गाउँपालिकाको कामहरुमा पारदर्शिता छ

  • काभ्रे खबर
  • / अन्तरर्वार्ता /
  • २०८२ फागुन १, शुक्रबार (४ हप्ता अघि)
  • ३०७ पटक पढिएको

गाउँपालिकाको कामहरुमा पारदर्शिता छ

चालु आर्थिक वर्षमा गाउँपालिकामा सम्पन्न हुन लागेका कार्यक्रमहरू के के छन् भइसकेका कार्यक्रमहरू के के छन् ?
गाउँपालिकाले विभिन्न शीर्षकअन्तर्गत सञ्चालन गरिएका कार्यक्रमहरू प्रभावकारी रूपमा सम्पन्न गर्न निरन्तर पहल गर्दै आएको छ । केही कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन् भने केही कार्यान्वयनको चरणमा छन् र केही योजनाहरू आगामी दिनमा सम्पन्न गर्ने लक्ष्यसहित अगाडि बढाइँदै छन् । समग्र विकासलाई ध्यानमा राख्दै योजनाबद्ध रूपमा काम भइरहेको छ । गत आर्थिक वर्षदेखि प्राथमिकतामा राखिएको महत्त्वपूर्ण कार्यक्रममध्ये लालपुर्जा वितरण कार्यक्रम प्रमुख हो । लामो समयदेखि नागरिकहरूले भोगचलन गर्दै आएका तर स्वामित्व प्रमाणपत्र प्राप्त गर्न नसकेका जग्गाको समस्या समाधान गर्न यो कार्यक्रम सुरु गरिएको हो । हाल वडा नम्बर ७ र ८ मा उक्त कार्यक्रम सञ्चालन भइरहेको छ । यस कार्यक्रममार्फत वास्तविक भोगाधिकार भएका नागरिकलाई कानुनी रूपमा स्वामित्व प्रदान गर्ने लक्ष्य राखिएको छ । लालपुर्जा वितरण भएपछि नागरिकहरूलाई बैंकिङ सेवा, ऋण सुविधा तथा अन्य सरकारी सेवामा सहज पहुँच पुग्ने विश्वास गरिएको छ । यसले स्थानीय बासिन्दामा कानुनी सुरक्षा र आत्मविश्वास समेत बढाउने अपेक्षा गरिएको छ । यसैगरी, गाउँपालिकाको आफ्नै प्रशासकीय भवन निर्माणको प्रक्रिया पनि अगाडि बढाइएको छ । हालसम्म गाउँपालिकासँग पर्याप्त पूर्वाधार नहुँदा वडा कार्यालयबाटै सेवा प्रवाह गर्दै आइएको थियो । सीमित स्रोतसाधन र भौतिक संरचनाको अभावका बीच सेवा प्रवाह गर्नुपरेको अवस्थालाई अन्त्य गर्दै व्यवस्थित र सुविधासम्पन्न प्रशासकीय भवन निर्माण गर्ने उद्देश्यले बजेट विनियोजन गरिएको हो । गाउँपालिकाको आफ्नै स्रोत तथा स्थानीय पूर्वाधार विकास कार्यालयको साझेदारीमा उक्त भवन निर्माणको योजना अघि बढाइएको छ । प्रारम्भिक रूपमा १५ करोड रुपैयाँ लागत अनुमान गरिएको भए पनि प्रतिस्पर्धात्मक ठेक्का प्रक्रियापछि करिब ९ करोड २७ लाख रुपैयाँमा सम्झौता सम्पन्न भएको छ । यसले लागत घटाएर बचत गर्न सफल भएको देखिन्छ । हाल निर्माण कार्य ठेक्का सम्झौताअनुसार अगाडि बढिरहेको छ । निर्माण सम्पन्न भएपछि सेवा प्रवाह थप व्यवस्थित, छिटोछरितो र प्रभावकारी हुने विश्वास गरिएको छ । यी ठूला योजनाबाहेक गाउँपालिकाले नियमित रूपमा सञ्चालन हुँदै आएका कार्यक्रमहरूलाई पनि निरन्तरता दिएको छ । शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, महिला तथा बालबालिका, सामाजिक सुरक्षा लगायत विषयगत शाखाबाट सञ्चालन हुँदै आएका कार्यक्रमहरू नियमित रूपमा कार्यान्वयन भइरहेका छन् । विषयगत शाखाहरूले आफ्नो वार्षिक कार्ययोजनाअनुसार कार्यक्रम सञ्चालन गर्दै आएका छन् र आवश्यकताअनुसार सुधार तथा परिमार्जन पनि गर्दै आएका छन् । स्थानीय आवश्यकताका आधारमा साना–ठूला