वडाबाट के–कस्ता विशेष कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ?
हामीले सबै क्षेत्रलाई समेट्ने गरी योजना तथा कार्यक्रमहरू संचालन गर्ने नीति अपनाएका छौँ । कुनै एक वर्षमा यदि कुनै व्यक्ति, समूह वा समुदायलाई समेट्न नसकेको कार्यक्रम भए, त्यसलाई अर्को वर्षमा पनि समावेश गर्ने व्यवस्था मिलाएर काम गर्दै आएका छौँ । हाम्रो वडामा दलित समुदाय लगभग ७० घरधुरीको हाराहारीमा आबद्ध छन् । वर्षौंदेखि युवाहरू वैदेशिक रोजगारीतर्फ जान मन पराउने भएता पनि, कतिपयले नेपालमै बसेर केही सिप सिकेर आत्मनिर्भर बनाउने चाहना व्यक्त गरे । विशेषगरी जुत्ता सिलाउने तालिम दिने सम्बन्धी माग धेरैजसो आएको थियो, र हामीले त्यो मागलाई सम्बोधन गर्दै उक्त तालिम सञ्चालन गरेका छौँ । यस योजना अन्तर्गत केही समूहहरू गठन गरी आवश्यक मेसिन तथा उपकरणहरूको खरिद पनि सम्पन्न भएको छ, र अहिले ती गतिविधिहरू नियमित रूपमा सञ्चालन भईरहेका छन् । यो पहल हाम्रो प्रभावकारी कार्यक्रमभित्रै पर्ने एक महत्वपूर्ण गतिविधि हो । त्यस्तै, महिलाहरूलाई लक्षित गरी ब्युटी पार्लर, अचार बनाउने लगायतका सीपप्रधान तालिमहरू पनि सञ्चालन भएका छन्, जसले महिलाहरूलाई आत्मनिर्भर र सशक्त बनाउने दिशामा सहयोग पु¥याइरहेका छन् । सिप सिकाउने र सीपलाई उपयोगी रूपमा परिचालन गर्ने बाटो देखाउने८८ हाम्रो मुख्य उद्देश्य हो । काम त उहाँहरूले नै गरिरहनु भएको हो तर, हामी उहाँहरूलाई प्रोत्साहनयोग्य कार्यक्रमहरू ल्याउन कुनै कञ्जुसाई गर्दैनौँ र गरेका पनि छैनौँ । आगामी दिनमा पनि यस्तो खालका कार्यक्रमहरू निरन्तरता र दिगोपनसहित सञ्चालन भइरहने हाम्रो प्रतिबद्धता छ ।
वडा कार्यालयबाट सम्पादन हुने सबै सेवासम्बन्धी कामहरूको नागरिक बडापत्र तयार गरी सबैले देख्ने स्थानमा राखिएको छ ? यदि छैन भने कहिलेदेखि लागू गर्ने योजना छ ?
हामीले नागरिकबडापत्र तयार गरी सार्वजनिक गरेका छौँ । वडाबाट संचालन तथा सम्पादन हुने सबै कामहरूलाई पारदर्शी र न्यायोचित तरिकाले सञ्चालन गर्न हामी कटिबद्ध छौँ, र त्यही प्रतिबद्धतालाई बडापत्रमार्फत स्पष्ट रूपमा समेटिएको छ । बडापत्रमा सयौं कार्यक्रम र सेवाका बारेमा विस्तृत रूपमा उल्लेख गरिएको हुन्छ, जसले गर्दा नागरिकहरूले कुन–कुन सेवा, सुविधा तथा कार्यक्रम वडाबाट उपलब्ध हुनेछन् भन्ने विषयलाई सजिलै समझ्न, हेर्न र पत्ता लगाउन सक्ने अवस्था रहेको छ ।
पलाञ्चोक साप्ताहिकबाट ।