हामीले पनि अङ्ग्रेजी माध्यमबाटै पठनपाठन गराउने प्रयास गरिरहेका छौँ

  • काभ्रे खबर
  • / अन्तरर्वार्ता /
  • २०८२ चैत्र १, आईतबार (१ महिना अघि)
  • १३७ पटक पढिएको

हामीले पनि अङ्ग्रेजी माध्यमबाटै पठनपाठन गराउने प्रयास गरिरहेका छौँ

० तपाईको विद्यालयको परिचय गराईदिनुस न !
हाम्रो विद्यालयको नाम जनकल्याण माध्यमिक विद्यालय हो । यस विद्यालयको स्थापना २०२१ साल पुस १ गते भएको हो । विद्यालयको प्रारम्भिक समयमा कक्षा ३ सम्म मात्र अध्यापन हुने गर्दथ्यो । पछि २०३५÷३६ सालतिर कक्षा ५ सम्म पढाइ सञ्चालन हुन थाल्यो । त्यसपछि २०५६÷५८ सालतिर कक्षा ८ सम्म अध्यापन सुरु गरियो। २०६८ सालपछि विद्यालय माध्यमिक तह (मावि) सम्म सञ्चालन हुन थाल्यो । विद्यालय सुरुमा बीपी राजमार्गको छेउमा रहेको सानो टहराबाट सञ्चालन गरिएको थियो । त्यसपछि तिमल्सिना गाउँमा हाल राधाकृष्ण मन्दिर निर्माण भइरहेको स्थानमा सानो छाप्रो बनाएर अध्यापन सुरु गरिएको थियो । हाल विद्यालय रहेको स्थान पहिले सार्वजनिक जग्गा नभएकाले तीन जना स्थानीय व्यक्तिहरूले करिब पाँच रोपनी जग्गा दान गरेर विद्यालय स्थापना गर्न सहयोग गर्नुभएको थियो । त्यतिबेला म पनि विद्यार्थी नै थिएँ र कक्षा ३ सम्म यही विद्यालयमा अध्ययन गरेको हुँ । सुरुका दिनहरूमा विद्यालय खरले छाएको थियो । पछि घरहरूमा झिङ्गटीले छाउने प्रचलन सुरु भएपछि विद्यालय पनि झिङ्गटीले छाउने निर्णय गरिएको थियो । त्यसका लागि स्थानीय बासिन्दाहरूले मिलेर झिङ्गटी पोलेर डोकोमा बोकेर विद्यालयसम्म ल्याएका थिए । समयक्रममा झिङ्गटीमा धमिरा लाग्न थालेपछि विद्यालयको छाना जस्तापाताले छाइयो । पछि भवनलाई थप मजबुत बनाउन ट्रस्ट निर्माण गरियो । २०७२ सालको भूकम्पले विद्यालयका संरचनाहरूमा क्षति पु¥याएपछि हाल नयाँ पक्की भवनहरू निर्माण गरिएका छन् । अहिले ती भवनहरूबाट नियमित रूपमा पठनपाठनका कार्यहरू सञ्चालन भइरहेका छन् ।
० विद्यार्थी संख्या कति छ ? शिक्षक दरबन्दिको अवस्था कस्तो छ ? थप गनुपर्ने अवस्था के छ ?
