
बनेपा÷ ऐतिहासिक नगर बनेपामा करिब दुई हजार ५०१ वर्षदेखि चण्डेश्वरी जात्रा सुरु भएको छ । केही दिनयता जात्रा व्यवस्थापन समिति र स्थानीय जात्राको तयारीमा जुटेका छन् । ‘शक्तिकी अधिष्ठात्री देवी मानिएकी चण्डेश्वरी देवी’को पूजा गर्न टाढादेखि भक्तजन आउने गर्दछन । विशेष गरी नेवार समुदायले हरेक वर्षको वैशाख पूर्णिमादेखि तीन दिनसम्म उक्त जात्रा मनाउने गर्दछन् । बनेपामा यही वैशाख १८ गते चण्डी पूर्णिमादेखि द्वितीयासम्म जात्रा मनाइँदै छ ।
जात्राको विधिअनुसार रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकाल्ने चलन छ । चण्डेश्वरी जात्राको समयमा बनेपा र आसपासमा रहेका सङ्घसंस्था तथा विद्यालय जात्रा अवधिभर बन्द गरिन्छन् । किंवदन्तीअनुसार करिब दुई हजार ५०० वर्ष अगाडि दैत्यराज चण्डासुरले लामो समयसम्म तपस्या गरेपछि कुनै पनि पुरुषले आफूलाई मार्न नसक्ने वरदान पाएका थिए । त्यसपछि पाताल, मच्छेमण्डल र स्वर्गमा चण्डासुरले हाहाकार मच्चाउन थालेपछि उनीहरू (देवता) भागेर बनेपाको चण्डेश्वरीमा अवस्थित रक्तचन्दन वनमा पुगेको बताइन्छ ।स्वर्गका राजालाई समेत चण्डासुरले जितेपछि देवताहरूको भागाभाग भई ज्यान जोगाउन पन्छीको रूपधारण गरी उक्त वनबाट अलप भए । चण्डासुरका अनुयायीले रक्तचन्दन वनमा कोही नभएको र एउटी राम्री युवती चम्पक वृक्षभित्र बसेको बताएपछि चण्डासुरले वृक्षमा प्रहार गरेपछि त्यहाँबाट कुमारी चण्डेश्वरी प्रकट भइन् र चण्डासुरलाई मार्ने प्रयास गरिन् तर, सकिनन् । त्यसपछि उनी भगवतीको रूपमा प्रकट भएर चण्डासुरको बध गरेर देवताको रक्षा गरेको खुसीयालीमा जात्रा मनाइँदै आएको जनविश्वास छ ।।