
वडामा पछिल्लो समय विकास निर्माणको कामहरू के भइरहेको छ ?
हामीले विकास निर्माणका विभिन्न गतिविधिहरूलाई निरन्तर रूपमा अगाडि बढाइरहेका छौँ । हाल वडा स्तर, नगर स्तर तथा प्रदेश स्तर गरी जम्मा ११ वटा योजना सञ्चालनमा रहेका छन् । यी सबै योजनाहरू सडक पूर्वाधारसँग सम्बन्धित छन् र ती कार्यहरू तीव्र गतिमा अघि बढिरहेका छन् । यसका साथै, कबर्ड हल निर्माणको काम हालै सम्पन्न भएको छ । उक्त कबर्ड हल निर्माणका लागि जम्मा २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो र सोही बजेटभित्र रही काम सफलतापूर्वक सम्पन्न गरिएको हो । यसले स्थानीय स्तरमा खेलकुद तथा सामुदायिक कार्यक्रम सञ्चालन गर्न थप सहजता प्रदान गर्ने विश्वास लिइएको छ । त्यसैगरी, पाँचवटा सामुदायिक भवन तथा एक मन्दिर निर्माणका लागि आवश्यक बजेट टेन्डर प्रक्रियामा गएको छ । नगरपालिकाले पाँच लाख रुपैयाँभन्दा माथिका सम्पूर्ण योजनाहरू अनिवार्य रूपमा टेन्डर प्रक्रियामार्फत कार्यान्वयन गर्ने नीति अवलम्बन गरेको छ । सोही नीतिअनुसार पारदर्शिता र प्रतिस्पर्धात्मक प्रणालीलाई आत्मसात् गर्दै हामी अगाडि बढिरहेका छौँ । हामीले विकासका कामहरूलाई चरणबद्ध रूपमा अघि बढाउने योजना बनाएका छौँ । पहिलो चरणमा सडक निर्माण कार्यलाई प्राथमिकतामा राखेर काम सम्पन्न गरियो । दोस्रो चरणअन्तर्गत मन्दिर निर्माण तथा खेलकुदसँग सम्बन्धित कार्यक्रमहरू अघि बढाइँदै छन् । यद्यपि, दोस्रो चरणका केही कामहरू निर्वाचन सम्पन्न भएपछि मात्र औपचारिक रूपमा सुरु गरिनेछन् । यी योजनाहरू बाहेक सिँचाइ तथा खानेपानीसम्बन्धी योजनाहरू पनि हाम्रो प्राथमिकतामा रहेका छन् । कृषिको विकासका लागि आवश्यक कार्यक्रमहरू सञ्चालन गर्ने तयारी भइरहेको छ । विशेषगरी खानेपानी आयोजना टेन्डर प्रक्रियामा जाने चरणमा पुगेको छ र प्रक्रिया पूरा भएसँगै निर्माण कार्य अघि बढाइनेछ । समग्रमा, पूर्वाधार, कृषि, सिँचाइ, खानेपानी, खेलकुद तथा धार्मिक क्षेत्रको सन्तुलित विकासलाई ध्यानमा राख्दै योजनाबद्ध र पारदर्शी ढङ्गले कार्यहरू सञ्चालन भइरहेका छन् । हामी आगामी दिनहरूमा पनि स्थानीयवासीको आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखी विकास निर्माणका गतिविधिहरूलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
चालु आर्थिक बर्षको बजेट तथा कार्यक्रमहरु के के छन् ?
