
० चालु आर्थिक वर्षको लागि बनाइएको योजना कति सम्पन्न भयो ? कति बाँकी छ ?
चालु आर्थिक वर्षको कार्यक्रमहरू योजना किताब अनुसार नै हामीले गर्दै अगाडि बढिरहेका यस आर्थिक वर्षमा हामीले विभिन्न विकास निर्माणका कार्यहरूदेखि लिएर जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरूसम्म प्रभावकारी रूपमा सञ्चालन गरिरहेका छौँ । स्थानीय स्तरको समग्र विकासलाई प्राथमिकता दिँदै सडक, भवन, खानेपानी, सरसफाइ लगायतका पूर्वाधार निर्माणका कामहरू अगाडि बढाइएका छन् भने समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले विभिन्न सचेतनामूलक कार्यक्रमहरू पनि नियमित रूपमा आयोजना गरिएका छन् । त्यसैगरी, सञ्चालन भइरहेका योजनाहरूको गुणस्तर तथा प्रगतिको सुनिश्चितता गर्न विभिन्न अनुगमन तथा मूल्याङ्कन कार्यक्रमहरूलाई पनि नियमितता प्रदान गरिएको छ । सम्बन्धित निकाय तथा जनप्रतिनिधिहरूको सहभागितामा अनुगमन गरी कामको प्रभावकारिता बढाउने प्रयास गरिरहेका छौँ । न्यायिक समितिमा दर्ता भएका विवादहरूलाई पनि गम्भीरतापूर्वक लिएर छलफल, समन्वय र सहमतिका माध्यमबाट समाधान गर्ने कार्य अघि बढाइएको छ । आवश्यक परेको अवस्थामा सम्बन्धित स्थानमै पुगेर वास्तविक अवस्था बुझ्ने, पक्षहरूबीच संवाद गराउने तथा न्यायोचित ढङ्गले फछ्र्यौट गर्ने प्रयासहरू पनि निरन्तर भइरहेका छन् । यसरी स्थानीय तहमा सुशासन कायम गर्दै विकास र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने दिशामा हामी सक्रिय रूपमा काम गरिरहेका छौँ ।
० चालु आर्थिक वर्षमा ठूला योजनाहरू कतिवटा छ ?
ठूला योजना हामीसँग संघीयसम्मपुरक, अधिसमपूरकका योजनाहरू तीनवटा छन् । हाम्रै पालिकाका योजनाहरू पनि दुई तीन करोडका तीन चारवटा छन् । यसरी संघीय प्रदेश पालिका सबैको गरेर नौ दशवटा ठुला योजनाहरू चलिरहेको अवस्था छ ।
० भौतिक पूर्वाधार विकासका कार्यक्रमहरू के कति सम्पन्न भइरहेको छ ?
अहिलेको अवस्थामा जनमानसमा विकास भन्नासाथ भौतिक संरचना निर्माण मात्र हो भन्ने धारणा व्यापक रूपमा देख्न सकिन्छ । धेरैजसो नागरिकहरूले विकासको मापन सडक, पुल, भवन, खानेपानी, सिंचाइ जस्ता भौतिक पूर्वाधारको निर्माणसँग जोडेर हेर्ने प्रवृत्ति रहेको पाइन्छ । यस वास्तविकतालाई मध्यनजर गर्दै हामीले पनि जनताको अपेक्षा र आवश्यकतालाई सम्बोधन गर्ने प्रयास गरिरहेका छौँ । जहाँ आवश्यक देखिन्छ, त्यस्ता स्थानहरूमा भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ । स्थानीय बासिन्दाको दैनिकी सहज बनाउन तथा समग्र विकासलाई गति दिन सडक स्तरोन्नति, भवन निर्माण, खानेपानी व्यवस्थापन लगायतका पूर्वाधारका योजनाहरूलाई प्राथमिकतामा राखेर कार्यान्वयन गरिँदै आएको छ । हाम्रा ठूला तथा महत्त्वपूर्ण योजनाहरू अन्तर्गतका अधिकांश कार्यक्रमहरू पनि भौतिक संरचना निर्माणसँग नै सम्बन्धित छन्। स्थानीय स्तरमा आधारभूत पूर्वाधारको अभाव अझै धेरै ठाउँमा देखिएकाले यी क्षेत्रमा लगानी बढाउन आवश्यक देखिएको छ । त्यसैगरी, नागरिकहरूबाट आउने मागहरू पनि प्रायः भौतिक पूर्वाधारकै क्षेत्रमा केन्द्रित हुने गरेका छन् । सडक निर्माण, पुल निर्माण, सार्वजनिक भवन, खानेपानी तथा सिंचाइ व्यवस्थापन जस्ता विषयहरूमा नागरिकहरूको चासो र अपेक्षा बढी रहने भएकाले हामीले पनि ती मागलाई सम्मान गर्दै भौतिक पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिएका छौँ । यसका माध्यमबाट स्थानीय तहको समग्र विकासलाई गति दिन र नागरिकको जीवनस्तर सुधार गर्न हामी निरन्तर प्रयासरत रहेका छौँ ।
० शिक्षाका लागि के के गर्नु भयो ? जस्तो आधारभूत शिक्षा, माध्यमिक शिक्षाका लागि के गर्नुभएको छ ?
