
बनेपा / बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजबाट सुरु भएको छ । वैशाख शुक्ल पूर्णिमा अर्थ्त चण्डी पूर्णिमाको दिन मनाईने चण्डेश्वरी जात्रा विशेषगरी नेवार समुदायले मनाउने गर्दछन।
करिब दुई हजार पाँच सय वर्षदेखि मनाइँदै आएको यस पर्वलाई तीन दिनसम्म मनाइन्छ। जात्राको विधिअनुसार यहाँका घर चोख्याइन्छन् र पूर्णिमाको अघिल्लो दिन हनुमान ढोकाबाट ल्याइने तरवार (खड्ग)सँगै जात्रामा सरकारको तर्फबाटसमेत पूजा गर्ने गरिन्छ । पूर्णिमाको दिन बिहान सबेरै मत पूजा (चिराग यात्रा) गरिन्छ भने तुलसीको काठद्वारा निर्मित रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकालिन्छ ।
धिमे, नाय् खिं, छुस्यालगायत विभिन्न बाजागाजासहित आस्था भएका सबैले आ–आफ्नो घरबाट चिराग बोक्दै बनेपाको लायकुमा जम्मा भइ जलेश्वर महादेव (जसिगा) सम्म पुगेर विसर्जन गर्ने प्रचलन रहेको छ ।
बनेपाको तीनधारामा बनाइएको पाङ्ग्रा नभएको खटलाई भेडा बलि दिइएपछि देवता नभएको खाली खटलाई बाजागाजासहित स्थानीय युवाहरुले बोकेर ‘ल्हाका पालुं हाः’ भन्दै चण्डेश्वरी मन्दिर पुर्याउने प्रचलन रही आएको छ । यस्तै हरेक घरमा तयार पारिएका प्रसादहरु झ्यालबाटै रथमा बसेकी चण्डेश्वरीलाई चढाउँछन् । खटलाई मन्दिर नजिक पुर्याएपछि विधिपूर्वक पूजा गरी चण्डेश्वरी देवीको मूर्तिलाई खटमा राखिन्छ ।
दोस्रो दिन बकुटोलबाट चण्डेश्वरीले भण्डासुर दैत्यको वध गरेपछि समाधि गरिएको स्थान भन्ने विश्वास गरिएको ठाउँमा रथ पुर्याई पूजाआजा र बलि दिने परम्परा रहेको छ ।
खटलाई प्राचीन लायकू दरबारसम्म पुर्याउँदै र त्यहाँबाट चण्डेश्वरी देवीको मूर्तिलाई अर्को सानो खटमा राखेर पुनः वकुटोलमै ल्याइन्छ । यस्तै मूर्तिलाई सानो खटमा राखेर पुनः चण्डेश्वरीमा पुर्याएपछि जात्रा सकिने गर्दछ ।
जात्राको क्रममा चण्डेश्वरी मन्दिरभित्र रहेका पिगं देवताहरुलाई १२ वटा बोकालाई बलिदिने र तीमध्ये एउटा बोका द्वारे र अर्को बोका जोशीलाई दिइने प्रचलन रहेको छ । बाँकी बोकाको मासु ‘कलंदान’ गरिन्छ । कलंदान जात्रामा मासुलाई प्रसादस्वरुप भीडमा फालिन्छ ।
किंवदन्तीअनुसार करिब दुई हजार ५०० वर्ष अगाडि दैत्यराज चण्डासुरले लामो समयसम्म तपस्या गरेपछि कुनै पनि पुरुषले आफूलाई मार्न नसक्ने वरदान पाएका थिए । त्यसपछि पाताल, मच्छेमण्डल र स्वर्गमा चण्डासुरले हाहाकार मच्चाउन थालेपछि उनीहरु (देवता) भागेर बनेपाको चण्डेश्वरीमा अवस्थित रक्तचन्दन वनमा पुगेको बताइन्छ । स्वर्गका राजालाई समेत चण्डासुरले जितेपछि देवताहरुको भागाभाग भई ज्यान जोगाउन पङ्क्षीको रुपधारण गरी उक्त वनबाट अलप भए ।
चण्डासुरका अनुयायीले रक्तचन्दन वनमा कोही नभएको र एउटी राम्री युवती चम्पक वृक्षभित्र बसेको बताएपछि चण्डासुरले वृक्षमा प्रहार गरेपछि त्यहाँबाट कुमारी चण्डेश्वरी प्रकट भइन र चण्डासुरलाई मार्ने प्रयास गरिन् तर, सकिनन्। त्यसपछि उनी भगवतीको रुपमा प्रकट भएर चण्डासुरको वध गरेर देवताको रक्षा गरेको खुशियालीमा जात्रा मनाइँदै आएको जनविश्वास रहिआएको छ ।