बनेपा । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ५७ मा गाउँपालिका वा नगरपालिकाको आफ्नो क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, कारखाना, जग्गा वा पोखरी पूरै वा आंशिक तवरले बहालमा दिएकोमा गाउँपालिका वा नगरपालिकाले त्यस्तोमा बहाल कर लाग्ने व्यवस्था छ । तर, काभ्रेपलाञ्चोक जिल्लाकै पहिलो नगरपालिका बनेपाले बहाल करको कुरै छाडौं, नगरपालिकाको सम्पत्ति बहालका रुपमा दिएबापतको बहाल रकमसमेत असुल्न सकेको छैन । उता ठुला करदाताहरुबाट सम्पत्ति कर पनि उठाउन सकेको छैन । सधैंभरि आम्दानी कम भन्दै आएको नगरपालिकाले व्यापारिक नगरबाट कानूनतः उठाउन पाउने कर संकलनमा समेत ध्यान दिएको छैन ।
महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०८२ मा बनेपा नगरपालिका बहाल रकमजस्तो भरपर्दो आन्तरिक आम्दानी संकलन गर्नमा समेत अक्षम भएको उल्लेख गरेको छ । महालेखाले सम्परीक्षणका लागि मौका दिँदासमेत सो कार्य नगरेको भन्दै बहाल रकमलाई सम्परीक्षणपश्चात कायम भएको बेरुजु उल्लेख गर्दै असूल्न निर्देशन दिएको छ । नगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने स्वामित्वमा रहेका विभिन्न भवन, पसल तथा सटर कवल, सपिङ कम्प्लेक्स, ग्यारेज भवनबाट बहाल उठाउने र शौचालय दस्तुर उठाउने सम्बन्धी कार्यका लागि ठेक्का सम्झौता गरेकोमा सम्झौताको बुँदा नं ४ मा दोश्रो पक्षले बहाल सम्झौताका क्रममा दाखिला गरेको १ महिना बराबरको रकम कार्यक्षेत्र भएको मितिले १ महिनाको लागि हुने र प्रत्येक महिनाको बहाल बुझाउनुपर्ने र यसरी बहाल बुझाउँदा अघिल्लो महिनाको बहाल भुक्तानी पछिल्लो महिना सुरु भएको ७ दिन भित्र बुझाउनुपर्ने उल्लेख भएकोमा सम्झौताको शर्त बमोजिम बहाल असुल हुनुपर्नेमा नभई बक्यौता रहेको देखिएकोले ठेक्का सम्झौता गर्ने दोश्रो पक्षबाट बहाल रकम असुल हुनुपर्ने उल्लेख छ ।
नगरपालिकाले बहाल रकम १ करोड ५५ लाख ७८ हजार ७२८ रुपैंया उठाउन बाँकी रहेको महालेखाले प्रतिवेदनमा देखाएको छ । पुरानो सपिङ कम्प्लेक्स ब्लक ख, नयाँ सपिङ कम्प्लेक्स पूर्वतर्फ ब्लक ग, नयाँ सपिङ कम्प्लेक्स पश्चिमतर्फ ब्लक घ, साबिक ६ नं वडा कार्यालय भवन पछाडिको पूर्वतर्फको सटर ब्लक ङ र बसपार्क भित्रको ग्यारेज भवन ब्लक च को ठेक्का सम्झौता गरेका व्यक्ति र फर्महरुले बहाल रकम नबुझाएका हुन् ।
उता, नगरपालिकाको प्रमुख आम्दानी मानिएको सम्पत्ति कर पनि साना तथा मझौला करदाताहरुसँग उठाइएको तर संस्थागत र ठुला करदाताहरुसँग उठाउनमा तदारुकता नदेखाइएको प्रतिवेदनले भन्छ । स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ५५ अनुसार बनेपा नगरपालिकाको क्षेत्रभित्रका घर र जग्गामा सम्पत्ति कर लगाई असुल गर्नुपर्ने व्यवस्था उल्लेख छ । नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका ठूला करदाताहरुको पहिचान गरी तिनीहरुलाई करको दायरामा नल्याएको उल्लेख छ ।