शैक्षिक विकासलाई सुदृढ र प्रभावकारी बनाउनका लागि हामीले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौँ । शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि गर्नु स्थानीय सरकारको प्रमुख प्राथमिकतामध्ये एक भएकाले विद्यालयहरूको शैक्षिक वातावरण सुधार गर्ने, शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने तथा विद्यार्थीहरूको सिकाइ उपलब्धि बढाउने उद्देश्यले विभिन्न योजनाहरू अघि बढाइएका छन् । यसै सन्दर्भमा शिक्षकहरूको पेशागत दक्षता वृद्धि गर्न नियमित रूपमा तालिम तथा अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गरिँदै आएका छन् । यस्ता तालिममार्फत शिक्षकहरूलाई आधुनिक शिक्षण विधि, कक्षा व्यवस्थापन तथा विषयवस्तुलाई प्रभावकारी ढङ्गले प्रस्तुत गर्ने सीपहरू प्रदान गर्ने प्रयास गरिएको छ, जसले शिक्षण सिकाइ प्रक्रियालाई अझ गुणस्तरीय बनाउन सहयोग पु¥याउने अपेक्षा गरिएको छ । त्यसैगरी, माध्यमिक तहका विद्यार्थीहरूको शैक्षिक उपलब्धि सुधार गर्ने उद्देश्यले विशेष कक्षाको व्यवस्था गरिएको छ । विद्यालय समय बाहेक अतिरिक्त कक्षाहरू सञ्चालन गरी विद्यार्थीहरूको अध्ययनमा थप सहयोग पु¥याउने कार्य भइरहेको छ । विशेष गरी अङ्ग्रेजी, गणित र विज्ञान जस्ता विषयहरूमा विद्यार्थीहरूले बढी चुनौती महसुस गर्ने भएकाले यी विषयहरूलाई केन्द्रित गरेर विशेष कक्षाहरू सञ्चालन गरिएका छन् । यस कार्यक्रममार्फत विद्यार्थीहरूको आधारभूत ज्ञान बलियो बनाउने, परीक्षा परिणाम सुधार गर्ने तथा उनीहरूलाई प्रतिस्पर्धात्मक रूपमा सक्षम बनाउने लक्ष्य राखिएको छ । यी सबै कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक बजेट नगरपालिकाबाट नै व्यवस्थापन गरिएको छ, जसले शिक्षा क्षेत्रको समग्र गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।
० महिला , दलित , अल्पसंख्यक र पछाडि पारिएका वर्गका लागि के के कार्यक्रमहरु छन् ?
