
बाढी नेपालका लागि नयाँ विपद् होइन । तर बाढी आउने तरिका बदलिँदैछ—र त्यससँगै हाम्रो जोखिम पनि ।
२६ अगस्ट २०२६ मा रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले नेपाललाई फेरि एउटा कठोर प्रश्न सोधेको छ—हिमालमा भइरहेको परिवर्तन, चरम वर्षा र तीव्र भू–प्राकृतिक घटनाका लागि हामी कति तयार छौँ ?
प्रारम्भिक विवरणअनुसार सीमापार क्षेत्रमा भएको ठूलो ग्लेसिअर बिस्फोट÷हिम पहिरोले अचानक पानी, ढुंगा र माटोको शक्तिशाली बहाव सिर्जना गरेको देखिन्छ । पछिल्ला रिपोर्टमा नेपालतर्फ १५७ जनाको मृत्यु र सयौँ मानिस हराइरहेको उल्लेख छ; तर उद्धार र पहिचान जारी रहेकाले यी संख्या अझै परिवर्तन हुन सक्छन् । घटनाले सडक, पुल, बस्ती र विद्युत् पूर्वाधारमा ठूलो क्षति पु¥याएको छ ।
यस घटनाले समाचारमा बारम्बार आउने तीन शब्दलाई फेरि चर्चामा ल्याएको छ—फ्लास फ्लड, क्लाउडब्रस्ट र जिलोफ, यी एउटै कुरा होइनन् ।
तथ्यः तीन घटना, तीन अर्थ
फ्लास फ्लडः केही मिनेटदेखि केही घण्टामै नदी वा खोलाको बहाव अत्यन्त तीव्र रूपमा बढ्ने बाढी । यसको कारण अत्यधिक वर्षा, पहिरो, ताल फुट्नु वा माथिल्लो क्षेत्रमा पानी अचानक जम्मा भएर तल झर्नु हुन सक्छ ।
क्लाउडब्रस्टः सानो क्षेत्रमा छोटो समयमा असाधारण रूपमा ठूलो वर्षा हुने घटना । ठूलो बाढी भयो भन्दैमा त्यसलाई ऋयिगमदगचकत भन्न मिल्दैन ।
जिलोफः हिमतालको पानी प्राकृतिक बाँध फुटेर वा अन्य तचष्ननभच का कारण अचानक बाहिरिँदा आउने बाढी ।
मुख्य कुराः क्लाउडब्रस्ट एउटा वर्षाको घटना हो; फ्लाश फ्लड पानीको तीव्र बहाव हो; जिलोफ हिमतालसँग सम्बन्धित बाढी हो ।
२०२४ ले दिएको चेतावनी
२७–२९ सेप्टेम्बर २०२४ को वर्षा नेपालका लागि ठूलो चेतावनी थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार २८ सेप्टेम्बरमा १४ जिल्लाका २५ वटा वर्षामापन केन्द्रले २४ घण्टे वर्षाको नयाँ रेकर्ड कायम गरेका थिए । तीन दिनमा १८३ केन्द्रमा ५० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड भयो; केही केन्द्रमा ४०० मिलिमिटरभन्दा बढी वर्षा भयो ।
यसलाई “क्लाउडब्रस्ट” भनेर मात्र बुझ्नु गलत हुन्छ । यो व्यापक चरम वर्षाको घटना थियो, जसले बागमतीसहित विभिन्न नदी प्रणालीमा बाढी र पहिरो निम्त्यायो ।
यसबाट एउटा पाठ स्पष्ट हुन्छ—चरम वर्षा र त्यसबाट उत्पन्न Flash Flood को जोखिम बुझ्न स्थानीय स्तरको मौसम निगरानी अत्यन्त आवश्यक छ ।
हिमालको पानीः जिलोफ किन फरक छ ?
हिमनदी पग्लिँदै जाँदा हिमतालहरू बन्न र विस्तार हुन सक्छन् । यस्ता ताललाई रोक्ने प्राकृतिक बाँध ढुंगा, माटो र हिमबाट बनेका हुन्छन् । त्यसमा पहिरो, चट्टान वा हिम खस्दा ठूलो छाल उत्पन्न हुन सक्छ र तालको बाँध भत्किन सक्छ ।
नेपाल र आसपासका हिमाली क्षेत्रमा यो जोखिम काल्पनिक होइन । इसिमोडको सुची अनुसार नेपाल, तिब्बत र भारतका प्रमुख नदी बेसिनमा ४७ वटा उच्च जोखिमयुक्त हिमतालहरु पहिचान गरेको थियो—जसमध्ये २१ नेपालमा थिए । तीमध्ये उच्च जोखिमका ताललाई नियमित निगरानी र जोखिम न्यूनीकरण आवश्यक रहेको अध्ययनले देखाएको छ ।
नेपालमा १९७७ यता २६ वटा जिलोफ का घटना अभिलेख गरिएको इसिमोड ले जनाएको छ, र तीमध्ये ११ वटा सीमापार प्रभाव भएका थिए । अर्थात्, हिमालमा सुरु भएको विपद् हिमालमै सीमित हुँदैन ।
थामेः एउटा सानो गाउँ, ठूलो वैज्ञानिक पाठ
१६ अगस्ट २०२४ मा सोलुखुम्बुको थामेमा आएको जिलोफ ले यस जोखिमलाई प्रत्यक्ष देखायो । इसिमोड को पछिल्लो अध्ययनअनुसार माथिल्लो क्षेत्रमा भएको ढुंगे हिउपहिरोले हिमतालमा शक्तिशाली विस्थापन तरङ्ग सिर्जना ग¥यो । त्यसपछि दुई हिमतालमा क्रमिक दरार पैदा भएर ठूलो बाढी तलतिर आयो । अध्ययनले पहिलो तालबाट मात्रै करिब १५६,००० घनमिटर पानी बाहिरिएको देखाएको छ । घटनाले घर, विद्यालय, स्वास्थ्य संस्था र पुलमा क्षति पु¥यायो र १३५ जना विस्थापित भए ।
यसको अर्थ जिलोफ बुझ्दा केवल “ताल फुट्यो” भनेर पुग्दैन । हिमनदी + हिमताल + पहिरो + चट्टान + नदी + तलतिरको बस्ती = शृंखलाबद्ध जोखिम
२०२६ को रसुवाः नयाँ प्रकारको चेतावनी ?
भोटेकोशीको पछिल्लो घटनाले अझ जटिल तस्वीर देखाएको छ ।
प्रारम्भिक वैज्ञानिक विश्लेषणमा करिब ५,२०० मिटर उचाइमा रहेको हिम÷चट्टानी संरचनाको ठूलो भाग खसेर तलको क्षेत्रमा बरफ, ढुंगा र गेग्रिन को विशाल बहाव सिर्जना भएको बताइएको छ । केही विशेषज्ञले हालको तापक्रम र दीर्घकालीन हिमनदी पग्लाइलाई सम्भावित कारकका रूपमा हेरेका छन् ।
त्यसैले यसलाई अहिले नै “क्लाउडब्रस्ट” वा परम्परागत जिलोफ भनेर वर्गीकरण गर्नु उचित हुँदैन । यस घटनाको वास्तविक वैज्ञानिक ट्रिगर पत्ता लगाउन भू–उपग्रह तस्बिर, भूकम्पीय तथ्याङ्क, हिमनदीको अवस्था, वर्षा, नदीको बहाव र भू–आकृतिक विश्लेषण आवश्यक हुनेछ । विपद्का बेला अनुमान छिटो फैलिन्छ; विज्ञानले भने प्रमाण पर्खन्छ ।
के जलवायु परिवर्तन दोषी हो ?
उत्तर—जोखिम बढाउन सक्छ, तर हरेक बाढीको प्रत्यक्ष कारण भन्न मिल्दैन ।
तापक्रम बढ्दा हिमनदी पग्लने, हिमताल विस्तार हुने र हिमाली भू–प्रणाली अस्थिर हुने सम्भावना बढ्छ । त्यस्तै, चरम वर्षाका घटनाले पहिरो र फ्लाश फ्लड को जोखिम बढाउन सक्छ । तर कुनै एउटा बाढीलाई “जलवायु परिवर्तनकै कारण” भन्न वैज्ञानिक तथ्य आवश्यक हुन्छ ।
हामीले एउटा कुरा भने स्पष्ट देखिरहेका छौँ—हिमालय तातिँदैछ, हिमनदीहरू परिवर्तन हुँदैछन् र क्रायोसफियर–सम्बन्धि जोखिमहरू लाई बेवास्ता गर्न मिल्दैन । इसिमोड ले हिन्दुकुश हिमालय क्षेत्रमा करिब २५,००० हिमताल रहेको र तापक्रम वृद्धिसँगै जिलोफ जोखिम बढिरहेको जनाएको छ ।
विपद् प्राकृतिक मात्र हुँदैन
बाढी प्राकृतिक घटना हो । तर क्षति कति हुन्छ भन्ने कुरा हाम्रो विकास प्रणालीले पनि निर्धारण गर्छ ।
नदीको बहाव क्षेत्रमा बस्ती बसाउने, खोलाको प्राकृतिक मार्ग साँघुरो बनाउने, पहाडमा जथाभावी सडक काट्ने, नदी उत्खनन गर्ने वा जोखिमयुक्त स्थानमा ठूला पूर्वाधार बनाउने हो भने प्राकृतिक जोखिम विपद्मा परिणत हुन्छ ।
त्यसैले अब प्रश्न केवल— “बाढी किन आयो ?” होइन । प्रश्न यो पनि हो— “हामीले बाढी आउन सक्ने ठाउँमा के बनाइरहेका छौँ ?”