नगरपालिकाभित्र रहेका एउटै व्यक्ति, संस्था तथा व्यापारिक भवनहरु दुई वा सो भन्दा बढी वडामा रहेको अवस्थामा एकीकृत रुपमा एउटै ‘युजर आइडी’ बनाई एकीकृत रुपमा गणना गर्नुपर्नेमा सो नगरी छुट्टाछुट्टै ‘युजर आइडी क्रियट’ गरी कर तिर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । पालिका भित्र रहेका संरचनाहरुको विवरण अद्यावधिक नगरी पुरानै संरचना र जग्गाको कर तिर्दै आए पनि नगरपालिका मौन रहेको देखिएको छ । सुर्य भवन, बिकु टावरलगायतका ठुला करदाताहरुको सम्पत्ति कर मूल्याङ्कन गर्दा निर्मित संरचना भन्दा कम क्षेत्रको मात्र मूल्याङ्कन गरेको पाइएको छ भने डाबर नेपाल, नेपाल पुलिस स्कुल, कलेज, निजी अस्पतालहरुको सम्पत्ति कर र व्यवसाय कर सङ्कलन गरेको नपाइएको उल्लेख छ । प्रत्येक करदाताको पालिका भित्र रहेको संरचना तथा सम्पत्तिलाई एकीकृत रुपमा गणना गरी कर लिनुपर्नेमा छुट्टाछुट्टै आइडिबाट कर लिँदा नगरपालिकाको आन्तरिक आय नबढेको उल्लेख छ ।
सम्पत्ति करको अवस्थाबारे लेखापरीक्षणको क्रममा पेश भएका स्रेस्ता कागजात तथा नमूना छनौटका आधारमा १ करोड ५ लाख २० हजार २१९ रुपैंया सम्पत्ति कर असुल गर्नु निर्देशन दिइएको छ । महालेखाले नमूना छनौट गरि स्रेस्ता कागजातहरु अध्ययन गरेकोमा सुर्यभक्त श्रेष्ठ, आगन्तुक रिसोर्ट प्रालि, नेपाल पुलिस स्कुल, दिपेन्द्र प्रहरी स्कुल, प्रहरी कल्याण केन्द्र, काभ्रे बहुमुखी क्याम्पस, शीर मेमोरियल हस्पिटल र ग्लेसियर एजुकेशनल फाउण्डेशन प्रालि रहेका छन् । नेपाल पुलिस स्कुलसँग ३५ लाख ४४ हजार ९५५ रुपैँया असुल्न बाँकी देखाइएको छ भने सो विद्यालयले स्थापनाकालदेखि नै सम्पत्ति कर नतिरेको भए तापनि नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ देखि मात्र सम्पत्ति कर कायम गरिएको उल्लेख छ । यस्तै, तत्कालीन दिपेन्द्र प्रहरी स्कुल रहँदाका बखतको २४ लाख १३ हजार ६६६ रुपैंया भूमि तथा मालपोत कर पालिकाले उठाउन नसकेको उल्लेख छ ।
यसैगरी, साँगामा पेट्रोल पम्प चलाउन भनि प्रहरी कल्याण केन्द्रको नाममा किनिएको जग्गाको ९ लाख ८८ हजार ४४७ रुपैंया पनि पालिकाले उठाउन सकेको छैन । काभ्रे बहुमुखी क्याम्पसबाट पनि ३१ लाख ९ हजार ४४८ रुपैंया बनेपा नगरपालिकाले उठाउन नसकेको प्रतिवेदनमा उल्लेख छ । तर, नगरपालिकाले यही क्याम्पसलाई पूर्वाधार निर्माणलगायतमा वर्षेनी ठुलो अनुदान रकम दिँदै आएको छ । यस्तै, शीर मेमोरियल हस्पिटलसँग पनि नगरपालिकाले १ लाख ७९ हजार ९२ रुपैंया उठाउन नसकेको उल्लेख छ । अस्पताललाई पनि नगरपालिकाले सहयोग गर्दै आएको छ ।
मुनाफा कमाउने उद्देश्यले स्थापना भएका निजी व्यवसायीहरुसँग सम्पत्ति कर असुल्न पर्नेमा नगरपालिकाले उदाशीनता देखाएको छ । प्रतिवेदनले आगन्तुक रिसोर्ट प्रालिसँग ९९ हजार ७३७ रुपैंया र ग्लेसियर एजुकेशनल फाउण्डेशन प्रालिसँग ८५ हजार ९९० रुपैँया असुल गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ । यी माथिका दृष्टान्तहरुबाट समेत बनेपा नगरपालिका आर्थिक अनुशासन पालना गराउन अक्षम देखिएको छ । तर, हालैको जिल्ला सभामा बनेपा नगरपालिकाले प्राकृतिक स्रोत तथा वित्त आयोगको मूल्याङ्कनमा जिल्ला प्रथम भएको अवार्ड जितेको छ ।
बेथानचोक साप्ताहिक बाट