महिलाहरूको सशक्तीकरण र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सिपमूलक तालिम कार्यक्रमहरू सञ्चालन गरिँदै आएका छन् । महिलाहरूलाई आयआर्जनका अवसरसँग जोड्ने तथा उनीहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणलाई प्रवद्र्धन गर्ने लक्ष्यका साथ सिलाइ–कटाइ, हस्तकला, उद्यमशीलता विकास लगायतका विभिन्न प्रकारका सिपमूलक तालिमहरू सञ्चालन भइरहेका छन् । यी सबै कार्यक्रमहरू महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा अन्तर्गत सञ्चालन गरिएका हुन्, जसले लक्षित वर्गसम्म कार्यक्रमहरू प्रभावकारी रूपमा पु¥याउन सहयोग गरिरहेको छ । यसैगरी, अपाङ्गता भएका नागरिकहरूको जीवनस्तर सुधार गर्ने उद्देश्यले पनि विभिन्न विशेष कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौँ । उनीहरूको अधिकार संरक्षण, सामाजिक सहभागिता र दैनिक जीवनलाई सहज बनाउन नगरपालिकाले विभिन्न सहायतामूलक तथा सहयोगी कार्यक्रमहरू कार्यान्वयन गरिरहेको छ । पाँचखाल नगरपालिकाले यस सम्बन्धमा एउटा स्पष्ट कार्यविधि नै तयार गरी लागू गरेको छ । सो कार्यविधिअनुसार क वर्गका अतिविपन्न अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष प्राथमिकतामा राखिएको छ । विशेष गरी उनीहरूको हेरचाह गर्ने व्यक्तिलाई पनि प्रोत्साहन र सहयोग उपलब्ध गराउने उद्देश्यले मासिक रूपमा केही रकम खर्च स्वरूप उपलब्ध गराउने निर्णय गरिएको छ । यस व्यवस्थाले अपाङ्गता भएका व्यक्तिहरूको उचित हेरचाह सुनिश्चित गर्न सहयोग पुग्ने तथा उनीहरूको परिवारलाई पनि केही हदसम्म आर्थिक राहत मिल्ने अपेक्षा गरिएको छ । साथै, यस प्रकारका कार्यक्रमहरूले समाजमा समावेशी विकासको भावना बलियो बनाउँदै सबै वर्ग र समुदायको समान सहभागितालाई प्रोत्साहित गर्ने विश्वास गरिएको छ ।
० कृषिलाई आधुनिकिकरण, यान्त्रिकिकरण , व्यावसायिकरण र बजारीकरण गर्ने कार्यक्रम ल्याउनु भएको छ ?
यान्त्रीकरण वितरणका कार्यक्रमहरू पनि सञ्चालनमा रहेका छन् । यस अन्तर्गत हामीले किसानहरूबाट माग फारम भराउने व्यवस्था गरी त्यसका आधारमा यन्त्र उपकरण वितरण गर्ने प्रक्रियालाई अगाडि बढाएका छौँ । त्यसैगरी दूध उत्पादन गर्ने किसानहरूलाई प्रोत्साहन गर्न दूधमा अनुदान दिने कार्यक्रमसमेत सञ्चालन गरिएको छ । यन्त्रीकरण वितरण कार्यक्रमका लागि नगरपालिकाले छुट्टै बजेट व्यवस्थापन गरेको छ भने वडाहरूले पनि आफ्नो आवश्यकताअनुसार बजेट विनियोजन गरेका छन् । हाल यस कार्यक्रम अन्तर्गत आवश्यक कृषि उपकरण खरिद गरी किसानहरूलाई वितरण गर्ने काम मात्र बाँकी रहेको छ, जुन यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कृषि उत्पादनको बजारीकरणलाई पनि समेट्नुपर्ने आवश्यकता महसुस गर्दै हामीले हाटबजार सञ्चालन गर्ने कार्यक्रम ल्याएका छौँ साथै, “कृषि उत्पादन सङ्कलन केन्द्र” स्थापना गर्ने व्यवस्था पनि गरिएको छ । उक्त केन्द्रमा आठ–दश वटा सटरहरू रहेका छन्, जसलाई भाडामा उपलब्ध गराई किसानहरूले आफ्ना उत्पादनहरू त्यहाँ सङ्कलन गरी बिक्री गर्न सक्ने वातावरण मिलाइएको छ । यसले किसानहरूलाई सहज बजार पहुँच प्रदान गर्ने अपेक्षा गरिएको छ । यसैगरी, कृषि उत्पादनलाई कसरी गुणस्तरीय बनाउन सकिन्छ भन्ने विषयमा पनि विशेष जोड दिइएको छ । विषादी रहित तथा विषादीको प्रयोग न्यूनीकरण गर्ने विषयमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ । यसका लागि किसानहरूमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले अवेयरनेस कार्यक्रमहरू सञ्चालन गरिँदै आएका छन् । साथै, सुरक्षित र दिगो कृषि प्रणालीलाई प्रवद्र्धन गर्न आइपीएम (क्ष्एः) विधि अपनाउनुपर्छ भन्ने विषयमा पनि विशेष जोड दिँदै आएका छौँ ।
० आधारभुत स्वास्थसेवा आफ्नो पालिका भित्र २४ सै घन्टा प्राप्त गर्न सक्ने बाताबरण निर्माण भएको छ ?