पूर्वाधार विकासका कामहरू, सामाजिक सचेतनामूलक कार्यक्रमहरू तथा लक्षित वर्गका कार्यक्रमहरूलाई पनि प्राथमिकताका साथ अघि बढाइएको छ । गाउँपालिकाले पारदर्शिता, जवाफदेहिता र प्रभावकारितालाई केन्द्रमा राखेर योजना तर्जुमा तथा कार्यान्वयन गरिरहेको जनाएको छ । समग्रमा हेर्दा गाउँपालिकाले विकासका विविध आयाम समेट्दै योजनाबद्ध रूपमा काम गरिरहेको देखिन्छ । सम्पन्न भइसकेका कार्यक्रमहरूको मूल्यांकन गर्दै, सञ्चालनमा रहेका योजनाहरूलाई समयमै पूरा गर्ने र बाँकी कार्यक्रमहरूलाई पनि प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता गाउँपालिकाले जनाएको छ । आगामी दिनमा समेत नागरिकको अपेक्षाअनुसार सेवा प्रवाहलाई अझ सुदृढ र प्रभावकारी बनाउँदै लैजाने लक्ष्य राखिएको छ ।
भौतिक पूर्वाधार सुदृढीकरणदेखि र वातावरण संरक्षणसम्म पालिकाको सक्रियता कत्तिको छ ?
भौतिक पूर्वाधारको क्षेत्रलाई अझ सुदृढ र प्रभावकारी बनाउने उद्देश्यका साथ गाउँपालिकाले विगतका वर्षदेखि नै विभिन्न विकास निर्माणका कार्यहरू सञ्चालन गर्दै आएको छ । ती कार्यहरू अहिले पनि निरन्तर रूपमा अघि बढिरहेका छन् । नागरिकको दैनिकीसँग प्रत्यक्ष रूपमा जोडिने पूर्वाधारलाई प्राथमिकतामा राख्दै योजनाबद्ध रूपमा काम गरिरहेको पालिकाको भनाइ छ । भौतिक पूर्वाधारअन्तर्गत हाल आधारभूत अस्पताल निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ । अस्पताल निर्माण सम्पन्न भएर छिट्टै गाउँपालिकालाई हस्तान्तरण हुने प्रक्रियामा पुगेको बताइएको छ । अस्पताल सञ्चालनमा आएपछि स्थानीय बासिन्दाले सामान्य उपचारका लागि टाढा जानुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ । यसले स्वास्थ्य सेवाको पहुँच र गुणस्तर दुवैमा सुधार ल्याउने अपेक्षा गरिएको छ । यसैगरी, वडा नम्बर ७ र ९ का वडा भवन निर्माण कार्य पनि सम्पन्न भइसकेका छन् । हाल ती भवनहरूबाट सेवा सुचारु गर्ने तयारी भइरहेको छ । आफ्नै वडा भवनबाट सेवा प्रवाह हुन थालेपछि सेवाग्राहीलाई थप सहजता मिल्ने र प्रशासनिक कार्यहरू प्रभावकारी हुने पालिकाले जनाएको छ ।
सडक पूर्वाधारको क्षेत्रमा कत्तिको काम भएको छ ?
सडक पूर्वाधारको क्षेत्रमा पनि विभिन्न कामहरू सञ्चालन भइरहेका छन् । बाटो ढलान गर्ने, स्तर उन्नति गर्ने तथा नयाँ सडक खोल्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ । वडा नम्बर ३ अन्तर्गत सडक चौडा गर्ने र बाटो विस्तार गर्ने काम पालिकाको आफ्नै जेसीबी प्रयोग गरेर भइरहेको छ । हाल सडक कटिङको काम तीव्र रूपमा अघि बढिरहेको छ । अधिकांश क्षेत्रमा सडक सञ्जाल विस्तार भइसकेको र अब क्रमशः नाली निर्माण तथा सडक पक्कीकरणका कामहरू सुरु गरिएको पालिकाले जनाएको छ । गत वर्षहरूमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण क्षति पुगेका स्थानहरूमा पनि पालिकाले आवश्यक मूल्याङ्कन गरी पुनःनिर्माण तथा मर्मतका कामहरू गरिरहेको छ । जोखिमयुक्त क्षेत्र पहिचान गरी दीर्घकालीन समाधानतर्फ ध्यान दिइएको छ ।
कृषिका क्षेत्रमा पालिका स्तरमा के कस्ता कामहरु भइरहेको छ ?
