यो आर्थिक वर्षमा हाम्रो वडामा ठुला र गौरवका योजनाहरू अलि कम छन्

  • काभ्रे खबर
  • / अन्तरर्वार्ता /
  • २०८२ फागुन ६, बुधबार (३ हप्ता अघि)
  • ७४ पटक पढिएको

यो आर्थिक वर्षमा हाम्रो वडामा ठुला र गौरवका योजनाहरू अलि कम छन्

चालु आर्थिक वर्षका लागि वडा कार्यालयमार्फत अघि सारिएका मुख्य योजना तथा कार्यक्रमहरू के–के हुन् ? ती कार्यक्रम कार्यान्वयनका लागि बजेटको अवस्था कस्तो छ ?
त्यस्तो कुनै विशेष नयाँ खालको कार्यक्रम यस वर्ष लागू गरिएको छैन । विगतदेखि सञ्चालन हुँदै आएका कार्यक्रमहरूलाई नै निरन्तरता दिँदै व्यवस्थित रूपमा अघि बढाइएको छ । नियमित रूपमा सञ्चालन भइरहेका कार्यक्रमहरू यथावत् राखी तिनको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ, ताकि सेवा प्रवाह र विकासको गति अवरुद्ध नहोस् । यस वर्षको तुलनात्मक रूपमा नयाँ पहल भनेको सामुदायिक जङ्गलहरूलाई उत्पादनमुखी बनाउने योजना हो । हाल अव्यवस्थित अवस्थामा रहेका जङ्गल क्षेत्रहरूलाई व्यवस्थापन गर्दै त्यहाँ उपयोगी तथा आम्दानीमुखी बोटबिरुवाहरू रोप्ने कार्यक्रम सञ्चालन गरिँदैछ । विशेषगरी जडीबुटी तथा फलफूलजन्य बिरुवाहरूलाई प्राथमिकतामा राखिएको छ, जसले वातावरण संरक्षणसँगै स्थानीय नागरिकको आयआर्जन वृद्धि गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । यस कार्यक्रममार्फत जङ्गल संरक्षण, हरियाली प्रवद्र्धन र आर्थिक गतिविधि विस्तार यी तीनै पक्षलाई सँगै अघि बढाउने लक्ष्य राखिएको छ । यस बाहेक विकास निर्माणसँग सम्बन्धित अन्य कार्यहरू भने नियमित योजनाअनुसार निरन्तर रूपमा सञ्चालन भइरहेका छन् । सडक, पूर्वाधार, सरसफाइ तथा सेवा प्रवाहका कामहरू पूर्ववत् रूपमा अघि बढाइँदै छन् र आगामी दिनहरूमा पनि तिनलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै क्रमिक रूपमा विस्तार गर्ने योजना रहेको छ । वडाको कुल बजेट (सिलिङ) जम्मा ४० लाख रुपैयाँ मात्र भएकाले सोही सीमित स्रोतभित्र रहेर विभिन्न शीर्षकअन्तर्गतका कामहरू सञ्चालन गर्ने प्रयास गरिरहेका छौँ । उपलब्ध बजेटलाई अधिकतम प्रभावकारी बनाउने उद्देश्यले योजना छनोटदेखि कार्यान्वयनसम्म सावधानीपूर्वक अघि बढाइएको छ । केही कार्यक्रमहरू सम्पन्न भइसकेका छन्, केही कार्यान्वयनको चरणमा छन् भने केही आगामी अवधिमा सम्पन्न गर्ने गरी तयारी अवस्थामा रहेका छन् । हामीले महिला, पर्यटन, बालबालिका, कृषि, शिक्षा तथा स्वास्थ्यजस्ता आधारभूत क्षेत्रलाई समेटेर समग्र विकास हुनेगरी कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ ।
चालु आर्थिक बर्षमा ठूला योजनाहरू कतिवटा छ ?
ठूला योजनाहरू यस वर्ष हाम्रो वडामा अलि कम मात्र रहेका छन् । हालसालै मात्रै एउटा सडकको काम हामीले सफलतापूर्वक सम्पन्न गरेका छौँ । तिनकुने–ज्यामिरकोट जाने बाटो ठूलो परियोजनाभित्र पर्ने मार्ग हो, जसमा हाल धमाधम निर्माण कार्य चलिरहेका छन् र क्रमशः सम्पादन हुँदै गएको स्थिति छ । त्यस्तै, जोरपाटी–देवीस्थान जाने अर्को बाटो छ । यसका लागि आवश्यक प्रक्रिया पूरा भई ठेक्का खोलेको छ र अहिले सम्झौताको चरणसम्म पुगेको छ । यो वर्षको मुख्य लक्ष्य पूर्वाधार विकासमै जोडिएको थियो र उक्त लक्ष्य क्रमशः पूरा हुँदै गएको छ । आगामी पाँच वर्षभित्र पाँचवटा प्रमुख बाटोलाई कालोपत्रे गर्ने हाम्रो उद्देश्य रहेको थियो । यसअनुसार नै हरेक वर्ष एक–एक वटा बाटोलाई कालोपत्रे गर्ने योजना सफलतापूर्वक कार्यान्वयन गर्दै आएका छौँ । यसरी पूर्वाधार विस्तारमा निरन्तरता दिँदै लक्ष्यअनुसार काम अघि बढाइएको छ, र आगामी दिनमा पनि यस्तै योजनालाई निरन्तरता दिइने छ ।
कृषिलाई आधुनिकीकरण, यान्त्रिकीकरण, व्यावसायीकरण तथा बजारीकरण गर्न वडा कार्यालयले के–कस्ता कार्यक्रम ल्याएको छ ?
हाम्रो वडामा कृषि क्षेत्रको ठूलो सम्भावना रहेको र यो प्रत्यक्ष रूपमा नागरिकको आयआर्जनसँग जोडिने भएकाले कृषि क्षेत्रमा विशेष प्राथमिकता दिइएको छ । विशेषगरी अनुदानमा आधारित कार्यक्रमहरू सञ्चालन गरेर उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको छ । उत्पादनमुखी गतिविधिलाई केन्द्रमा राख्दै किसानलाई प्रोत्साहन गर्ने नीति लिइएको छ । यसका अतिरिक्त नगरपालिका कृषि विकास कार्यालय लगायत विभिन्न संस्थाहरूबाट समेत अनुदान तथा प्राविधिक सहयोग आउने व्यवस्था मिलाइएको छ । हाल विशेष रूपमा प्लास्टिक टनेल (घर) निर्माण गरी आधुनिक तथा वैज्ञानिक तरिकाबाट तरकारी खेती प्रवद्र्धन गर्ने कार्यक्रम अघि सारिएको छ, जसले वर्षभरि उत्पादन सम्भव बनाउने अपेक्षा गरिएको छ । त्यसैगरी बाली संरक्षणका लागि रासायनिक विषादीको प्रयोग घटाउँदै जैविक पद्धतिबाट किरा व्यवस्थापन गर्ने अभियान पनि सञ्चालन गरिएको छ । विभिन्न कृषक समूहहरूमा आई.पी.एम. (समेकित कीरा व्यवस्थापन) सम्बन्धी तालिम प्रदान गरिँदै आएको छ । किसानहरूले घर वरपर सहजै उपलब्ध हुने सामग्री प्रयोग गरेर जैविक विषादी तयार पार्ने अभ्यासलाई पनि प्रोत्साहन गरिएको छ, जसले उत्पादनलाई सुरक्षित, स्वस्थ र वातावरणमैत्री बनाउने लक्ष्य राखिएको छ ।
वडामा खानेपानीको समस्या समाधान गर्न वडाले के–के पहलहरू गरेका छन् ?
खानेपानीको अवस्था हाम्रो वडामा निकै सन्तोषजनक रहेको छ । “एक घर एक धारा” अभियान सफलतापूर्वक सम्पन्न गरिसकिएको छ, जसका कारण अहिले प्रायः प्रत्येक घरधुरीमा खानेपानीको सहज पहुँच पुगेको छ । कतिपय स्थानमा त एउटै घरमा एकभन्दा बढी धारा जडान भइसकेको अवस्था रहेको छ, जसले गर्दा दैनिक उपभोगका लागि पानी अभाव हुने समस्या पूर्ण रूपमा समाधान भएको अनुभव गरिएको छ । आगामी दिनमा सञ्चालन हुन लागेको सुनकोशी बृहत् खानेपानी आयोजना सुरु भएपछि खानेपानीको उपलब्धता अझ सुदृढ हुने अपेक्षा गरिएको छ । यस आयोजनाले दीर्घकालीन रूपमा पानी आपूर्तिलाई स्थायी र भरपर्दो बनाउने विश्वास लिइएको छ । हालको अवस्थामा खानेपानीको कुनै उल्लेखनीय समस्या छैन । भविष्यमा कुनै कारणवश समस्या उत्पन्न भए पनि वैकल्पिक स्रोतहरू उपलब्ध हुने व्यवस्था गरिएको छ । त्यसैले वडावासीलाई खानेपानी अभावको चिन्ता नरहने गरी दीर्घकालीन समाधानतर्फ आवश्यक तयारीसमेत अघि बढाइएको छ ।
शिक्षाको क्षेत्रमा वडा कार्यालयले के–कस्ता पहलहरू गरेको छ ? विशेषगरी आधारभूत तथा माध्यमिक शिक्षाको गुणस्तर सुधारका लागि के–कस्ता कार्यक्रम सञ्चालन भएका छन् ?
