दाप्चालाई साँस्कृतिक तथा पर्यटन क्षेत्र बनाउने अभियानमा छौँ

  • काभ्रे खबर
  • / अन्तरर्वार्ता /
  • २०८२ फागुन १५, शुक्रबार (२ हप्ता अघि)
  • ७९ पटक पढिएको

दाप्चालाई साँस्कृतिक तथा पर्यटन  क्षेत्र बनाउने अभियानमा छौँ

० चालु आर्थिक वर्षका लागि भनेर बनाइएका योजनाहरू कति प्रतिशत सम्पन्न भए ? कति बाँकी छ ?
नमोबुद्ध नगरपालिका वडा नं. ९ हाम्रो गाउँ सांस्कृतिक तथा पर्यटनको अत्यधिक सम्भावना बोकेको क्षेत्र हो । हाम्रो वडामा विभिन्न धर्म, संस्कृति र जातजातिका मानिसहरू बसोबास गर्दछन् । हिजो चुनावी मैदानमा हिँड्दा हामीले जनता माझ वाचा गरेका थियौँ कि ८८हाम्रो वडालाई सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्छौं । निर्वाचित भएपछि सबैभन्दा पहिलो प्राथमिकता यही उद्देश्यलाई दिने निर्णय गर्यौँ र त्यसअनुसार कामहरू अघि बढायौँ, जसमा हामी सफल भी भयौँ । २०८२ जेठ २२ गते हाम्रो वडा सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको रूपमा औपचारिक रूपमा घोषणा गरिएको छ । यो हाम्रो कार्यकालको सबैभन्दा ठूलो उपलब्धि पनि हो । जनप्रतिनिधि बन्नुअघि हामी बन्दीपुर क्षेत्रको भ्रमण गर्न गएको थियौँ। त्यतिबेला हामीले हाम्रो वडालाई पनि बन्दीपुर जस्तै सुन्दर र समृद्ध बनाउन सकिन्छ भन्ने ठानेका थियौँ । त्यसै अनुसार कामहरू अघि बढायौँ र सफल समेत भयौँ ।
वडाका युवालाई रोजगारी र्सिजना गर्ने खालका कुनै योजनाहरु छन् त ?
हाम्रो वडा भित्र दाप्चा हेरीटेज होटल निर्माण कार्य सम्पन्न हुँदैछ । यो होटल निर्माण भएपछि प्रत्यक्ष रूपमा १०० भन्दा बढी जनाले रोजगार पाउने सम्भावना छ । त्यस्तैगरी अरू दुई–चारवटा थप होटलहरू पनि निर्माण हुँदैछन् । यी होटलहरू सञ्चालनमा आएपछि ८८हाम्रा वडाका धेरै नागरिकहरू रोजगार हुनेछन् । हामीले वडामा रोजगारी सिर्जना गर्ने वाचा गरेका थियौँ । वडाले सबैलाई जागिर उपलब्ध गराउनु त सम्भव नहुन सक्छ, तर हामी व्यवसायलाई प्रवद्र्धन गर्दै लैजाने योजना बनाइरहेका छौँ । वडालाई पर्यटकीय क्षेत्रमा अझ बढी दखलदारी दिएर अघि बढाइएमा, रोजगारीका अवसरहरू अझै बढ्ने छन् र नागरिकहरू आत्मनिर्भर बन्ने अवसर पनि बढ्ने छ । यसले वडाको आर्थिक उपार्जनमा थप सहयोग गर्नेछ र नागरिकहरूका लागि सहज वातावरण समेत सिर्जना गर्नेमा हामी विश्वास गर्छौँ । यहाँका किसान दाइबहिनीहरूले उत्पादन गर्नुभएको कृषिजन्य वस्तुहरू अन्यत्र लिएर जान र बेच्नुपर्ने अवस्था अब कम हुने छ । यसरी नै वडामा नै खपत गर्न सकिएमा किसानहरूलाई बजार व्यवस्थापनमा समस्या न्यून हुने अपेक्षा हामीले गरेका छौँ । अहिले वडाको मूल्यांकन पनि बढेको छ । पहिले यहाँका जग्गा–जमिनहरू १ लाख रुपैयाँमा आना समेत बिक्दैनथे, भने अहिले १५ लाखमा आजै–भोलि नै बिक्ने अवस्था सिर्जना भएको छ । यसले नागरिकहरूलाई पनि निकै खुशी दिएको छ ।
० स्वास्थ्य क्षेत्रलाई अब्बल बनाउने कामहरु के के भएका छन् ? अस्पताल बनउने भन्ने योजना कहाँसम्म पुरा भयो ? आधारभुत स्वास्थसेवा आफ्नो वडाभित्र २४ सै घन्टा प्राप्त गर्न सक्ने बाताबरण निर्माण भएको छ ?