भौतिक पूर्वाधारसँगै पालिकाले कृषि क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राखेको छ । कृषिमा नियमित रूपमा सञ्चालन हुँदै आएका कार्यक्रमहरूले निरन्तरता पाएका छन् । यस केन्द्रलाई कृषि ज्ञान केन्द्रको रूपमा विकास गर्ने लक्ष्य पनि पालिकाले लिएको छ । कृषि क्षेत्रको समग्र विकासलाई प्राथमिकतामा राख्दै गाउँपालिकाले नियमित रूपमा सञ्चालन गर्दै आएका कार्यक्रमहरूलाई निरन्तरता दिएको छ । कृषिको आधुनिकीकरण, उत्पादन वृद्धी र आयआर्जन विस्तार गर्ने उद्देश्यले विभिन्न योजनाहरू कार्यान्वयन भइरहेका छन् । विशेषगरी कृषि यान्त्रिकीकरण र उत्पादित वस्तुको बजारीकरणमा केन्द्रित कार्यक्रमहरूले निरन्तरता पाएका छन् । किसानलाई आधुनिक कृषि उपकरणको प्रयोगतर्फ उन्मुख गराउने, उत्पादन लागत घटाउने र उत्पादकत्व बढाउने लक्ष्यका साथ यान्त्रिकीकरणलाई प्रोत्साहन गरिएको छ । यसै क्रममा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने योजना अघि बढाइएको छ । उक्त केन्द्रमार्फत स्थानीय स्तरमा उत्पादन हुने जडीबुटी तथा कृषि उपजको प्रशोधन, मूल्य अभिवृद्धि, बजारीकरण तथा ब्रान्डिङ गर्ने लक्ष्य राखिएको छ । यसले स्थानीय उत्पादनलाई पहिचान दिलाउनुका साथै किसानको आम्दानी वृद्धि गर्ने अपेक्षा गरिएको छ । दीर्घकालीन रूपमा उक्त प्रशोधन केन्द्रलाई कृषि ज्ञान केन्द्रका रूपमा विकास गर्ने योजना रहेको छ, जहाँ किसानलाई आवश्यक प्राविधिक ज्ञान, तालिम र परामर्श उपलब्ध गराइनेछ । कृषि प्राविधिकहरूलाई किसानको घरदैलोमै पुगेर सेवा दिने व्यवस्था गरिएको छ । माटो परीक्षण, अम्लीयता परीक्षण तथा अन्य प्राविधिक परामर्श प्रदान गरिँदै आएको छ । माटो परीक्षणपछि आवश्यक मल तथा औषधि प्रयोगबारे सल्लाह दिइन्छ । आवश्यक परेमा विभिन्न कृषि औषधि तथा सामग्री वितरण गर्ने काम पनि भइरहेको छ । यसले किसानलाई वैज्ञानिक तरिकाले खेती गर्न सहयोग पुगेको छ । साथै किसानले उत्पादन गरेका कृषि सामग्री बजारसम्म पु¥याउन सहजीकरण गर्ने कार्य पनि पालिकाले गरिरहेको छ, जसले उत्पादित वस्तुको उचित मूल्य प्राप्त गर्न सहयोग पुगेको छ । वडा नम्बर ४ मा अल्लोबाट धागो उत्पादन गर्ने कार्यक्रम सञ्चालनमा छ । यस कार्यक्रममार्फत स्थानीय स्रोतसाधनको उपयोग गरी रोजगारी सिर्जना गर्ने र परम्परागत सीपलाई आधुनिक बजारसँग जोड्ने प्रयास गरिएको छ । विद्यार्थी तथा स्थानीय युवाहरूलाई हस्तकलामा दक्ष बनाउँदै आत्मनिर्भरतातर्फ उन्मुख गराउने उद्देश्यले विभिन्न तालिम कार्यक्रमहरू सञ्चालन गरिएका छन् । कृषि तथा वनजन्य कच्चा पदार्थबाट मूल्यवान् उत्पादन कसरी गर्न सकिन्छ भन्ने विषयमा व्यावहारिक तालिम प्रदान गरिएको छ । पशुपालन क्षेत्रलाई सुदृढ बनाउन भैँसी फार्म सञ्चालनका लागि प्रोत्साहनमूलक कार्यक्रमहरू ल्याइएको छ । प्रत्येक वडामा पशुप्राविधिकहरू नियुक्त गरिएको छ । ती पशुप्राविधिकमार्फत निःशुल्क वा न्यून शुल्कमा पशु स्वास्थ्य सेवा तथा आवश्यक औषधि वितरण गर्ने व्यवस्था मिलाइएको छ । यसले पशुपालक किसानलाई प्रत्यक्ष राहत पुगेको छ र पशुधनको उत्पादकत्व वृद्धि गर्न सहयोग पुगेको छ । समग्रमा कृषि, पशुपालन, सीप विकास र वातावरण संरक्षणलाई एकीकृत रूपमा अघि बढाउँदै गाउँपालिकाले स्थानीय विकासलाई दिगो र आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण कदम चालिरहेको देखिन्छ ।
वातावरण संरक्षणका निम्ति पालिका स्तरमा कुनै अभियाका कार्यक्रम संचालन भएको छ त ?