अब नेपालले के गर्नुपर्छ ?
पहिलो— पूर्वसूचना प्रणाली
भू–उपग्रह, मौसमी राडार, नदीको बहाव नाप्ने यन्त्र र हिमनदी÷ताल अनुगमन लाई एउटै प्रणालीमा जोडेर जोखिमको सूचना गाउँसम्म पु¥याउनुपर्छ ।
दोस्रो—बहु–जोखिम पूर्वसूचना ।
नेपाललाई केवल फ्लड वार्निंग होइन, बाढी + पहिरो + जिलोफ + हिउपहिरो समेटिएको एकीकृत प्रणाली आवश्यक छ ।
तेस्रो—जलवायु–अनुकूल पूर्वाधार ।
सडक, पुल, जल–बिद्युत योजना र बस्तीको डिजाइन गर्दा विगतको बाढी मात्र होइन, भविष्यको अत्याधिक घटनाको जोखिम पनि समावेश गर्नुपर्छ ।
चौथो—नदीलाई ठाउँ ।
नदीको प्राकृतिक बहाव क्षेत्रलाई खाली जमिन होइन, जोखिम न्यूनीकरणको संरचना भनेर बुझ्नुपर्छ ।
पाँचौँ—स्थानीय समुदाय ।
सबैभन्दा प्रभावकारी चेतावनी त्यो हो जुन मानिसले समयमै बुझ्छ र त्यसअनुसार सुरक्षित ठाउँमा जान सक्छ ।
अन्तिम प्रश्नः हामी तयार छौँ ?
हिमाल पग्लिन्छ, बादल बन्छ, वर्षा हुन्छ, नदी बग्छ, यी प्रकृतिका प्रक्रिया हुन् ।
तर जब चरम मौसम, अस्थिर हिमाली भू–भाग, नदी, बस्ती र कमजोर पूर्वाधार एकै ठाउँमा भेटिन्छन्, प्राकृतिक घटना विपद् बन्छ । त्यसैले बाढीलाई अब केवल राहत र उद्धारको विषयका रूपमा हेरेर पुग्दैन ।
यो विज्ञान, जलवायु, पूर्वाधार, भू–उपयोग, ऊर्जा, कृषि र राष्ट्रिय सुरक्षासँग जोडिएको विकासको प्रश्न हो ।
थामेले हामीलाई चेतावनी दियो । २०२४ को चरम वर्षाले हामीलाई चेतावनी दियो । भोटेकोशीले फेरि सम्झाएको छ ।
अब प्रश्न— “बाढी आउँछ कि आउँदैन ?” होइन । “बाढी आउँदा हामी कति तयार हुन्छौँ ?” हो ।
प्रकृतिलाई रोक्न सकिँदैन । तर प्राकृतिक जोखिमलाई विपद्मा परिणत हुनबाट रोक्न सकिन्छ ।
लेखक परिचय
इ. श्रीकृष्ण धिताल मेकानिकल इन्जिनियर, जलवायु तथा वातावरणका अभियन्ता एवं अभ्यासकर्ता हुन् । उनी हाल काठमाडौं विश्वविद्यालयको कृषि विभागमा अध्यापनरत छन् र सोही विश्वविद्यालयमा ऊर्जा तथा पूर्वाधार कानुन विषयमा स्नातकोत्तर अध्ययन गरिरहेका छन् ।
विगत एक दशकदेखि संस्कृति फाम्र्स एन्ड रिसर्च सेन्टर मार्फत खाद्य, ऊर्जा र पानी को अन्तरसम्बन्धमा आधारित दिगो कृषि, वातावरण संरक्षण, जलवायु अनुकूलन तथा समुदायमा आधारित नवप्रवर्तनका क्षेत्रमा सक्रिय छन् । इन्जिनियरिङ, कृषि, वातावरण र कानुनको अन्तरविषयगत ज्ञानलाई व्यवहारसँग जोड्दै उनी जलवायु–उत्थानशील तथा दिगो विकासका क्षेत्रमा काम गर्दै आएका छन् ।
बेथानचोक साप्ताहिकबाट ।