हाम्रो वडाको कुल बजेट १ करोड ३० लाख रुपैयाँ रहेको छ । सोही वडागत बजेटको प्रभावकारी परिचालनमार्फत हामीले विभिन्न विकास निर्माण तथा सामाजिक कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ । केही कार्यक्रमहरू सुरु भइसकेका छन् र ती योजनाहरू कार्यान्वयनको चरणमा अघि बढिरहेका छन् भने केही कार्यक्रमहरू आवश्यक प्रक्रिया पूरा गरी छिट्टै सुरु गर्ने तयारीमा रहेका छन् । हामी बजेटको सदुपयोग गर्दै योजनाहरूलाई प्राथमिकताका आधारमा चरणबद्ध रूपमा अगाडि बढाइरहेका छौँ । त्यसैगरी, नगरस्तरबाट एक करोड ९५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । उक्त बजेट पनि विभिन्न पूर्वाधार, सामाजिक तथा जनहितका कार्यक्रमहरू सञ्चालन गर्नका लागि प्रयोग भइरहेको छ । नगरपालिकासँग समन्वय गर्दै आवश्यकताअनुसार योजना छनोट गरी कार्यान्वयनको प्रक्रिया अगाडि बढाइएको छ । यसका अतिरिक्त, प्रदेशस्तरबाट करिब साढे तीन करोड रुपैयाँ बजेट उपलब्ध रहेको छ । प्रदेश सरकारको उक्त बजेटमार्फत ठूला तथा दीर्घकालीन प्रभाव पार्ने योजनाहरू सञ्चालन गर्ने लक्ष्य राखिएको छ । सडक, सिँचाइ, खानेपानी, कृषि, शिक्षा, खेलकुद तथा अन्य पूर्वाधार विकासका कामहरू यही बजेटमार्फत अघि बढाइँदै छन् । यसरी वडा, नगर तथा प्रदेश—तीनै तहबाट प्राप्त बजेटको समन्वित परिचालनमार्फत समग्र विकासलाई गति दिने प्रयास भइरहेको छ । उपलब्ध स्रोत–साधनको पारदर्शी र प्रभावकारी व्यवस्थापन गर्दै स्थानीयवासीको आवश्यकता र अपेक्षाअनुसार योजनाहरू कार्यान्वयन गर्ने हाम्रो प्रतिबद्धता रहेको छ ।
महिला, दलित, अल्पसंख्यक तथा पछाडि पारिएका वर्गहरूको सशक्तीकरणका लागि वडाबाट के–कस्ता विशेष कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ?
उक्त कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले नै प्रत्यक्ष रूपमा जिम्मेवारी लिएको छ । यस सम्बन्धमा सम्पूर्ण योजना तथा कार्यक्रमहरू नगरपालिकाबाटै सञ्चालन गर्ने भन्ने निर्णय भइसकेको हुँदा वडाले छुट्टै रूपमा बजेट विनियोजन गरेको छैन । अर्थात्, स्रोत–साधनको दोहोरो प्रयोग नहोस् र समन्वयात्मक ढङ्गले काम अघि बढोस् भन्ने उद्देश्यले नै नगरस्तरबाटै सबै कार्यहरू सम्पन्न गर्ने व्यवस्था गरिएको हो । यद्यपि, वडाले छुट्टै बजेट नछुट्याएको भए पनि हाम्रा वडाभित्रका लक्षित समुदायहरू भने उक्त कार्यक्रममा पूर्ण रूपमा समेटिनेछन् । कार्यक्रम सञ्चालनका क्रममा वडावासीको आवश्यकता, प्राथमिकता र सहभागितालाई विशेष ध्यान दिइनेछ । नगरपालिकासँग निरन्तर समन्वय गर्दै वडाका नागरिकहरूलाई अधिकतम लाभ पुग्ने गरी योजना कार्यान्वयन गरिनेछ । यसरी, बजेट नगरस्तरबाट व्यवस्थापन भए पनि त्यसको प्रत्यक्ष लाभ हाम्रो वडाका बासिन्दाहरूले नै प्राप्त गर्नेछन् भन्ने विश्वास लिइएका छौँ । समन्वय, पारदर्शिता र प्रभावकारी कार्यान्वयनमार्फत कार्यक्रमलाई सफल बनाउने हाम्रो साझा प्रतिबद्धता रहेको छ ।
कृषिलाई आधुनिकीकरण, यान्त्रिकीकरण, व्यावसायीकरण तथा बजारीकरण गर्न वडा कार्यालयले के–कस्ता कार्यक्रम ल्याएको छ ?
