
बनेपा÷ इन्टरनेशनल डान्स काउन्सिल अमेरिका शाखाको निमन्त्रणामा एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रबन्धक श्री डेक प्रसाद अधिकारी “गोपाल”ले सहभागिता जनाउनुभएको छ ।
११औं अन्तर्राष्ट्रिय कला, संस्कृति तथा नृत्य सम्मेलनमा अधिकारीले सहभागिता जनाउनुभएको हो । सम्मेलनका क्रममा अधिकारीले आयोजक तथा सहभागी प्रतिनिधिहरूसँग नेपाली कला–संस्कृतिको परिचय गराउँदै आगामी दिनमा सरकारी तथा गैर–सरकारी निकायसँग समन्वय गरी यस्ता कार्यक्रमहरू नेपालमै आयोजना गर्न सकिने सम्भावनाबारे जानकारी गराएका छन् ।अमेरिकाको मियामी, फ्लोरिडामा सम्पन्न उक्त सम्मेलनमा ५० भन्दा बढी विभिन्न कला क्षेत्रको प्रतिनिधित्व गर्ने ३ सय भन्दा बढी विज्ञ सहभागी थिए । महाधिवेशनमा नृत्यका विविध रूपहरूको प्रदर्शनमार्फत कला–संस्कृतिको सम्पूर्ण वातावरण झल्काउने प्रयास गरिएको आयोजकको भनाइ छ । कार्यक्रम विविध सांस्कृतिक पेशेवरहरूको एक वैश्विक सञ्जालको रूपमा स्थापित हुँदै समुदायहरूलाई सबल बनाउन सहयोगी भएको सहभागीको भनाइ छ । त्यस्तै समाजमा कलाको भूमिका तथा योगदानप्रति अझै गहिरो सम्मान र मान्यता अभिवृद्धि गराउने उद्देश्यसँग अघि बढाइएको बताइएको छ ।