हामीले शिक्षा क्षेत्रमा व्यावहारिक शिक्षासँगै वैज्ञानिक शिक्षालाई समेत अघि बढाउनुपर्ने कुरामा विशेष जोड दिएका छौँ । विद्यार्थीहरूले पाठ्यपुस्तकमा सीमित ज्ञान मात्र नभई व्यवहारिक सीप पनि हासिल गर्न सकून् भन्ने उद्देश्यले विभिन्न अतिरिक्त शैक्षिक गतिविधिहरूलाई शिक्षासँगै जोडेर अगाडि बढाइएको छ । यसै सन्दर्भमा एउटा विद्यालयमा सांगीतिक कक्षा सञ्चालन गर्ने योजना अघि सारिएको छ । कम्तीमा हप्ताको दुई दिन नियमित रूपमा सांगीतिक कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ, जसले विद्यार्थीको सिर्जनात्मकता र प्रतिभा विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । गत वर्ष आवश्यक सामग्रीहरू खरिद गरिसकिएको थियो भने यस वर्ष उक्त कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न छुट्टै बजेटसमेत विनियोजन गरिएको छ । त्यसैगरी विद्यालयहरूको भौतिक सुधारका कार्यहरू पनि क्रमिक रूपमा अघि बढाइएका छन् । कक्षाकोठा व्यवस्थापन, शैक्षिक वातावरण सुधार तथा आवश्यक संरचना मर्मत–सम्भारका कामहरू प्राथमिकताका साथ सञ्चालन भइरहेका छन् । समग्रमा शैक्षिक गुणस्तर सुधार गर्न वडाले गर्न सक्ने सम्भावित सबै पक्षहरूमा ध्यान दिँदै योजनाबद्ध रूपमा काम अगाडि बढाइएको छ । आगामी दिनहरूमा पनि यी कार्यक्रमहरूलाई निरन्तरता दिँदै थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।
महिला, दलित, अल्पसंख्यक तथा पछाडि पारिएका वर्गहरूको सशक्तीकरणका लागि वडाबाट के–कस्ता विशेष कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ?
लक्षित समुदायका लागि विगत वर्षहरूमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएका छन् । यी कार्यक्रमहरू वडास्तरमा मात्र नभई नगरपालिका स्तरबाट पनि कार्यान्वयन भएका छन् । तर दुःखको कुरा के भने, लक्षित समुदायको उत्थानका लागि योजना बनाउँदा अपेक्षित सहभागिता भने प्राप्त हुन सकेको छैन । विशेषगरी अनुदानसँग प्रत्यक्ष रूपमा सम्बन्धित कार्यक्रमहरूमा मात्र केही आकर्षण देखिने गरेको छ । तर जीविकोपार्जन तथा आर्थिक आत्मनिर्भरता बढाउने उद्देश्यले सञ्चालन गरिने तालिम, सीप विकास वा आयआर्जनमुखी कार्यक्रमहरूमा भने अपेक्षाकृत चासो कम देखिन्छ । कतिपय अवस्थामा कार्यक्रम तय भइसकेपछि सहभागीको अभावका कारण स्थगित गर्नुपरेको अवस्था पनि आएको छ । यस परिस्थितिलाई ध्यानमा राख्दै समुदायलाई प्रत्यक्ष लाभ पुग्नेगरी केही कार्यक्रमहरूमा सामग्री नै खरिद गरेर वितरण गरिएको उदाहरणसमेत रहेको छ । सहभागिता बढाउने र कार्यक्रमको प्रभावकारिता सुनिश्चित गर्ने उद्देश्यले आगामी दिनहरूमा पनि समुदायलाई प्रेरित गर्ने तथा व्यवहारिक रूपमा आकर्षित गर्ने खालका कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरिएको छ ।
विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी केही छ ?
विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारीका कामहरू हामीले निरन्तर रूपमा गर्दै आएका छौँ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक केही सामग्रीहरूको व्यवस्थापन गरिएको छ भने त्यसका लागि जिम्मेवार विभिन्न समितिहरू पनि गठन गरिएका छन् । यसका अतिरिक्त, हाम्रो क्षेत्रमा विपद् आउन सक्ने सम्भावित स्थानहरूको पहिचान गर्ने कार्य नियमित रूपमा भइरहेको छ, जसले समयमै सचेतना अपनाउन र क्षति न्यूनीकरण गर्न सहयोग पु¥याउने विश्वास गरिएको छ । विपद् घटिसकेपछि कसरी सुरक्षित रहन सकिन्छ भन्ने विषयमा पनि विभिन्न उपायहरूको खोजी र अभ्यास भइरहेको छ । जोखिम न्यूनीकरणसँगै उद्धार र सुरक्षाका प्रक्रियाहरूलाई प्रभावकारी बनाउन निरन्तर तयारी राखिएको छ । हाम्रो क्षेत्रमा सशस्त्र प्रहरीको ब्यारेक समेत रहेको हुँदा उनीहरूसँग समन्वय गरेर काम गर्दै आएका छौँ । आवश्यक पर्दा उनीहरूले प्रत्यक्ष रूपमा सहयोग गर्नुका साथै जनसमुदायस्तरमा आएर विभिन्न प्रकारका सचेतना तथा उद्धारसम्बन्धी प्रशिक्षण कार्यक्रमहरू पनि सञ्चालन गराउँदै आएका छन् । यसले स्थानीयवासीलाई विपद्को समयमा सुरक्षित रहन आवश्यक ज्ञान र सीप प्राप्त गर्न मद्दत पुगेको छ ।
बालमैत्री वडा भइसकेपछि यसलाई कायम राख्न के के नीति अवलम्बन गर्नुभएको छ ?
गत वर्ष नै हामीले वडालाई बालमैत्री घोषणा गरेका छौँ । वास्तवमा यो घोषणा एकैपटक सम्भव भएको होइन, यसको तयारी भने पहिलेदेखि नै क्रमशः अघि बढाइएको थियो । आवश्यक सूचकहरू पूरा गर्ने क्रममा विभिन्न कार्यक्रम तथा सुधारात्मक कार्यहरू सञ्चालन गर्दै बिस्तारै मापदण्डहरू पूरा गरिएका थिए । ती सबै प्रक्रिया सम्पन्न भएपछि मात्र वडालाई औपचारिक रूपमा बालमैत्री घोषणा गरिएको हो । बालमैत्री घोषणा भइसकेपछि पनि हाम्रो जिम्मेवारी यत्तिकै समाप्त भएको ठानिएको छैन । बरु घोषणा पश्चात् प्राप्त उपलब्धिलाई दिगो बनाउने र अझ प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले आवश्यक सुधार तथा थप गतिविधिहरूलाई निरन्तरता दिइएको छ । बालअधिकार संरक्षण, सुरक्षित वातावरण, शिक्षा तथा सहभागितालाई सुनिश्चित गर्न आवश्यक परेका पक्षहरूमा निरन्तर ध्यान दिँदै काम अघि बढाइँदै आएको छ । आगामी दिनहरूमा पनि बालमैत्री अवस्थालाई कायम राख्दै थप सुदृढ बनाउने लक्ष्यका साथ आवश्यक कार्यक्रम तथा पहलहरूलाई निरन्तर रूपमा अगाडि बढाइनेछ ।
स्थानीय तहको निर्वाचनका बेला जनतासामु प्रस्तुत गर्नुभएका प्रतिबद्धता तथा आश्वासनमध्ये कति पूरा भएका छन् र कति अझै बाँकी छन् ? बाँकी रहेका काम कहिलेसम्म सम्पन्न गर्ने लक्ष्य छ ?
