बनेपा/काभ्रेको बनेपामा अवैध गहना निर्माण र बिक्रीमा संलग्न ५ जनाको समूह पक्राउ परेको छ। बुधबार जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेको नेतृत्वको टोलीले बनेपा नगरपालिका–७ बाट सुन र चाँदीको गरगहना निर्माण तथा बिक्रीमा संलग्न ५ जनालाई पक्राउ गरेको हो । बनेपाको मनकामना ज्वेलर्स एन्ड मेकिङ सेन्टरमा प्रहरीले छापा मारेर सुन–चाँदीजस्तो धातु, नगद र अन्य सामग्री बरामद गरेको प्रहरी नायव उपरीक्षक घलेले जानकारी दिए । उनका अनुसार बनेपा–७ परिवार नियोजन चोकमा आदिरत्न शाक्यको घर भाडामा लिई सञ्चालनमा रहेको मनकामना ज्वेलर्स एन्ड मेकिङ सेन्टरमा प्रहरीले छापा मार्दा सुन र चाँदीको गरगहना सहित भारतीय रुपैयाँ बरामद भएको हो । सो कार्यमा संलग्न भएको भन्दै घर धनी शाक्य सहित ४ भारतीय नागरिकलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक घलेले बताए ।
उक्त ज्वेलर्सका सञ्चालक भारतको पश्चिम बङ्गाल मदनपुरका वर्ष ४७ को दिपंकर मैतीको कोठाबाट सुनका गरगहना ६७८.८३ ग्राम, भारतीय रुपैयाँ २५ हजार ३१० र नेपाली रुपैयाँ १ लाख २१ हजार ५ बरामद भएको छ भने सो कार्यमा संलग्न भारत पश्चिम बङ्गाल मेदिनीपुर घर भई पाँचखाल नगरपालिका–४ बस्ने वर्ष ३० को सुमन सासमोलको साथबाट २३.०८० ग्राम सुनको टुक्राहरु, भारतको जोतभन्साम घर भई बनेपा–७ बस्ने वर्ष ३८ को ऋषिकेश गोड्सेको कोठाबाट चाँदी ३२७.७५० ग्राम बरामद भएको प्रहरी नायव उपरीक्षक घलेको भनाई छ । सो घटनामा संलग्न रहेको भन्दै प्रहरीले भारतको जोतभन्साम घर भई बनेपा–७ बस्ने वर्ष २२ को विजय घोराई र सोही स्थान बस्ने वर्ष ३६ दिपंकर साउलाई समेत पक्राउ गरिएको छ । पक्राउ परेका सबैलाई राजस्व अनुसन्धान विभाग, ललितपुर पठाइएको छ। यसअघि प्रहरीले मंगलबार स्रोत नखुलेको २५ लाख रुपैयाँ सहित २ जनालाई पक्राउ गरेको थियो । उक्त कार्यमा संलग्न सिन्धुपाल्चोक जिल्ला इन्द्रावती–१ बस्ने वर्ष २१ को राजन धमला र जिल्ला सप्तरी छिन्नमस्ता–६ बस्ने वर्ष ३८ को संजयकुमार साहलाई पक्राउ गरेको थियो ।