विद्यालयमा हाल जम्मा १७ जना शिक्षक तथा कर्मचारीहरू कार्यरत रहेका छन् । तीमध्ये एकजना विद्यालय नर्स पनि हुनुहुन्छ । माध्यमिक तह (मावि) मा गणित विषयको एक मात्र दरबन्दी रहेको छ । त्यस्तै अंग्रेजी र विज्ञान विषयका लागि संघीय अनुदानमा शिक्षकहरू कार्यरत हुनुहुन्छ । निम्न माध्यमिक तह (निमावि) मा दुईजना शिक्षक राहत दरबन्दीबाट कार्यरत हुनुहुन्छ । प्राथमिक तह (प्रावि) मा आठजना शिक्षक रहेका छन्, जसमा तीनजना राहत दरबन्दीका हुन् भने अन्य शिक्षक स्थायी हुनुहुन्छ । साथै बाल विकास कक्षामा एकजना शिक्षक कार्यरत हुनुहुन्छ । यसरी विद्यालयमा शिक्षक व्यवस्थापन गरिएको भए पनि दरबन्दी भने अझै पर्याप्त छैन । आवश्यक दरबन्दी प्राप्त गर्नका लागि हामीले सम्बन्धित निकायसँग पहल गर्दै बिस्तारै आवश्यक प्रक्रिया अघि बढाउँदै जाने योजना बनाएका छौँ । विद्यालयमा हाल विद्यार्थी संख्या पनि अपेक्षाकृत कम रहेको छ । जम्मा करिब १०० जना जति विद्यार्थी अध्ययनरत छन् । नियमित रूपमा विद्यालयमा उपस्थित हुने विद्यार्थीको प्रतिशत भने ८०–८५ प्रतिशत को हाराहारीमा रहेको छ । विद्यालय नजिकैबाट निजी (बोर्डिङ) विद्यालयका बसहरू आएर विद्यार्थीहरू लैजाने भएकाले पनि विद्यार्थी सङ्ख्यामा केही कमी देखिएको छ ।
० प्राविधिक शिक्षामा कत्तिको जोड दिईरहनुभएको छ ?
हाम्रो विद्यालयमा कम्प्युटर ल्याबको व्यवस्था पनि गरिएको छ । कम्प्युटर ल्याबमा करिब ३०–३५ वटा कम्प्युटरहरू उपलब्ध छन् । यसका साथै विद्यालयमा विज्ञान प्रयोगशाला पनि रहेको छ भने पुस्तकालयको व्यवस्था पनि गरिएको छ । हामीले कम्प्युटर ल्याबमा विद्यार्थीहरूलाई पालैपालो मिलाएर प्रयोग गराउँदै आएका छौँ । तर यसबाहेक अन्य प्राविधिक शिक्षामा भने अझै विशेष रूपमा जोड दिन सकेका छैनौँ । यस क्षेत्रमा हाम्रो विद्यालयले मात्र पहल गरेर पूर्ण रूपमा कार्यान्वयन गर्न सम्भव नहुने देखिन्छ । त्यसका लागि पालिकास्तर तथा सरकारी निकायबाट पनि विशेष ध्यान र सहयोग आवश्यक छ । यदि विद्यालयमा स्मार्ट बोर्डहरूको व्यवस्था गर्न सकियो भने शिक्षण–सिकाइ प्रक्रिया अझै प्रभावकारी र सहज हुने हामीले महसुस गरेका छौँ ।
० स्थानिय तहसँग मिलेर काम गर्न कत्तिको सहज छ ?
समन्वयमा काम गर्न सकियो भने त राम्रो हुने हो । हाम्रो विद्यालयको अवस्था अलिकति कठिन रहेको छ । नगरपालिकाले गत वर्ष मात्रै ६२ जना शिक्षकहरूको सरुवा गरियो । सरुवा गर्दा कुनै विधि निर्मित प्रक्रिया नअपनाई तथा सरसल्लाह नलिइकन सिधै निर्णय गरिँदा शिक्षकहरूलाई धेरै समस्या परेको छ । यसले स्थानीय तह, शिक्षक, विद्यार्थी तथा विद्यालयबीचको दूरी अझै बढेको महसुस भएको छ । विद्यालयमा आन्तरिक स्रोतधन प्रायः हुँँदैन, त्यसकारण विद्यालयमा चाहिने सानो–सानो आधारभूत आवश्यकताहरू पूरा गर्न पनि निकै कठिनाइ हुन्छ । यदि नगरपालिकाबाट छुट्टै बजेट विनियोजन गरिएमा विद्यालयले केही कामहरू गर्न सक्ने अवस्था बनिसक्छ । साना सहयोगहरू हुँदा समस्याहरू त्यति धेरै जटिल र असह्य पनि महसुस हुँदैन ।
० तपाईको विद्यालय नमूनाको रुपमा स्थापित गर्न कस्ता कदम चाल्दै हुनुहुन्छ ?