यसका अतिरिक्त चालु आर्थिक वर्षमा “डढेलोमुक्त गाउँपालिका” अभियान सुरु गरिएको छ । वन तथा जंगल क्षेत्रमा लाग्ने डढेलो नियन्त्रण गर्न र वातावरण संरक्षण गर्न अभियानकै रूपमा कार्यक्रम अघि बढाइएको हो । यसका लागि सम्पूर्ण समुदाय, प्रहरी प्रशासन, जनप्रतिनिधि तथा जिल्ला वन कार्यालयसँग समन्वय गरेर सचेतनामूलक कार्यक्रम, निगरानी तथा नियन्त्रणसम्बन्धी कार्यहरू सञ्चालन भइरहेका छन् । वातावरण संरक्षण र प्राकृतिक स्रोतको दिगो उपयोगलाई केन्द्रमा राखेर योजना कार्यान्वयन भइरहेको छ ।
शैक्षिक सुधारमा पालिका स्तरमा के कस्ता कार्यक्रमक भएको छ ?
शैक्षिक सुधारका लागि विभिन्न कामहरू भइरहेको छ । हामीले विद्यालयमा दिवा खाजाका कार्यक्रम सञ्चालन गरिरहेका छौँ । नेपाल सरकारद्वारा जम्मा कक्षा पाँचसम्म मात्रै खाजाको व्यवस्था हुँदै आएको छ भने पालिकाले त्यसमा थप खर्च व्यवस्थापन गरेर कक्षा १२ सम्म नै खाजाको व्यवस्थापनको काम गरेका छौँ । प्रति विद्यार्थी लगभग २५ रुपैयाँका दरले रकम व्यवस्थापन गरेका छौँ । यो कार्यक्रम पालिकाको आफ्नै स्रोतबाट सञ्चालन भएको हो। यसले निकै राम्रो प्रभाव पनि परेको छ ।
“पढ्दै कमाउँदै” कार्यक्रमको प्रभावकारी कत्तिको छ ?
“पढ्दै कमाउँदै” कार्यक्रमलाई पनि प्राथमिकताका साथ अघि बढाइएको छ । यसअन्तर्गत विद्यालयहरूलाई मौरीघार उपलब्ध गराइएको छ मौरीपालनसम्बन्धी रेखदेख तथा व्यवस्थापनको जिम्मा विद्यालय र विद्यार्थीलाई नै दिइएको छ । मौरीपालनबाट प्राप्त आम्दानी विद्यार्थीहरूले आफ्नै शैक्षिक आवश्यकताका लागि उपयोग गर्न सक्ने वातावरण तयार गरिएको छ । यसले विद्यार्थीमा श्रमको सम्मान, सीप विकास र आत्मनिर्भर सोचको विकास गर्ने अपेक्षा गरिएको छ ।
गाउँपालिकाको समग्र प्रशासनिक सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन के–कस्ता सुधारका कामहरू भइरहेका छन् ?
