धुलिखेल/ प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र परिवर्तनका लागि आफूहरुको लगातारको प्रयासले नेपालमा केही हुन्छ र हुँदैछ भन्ने आशावाद देखिएको बताउनुुभएको छ । काभ्रेको धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ भवनको आज शिलान्यास गर्नुहुँदै उहाँले केही नभएको ठाउँमा पनि विकास र परिवर्तन देखिनुुले स्थानीय जनतामा आत्मविश्वास पलाएको छ भन्नुभयो ।
उहाँले केही भएन भनेर गलत भाष्य सिर्जना गर्नेहरुले भएको विकास नदेखेको टिप्पणी गर्दै कुनै पनि अवस्थामा परिवर्तन ल्याउन एकैदिनमा सम्भव नहुने भएकाले यसका लागि इमानदार र लगातारको प्रयास आवश्यक रहेको जनाउनुुभयो ।
“अविकासबाट विकासमा मुलुकलाई लान सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ । कुरा काट्नेहरु त गल्ली गल्लीमा भेटिन्छन् । काम गर्न र साँच्चिकै परिवर्तन ल्याउन कुरा काटेजस्तो सजिलो हुँदैन”, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “तीस वर्षअघि बाँझो कान्ला र खेत भएको यस ठाउँमा आधुनिक अस्पताल बन्छ र विकास हुन्छ भनेर सपना देख्नेहरुले यो काम अघि बढाए । त्यो सम्भव छ भन्ने विश्वास गरेर स्थानीय जनताले आफ्नो खेतबारी दिएर योगदान गरे । अस्पताल र काठमाडौँ विश्वविद्यालयको सहकार्य टुुट्न दिनुहुँदैन । यस सहकार्यमा सरकारले पनि सक्दो साथ दिनेछ ।”
प्रधानमन्त्री ओलीले सरकारले निरोगी नेपालको उद्देश्य राखेर गरिरहेको काममा धुलिखेल अस्पतालले सहज र गुणस्तरीय सेवा दिएर आफ्नो ठाउँबाट योगदान दिने विश्वास पनि व्यक्त गर्नुभयो ।
नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र जापान अन्तरराष्ट्रिय सहयोग एजेन्सी (जाइका) बीचको समझदारी अनुसार जापान सरकारको सहयोगमा सेन्टर निर्माण हुन लागेको हो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले सरकारी तवरबाट मात्र स्वास्थ्य सेवा प्रदान गर्न सम्भव नभएको बताउँदै सरकारले सामुदायिक क्षेत्रबाट स्वास्थ्य सेवा दिने अस्पताललाई अनुदान दिनेगरी आगामी वर्षको कार्यक्रममा समावेश गरिएको बताउनुभयो ।
कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक प्राडा. रामकण्ठ माकजुले २५ शय्याबाट सुरु भएको अस्पताल ट्रमा सेन्टर बनाउने अवस्थामा पुगेको बताउनुभयो । उहाँले नेपालमा केही गर्न सकिन्न भन्ने मानसिकता भएका व्यक्तिलाई केही गर्न सकिन्छ भन्ने उदाहरण हेर्न धुलिखेल आउन आग्रह गर्नुभयो । उहाँले अस्पतालले निर्माण गर्न लागेको ट्रमा तथा आकस्मिक केन्द्र निर्धारित समयमा नै पूरागरी सेवा सुरु गर्ने बताउनुभयो।कार्यक्रममा काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा.डा.अच्युत वाग्ले, जापानका तामुरा टाकाहिरो, मिजुकी मातासुजुकी, धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, अस्पतालका हाडजोर्नी विभागका प्रमुख डा.दिपक श्रेष्ठ लगायतले धुलिखेल अस्पताल र ट्रमा तथा इमरजेन्सी अस्पतालका बारेमा धारणा राख्नु भएको थियो।
काभ्रेपलाञ्चोक, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, भक्तपुर जिल्लाका साथै विपी राजमार्गले जोड्ने तराईका जिल्लाहरुका गम्भीर घाइते र आकस्मिक स्वास्थ्य उपचार तत्काल आवश्यक भएका विरामीहरुलाई उपयुक्त उपचार प्रदान गर्ने उद्देश्यले सेन्टर स्थापना गर्न लागिएको हो ।
सन् २०२३ अक्टोबर र २०२५ मे मा नेपाल सरकार र जापान सरकारको रोहबरमा जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी नेपाल र अर्थ मन्त्रालयबीच ३ दशमलव ८७९ विलियन जापानिज ऐन लगानी बराबरको सय शैयाको धुलिखेल अस्पताल ट्रमा तथा इमरजेन्सी सेन्टरको निर्माणको सम्झौतामा हस्ताक्षर भएको अस्पतालका प्रा. डा. दिपक श्रेष्ठले जानकारी दिनु भयो ।
जापानको टोडा कोअपरेशन टोकियोले निर्माण गर्ने परियोजनामा सिटीस्क्यान, एम.आर. आई मेसिन, शल्यक्रिया कक्ष, भेन्टिलेटर, एक्सरे मेशिन, अस्पतालका बेडहरुसहित २०२७ को जुन महिनामा हस्तान्तरण गरिनेछ ।