हाम्रो वडामा विगतमा सबैभन्दा ठूलो समस्या खानेपानीको नै थियो । धेरै घरधुरीमा पानीको पहुँच नहुँदा विद्यालय जाने बालबालिकाहरूले बिहानैदेखि दुई–तीन गाग्री पानी बोकेर मात्र विद्यालय जानुपर्ने अवस्था रहेको थियो । भौगोलिक रूपमा क्षेत्र अलि दुर्गम तथा कठिन भएकाले पनि यो समस्या लामो समयसम्म कायम रहेको थियो । तर अहिले उक्त समस्या पूर्ण रूपमा समाधान गरिएको छ । हरेक घरमा मिटर जडित धारा विस्तार गरिसकिएको छ, जसका कारण दैनिक जीवनयापन निकै सहज बनेको छ । यसलाई नै हाम्रो कार्यकालको सबैभन्दा ठूलो उपलब्धिका रूपमा लिएका छौँ । यस बाहेक हाम्रो तर्फबाट अन्य कुनै अत्यधिक ठूला प्रतिबद्धताहरू भने थिएनन् । वडाभित्र उत्पन्न हुने दैनिक तथा आकस्मिक समस्याहरूलाई समयमै समाधान गर्ने भन्ने मुख्य उद्देश्यका साथ काम गर्दै आएका छौँ । साना–ठूला सबै प्रकारका समस्यामा हामी नागरिकहरूसँगै उभिएका छौँ र यसैमार्फत जनप्रतिनिधि हुनुको अनुभूति नागरिकलाई दिलाउन सफल भएका छौँ भन्ने विश्वास छ । अझै पनि हाम्रो कार्यकालको केही समय बाँकी रहेको छ र बाँकी अवधिलाई पनि अधिकतम सदुपयोग गर्दै नागरिकको आवश्यकता र अपेक्षाअनुसार कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
वडा कार्यालयबाट सम्पादन हुने सबै सेवासम्बन्धी कामहरूको नागरिक बडापत्र तयार गरी सबैले देख्ने स्थानमा राखिएको छ ? यदि छैन भने कहिलेदेखि लागू गर्ने योजना छ ?
नागरिक बडापत्र राखिएको छ । फ्लेक्स वाला बडापत्र छ । हाम्रो वडा अलि हाइटमा रहेकाले यो फेरि मिलाउनुपर्ने चाहिँ छ ।
हाम्रो वडामा स्वास्थ्य सेवा व्यवस्था कसरी सुधारिएको छ र नागरिकहरूले कस्तो सुविधा पाएका छन् ?
स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू हामीले विभिन्न खालका गर्दै आएका छौँ, जसले नागरिकलाई प्रत्यक्ष स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । विगतमा सानो टहरोमा सीमित स्वास्थ्य सेवा सञ्चालन भएको थियो । तर अहिले स्वास्थ्य सेवा सुविधालाई अझ व्यवस्थित, गुणस्तरीय र दीगो बनाउन आवश्यक पूर्वाधारमा ठूलो लगानी गरिएको छ । यसैक्रममा स्वास्थ्य शाखाको लागि दुईतले पक्की भवन निर्माण गरिएको छ र त्यही भवनमार्फत अहिले स्वास्थ्य सेवा नियमित रूपमा दिइँदैछ । यो पनि हाम्रो एउटा महत्वपूर्ण उपलब्धि हो । हामीले गुणस्तरीय स्वास्थ्य सुविधा दिनु आवश्यक रहेको बोध गर्दै थप सुधार र विस्तारतर्फ उन्मुख छौँ । अहिलेको प्राथमिकताका रूपमा ल्याब सेवा सहितको स्वास्थ्य सेवा सञ्चालन गर्ने लक्ष्यलाई लिएर योजना र तयारी अघि बढाइएको छ । आवश्यक प्रविधि, उपकरण तथा मानवीय स्रोत जुटाउने कार्यलाई योजनाबद्ध रूपमा अघि बढाइँदैछ । सामान्य स्वास्थ्य कार्यक्रमहरू त निरन्तर रूपमा सञ्चालन नै भइरहेका छन् । तर पहिलेको अवस्थाभन्दा गुणस्तरमा सुधार ल्याउन र स्वास्थ्य सेवा प्रभावकारी बनाउने उद्देश्यले हाम्रा सक्रिय प्रयासहरू निरन्तर जारी छन् । हामीले जे जे गर्न सक्छौँ, त्यसका लागि आवश्यक पहल र तयारी गर्दै अघि बढिरहेका छौँ ।

पलाञ्चोक साप्ताहिकबाट ।

ताजा अपडेट

खोजी गर्नुहोस