धुलिखेल÷ नेपाल टेलिकमको एफटीटीएच अर्थात फाइबर टु द होम प्रविधिमा आधारित एनटी फाइबर प्रयोग गर्न प्रोत्साहन (रिफर) गर्नेलाई कम्पनीले थप सुविधा दिने भएको छ । धुलिखेलमा विद्यालयका प्रधानाध्याक, प्राचार्यहरुसंग गरिएको छलफलममा टेलिकमले यसका सुविधा र प्याकेजबारे जानकारी दिएको हो । टेलिकम प्रादेशिक निर्देशनालय बाग्मतीको व्यापार शाखा प्रमुख रहेका उप–प्रबन्धक अजयकुमार कुइकेलका अनुसार, एनटी फाइबर प्रयोगकर्ता वा अन्य व्यक्तिले यसका सेवा वा प्याकेज प्रयोग गर्न प्रोत्साहन रिफरगरे आर्थिक प्रोत्साहन रकम प्राप्त गर्नेछन् । नेपाल टेलिकमका सेवा र प्याकेजबारे जानकारी दिँदै उनले सेवा गुणस्तर र ग्रामिण भेगमा विस्तार समेत गरिरहेको बताउनुभयो ।
उहाँका अनुसार, नेपाल टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइलमा दैनिक रुपमा मोबाइल डाटा प्रयोग गर्न सकिने छ । एनटी फाइबरका विभिन्न प्याकेज लिँदा त्यसै अनुसारको मोबाइल डाटा उपलब्ध हुने कम्पनीले जनाएको छ । आफूलाई आवश्यकता अनुसार उपयुक्त स्पिडको इन्टरनेट चलाउन, टेलिफोन गर्न, टेलिभिजन हेर्न र मोबाइलमा डाटा समेत चलाउन सकिने भएकाले नेपाल टेलिकमले उपलब्ध गराइरहेको एनटी फाइबर सेवा हाल लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ । नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय बागमतीका निर्देशक इन्द्र यादवले सेवा र गुणस्तर सुधार संगै एक नम्बरको इन्टरनेट सेवा प्रदायक बन्न लागिपरेको बताउनुभयो । दुरसञ्चार कार्यालय बनेका प्रमुख जगदिश लेखकले काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापका ६ हजार ७ सय ७४ प्रयोगकर्तालाई सेवा दिइरहेको जानकारी दिँदै बेथानचोक गाउँपालिका, दाप्चा लगायतका स्थानमा एनटि फाइबर विस्तार गरिरहेको बताउनुभयो ।
नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न प्याकेज मध्ये वार्षिक एफटीटीएच कम्बो प्याकेज र एफटीटीएच डाटा प्याकेज प्रयोग गर्ने प्रयोगकर्ताहरुले यो सुविधा उपयोग गर्न सकिने कम्पनीको भनाइ छ ।वार्षिक एफटीटीएच कम्बो प्याकेज अन्तर्गत ५० एमबीपीएस र १०० एमबीपीएस डाटाका साथै १ एनटीटीभी र १ टेलिफोन प्रयोग गर्ने सेवाग्राहीले दैनिक रुपमा आफ्नो मोबाइलमा क्रमशः ६०० एमबी र ८०० एमबी डाटा प्रयोग गर्न सक्नेछन् । एफटीटीएच डाटा प्याकेज प्रयोग गर्ने सेवाग्राहीलाई पनि त्यसै अनुसार मोबाइलमा समेत डाटा प्रयोग गर्न सकिने सुविधा उपलब्ध छ । यस अनुसार ५० एमबीपीएस, ७५ एमबीपीएस र १०० एमबीपीएस डाटा प्रयोगकर्ताले दैनिक रुपमा क्रमशः ६०० एमबी, ७०० एमबी र ८०० एमबी डाटा प्रयोग गर्न सक्नेछन् भने १५० एमबीपीएस र २०० एमबीपीएस डाटा प्रयोगकर्ताले दैनिक रुपमा क्रमशः ९०० एमबी र १००० एमबी डाटा प्रयोग गर्न सक्ने छन् ।