अहिले हाम्रा अधिकांश सेवाहरूलाई हामीले प्रविधियुक्त बनाएका छौँ । सबै कुरालाई डिजिटल मार्फत नै प्रस्तुत गर्ने कुरामा हाम्रो विशेष जोड रहँदै आएको छ । कर्मचारीहरूबाट पनि नियमित सेवाका साथै पारदर्शी र छिटोछरी त्यो सेवालाई थप जोड दिएका छौँ । सम्पूर्ण वडा कार्यालय, विद्यालय, पालिका र र स्वास्थ्य कार्यालयहरूमा यी हाजिरीको व्यवस्थापन भइसकेको छ । पालिकाबाटै सबै यी हाजिरीको मोनिटरिङ हुने गरेको छ । सेवाग्राही आइसकेपछि कम्तिमा पनि आधी घण्टाभित्र उहाँले सेवा पाइसक्ने वातावरण तय गर्न विशेष दिइरहेका छौं । यदि कुनै खालका गुनासो आयो भने पनि ती गुनासोलाई तत्काल सम्बोधन गर्ने खालका कार्यक्रमहरू छन् । हामीसँग डिजिटल नागरिक बडापत्र पनि छ । हरेक सरकारी संस्थामा गुनासो पेटिकाहरू छन्, जहाँ नागरिकहरुले गुनासो राख्न सक्छन् । जसको सुनवाई तत्कालै गर्न सक्ने वातावरण निर्माण गर्नतर्फ हामी उन्मुख छौँ । वृद्धवृद्धाहरूको लागि घर घरमै पुगेर स्वास्थ्य संस्थाहरूले उपचारमा टेवा पुग्ने खालका कार्यक्रम गरिरहेका छौँ । वृद्धवृद्धा घरभेट कार्यक्रम भनेर सञ्चालन गरेका छौँ । सम्पूर्ण स्वास्थ्य टिमले घरघरमा गएर भिडियो एक्सरे सहितको सेवा प्रदान गर्दै आएको छ । महिलाहरूको स्वास्थ्य अवस्था चेकजाँचको लागि ग्रामीण भिडियो एक्सरे कार्यक्रम सञ्चालन गरेका छौँ । गर्भवती, जेष्ठ नागरिक लगायत लक्षित वर्गहरूलाई समेट्ने गरी निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ । दीर्घ रोगका लागि गाउँपालिकाले विभिन्न रोगहरूमा निःशुल्क औषधि सेवा दिँदै आएको छ । न्यून शुल्क र निःशुल्क रुपमा नेपाल सरकारले जति पनि औषधिहरु वितरण गर्छ त्यो बाहेक थप रोगहरूमा पनि औषधि उपचार दिँदै आएको छ ।
घरघरमै पुगेर दिने सेवा चाहिँ स्वास्थ्यमा मात्रै छ कि अन्य क्षेत्रमा पनि छन् ?
विशेषगरी सामाजिक क्षेत्रका विषयलाई समेट्ने गरी यो कार्यक्रमलाई अगाडि बढाएका हौँ । त्यसैले स्वास्थ्य मात्र होइन सामाजिक क्षेत्रका अरु विषयमा पनि छन् । स्वास्थ्य अवस्था नै कमजोर भएपछि स्वास्थ्य संस्था वा अन्य गएर चेकजाँच गराउन सहज वातावरण होस् भन्ने हिसाबले हामीले स्वास्थ्यमा अलि बढी जोड दिएका मात्रै हौँ । सामाजिक सुरक्षा भत्ताका विषयहरू पनि छन् । सकभर हामीले घरघरमै पु¥याउँछौं, जो वडामा आउन सक्नुहुन्छ उहाँहरुलाई वडाबाट पनि वितरण हुन्छ । जेष्ठ नागरिकहरूको रजिस्टरको कामहरू हामीले आउन सक्नुभएन भने घरमै पुगेर पनि गराएका छौँ । राष्ट्रिय परिचयपत्र बनाउन धुलिखेलसम्म जान नसक्नेहरूको लागि हामीले वडा वडामै बोलाएर पनि बनाउन सक्ने वातावरण बनाएका छौँ । त्यो बाहेक हामीले अन्यथा प्रशासनिक कामहरूमा पनि यो कुरालाई लागु गर्ने अभ्यास गर्न प्रयास गरिरहेका छौँ ।
गाउँपालिकाको आय–व्यय र विकास योजनासम्बन्धी जानकारी सर्वसाधारणसम्म पु¥याउन कस्ता संयन्त्र अपनाइएको छ ?
चालु आर्थिक वर्षमा के के कार्यक्रम सञ्चालन हुन्छ अथवा बजेटहरु के कति रहन्छन् भन्ने कुरा रातो किताबमा उल्लेख गरिएको हुन्छ । जुन किताब हरेक नागरिकले पाउन सक्ने वातावरण हामीले निर्माण गरेका छौँ । त्रैमासिक रूपमा सार्वजनिक सुनवाई पनि हुन्छ । जहाँ कुन शीर्षकमा के कति खर्च भयो भन्ने कुरा स्पष्ट हुन्छ । कार्यक्रमहरू सम्पन्न भइसकेपछि वार्षिक प्रगति के कस्तो छ भने राम्रो वेबसाइटमा पनि हेर्न सकिन्छ । गाउँपालिकाले आफ्नो कामहरूमा पारदर्शिता अपनाएको छ ।

बेथानचोक साप्ताहिकबाट ।

ताजा अपडेट

खोजी गर्नुहोस