स्वास्थ्यको क्षेत्रमा सबै नागरिकलाई सेवा–सेवा पहुँचयोग्य बनाउने उद्देश्यका साथ हामीले कार्यकालको सुरुवातदेखिनै कडा मेहनत गर्दै आएका छौँ । हाम्रो वडा भित्र रहेको दाप्चा स्वास्थ्य चौकीलाई नगर अस्पताल बनाउने भन्ने विशेष पहल गर्यौँ, र यसमा हामी सफल पनि भयौँ । अहिले यो नगर अस्पतालको निर्माण अन्तिम चरणमा पुगेको छ । यो काम सम्पन्न भएपछि वडाका सबै नागरिकलाई स्वास्थ्यमा सहयोग पुग्ने छ र सेवा लिनका लागि अरू टाढा ठाउँमा जानुपर्ने आवश्यकता नगर्ने वातावरण सिर्जना हुनेछ । हाल एक करोड ६५ लाख रुपैयाँ भन्दा बढी बजेट विनियोजन भईसकेको छ, जसअन्तर्गत एक्स–रे मेसिन, ईसीजी तथा अन्य आवश्यक मेसिनरी उपकरणहरू राखिने कार्य भइरहेको छ । यस्ता उपकरणले स्थानमै गुणस्तरीय डायग्नोस्टिक सेवा पुग्न सहयोग गर्ने छन् । त्यसैगरी, एम्बुलेन्स व्यवस्था पनि स्थापनामा भएको छ, जसले आपतकालीन अवस्थामा नागरिकलाई छिटो र सहज रुपमै स्वास्थ्यसेवा केन्द्रतिर पु¥याउन मद्दत गर्नेछ । हामी जनताको सेवा र स्वास्थ्य अधिकारलाई ध्यानमा राख्दै यी सबै कदम चालिरहेका छौँ र यसले वडाको स्वास्थ्य पूर्वाधारलाई अझ मजबुत बनाउनेमा हामी विश्वस्त छौँ ।
० सांस्कृतिक तथा पर्यटन व्यवस्थापन वडाले थप योजनाहरु के के बनाएको छ ?
दाप्चालाई सांस्कृतिक तथा पर्यटन क्षेत्र बनाउँदै लग्दा, वडाभित्र रहेको कोट कालिका मन्दिरको विकासमा ठूलो काम भएको छ । यसका लागि करिब डेढ करोड रुपैयाँ बजेट विनियोजन गरेर मन्दिरका भौतिक संरचनाहरू निर्माण गर्ने काम अघि बढाइएको छ । त्यहाँ जाने सडक, पथमार्ग तथा पहुँच व्यवस्थाको काम पनि सम्पन्न÷अगाडि बढिरहेको छ । धार्मिक तथा सांस्कृतिक क्षेत्रमा काम गर्दा सबै धर्म, संस्कृति र आस्था समावेश हुनुपर्छ भनी विचार गरेर मन्दिर परिसरमा साथै एउटा बुद्धको मूर्ति स्थापना गर्ने काम पनि अगाडि बढाइएको छ । हाल शिलान्यास मात्र सम्पन्न भइसकेको छ र बाँकी कामहरू बिस्तारै सम्पन्न हुँदै जाने क्रममा छन् । त्यस्तैगरी, हामीले वडाभित्र रहेका विभिन्न गुम्बा तथा बुद्धका मूर्तिहरूको स्थापना कार्यलाई पनि अगाडि बढाएका छौँ । यी गुम्बाहरूको संरक्षण र संवद्र्धनका कामहरू समेत भइरहेका छन्, जसले धार्मिक, सांस्कृतिक र पर्यटकीय दुवै दृष्टिले वडाको पहिचानलाई सशक्त बनाउने विश्वास छ ।
० भौतिक पूर्वाधार विकासमा वडा स्तरमा के कस्ता काम भइरहेका छन् ?
हाम्रो वडामा दुईवटा झोलुङ्गे पुलको निर्माण काम पनि सम्पन्न भइसकेको छ । त्यस्तै विभिन्न सडक सञ्जाल विस्तार तथा पक्कीकरणका कामहरू निरन्तर रूपमा भइरहेको छ । विशेषगरी सडक स्तरोन्नतिको काममा हामीले विशेष ध्यान दिएका छौँ । हाम्रो वडामा दाप्चाबाट फलामेसाँगु हुँदै हेटौंडा जाने मुख्य सडकको लागि पनि विशेष बजेट विनियोजन गरेर काम अघि बढाइँदै आएको छ । यसका लागि हाल प्रदेश सरकारले १२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ र फलामेसाँगुमात्रै नभएर यस सडकलाई पिचका लागि काम धमाधम अघि बढिरहेका छन् । टेन्डर प्रक्रिया समेत अघि बढिसकेको र काम सुरु भइसकेको अवस्था छ । यी सडक विस्तार र स्तरोन्नति कार्यले वडाका नागरिकहरूका लागि यातायात सुविधा सहज हुने मात्र नभई आर्थिक गतिविधिहरूमा समेत ठूलो सकारात्मक प्रभाव पर्ने विश्वास गरिन्छ ।
० शिक्षाका लागि के–के गर्नु भयो ?जस्तो आधारभूत शिक्षा, माध्यमिक शिक्षाका लागि के गर्नुभएको छ ?
