
भुम्लु/ ५० वर्षदेखि आफ्नो जग्गाको लालपूर्जाको प्रतिक्षामा रहेका काभ्रेको भुम्लु गाउँपालिकाको दुईवटा वडाका स्थानीयको प्रतिक्षा समाप्त भएको छ । मंगलबारदेखि भुम्लुको वडा नं ७ र ८ का स्थानीयले जग्गाधनी प्रमाण पूर्जा अर्थात लालपूर्जा प्राप्त गर्न थालेका छन् ।
नापी भएको ५० बर्षपछि जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) पाउँदा भुम्लु गाउँपालिकाको वडा नं ७ र ८ (साविक भुम्लु र फलाँटे ) का स्थानीयमा खुशीको सिमा छैन । यहाँका ९ सय ६९ घरपरिवारले जग्गा उपभोग गरेपनि कानूनी कागजात नहुँदा किनबेचका साथै अन्य कुनै सरकारी तथा वित्तीय काममा प्रयोग गर्न पाएका थिएनन् ।भुम्लु-७ का ७८ वर्षीय तोराणबहादुर क्षेत्रीको लालपुर्जा नहुँदाका समस्या धेरै भए । लालपुर्जा नहुँदा आफूहरुले अनेकन समस्याहरु झेल्दै आएको उनको भनाइ छ । ‘जग्गा छ तर पुर्जा थिएन, हामी सुकुमबासी जस्तै थियौं । आफूसँग लालपुर्जा नहुँदा केही लगानी तथा व्यापार/ व्यवसाय गर्न पाइएन । हातमा सीप हुनेहरुले पनि काम गर्न पाएनन’, क्षेत्रीले विगत सम्झिंदै भने, ‘कर तिरेको रसिद त थियो तर त्यसले बैकमा नहुने रहेछ, मेरो मात्र हैन, धेरैको समस्या थियो, जग्गा बैकमा राखेर कलकारखाना, गाडी किन्न, सानो तिनो व्यवसाय गर्न सहज थिएन, अव लालपुर्जा पाएपछि ऋण लिएर काम गर्न सक्छौं ।’उनले धेरै समस्या झेलेर लालपुर्जा लिने दिनसम्म पुगेको बताए । ‘जति सम्पति छ त्यो आफ्नो नाममा आयो । एकदम खुशी छु ।

वि.सं. २०३२ सालदेखि लालपुर्जाको आशामा रहेका भुम्लु गाउँपालिकामा दुई वडाका जग्गाधनीले लालपुर्जा पाएका थिएनन् । नापी कार्यालय काभ्रेपलान्चोकले नापी टोलीलाई गाउँमा खटाएर स्थानीयबासीको समस्या समाधान गरेपछि स्थानीयले आफ्नो जग्गाको लालपुर्जा पाएका हुन् ।
संघीय सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी लगायतले लालपूर्जा वितरण गरेका हुन् ।
मन्त्री अधिकारीले विभिन्न समितिले दिएको प्रतिवेदनको आधारमा भुम्लुको जग्गाको समस्या समाधान गरिएको बताए । रकारले आगामी पुस मसान्तभित्र भुम्लुका लालपुर्जाविहिन नागरिकलाई लालपुर्जा दिनेगरी काम अघि बढाइएको उनको भनाइ छ ।
भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर भुजेलले पाँच दशक दशकसम्मको पीडा अन्त्य भएको बताउँदै लालपुर्जा वितरण मात्र नभई भुम्लुबासीको जीवनमा कानूनी पहिचान, आत्मविश्वास र आर्थिक सुरुवातको नयाँ अध्याय भएको बताए ।
५० वर्षसम्म लालपूर्जा नहुँदा यहाँका वडावासीले पीडादायी समय विताएको भन्दै गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङले चुनावको समयमा यहाँका जनतालाई लालपुर्जा प्रदान गर्ने वाचा पुरा गरेको उनले बताए ।
नापी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख नापी अधिकृत अशोककुमार भुसालले वडा नं ७ मा हालसम्म लालपूर्जा प्राप्तिका लागि निवेदन दिएका मध्ये ६ सय २७ मध्ये लगत भिडाउनका लागि मालपोत कार्यालयमा ४ सय ७३ वटा निवेदन पठाइएकोमा हालसम्म १ सय ८५ को लालपूर्जा तयार भएको बताए । वडा नम्बर ८ मा लालपुर्जाका लागि निवेदन दिएका ८ सय ७० मध्ये ७ सय ४ वटा निवेदनको लगत भिडाउनका लागि मालपोत कार्यालय पठाइएकोमा ४ सय २८ वटा निवेदनको लगत भिडेर आएको छ । ती मध्ये २ सय ४६ को लालपूर्जा तयार भएको छ । लालपुर्जा दिनका लागि गाउँमा खटिएको नापी टोली चार महिनासम्म सम्बन्धित क्षेत्रमा नै खट्ने भएकोले यो अवधिमा प्रमाण पुगेका सबै परिवारलाई लालपुर्जा वितरण गरिने उनले जानकारी दिए ।
साविकको पिपलटार गाविस हुँदादेखि नै कमाई गर्दै आएको खेतियोग्य जमिन पिपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे गाविस दुवैमा परेपछि त्यो खेतियोग्य जमिन कुन गाविसले लिने भन्ने विषयमा विवाद हुँदा वि.सं. २०३२ सालमा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्वको विवादका कारण नापी टोली फर्किएपछि स्थानीयबासीले लालपुर्जा पाउन सकेका थिएनन् ।
वि.सं.२०३२ सालमा विवाद भएपछि २०३५ सालमा पुनः नापी टोली उक्त गाविसमा नापीका लागि गएको थियो । उक्त समयमा पनि दुई गाविसबीच उक्त जग्गाको विषयमा विवाद चर्किएपछि नापी टोली काम नगरी फर्किएको थियो ।
भुम्लु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण खत्रीका अनुसार, सबै प्रक्रिया पुगेका वडा नं ७ का १८५ र वडा नं ८ का २४६ गरी ४ सय ३१ जना लाई मंगलबार लालपूर्जा वितरण गरिएको छ ।कार्यक्रममा प्रदेश सभा सदस्य रुकु चौलागाईं, नापी विभागका महानिर्देशक प्रकाश जोशी, गाउँपालिकाका पूर्वअध्यक्ष गुमानध्वज कुँवर, विभिन्न वडाका अध्यक्षहरुले लालपुर्जा नहुँदा नागरिकले पाएको सास्तीको बारेमा आफ्नो भनाइ राखेका थिए ।