विद्यालयलाई नमुना विद्यालय बनाउने हाम्रो लक्ष्य छ । त्यसका लागि केवल हामीबाट प्रयास गरेर मात्र हुँदैन, तर सकभर हाम्रो तर्फबाट गर्नुपर्ने पहलहरू गरिरहेका छौँ । हाल विद्यालयमा विद्यार्थी संख्या धेरै न्युनीकरण भएको छ । यसका बाबजुद पनि हामीले नतिजा १०० प्रतिशत लिन आवश्यक प्रयासहरू गर्दै आईरहेका छौँ । गत वर्ष एसईईमा ९० प्रतिशत नतिजा निकाल्न सफल भएका थियौँ। यो पहिलेको अवस्थाको तुलनामा धेरै सुधार भएको कुरा हो । अबका वर्षहरूमा हामी १०० प्रतिशत नतिजा ल्याउने लक्ष्य राखेर निरन्तर प्रयासरत छौँ । यस वर्ष हाम्रो विद्यालयबाट एसईईमा सहभागी हुने विद्यार्थी संख्या जम्मा १० जना रहेको छ । हामी सबैलाई उत्तीर्ण गराउन दृढताका साथ लागेका छौँ ।
० समय सापेक्ष अनुसार कस्तो संरचना बनाउनु भएको छ ? भौतिक संरचना पुग्दोमात्रामा छ ?
भौतिक संरचनाहरू थप प्रतिबद्धतासहित थप निर्माण वा सुधार गर्नु आवश्यक छ । हाल हामीसँग पर्याप्त कक्षा कोठा छैनन्, जसका कारण पढाइ–लेखाइमा केही समस्या उत्पन्न भएको छ । अहिले विद्यालयमा जम्मा १८ वटा कोठाहरू मात्र छन् । ती मध्ये राज्यको लगानीबाट बनेको एउटा मात्र कोठा रहेको छ भने बाँकी सबै कोठाहरू हामीले स्व स्रोत साधन खोजेर स्वयं निर्माण गरेका हौँ । तर शिक्षकहरूको केही अभाव पनि रहेको छ । प्रावि तहमा कर्मचारी रहेका हुनाले मावि तहका विद्यार्थीलाई पढाउन परेमा नतिजा कस्तो आउनेछ भन्ने चिन्ता उब्जिएको छ । यद्यपि, हामी सकभर राम्रो गर्ने प्रयास निरन्तर गरिरहेका छौँ । विद्यालयलाई नमुना बनाउन धेरै कामहरू गर्नुपर्ने आवश्यकताहरू छन् र हामी बिस्तारै ती दिशातर्फ उन्मुख हुँदै जानेछौँ ।
० धेरै विद्यार्थी सहरी क्षेत्र उन्मुख छन् । कतिपय त राजधानी नै पुग्छन् ? कसरी उनीहरुलाई समुदायमै आकर्षित तुल्याउन सकिएला ?
विद्यालयमा विद्यालय बसको पनि व्यवस्था गरिएको छ । हामीले यसका लागि अगाडिदेखि नै प्रदेश सरकारसँग माग गर्दै आएका थियौँ र अन्ततः हाम्रो माग पूरा पनि भयो । तर बस शैक्षिक सत्र सुरु हुनुअघि (चैत महिनामै) नै आउनुपर्नेमा असार महिनामा मात्र पुग्यो । यसले गर्दा टाढा रहेका विद्यार्थीहरूलाई समयमै विद्यालयसम्म ल्याउन कठिन भयो र केही विद्यार्थीहरु अन्तै भर्ना भइसकेका थिए । यसले केही प्रभाव पारेको छ । यदि आगो नै यातायातको उचित व्यवस्था हुन सक्थ्यो भने विद्यालयमा विद्यार्थी संख्या अझ धेरै हुने थियो भन्ने हाम्रो विश्वास छ । यस वर्ष हामीले टाढाका विद्यार्थीहरूलाई पनि पुनः विद्यालयमा भर्ना गराउन भन्ने उद्देश्यका साथ सक्रिय रूपमा पहल गरिरहेका छौँ । विद्यालयका भवनहरूका विषयमा भन्नुपर्दा, लभ ग्रीन नेपालले चार कोठाको भवन बनाइदिएको थियो। जर्मन नेपालले पाँच कोठाको भवन बनाइदिएको थियो । अर्को एउटा संस्थाले पनि चार कोठाको भवन निर्माण गरेको थियो । तर ती कक्षा कोठाहरू ठूला आकारका नभई साना–सानै छन् । विद्युत्, फर्निचरका सामानहरू उपलब्ध त छन्, तर स्मार्ट बोर्डहरू राख्ने अवस्था अहिलेसम्म हुन सकेको छैन ।
० शैक्षिक गुणस्तर बृद्धीको लागि विद्यालयमा भईरहेका क्रियाकलापहरु के कस्ता छन् ? त्यसको शैक्षिक अवस्थामा कस्तो बदलाब ल्याएको छ ?