म कृषिको नगर संयोजकको जिम्मेवारीमा पनि कार्यरत छु । कृषिक्षेत्रको विकास र किसानहरूको हितका विषयमा मैले सुरुदेखि नै निरन्तर आवाज उठाउँदै आएको छु । कृषि उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग र किसान सशक्तीकरणलाई प्राथमिकतामा राख्दै हामीले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौँ । हालै मात्र सुन्तलाका बोटबिरुवामा प्रयोग गरिने औषधिसम्बन्धी एक दिने गोष्ठी सम्पन्न गरिएको थियो । उक्त गोष्ठीमार्फत किसानहरूलाई रोग तथा कीरानियन्त्रणका उपाय, औषधिको सही प्रयोग विधि र बोटबिरुवाको संरक्षणसम्बन्धी जानकारी प्रदान गरिएको थियो । अब सोही कार्यक्रमअन्तर्गत औषधि वितरणको कार्य सुरु हुने चरणमा पुगेको छ । त्यसैगरी, किसानहरूको उत्पादन वृद्धि तथा कृषि व्यवस्थापनलाई सहज बनाउन विभिन्न कीरानियन्त्रण सामग्री, औजार तथा उपकरणहरू वितरण गर्ने योजना पनि रहेको छ । वडाले विगतदेखि नै यस्ता किसानमुखी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ र आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिइनेछ । यसका साथै, किसानहरूलाई आवश्यक पर्ने स्प्रे पम्पहरू वितरण गर्ने कार्य पनि भइरहेको छ । आधुनिक तथा व्यावसायिक खेतीलाई प्रोत्साहन गर्न प्लास्टिक टनेल (प्लास्टिक घर) निर्माणसम्बन्धी कार्यक्रमहरू पनि सञ्चालनमा रहेका छन् । यस्ता कार्यक्रमहरूले मौसमी प्रतिकूलताबाट बाली जोगाउन, उत्पादन वृद्धि गर्न तथा किसानहरूको आयआर्जनमा टेवा पु¥याउने अपेक्षा गरिएको छ । समग्रमा, कृषिक्षेत्रको दीगो विकास, उत्पादन वृद्धि र किसानहरूको जीवनस्तर उकास्ने लक्ष्यसहित हामीले योजनाबद्ध रूपमा कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ र भविष्यमा पनि यसलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
वडामा खानेपानीको समस्या समाधान गर्न वडाले के–के पहलहरू गरेका छन् ?
खानेपानीको अवस्था हाल हाम्रो वडामा अत्यन्तै सन्तोषजनक रहेको छ । “एक घर, एक धारा” भन्ने अभियानलाई हामीले सफलतापूर्वक कार्यान्वयन गरिसकेका छौँ । यसअन्तर्गत अधिकांश घरधुरीमा खानेपानीसहितको धारा जडान भइसकेको छ, जसले गर्दा स्थानीय बासिन्दाहरूलाई दैनिक जीवनमा ठूलो सहजता प्राप्त भएको छ । हालसम्म करिब ९५ प्रतिशत घरधुरीमा खानेपानीसहितको धारा पुग्नु हाम्रो लागि महत्वपूर्ण उपलब्धि तथा ठूलो सफलता हो । यस उपलब्धिले वडाको पूर्वाधार विकासमा सकारात्मक परिवर्तन ल्याएको छ । स्वच्छ र सुरक्षित खानेपानीको पहुँच विस्तार हुनु स्वास्थ्य, सरसफाइ तथा जीवनस्तर उकास्ने दिशामा महत्वपूर्ण कदम साबित भएको छ । बाँकी रहेका घरधुरीमा पनि खानेपानी सेवा पु¥याउने कार्यलाई हामीले निरन्तर रूपमा अगाडि बढाइरहेका छौँ । योजनाबद्ध ढङ्गले स्रोत व्यवस्थापन र प्राविधिक समन्वय गर्दै शतप्रतिशत घरधुरीमा धारा जडान गर्ने लक्ष्यतर्फ हामी अघि बढिरहेका छौँ । पहिलेझैँ गाग्री बोकेर टाढाको धारा वा मुहानसम्म जानुपर्ने बाध्यता अहिले हटिसकेको छ । घर–घरमै धारा जडान भएपछि समयको बचत हुनुका साथै महिलाहरू, ज्येष्ठ नागरिक तथा बालबालिकालाई विशेष राहत पुगेको छ । यस उपलब्धिले हामीलाई आत्मसन्तुष्टि प्रदान गर्नुका साथै आगामी दिनमा अझ प्रभावकारी सेवा विस्तार गर्न थप प्रेरणा पनि दिएको छ ।
शिक्षाको क्षेत्रमा वडा कार्यालयले के–कस्ता पहलहरू गरेको छ ? विशेषगरी आधारभूत तथा माध्यमिक शिक्षाको गुणस्तर सुधारका लागि के–कस्ता कार्यक्रम सञ्चालन भएका छन् ?
हाम्रो वडामा जम्मा तीन वटा विद्यालय सञ्चालनमा रहेका छन् । तीमध्ये एउटा आधारभूत विद्यालय र दुई वटा माध्यमिक विद्यालय रहेका छन्। माध्यमिक विद्यालयमध्ये एक विद्यालयमा कक्षा १२ सम्म अध्ययन–अध्यापन हुने व्यवस्था रहेको छ भने अर्को विद्यालयमा कक्षा १० सम्म मात्र पठनपाठन सञ्चालन भइरहेको छ । सबै विद्यालयमा नियमित रूपमा पठनपाठनका गतिविधिहरू सञ्चालन भइरहेका छन् । यसका साथै विद्यार्थीहरूको समग्र विकासका लागि विभिन्न अतिरिक्त क्रियाकलापहरू पनि सञ्चालन गरिँदै आएका छन् । खेलकुद, सांस्कृतिक कार्यक्रम, वक्तृत्वकला, हाजिरीजवाफ तथा अन्य सिर्जनात्मक गतिविधिहरूमार्फत विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्न विद्यालयहरूले सक्रिय भूमिका निर्वाह गरिरहेका छन् । शैक्षिक गुणस्तर सुधारलाई विशेष प्राथमिकतामा राख्दै हामीले विभिन्न पहलहरू गर्दै आएका छौँ । विद्यालयको भौतिक पूर्वाधार सुधार, शैक्षिक सामग्रीको व्यवस्थापन, शिक्षक–अभिभावक समन्वय तथा विद्यार्थीमैत्री वातावरण निर्माणका लागि आवश्यक सहयोग प्रदान गरिएको छ । सामुदायिक विद्यालयहरूको सुदृढीकरणका लागि वडाको तर्फबाट गर्नुपर्ने सम्पूर्ण जिम्मेवारीलाई हामीले निरन्तरता दिएका छौँ । विद्यालय व्यवस्थापन समितिसँग सहकार्य गर्दै आवश्यक बजेट व्यवस्थापन, अनुगमन तथा समन्वयका कार्यहरू नियमित रूपमा अगाडि बढाइँदै आएका छन् । समग्रमा, हाम्रो वडामा शिक्षाको स्तर उकास्न र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न निरन्तर प्रयास जारी रहेको छ ।
विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी केही छ ?
विपद व्यवस्थापनको लागि नगरपालिकाको तर्फबाट ठूलो भोलुममा बजेटहरू नै राखेर कामहरु भइरहेको हुन्छ । कोषहरू नै खडा गरेर कामहरू गरिएको छ । वडामा समितिहरु बनाइएको छ । र आवश्यक पर्दा वडा खटिएर काम पनि गरिरहेको छ । सनातिना विपद आइपर्दा अथवा मर्मर सम्हालको काम वडाले नै गर्छ बाँकी परेको खण्डमा चाहिँ नगरबाट नै बजेटहरु ल्याएर काम गर्छौं । वडा अध्यक्षकै संयोजकत्वमा रहने गरी समिति पनि छ । अप्ठ्यारो पर्दा त्यो समिति पनि परिचालन भएर काम गर्छ ।
स्वास्थ्यमा वडाका सबै नागरिकको पहुँच पुगेको छ ?
नगर अस्पताल नै हाम्रो वडामा रहेकाले स्वास्थ्यमा नागरिकहरूको पहुँच पहिलेको भन्दा धेरै राम्रो छ । उहाँहरुले नियमित स्वास्थ्य सेवाहरू आफ्नै ठाउँबाट लिन सक्ने वातावरण बनेको छ । वडाको तर्फबाट गर्नुपर्ने कामहरू त हामीले गरिरहेका नै छौँ । औषधि उपचारको कमी हुन नदिनको लागि हाम्रो तर्फबाट गर्नुपर्ने सम्पूर्ण गतिविधिलाई हामीले पनि निरन्तरता दिएका छौँ । आगामी दिनमा के आवश्यकता पर्यो भने वडा त्यहाँ पनि उपस्थित रहनेछ ।
स्थानीय तहको निर्वाचनका बेला जनतासामु प्रस्तुत गर्नुभएका प्रतिबद्धता तथा आश्वासनमध्ये कति पूरा भएका छन् र कति अझै बाँकी छन् ? बाँकी रहेका काम कहिलेसम्म सम्पन्न गर्ने लक्ष्य छ ?
हामीले धेरै कामहरू सम्पन्न गरिसकेका छौँ भने धेरै कामहरू अझै पनि बाँकी रहेका छन् । उपलब्ध समयको भरपुर सदुपयोग गर्दै बाँकी कामहरू पनि प्रभावकारी रूपमा सम्पन्न गर्ने हाम्रो प्रतिबद्धता रहेको छ । हाम्रो वडाका नागरिकहरूको सबैभन्दा ठूलो माग वडाभित्र नै अस्पताल स्थापना र सञ्चालनसम्बन्धी थियो । उक्त माग पूरा भइसकेको छ । अब यहाँबाट प्रदान हुने सेवा–सुविधाको गुणस्तर अभिवृद्धि गर्ने, अस्पतालको स्तर उन्नति गर्ने तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा हाम्रो ध्यान केन्द्रित भएको छ । त्यसैगरी, सडक सञ्जाल विस्तार तथा सडक पक्कीकरण नागरिकहरूको प्रमुख आवश्यकता थियो, जसलाई क्रमशः पूरा गर्दै गइरहेका छौँ । वर्षायाममा बाटोहरू हिलाम्मे हुने र आवतजावतमा कठिनाइ हुने समस्या समाधान गर्न पक्की सडक निर्माणमा हामीले विशेष जोड दिएका छौँ । यस दिशामा निरन्तर प्रयास भइरहेको छ । खानेपानीका क्षेत्रमा हामीले उल्लेखनीय प्रगति हासिल गरिसकेका छौँ । अब सिँचाइको क्षेत्रमा केही समस्या रहेकाले नागरिकहरूको माग पनि बढ्दै गएको छ । सिँचाइ सुविधा विस्तार गर्न आवश्यक योजना र पहलहरू अगाडि बढाइरहेका छौँ । नागरिकहरूलाई जुनसुकै समस्या परे पनि त्यसको समाधानतर्फ उन्मुख हुनु नै हाम्रो मुख्य दायित्व हो । जनप्रतिनिधि भएपछि चुनावका समयमा व्यक्त गरेका प्रतिबद्धताहरू मात्र पूरा गर्ने होइन, समय र परिस्थितिअनुसार नयाँ आवश्यकताहरू पहिचान गरी काम गर्नुपर्छ भन्ने मान्यताका साथ हामी अघि बढिरहेका छौँ । आगामी निर्वाचनका उम्मेदवारहरूसँग पनि हाम्रो मुख्य माग सडक, सिँचाइ र अस्पताल व्यवस्थापनको सुदृढीकरण नै रहनेछ । यस क्षेत्रका अधिकांश नागरिकहरू कृषिमा नै आत्मनिर्भर भएकाले हामीले कृषिलाई विशेष प्राथमिकता दिँदै काम गर्दै आएका छौँ । यहाँका नागरिकहरूको आयआर्जनको प्रमुख स्रोत कृषि नै भएकाले यस क्षेत्रको विकास र आधुनिकीकरणमा अझ बढी ध्यान केन्द्रित गरी कार्य अगाडि बढाइरहेका छौँ ।
चालु आर्थिक वर्षको लागि भनेर बनाइएको योजनाहरु के के छन् ? बजेट कति छ ? कतिवटा कार्यक्रम सम्पन्न भयो ?
गत असोजमा गएको बाढी पहिरो पछिको अवस्थाले गर्दा हामीले चालु आर्थिक वर्षमा गर्ने भनेर बनाएको पालिकास्तरीय र वडास्तरिय योजनाहरू सम्पन्न हुन सकेन । त्यसपछिको अवस्थाले गर्दा नै विकास निर्माणका कामहरू ठप्प भए । भौतिक विकासका क्षेत्रमा नै धेरै आवश्यकता देखिएकाले हामीले त्यसमा नै बढी केन्द्रित भएर कामहरू गरिरहेका थियौँ । त्यसपछि हामीले ठूला योजनाहरू खासै सम्पन्न गर्न सकेनौँ । अहिले बल्ल पुरानो गतिमा फर्कने अवस्था देखिएकाले धेरथोर कामहरु गर्न सुरुवात गरिरहेका छौँ । गत असोजमा गएको बाढी पहिरोले भौतिक कुराहरुमा निकै क्षति पु¥याएकोले हामी त्यसलाई नै मर्मत संमारमा जुटेका छौँ । विशेषगरी सडक, बिजुलीबत्ती, खानेपानी, सिँचाई लगायतका क्षेत्रमा केन्द्रित भएर काम गरिरहेका छौँ । योसँगै शिक्षा, स्वास्थ्य, कृषि, महिला, बालबालिकाका क्षेत्रमा पनि काम गरिरहेका छौँ ।
सडक र खानेपानीको क्षेत्रमा के छ प्रगती ? योजना के–के बनाउनुभएको छ ?
पनौती खोपासी सडकलाई हामीले मुख्य प्राथमिकतामा राखेका थियौँ । यसको लागि जम्मा ४ करोड हाराहारीमा बजेट रहेको थियो । करिब ६ सय मिटरको उक्त सडकको काम सम्पन्न भइसकेको छ । यसैको लागि अर्को १० करोडको टेन्डरको काम पनि सम्पन्न हुने चरणमा छ । यो सडकको लागि गतवर्ष वैशाख १६ गते म आफैँ अनसन बसेको थिएँ । अहिले त्यो सडकको काम सम्पन्न हुने चरणमा रहेको छ । सिँचाइ र खानेपानीको अवस्था राम्रै रहेको छ । खानेपानीको लागि चाहिँ बेथानचोकको ४ नम्बर वडाको एक मुहानबाट ल्याएर परिपूर्ति गरिरहेका थियौँ । यसरी खानेपानी खपत गरेको निकै लामो समय भइसकेको थियो । तर गत असोजमा गएको बाढी पहिरोले उक्त खानेपानीको पाईपलाईन सबै तहस नहस बनायो । अहिले हामीले तत्कालीन अवस्थालाई मध्यनजर गर्दै अस्थायी रुपमा नै पानीको व्यवस्थापन गर्दै आएका छौँ । तर बर्खाको समय सुरु भयो । पाईपलाइन पूर्ण रुपमा व्यवस्थापन गर्न बाँकी रहेकाले समस्यामा पार्छ की भन्ने लागेको छ । त्यसैले यसको लागि अहिले धमाधम काम भइरहेको छ ।
चालु आर्थिक बर्षमा वडा भित्र ठुला योजना कति वटा छ ?
ठूला कार्यक्रमहरू खासै छैनन् । खानेपानी, सिंचाई, बिजुली र सडकको काम द्रुत गतिमा सञ्चालन भइरहेको छ । त्यो बाहे साना कार्यक्रमहरू जस्तैः शाखा बाटो पक्कि रुपमा निर्माण गर्न सकिएको छैन । हाम्रो आगामी लक्ष्य भनेको भित्री शाखा बाटोहरूको निर्माण कार्य अगाडि बढाउने हो । यो कामको लागि सङ्घ सरकार र प्रदेश सरकारले विनियोजन गरेको बजेट र हाम्रो आन्तरिक स्रोतबाट कति बजेट सङ्कलन हुन्छ त्यसको आधारमा योजनाहरू बन्छन् । त्यसपश्चात् नगरसभामा लगेर पास गर्नुपर्छ । चालु आर्थिक बर्षमा त बाढी पहिरोको कारण नै पनि गर्ने भनिएका योजना समेत सम्पन्न हुन सकेन । तर आगामी बर्षहरुमा हामी जतिसक्दो धेरै योजनाहरु सम्पन्न गर्ने छौँ । हाम्रो यस १० नम्बर वडामा चालु आर्थिक वर्षमा ठूला कार्यक्रमहरू सञ्चालन हुने छैनन् । धेरै विकास निर्माणका कामहरू सम्पन्न भइसकेका र बाढी पहिरोपछीको अवस्थाले गर्दा ठुला विशेष योजनाहरू चालु आर्थिक वर्षका लागि बनाएका छैनौं । हाम्रो पनौती नगरपालिकामा भएका वडाहरु मध्ये विकास निर्माणका काममा अबल वडा मध्ये हाम्रो वडा पनि रहेको छ । यी कुराहरूको मूल्याङ्कन र रेकर्डहरु नगरपालिकाको तथ्याङ्कमा हेर्न सकिन्छ । हाम्रो यस वडा भौगोलिक हिसाबले पनि राम्रो भूभाग हो । अरु वडाको तुलनामा हाम्रो वडामा बाढी पहिरोले निकै कम क्षति भएको छ । बेथानचोक गाउँपालिकासँग जोडिएको ठाउँ पार्टीखर्कमा चाहीँ क्षति भयो । त्यसपछीको अवस्थामा खोपासीको बाटोहरू क्रमश टेन्डरमा गइरहेको छन् ।अब त्यो बाटोहरू आगामी वर्षसम्म तयार हुन्छन् । अहिलेलाई वडामा स–सानो लगभग ५ देखि १० लाखसम्म पर्ने भित्री शाखाबाटोहरू निर्माण गर्ने र सिँचाइ खानेपानीका पाइपहरू किन्ने र मर्मत गर्ने बाहेक अरु ठुला समस्या हाम्रो वडामा छैन ।
लक्षित समुदायको लागि कार्यक्रमहरू पछिल्लो समय खासै भएनन् भन्ने गुनासो पनि आउँछ नि ! तपाईंको वडामा अवस्था के छ ? यस्ता गुनासोहरू आउन नदिनको लागि तपाईंहरूको तर्फबाट भइरहेको प्रयास के छ ?
हामीले लक्षित समुदायका कार्यक्रम भनेर विभिन्न शिर्षकमा कार्यक्रमहरू गर्नेगरेका छौँ । तर यी कार्यक्रमहरुमा हाम्रो वडाका नागरिकहरुको राम्रो सहभागिता हुँदैन । वडाको सबैभन्दा दुःखलाग्दो कुरा के छ भने यहाँका नागरिकहरूले यस्ता तालिमहरू र रोजगारहरूमा न्यून मात्रामा चासो र सहभागिता देखाउने गरेका छन् । हाम्रो वडामा प्रधानमन्त्री रोजगार भनेर एउटा कार्यक्रम आएको थियो । त्यस कार्यक्रममा लगभग १ सय ४३ जनाले निवेदन दिनुभएको थियो । तर तीनजना पनि मुस्किलले आउनुभयो । हामीले साधारण कामबाट नै आर्थिक लाभ होस् भनेर प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत नागरिक सहभागिता गराउन प्रयास गरेका थियौँ । यो कार्यक्रममा कुलो सरसफाई गर्ने जस्ता सामान्य कामहरु समाबेश थिए । हामीले यो कार्यक्रमको लागि प्रशस्त मात्रामा खबरहरू गरेका थियौँ । यसलाई ैं हामीसँग कार्यक्रम थियो, कार्यक्रमको लागि बजेट पनि थियो । हाम्रो वडाका अधिकांस नागरिक आर्थिक रुपमा सक्षम नै हुनुहुन्छ । हाम्रो वडा कृषिमा निकै राम्रो सम्भावना भएको वडा हो । आलु उत्पादन, धान र तरकारी उत्पादन गरेर पनि आर्थिक लाभ लिईरहनुभएको छ । धेरै वैदेशिक रोजगारमा जानुभएको छ । तर यही बसेर केही गर्छ भन्नेहरुका लागि हामीले वडामा सिलाई बुनाई जस्ता कार्यक्रमहरू सहभागि गराएका छौँ । यस्ता कार्यक्रमहरूले महिला दिदीबहिनीहरूलाई धेरै सहयोग पनि गरेको छ । तर प्राय महिला दिदीबहिनीहरुको सहभागिता न्यून मात्रामा हुन्छ ।
कृषि विकासको लागि तपाईँहरूले के कस्तो प्रयास गरिरहनुभएको छ ? कृषिमा आधुनिककरण, यान्त्रिकरण र व्यवसायिकरणलाई कतिको जोड दिनुभएको छ ?
कृषिको लागि भनेर हामीले गत साता मात्र सिङ्गो वडाभरि नै पशु बीमा गरायौ । हाम्रो वडामा २८ वटा टोल छन् । जसमा हामीले २८ वटा टोलमा २८ वटै कृषि समूह बनाउने भनेर कार्यक्रम सञ्चालन गर्न लागेका थियौँ । उक्त समूहमा किसानहरूले नै न्यून सहभागिता र चासो देखाउनुभयो । यदि उक्त कृषि समूह सञ्चालन भएको भए हामीले किसानहरूको लागि अझैँ राम्रा अनि धेरै अनुदान र सहयोगहरुका कार्यक्रम गर्न सक्थ्यौ ।
स्वास्थ्यको लागि पनि विशेष कार्यक्रमहरू केही गरिरहनु भएको छ त ?
पनौती नगरअस्पताल हाम्रै वडाको खोपासीमा बन्न लागेका थियो । उक्त अस्पताल भारत सरकारको अनुदानमा लगभग ९ करोडको हाराहारीमा बन्न लागेको छ । उक्त नगरअस्पताल निर्माणका लागि धेरै समस्याहरू आइरहेका छन् । यस्ता समस्याहरू स्वास्थ्य मन्त्रालयले हेर्नुपर्ने हो । उक्त अस्पतालका लागि औजारहरू र डाक्टरहरूको लागि दरबन्दी व्यवस्था भएको छैन । बिल्डिङमा घाँसहरू उम्रिन थालिसकेको छ । यो समस्याका बारेमा हामीले नगर प्रमुखसँग पनि धेरैपटक भनिसक्यौँ । मैले प्रदेशको स्वास्थ्यमन्त्रीसँग गएर पनि यी कुरा राखेको थिएँ । उहाँले यस समस्यालाई हल गर्छु भन्नुभएको थियो तर अहिलेसम्म पनि यस समस्याको हल भइसकेको छैन । अबको हाम्रो प्राथमिकता भनेको यस नगर अस्पताललाई चाँडोभन्दा चाँडो सञ्चालन गर्ने हो । बाँकी नियमित सेवाहरुलाई निरन्तरता दिने काम त भईनै रहेको छ ।
तपाईको वडा बालमेत्री घोषित छ । यसको दिगोपना र निरन्तरताको लागि के कस्ता क्रियाकलाप संचालन गरिरहनुभएको छ ?
यो कामका लागि हाम्रो वडामा एउटा सहजकर्ता राखिएको छ । उहाँ मार्फत नै हामी अबको दिनमा भइरहेको कामलाई अझ सक्रियपूर्ण ढङ्गबाट अगाडि बढाउदै बालमैत्रीको कामलाई दिगो रूपमा अगाडि बढाउनेछौँ । यसमा आवश्यक परेको खण्डमा थप अरु कार्यहरू पनि गर्दै जानेछौँ ।
शैक्षिक विकासको लागि तपाईंको वडामा भइरहेका कामहरू के–के छन् ?
गत साता मात्र पनि हामीले शिक्षकहरूलाई बालबालिकाहरूको घ–घरमा पठाएर तीन वर्षदेखि १६ वर्षसम्मका विद्यालय नजाने बालबालिकाहरु खोजी गरेका थियौँ । यो क्रममा हामीले जम्मा दुईजना भेटेका छौँ । उहाँहरू दुईजनालाई पनि विद्यालय लेराउनुपर्छ भनेर हामीले प्रयास गरिरहेका छौँ । शिक्षक आन्दोलनले पनि शैक्षिक क्षेत्रमा केही असर परेको छ । सरकारसँग उहाँहरूको भएको सहमतिपछि अब पहिलेकै गतिमा फर्किन्छौं र नयाँ तवरबाट शैक्षिक गतिविधिलाई अगाडि बढाउछौँ । विद्यालयका भौतिक कुराहरूमा हामीले सकेसम्म सुधार गर्दै अगाडि बढिरहेका छौँ । समग्रमा शिक्षा क्षेत्रमा पनि हामीले सकेका कामहरु गरिरहेका छौँ ।
योजनाहरू सम्पन्न गर्नको लागि वडागत रुपमा के कस्ता समस्याहरु देखिरहेका छन् ? तिनको समस्या कसरी गरिरहनुभएको छ ?
सामान्य खालका समस्याहरू त आइरहेका हुन्छन् । विशेषगरी सडकहरू फराकिलो बनाउने क्रममा वा पक्की बनाउने क्रममा दायाँबायाँका केही जमिनहरू मासिन्छ । जसले गर्दा सानातिना किचलो पर्छ र योजनासम्पन्न हुन नै गाह्रो हुन्छ । तर हामीले वार्तामा नै ती कुराहरूलाई समाधान गरेका छौँ । अहिलेसम्म समाधान नै गर्न नसक्ने स्थिति भने आइसकेको छैन ।
योजना अनुगमनको कामले कतिको प्राथमिकता पाउने गरेको छ ?
हामी नजिकै भएको हिसाबले पनि वडाभित्र सम्पन्न हुने सबै कामहरूको रेखदेख गरिरहेका हुन्छौँ । अनुगमनको पाटोलाई अबल रुपमै अगाडि बढाइरहेका छौँ । बेलाबखतमा नगरपालिकाको टिम पनि आएर अनुगमन गरिरहेको हुन्छ । त्यसमाथि वडाका नागरिकहरू नै पनि जागरुक भएर हेरिरहनुभएको हुन्छ । हामी वडा सरकार भएको नाताले पनि अनुगमन त गरिनै रहेका हुन्छौ । यसले गर्दा पनि योजना सम्पन्न हुने क्रममा आइपर्ने विभिन्न समस्याहरुलाई समाधान गर्न वा आवश्यक परेको सल्लाह सुझाव दिईरहने हुँदा सहज भएको छ ।
वडाले गर्ने कामहरु कत्तिको पारदर्शी छन् ?
ले गर्ने कामहरू सबै पारदर्शी छ । सूचनाहरू हामी निकालेकै हुन्छौँ । सूचना बोर्डमै पनि राखिएको हुन्छ । आएका बजेटहरूलाई हामी मार्फत नै सम्पन्न गर्छौ । नागरिकहरूबाट नै आएका गुनासोहरूलाई सम्बोधन गर्ने हो । उहाँहरूको मागअनुसार नै कार्यक्रम भइरहेको हुन्छ । कर्मचारीहरू पनि सक्षम हुनुहुन्छ । त्यसकारणले पनि गरिएको कामहरू सबैमा पारदर्शिता नै झल्किएको पाउन सक्नुहुन्छ ।
बेथानचोक साप्ताहिकबाट ।