पाँच शैयाको आधारभूत अस्पताल हामीले सञ्चालनमा ल्याएका छौंँ । उक्त अस्पतालबाट नागरिकहरूले आवश्यक स्वास्थ्य सेवा सहज रूपमा लिन सक्नुहुन्छ । त्यसैगरी नगरपालिकाका सबै वडाहरूमा स्वास्थ्य चौकीहरू रहेका छन्, जहाँबाट पनि स्थानीय नागरिकहरूले सामान्य स्वास्थ्य सेवाहरू प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । यसका साथै हाम्रो क्षेत्रमा केही बर्थिङ सेन्टरहरू पनि सञ्चालनमा रहेका छन् । यी सेवाहरूका कारण गर्भवती महिलाहरूलाई प्रसूति सेवा लिनका लागि टाढा जानुपर्ने अवस्था कम भएको छ र स्थानीय स्तरमै सुरक्षित तथा सहज रूपमा सेवा प्राप्त गर्ने वातावरण मिलेको छ । यसले गर्दा स्थानीय नागरिकहरूलाई स्वास्थ्य सेवा लिन अझ सहज र पहुँचयोग्य भएको छ । खानेपानीको अवस्था अहिले निकै राम्रो रहेको छ । एक घर एक धाराको अभियानमा हामी सफल भएका छौँ । अहिले हरेक घरमा एउटा मात्रै धारा होइन दुईटा तीनटा रहने अवस्था आएको छ । अब यसमा हामीले व्यवस्थापनको काम गर्नुपर्नेछ । शुद्ध खानेपानीमा विशेष केन्द्रित भएर काम गरिरहेका छौं । उपभोक्ताहरूलाई कसरी कम शुल्कमा खानेपानी खुवाउन सकिन्छ भन्ने कुरामा हामीले छलफल गरिरहेका छौँ । अहिले खानेपानीको लागि पालिका भित्र कुनै समस्या छैन ।
० चुनाव ताका जनतालाई दिनु भएको आश्वासन के कति पुरा भए कति बाँकी छन् ?
हामी निर्वाचित भएर आएपछि घोषणापत्रमा उल्लेख भएका कामहरू मात्र गर्ने भन्ने हुँदैन भन्ने अनुभव भएको छ । घोषणापत्रले निश्चित दिशानिर्देश अवश्य दिन्छ, तर व्यवहारमा काम गर्दा यहाँको वास्तविक अवस्था, स्थानीय आवश्यकता र जनताको मागलाई पनि सँगसँगै सम्बोधन गर्दै अगाडि बढ्नुपर्ने देखिएको छ । त्यसैले हामीले यहाँ देखिएका र आवश्यक ठानिएका विषयहरूलाई पनि क्रमशः सम्बोधन गर्दै काम गरिरहेका छौँ
। कतिपय आवश्यक कामहरू यस्ता पनि हुन सक्छन्, जुन घोषणापत्रमा स्पष्ट रूपमा उल्लेख नभएका हुन्छन् । त्यसैले हरेक काममा घोषणापत्रलाई मात्र अगाडि सार्नेभन्दा पनि त्यसलाई मार्गदर्शनका रूपमा लिँदै, स्थानीय स्तरमा आवश्यक पर्ने विषयहरू के–के छन् भन्ने कुरालाई विशेष रूपमा मध्यनजर गर्दै काम अघि बढाइरहेका छौँ । यद्यपि, मैले सोचेको जति काम अझै गर्न सकिएको छैन भन्ने अनुभूति पनि हुन्छ । अझै धेरै कामहरू गर्न बाँकी छन्, र ती कामहरूलाई क्रमशः पूरा गर्दै जाने प्रयास भइरहेको छ । बाँकी रहेको समयमा पनि जनताको आवश्यकता के–के छन्, अझ के–कस्ता कामहरू थप गरेर राम्रो परिणाम दिन सकिन्छ भन्ने कुरामा ध्यान केन्द्रित गर्नेछौँ । पाँचखाल भनेको आम्दानीका हिसाबले, विशेषगरी आन्तरिक आयस्रोत निकै न्यून भएको क्षेत्र हो । सीमित स्रोतसाधनका बाबजुद पनि उपलब्ध स्रोतलाई सकेसम्म मिलाएर प्रयोग गर्ने र विकासका कामहरूलाई निरन्तरता दिने प्रयास गरिरहेका छौँ ।
बेथाञ्चोक साप्ताहिकबाट ।