शैक्षिक विकासका लागि पनि हामीले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौँ । नागरिकहरू, विशेषगरी अभिभावक तथा विद्यार्थीहरूबाट अंग्रेजी माध्यमबाट पठन–पाठन अगाडि बढाउनुपर्ने माग आएपछि हामीले अंग्रेजी माध्यममा अध्ययन–अध्यापन गर्ने अनुकूल वातावरण सिर्जना गरेका छौँ । हामीले कक्षा १ देखि ६ सम्म अंग्रेजी माध्यमबाट पठन–पाठन गराउन आवश्यक सबै पाठ्यपुस्तक तथा सामग्री उपलब्ध गराउने तर्फ सहयोग गर्दै आएका छौँ । यो कदमले सामुदायिक विद्यालयहरूमा पनि विद्यालयको गुणस्तर सुधार र विद्यार्थी आकर्षण बढाउने उद्देश्य राखेको हो , जसअनुसार अन्य स्थानीय तहहरूमा पनि अंग्रेजी माध्यम लागू गर्ने अभ्यास भइरहेको पाइन्छ । पहिले निजी विद्यालयले जस्तै उच्च गुणवत्ताको शिक्षा उपलब्ध गराउनुपर्ने माग सामाजिक रूपमा उठेको थियो । हामीले यसलाई सम्बोधन गर्दै अघि बढेका छौँ र अंग्रेजी माध्यमलाई पारदर्शी र सुदृढ बनाउने प्रयास जारी राख्नेछौँ । यस्तै कक्षा १ देखि ३ सम्मको पाठ्यक्रममा विज्ञान विषयलाई मात्र नभएर सैद्धान्तिक र व्यावहारिक सिकाइलाई प्राथमिकता दिँदै काम अघि बढाएका छौँ । ताकि विद्यार्थीले प्रत्यक्ष अभ्यास र प्रयोगशाला अनुभवबाट पनि शिक्षा प्राप्त गर्न सकोस् । हामीले निजी विद्यालयका विद्यार्थीहरूलाई मात्र मात्र नभई सरकारी–सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई पनि उत्कृष्ट शिक्षा र सिकाइको वातावरण प्राप्त होस् भन्ने मान्यता राखेका छौँ । यही दृष्टिकोणले गर्दा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउने र गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्ने हाम्रो उद्देश्य पूरा हुने विश्वास छ ।
० यातायात व्यवस्थापनामा वडाको पहल कस्तो छ ?
यातायातमा यहाँका नागरिकलाई सहज होस् भन्ने उद्देश्यले हामीले नै यातायात सेवा सञ्चालनमा पहल गरेर सेवा दिइरहेका छौँ । अहिले यहाँका नागरिकहरु बिहान काठमाडौँ गएर काम सकाएर बेलुका घर फर्कने वातावरण तय भइसकेको छ । यी गाडीहरू पनि सञ्चालन भइरहेको छ । यसले गर्दा यहाँका नागरिकहरूको दैनिक जीवनयापन थप सहज भएको हामीले महसुस गरिरहेका छौँ ।
० तपाईको निकायमा खानेपानीको अवस्था कस्तो छ ? सुधारका योजना कत्तिको बनेका छन् ?
खानेपानीको अवस्थामा नि एकदमै राम्रो छ । पहिलेभन्दा धेरै सुधारका योजनाहरु आइसकेको छ । वडामा पहिले खानेपानीका निकै समस्याहरू थिए । अहिले भने यसको समाधान हुने चरणमा रहेको छ । पछिल्लो समय हामी स्वस्थ खानेपानी वितरण गर्नुपर्छ भनेर लागिपरेका छौँ । अहिले एउटा बृहत खानेपानी भनेर योजना सम्पन्न गर्ने चरणमा रहेका छौँ । यसको लागत करिब ४४ करोड रुपैयाँ रहेको छ । यो खानेपानीको आयोजना सम्पन्न भएपछि वडा भरिका नागरिकलाई खानेपानीको अभाव हुने छैन । पहिले यहाँ खानेपानीका योजनाहरू पनि एकदमै उथलपुथल भएको अवस्था थियो । खानेपानी नभएकै कारण काकाकुल नै भएर विस्थापित हुनुपर्ने अवस्थामा पुग्न लागिसकेको थियो ।
० कृषिलाई आधुनिकिकरण, यान्त्रिकिकरण, व्यावसायिकरण र बजारीकरण गर्ने कार्यक्रम ल्याउनु भएको छ ?
कृषिमा व्यवसायकरण, यान्त्रीकरण, बजारीकरण सबै पाटोलाई समेट्दै अगाडि बढेका छौँ । कृषिमा हामीले एक घर एक टनेला, एक घर एक मौरी पालन र एक घर एक लौनो भैँसी भन्ने अभियान नै चलाएका छौँ । हामीले कृषि प्रणालीमा थोरै सुधार ल्याएर अगाडि बढ्नुपर्छ भनी ठानेका छौँ र त्यसैअनुसार उन्नत जातका बिउ तथा प्रविधिमा धेरै फोकस गर्दै आएका छौँ । उन्नत बिउ र कृषि प्रविधिको प्रयोगले बाली उत्पादन तथा उत्पादनक्षमता बढ्ने सम्भावना हुन्छ , जसले किसानहरूलाई आय र उपार्जनमा सकारात्मक प्रभाव पार्दछ । यस्तै, एक घर एक मौरीघार कार्यक्रम मार्फत हरेक घरमा मौरीपालनलाई प्रवद्र्धन गर्न लागेको छ । मौरीपालनले कम मेहनतमा राम्रो आम्दानी दिने र दुध÷मह उत्पादनतर्फ किसानहरूलाई आकर्षित गरिरहेको छ । त्यस्तै एक घर एक टनेला कार्यक्रममार्फत हरितगृह÷टनेल प्रविधिको प्रयोगलाई बढाउन हिडेका छौँ । टनेल÷ग्रीनहाउस प्रविधिले मौसम र कीरा÷रोगबाट बालीलाई सुरक्षा गरी उत्पादन वृद्धि गर्न मद्दत गर्छ । यसैगरी एक घर — एक लैनो भैँसी कार्यक्रममार्फत किसानलाई उन्नत जातका भैँसी पालन तर्फ प्रेरित गर्दै आएका छौँ । उन्नत जातका भैँसीले स्वास्थ्य र उत्पादन क्षमतामा सुधार ल्याउन मद्दत गर्दछ , जसले दूध उत्पादन र आय पनि बढाउन सक्छ । यी कार्यक्रमहरूका लागि आवश्यक तालिम, उपकरण तथा अन्य आवश्यक सामग्रीहरूमा हामीले विशेष सहयोग गर्दै आएका छौँ । जसले किसानलाई आधुनिक कृषि अभ्यास अवलम्बन गर्न सजिलो बनाउनेछ ।
० चुनाव ताका जनतालाई दिनु भएको आश्वासन के कति पुरा भए कति बाँकी छन् ?
हामीले हाम्रो वडालाई सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा गरेपछि पनि अझै धेरै जिम्मेवारी बाँकी छन् र ती सबै पूरा गर्नु आवश्यक छ । यसलाई अझ समृद्धतर्फ अघि बढाउनका लागि हामी निरन्तर विशेष खालका पहलहरू गर्दै जानेछौँ । सडक सञ्जाललाई पक्की बनाउने तथा स्तरोन्नति गर्ने कार्यक्रमहरू प्राथमिकतामा रहेका छन् । हामीले यसका लागि योजना, बजेट र कार्यान्वयन प्रक्रियामा विशेष ध्यान दिँदै अगाडि बढिरहेका छौँ । मठ, मन्दिर, गुम्बा तथा अन्य धार्मिक–सांस्कृतिक सम्पदाहरुलाई अझ बढी प्रोत्साहन र संरक्षण गर्दै अघि बढाउनुपर्ने आवश्यकता छ । यसले न केवल हाम्रो सांस्कृतिक पहिचान बलियो बनाउँछ, तर पर्यटक आकर्षणमा समेत वृद्धि गर्नेछ । नगर अस्पतालबाट प्रदान हुने सेवा अझ बलियो, गुणस्तरीय र पहुँचयोग्य बनाउन हामीले आवश्यक सुविधा, पेशेवर स्वास्थ्यकर्मी र उपकरण समायोजनमा विशेष पहल गर्ने योजना बनाइसकेका छौँ । यो कदमले स्वास्थ्य सेवामा नागरिकको पहुँच अझ सुदृढ हुनेमा हामी विश्वास गर्छौँ । शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि पनि विशेष कार्यक्रमहरू संचालन गर्ने बाँकी छन् । हामीले शैक्षिक गुणस्तर, तालिम र पूर्वाधारमा सुधार ल्याउने योजनाहरू प्राथमिकतामा राखेका छौँ र यी सबै जिम्मेवारीलाई पूर्ण रूपमा पूरा गर्दै जानेछौँ ।
बेथानचोक साप्ताहिकबाट ।

ताजा अपडेट

खोजी गर्नुहोस