प्रदेशबाट केही बजेट प्राप्त भएकाले हाम्रो विद्यालयमा फर्निचरको व्यवस्था पनि राम्रै रहेको छ । विद्यालयमा दिवा खाजाको व्यवस्था गरिएको छ, जसले विद्यार्थीहरूलाई धेरै नै सहज बनाएको छ । हामीले स्थानीय स्रोत–साधनलाई प्रयोग गर्दै खाजाको व्यवस्था गर्ने गरेका छौँ । शिक्षकहरूले पनि मासिक रूपमा केही रकम संकलन गरी विद्यार्थीहरूका लागि बनाइएको खाजामै सहभागी हुने गरी थप पैसा हालेर खाजा खाने गरेका छौँ । हाम्रो विद्यालयमा खेलमैदानको केही समस्या रहेको छ । आधारभूत तहसम्म त ठिकै भए पनि माध्यमिक विद्यालय भएकाले खेलमैदानको अभावले केही कठिनाइ भएको छ । यसैगरी, खानेपानीको व्यवस्थापनका लागि पनि समस्या रहेको छ ।
० धेरै विद्यार्थी सहरी क्षेत्र उन्मुख छन् । कतिपय त राजधानी नै पुग्छन् ? कसरी उनीहरुलाई समुदायमै आकर्षित तुल्याउन सकिएला ?
निजी विद्यालयमा विद्यार्थीहरूको सङ्ख्या बढ्दो क्रममा रहेको कुरा नकार्न सकिँदैन । सामुदायिक विद्यालयमा विद्यार्थी कम हुनुको कारण अध्ययन–अध्यापन राम्रो नहुनु मात्र होइन । वास्तवमा अहिले जन्मदर निकै कम भएको छ । साथै, गाउँबाट सहरतर्फ बसाइँसराइ गर्नेहरूको सङ्ख्या पनि बढ्दो छ । अहिले खान–लाउन नै गाह्रो हुने परिवारको सङ्ख्या पहिलेको जस्तो छैन । सामान्य परिवार चलाउनकै लागि भए पनि धेरैजसो घरबाट कम्तीमा एक जना विदेश जाने अवस्था देखिन्छ । यस कारण अभिभावकहरूले आफ्ना छोराछोरीलाई सकभर निजी विद्यालयमै पढाउन चाहन्छन् । यसको मुख्य कारण भनेको अंग्रेजी भाषाप्रतिको आकर्षण हो । अधिकांश नेपाली अभिभावकको इच्छा आफ्ना छोराछोरीले अंग्रेजीमा बोलून् भन्ने हुन्छ । यही कुरालाई मध्यनजर गर्दै हामीले पनि अङ्ग्रेजी माध्यमबाटै पठनपाठन गराउने प्रयास गरिरहेका छौँ । यो समस्या हाम्रो विद्यालयको मात्र होइन, नेपालभरका अधिकांश सामुदायिक विद्यालयहरूले भोगिरहेको साझा समस्या हो ।

पलाञ्चोक साप्ताहिकबाट ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस