आमा खुवाउने औँसी

  • काभ्रे खबर
  • / लेख /
  • २०८३ बैशाख ४, शुक्रबार (१ महिना अघि)
  • १५१ पटक पढिएको

आमा खुवाउने औँसी

महेश पौडेल 

आमा खुवाउने औँसी वा ‘आमाको मुख हेर्ने दिन’ वैशाख कृष्ण औँसीमा जन्मदिने आमाप्रति श्रद्धा र सम्मान प्रकट गर्ने विशेष नेपाली पर्व हो । यस दिन छोराछोरीले आमालाई मीठा परिकार खुवाउने, उपहार दिने र आशीर्वाद थाप्ने गर्छन् ।
आमा नहुने सन्तानहरूले दिवंगत आमाको सम्झनामा श्राद्ध, तर्पण र सिदादान गरी आमाको आत्माको शान्तिको कामना गर्छन् ।
मातातीर्थ मेला
काठमाडौँको थानकोट नजिकैको मातातीर्थ कुण्डमा आमाको सम्झनामा स्नान र श्राद्ध गर्न आजको दिन ठूलो मेला लाग्छ । सो मेला भर्न थुप्रै मानिसको दिनभर घुइँचो लाग्छ ।
शास्त्रमा आमालाई स्वर्गभन्दा ठूलो मानिएको छ, त्यसैले मातृऋण तिर्ने र आमाको सम्मान गर्ने यो सबैभन्दा महत्त्वपूर्ण दिन हो । यो पर्वले जीवित आमाको सम्मान र दिवंगत आमाको सम्झनालाई जोड्दै मातृप्रेम र कर्तव्यको महत्व दर्शाउँछ ।
हाम्रो शास्त्रले आमाको सम्बन्धमा यस प्रकारको व्याख्या गरेको छः–
कुक्षौ सन्धारणाद् धात्री, जननाज्जननी तथा ।
अङ्गानां वर्धनादम्बा, वीरसूत्वेन वीरसूः । ।

माताका समान कुनै तीर्थ छैन, माताका समान कुनै गति छैन, माताका समान कुनै रक्षक छैन र माता समानको कुनै पालनपोषण गर्ने छैन । गर्भमा धारण गर्ने भएकाले माता ’धात्री’ हुनुहुन्छ, जन्म दिने भएकाले ’जननी’ हुनुहुन्छ, अङ्गहरूको वृद्धि गराउने भएकाले माता ’अम्बा’ हुनुहुन्छ, वीर छोरा जन्म दिने भएकाले ’वीरप्रसू’ हुनुहुन्छ, शिशुको स्याहार गर्ने भएकाले ’शक्ति’ हुनुहुन्छ भने सदा सम्मान दिने भएकाले ’माता’ भनेर पुकारिन्छ ।
आमा—यो शब्द संसारको सबैभन्दा गह्रुँगो शब्द हो । यो शब्दभित्र अर्थ खोज्नु मूर्खता हुनेछ, कुनै शब्दले यसको प्यास मेटाउँछ न त अर्थ पूर्ण हुन्छ । आफ्नो आफ्नो तरिकाले अर्थ खोज्ने र अथ्र्याउने कोशिश भइरहेकै छ ।

सन्तानप्रतिको जिम्मेवारीमा आमाको त्याग, तपस्या र साधनालाई शब्दकोषका तमाम शब्दहरूले अर्थको गाग्रो त भरिएला, तर भावनाको प्यास मेट्न निकै गाह्रो छ । तर पनि कोशिसहरू जारी नै छन् अहिलेसम्म ।
नेपोलियन बोनापार्टले आमाको महत्वबारे बोलेको एउटा भनाइ निकै चर्चित छः–
“एउटा असल आमा देऊ, म तिमीलाई सिङ्गो देश दिनेछु । ”
मैले सानो उमेरमा यस्तो के भनेको होला, उबेला खासै बुझिएन । आमासँग देश साट्न खोजेको हो कि जस्तो लाग्थ्यो । आमाको मूल्य एउटा देशभन्दा बढी छ । आमा र देशमध्ये एउटा रोज्नुपर्दा आमा पहिलो रोजाइमा पर्ने स्पष्ट सन्देश दिएका छन् नेपोलियनले ।
आमाको सन्दर्भमा बहुचर्चित यक्ष प्रश्नको बारेमा पनि सुनेका छौँ । वनवास रहँदा पाण्डवहरूलाई एक दिन जङ्गल घुम्ने क्रममा निकै तिर्खा लाग्छ । जेठो दाजु युधिष्ठिरको आग्रहमा पानी खोज्न सबैभन्दा कान्छो भाइलाई पठाउँछन् । कान्छो भाइ एउटा सरोवर÷तालमा पानी पिउन खोज्दा यक्षले प्रश्न सोध्छन्, तर प्रश्नको प्रवाह नगरी पानी पिउँछन् । जवाफ नदिएका कारण पानी मुखमा राख्नासाथ उनको मृत्यु हुन्छ ।
भाइ नआएपछि अर्को भाइलाई पठाउँछन्, उनी पनि यक्षको जवाफ नदिई पानी पिउँदा मृत्युवरण गर्न पुग्छन् । यसै गरी अर्जुन र भीम पनि मृत्युशय्यामा पुग्छन् । अन्तिममा सबै भाइ नआएपछि सन्देह मानी द्रौपदीलाई छाडेर युधिष्ठिर आफैँ सरोवर जान्छन् । त्यहाँ पुग्दा सबै भाइ मृत भेट्दा निकै चिन्तित र आश्चर्यमा पर्छन् । अनि जब युधिष्ठिर पानी पिउन खोज्छन्, तब फेरि यक्षले उनका भाइलाई जस्तै प्रश्न सोध्छन् । तर युधिष्ठिरले विनम्र भई प्रश्नको जवाफ दिन राजी हुन्छन् ।
यक्षको पहिलो प्रश्न—“पृथ्वीभन्दा भार कसको बढी हुन्छ?”—मा युधिष्ठिर जवाफ दिन्छन्ः “माता अर्थात् आमा । ” पृथ्वीभन्दा विराट, गह्रुँगो भार आमाको हुन्छ । यसले आमाको विराट रूप मात्र होइन, सार पनि झल्काउँछ । भाव कति गहिराइमा छ भन्ने यक्षको प्रश्नमा युधिष्ठिरको जवाफले बुझ्न सकिन्छ ।
शास्त्रमा आमालाई जीवित देवी मानिएको छ । ’मातृदेवो भवः’ भनेर पुकारिएको छ । निश्चितै आमा अपरम्पार हुनुहुन्छ । आमा ममता, माया र सम्मानको बिम्बको रूपमा पाउँछौँ । संस्कृत श्लोक
“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”
यसले पनि आमालाई उच्च स्थान दिएको छ । संसारको जुनसुकै कुनामा गए पनि आफूलाई जन्मदिने आमा र जन्मिएको भूमि सबैभन्दा प्यारो हुन्छ भन्ने औँल्याएको छ ।
आमासम्बन्धी थुप्रै लेख, रचना, पुस्तकहरू बनेका छन् । गीतहरू लेखिएका छन्, गाइएका छन् । निकै भावुक र असीम स्नेह, प्रेम दर्शाइएका गीतहरू हामीले सुनेका छौँ । सृष्टिको आदिमकालदेखि नै आमाले स्वतःस्फूर्त, प्राकृतिक रूपमा स्नेह, करुणा, माया, लालनपालन, स्याहारसुसार गरेर नै संसार निरन्तर अगाडि बढिरहेको छ ।
आमाले बिना स्वार्थ दिनहुँ जिम्मेवारी निर्वाह गरेकी हुन्छिन् । मानिसमा मात्र होइन, अन्य जीवजन्तु, पशुपन्छीमा पनि आमाको ममता र माया हामी देख्छौँ । जनावरमा ज्ञान, विवेक नहुँदा पनि उनीहरूले आफ्ना सन्तानलाई अद्भुत माया गरिरहेका हुन्छन् ।
आमाले नौ महिना आफ्नो कोखमा राखेर, आफ्नो दूध चुसाएर हुर्काउनुहुन्छ । आफ्नो जीवनको श्रीगणेश आमाको कोखबाट हुन्छ, तर विडम्बना—आज कतिपय आमाहरू सन्तानको हेलाबाट बाँचिरहेका छन् । कयौँ आमाहरू सडकमा भौँतारिएका कारण ’मानवसेवा आश्रम’ लगायतका परोपकारी संस्थाले उद्धार गरेर हेरचाह, स्याहारसुसार गरेको देखेका छौँ । आमा निस्वार्थपूर्वक आफ्ना सन्तानप्रति जति जिम्मेवार हुन्छिन्, सन्तान पनि त्यत्तिकै जिम्मेवार हुनु आजको आवश्यकता हो ।
मातातीर्थ औँसीको अवसरमा आजकल सामाजिक सञ्जाल फेसबुक लगायतमा आआफ्ना आमाका तस्बिर राखेर शुभकामना दिने चलन बढेको छ । जेहोस्, सबैका आमाको दर्शन गर्ने सौभाग्य मिल्यो । आमाको आरोग्य र दीर्घायुको कामना गरिएका सुन्दर शब्दहरू तस्बिरमाथि देखिन्छन् । यो निकै राम्रो कुरा हो । तर सुन्दर शब्दमा मात्र आमाप्रतिको सम्मान सीमित हुनुभएन । सुन्दर शब्दजस्तै प्रत्येक सन्तानले सुन्दर स्याहारसुसार, सुन्दर बोलीव्यवहार र सुन्दर सम्मान गर्नु निकै जरुरी छ ।
पछिल्लो समयमा सन्तान एकातिर, आफ्ना मातापिता अर्कोतिर हुने अवस्था बढेको छ । फेरिँदो दैनिकीले पनि सन्तानसँग बस्ने परिस्थिति कम हुँदै गएको हो कि भन्ने प्रश्न उब्जाएको छ । न्यून सन्तानले मात्र आफ्नो बुबाआमाको हेरचाह गर्न सकिरहेका छन् । जागिर वा व्यापारको बाध्यताले स्वदेश वा विदेशको अरू कुनै स्थानमा बस्नुपर्ने बाध्यताले पनि वृद्ध बुबाआमा एकातिर हुने र छोराछोरी अर्कोतिर हुने अवस्था छ ।
गर्न सक्ने, आफैँ पकाउने–खाने सक्ने उमेरसम्म त ठिकै होला, तर वृद्ध र बिरामी परिस्थितिमा बुबाआमालाई सन्तानसँग उचित प्रबन्ध गर्नुपर्छ । बिरामी बुबाआमा एकातिर, जागिर र व्यापार अर्कोतिर हुँदा उनीहरूको उचित हेरचाह हुन सक्दैन, जसले गर्दा छोराछोरीलाई तनावको स्थिति हुन्छ र बुबाआमा असहाय हुने स्थिति छ । यस्तो परिस्थिति भविष्यमा अझ बढ्नेछ । त्यसैले यस्तो परिस्थितिलाई सम्बोधन गरेर समाधान गरिनुपर्छ ।
खासगरी गाउँमा यस्तो समस्या देखिन्छ । छोराछोरी पढ्ने–लेख्ने, रोजीरोटीको लागि जागिर गर्ने बहाना वा बाध्यता जे भनौँ, शहर एवम् विदेश जानुपर्छ । तत्काल शहरमा सुविधासम्पन्न व्यवस्था गर्न गाह्रो छ । भाडाको घरमा जुनी बिताएका मानिसहरू थुप्रै हुनुहुन्छ । गाउँमा बूढा घर, बूढाबूढी बाआमा हुनुहुन्छ । सन्तानको बाटो कुरेर बस्नुहुन्छ ।
आमाबाबुको उचित हेरचाह र स्याहारसुसारका लागि अब सोच्न ढिलो गर्नु हुँदैन । उचित व्यवस्थापनमा आमाबाबु, छोराछोरी, गाउँसमाज र सरकारसमेतले समन्वय गरेर उचित विकल्प खोजी व्यवहारमा लागु गरौँ । सन्तानले पनि पहिलो प्राथमिकता बुबाआमाको हेरचाह र रेखदेख गरौँ । जिम्मेवार छोराछोरी बनौँ ।
मातातीर्थ औँसीको अवसरमा सम्पूर्ण आमाहरूको आरोग्य एवम् दीर्घायुको कामना गर्दछु ।

बेथाञ्चोक साप्ताहिक ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस