दोलखामा घण्टाकर्ण (गाठामा) पर्व सम्पन्न, यस वर्ष जोशी परिवारको पालो

  • काभ्रे खबर
  • / कला/संस्कृति /
  • २०८३ श्रावण २६, मंगलबार (४ हप्ता अघि)
  • ११२ पटक पढिएको

दोलखामा घण्टाकर्ण (गाठामा) पर्व सम्पन्न, यस वर्ष जोशी परिवारको पालो

दोलखा/ऐतिहासिक नगरी दोलखामा नेवार समुदायको महत्वपूर्ण पर्वका रूपमा मनाइने घण्टाकर्ण अर्थात् ‘गाठामा’ पर्व विधिपूर्वक सम्पन्न भएको छ। श्रावण कृष्णपक्ष चतुर्दशीका दिन मनाइने यो पर्व दोलखामा मनाइने विभिन्न जात्रा तथा पर्वमध्ये सुरुवाती जात्राका रूपमा लिइन्छ।
यस वर्ष घण्टाकर्ण जात्रा सञ्चालन गर्ने पालो ढोकुलुङा टोलका जोशी परिवारको रहेको थियो। परम्पराअनुसार तलेजु भवानी मन्दिरमा विशेष पूजाआजा गरी घण्टाकर्णको प्रतिमालाई बाजागाजासहित तान्दै दोलखा बजारबाट बाहिर छेरप्वाले भन्ने स्थानमा पुर्‍याई जलाइएको हो।
घण्टाकर्णको प्रतिमा गाजाको बोटलगायत स्थानीय सामग्री प्रयोग गरी बनाइन्छ भने नाङ्लोमा राक्षसको अनुहार तयार गरिन्छ। तलेजु भवानी मन्दिरमा पूजाआजा सम्पन्न गरेपछि प्रतिमाको घाँटीमा खुकुरीले तीनपटक काट्ने र त्यसपछि तानेर घिसार्दै बजारबाहिर लैजाने परम्परा रहेको छ।
घण्टाकर्ण पर्वसँगै दोलखामा विश्वकर्माले घर–घरमा फलामको करुवा र औँठी ल्याई मूलढोकामा करुवा ठोकिदिने तथा औँलामा औँठी लगाइदिने परम्परा पनि रहेको छ।
घण्टाकर्ण जात्रा सञ्चालनका लागि ऐतिहासिक रूपमा सरकारले गुठीको व्यवस्था गरेको थियो। तत्कालीन समयमा कालिञ्चोक खर्क, गैरी, मेहले, कुरी, टुटान, थामी र देउरालीमा गोठ राखेबापत उठाइएको करबाट जात्रा सञ्चालन गर्ने व्यवस्था गरिएको इतिहासमा उल्लेख छ।
इतिहासअनुसार नेपालका तत्कालीन राजा राजेन्द्रविक्रम शाहले विसं १८८६ वैशाख १४ गते बिहीबार घण्टाकर्ण गुठीका लागि लालमोहर लगाएका थिए। गुठी सञ्चालनका लागि डोकुलुङ, डोकछेँ, कोरछेँ, बिहारछेँ, गुर्कोट र पिङ्गलका स्थानीय बासिन्दालाई गुठियार नियुक्त गरिएको थियो।
परम्पराअनुसार घण्टाकर्ण गुठी सञ्चालनका क्रममा भीमेश्वर देवस्थानमा दुई बोका, त्रिपुरासुन्दरीमा एक बोका र एक राँगो तथा तलेजु भवानी मन्दिरमा एक बोकाको बलि चढाउने चलनसमेत रहेको छ।
दोलखामा घण्टाकर्ण पर्व केवल धार्मिक आस्था र पूजाआजासँग मात्र नभई यहाँको मौलिक नेवारी संस्कृति, गुठी परम्परा र सामाजिक एकताको पहिचानका रूपमा समेत मनाइँदै आएको छ। पछिल्लो समय गुठीका लागि तोकिएका स्थानबाट आवश्यक आयस्ता तथा सामग्री जुटाउन कठिनाइ भएपछि भीमेश्वर नगरपालिका, स्थानीयवासी, विभिन्न संघसंस्था तथा गुठियारहरूको सहयोगमा जात्रा निरन्तर सञ्चालन हुँदै आएको छ।
यसै परम्पराको निरन्तरतास्वरूप यस वर्ष पनि ढोकुलुङा टोलका जोशी परिवारको पालोमा घण्टाकर्ण पर्व सम्पन्न भएको हो।

ताजा अपडेट

२०८३ भाद्र २२, सोमबार

कांग्रेसले दियो सरकारलाई १ करोड

२०८३ भाद्र २०, शनिबार

हामीले बिर्सेको योजना

यो साताको प्रचलित

खोजी गर्नुहोस