
धुलिखेल/मालपोत कार्यालय काभ्रेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।
बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले मालपोत कार्यालय काभ्रे धुलिखेलमा छापा मारेको हो । अक्तियारको एक टोलीले २ लाख रुपैयाँ नगदसहित मुद्दा फाटका कर्मचारी ज्ञानेन्द्र भण्डारीलाई नियन्त्रणमा लिएको हो मालपोत कार्यालय धुलिखेल परिसरबाटै उनी पक्राउ परेका हुन् ।
साबिक दोलालघाट गाविस वडा नम्बर ७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गाहरू धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि उनले सेवाग्राहीसँग घुस मागेको आरोप छ । यसबारे उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले भण्डारीलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो । मालपोत कार्यालय धुलिखेल काभ्रेका खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारी बुधवार २ लाख रुपैयाँ घुससहित पक्राउ परेका थिए । घुस रकम र मोबाइल डिभाइससहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।