काभ्रेपलाञ्चोकका नयाँ मतदातामा निर्वाचनको उत्साह

राष्ट्रिय परिचयपत्र हुनेले फोटो खिचाउन नपर्ने, अनलाइन फाराममात्रै भरे पुग्ने
  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८२ कार्तिक २८, शुक्रबार (४ हप्ता अघि)
  • १८३ पटक पढिएको

काभ्रेपलाञ्चोकका नयाँ मतदातामा निर्वाचनको उत्साह

धुलिखेल । ‘जेन–जी’आन्दोलनको बलमा बनेको सरकारले फागुन २१ गतेका दिन संघीय संसदको निर्वाचन गराउनका लागि निर्देशन दिएलगत्तै निर्वाचन आयोग तयारी जुटेको छ । अब निर्वाचन हुन १११ दिन बाँकी छ । निर्वाचनको प्रमुख कडी मानिएको मतदाता नामावली संकलनको कामम ७७ वटै जिल्लाका निर्वाचन कार्यालयहरुमा धमाधम भइरहेको छ ।
नामावलीमा यसअघि नाम दर्ता गराउन छुटेका सम्पूर्णलाई नाम दर्ता गराउन जिल्ला निर्वाचन कार्यालयले आग्रह गरेको छ । सोह्र वर्ष उमेर पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका नागरिकले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन् । फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता १६ वर्षमा हुने भए पनि मताधिकारका लागि १८ वर्ष पूरा भएको हुनुपर्दछ ।
यतिखेर जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकको धुलिखेलस्थित कार्यालयमा सडकबाटै मतदाता नामावलीमा नमा दर्ता गराउनेको बाक्लो भीड देखिएको छ । कात्तिक ३० गतेसम्ममात्रै नामावाली दर्ता हुने भएबाट भीड लागेको हो । दिनहुँ टोकन सकिएको भन्दै फर्कनु परेको भन्दै जेन–जी पुस्ताले आक्रोशसमेत व्यक्त गरेका छन् ।
यसैवीच, राष्ट्रिय पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेले राष्ट्रिय परिचयपत्र वितरणका लागि संकलन गरेको जैविक तथ्यांक निर्वाचन आयोगलाई उपलब्ध गराउन तयार रहेको बताएबाट राष्ट्रिय परिचयपत्र नम्बर भएका र आफै निर्वाचन कार्यालयमा उपस्थित हुन नसक्ने मतदातालाई सहज बनाउने भएको छ । आयोगले पनि बिहीबारबाटै राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा पनि मतदाता नामावलीमा समावेश गर्ने प्रक्रिया सुरु गर्दैछ । यसका लागि प्राविधिक तयारी र परीक्षणका सबै काम गरिसकेको आयोगले जनाएको छ । यससँगै अब निर्वाचन आयोगको वेबसाइटमा गएर आफ्नो विवरणहरु भर्न मिल्ने र आयोगले परिचयपत्र नम्बरका आधारमा सो विवरणका लागि आवश्यक बायोमेट्रि«क र फोटो परिचयपत्रको डेटावेशबाट तान्नेछ । यसबाट मतदाता नामावली संकलन प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले बुधबारमात्रै निर्वाचन आयोगका पदाधिकारीसँग आगामी निर्वाचनको तयारीका विषयमा छलफल गर्नुभएको छ । आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकारी तुलाधर, सगुनशमशेर राणा र अन्य अधिकारीहरू समेतको टोली छलफलका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको थियो । प्रधानमन्त्री कार्कीको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पठाएको तीन बुँदे पत्रको सम्बोधनमा भएका कामको प्रगति पनि आयोगले जानकारी गराएको थियो । जसअनुसार, आयोगको अनलाइन प्रणालीमा मतदाता नामावली दर्ताको चाप व्यवस्थापन गर्न बिहान ७ देखि साँझ ७ बजेसम्म दुई सत्रमा काम गर्न थालिएको, जनशक्ति पनि बढाइएको र प्राविधिक समस्याको पनि तत्काल समाधानको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
आयोगले निर्वाचन तयारीअन्तर्गतका ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको र हालसम्मको मूल्यांकनमा आउँदो फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सकिने विश्वास रहेको जानकारी दिएको छ । आयोगमा दर्ता रहेका र वडा सदस्यसम्म मात्र पनि विजय भएका दलहरूसँग छलफल गर्दा अहिलेसम्म कसैले पनि निर्वाचनमा भाग लिन नसकिने भन्ने भाव व्यक्त नगरेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी दिनुभयो । विगतमा निर्वाचन बहिष्कार गरी बाधा–विरोध गर्ने समूह र दलहरूसमेत अहिले आयोगमा दर्ता भएर चुनावमा भाग लिन तत्पर भएको कारण विगतमा भन्दा अझै सहज वातावरण बन्दै गएको उहाँले बताउनुभयो।
यता, काभ्रेपलाञ्चोक जिल्लामा ३ लाख १३ हजार ३ सय ५० मतदाता कार्तिक १७ गतेसम्म कायम भएका छन् । जिल्लामा अघिल्लो निर्वाचनका समयमा प्रतिनिधि सभाका २ वटा निर्वाचन क्षेत्र, नगरपालिका ६, गाउँपालिका ७, वडा संख्या १ सय ३५ मा १ सय ९० वटा मतदान स्थल र ३ सय ८९ वटा मतदान केन्द्र रहेका थिए । जिल्लाको जनसंख्या ३ लाख ७५ हजार २ सय २१ रहेको छ ।
बुधबारमात्रै जिल्ला वडा मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले स्थानीय तह, राजनीतिक दल तथा अन्य सरोकारवालाहरुसँग छलफल तथा समन्वय गरी काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न वडाहरुमा रहेका मतदान स्थल तथा मतदान केन्द्र सम्बन्धमा सामान्य त्रुटी सच्याउने, मतदान स्थल स्थानान्तरण गर्ने, मतदान स्थल थप्ने सम्बन्धमा निर्णयसाथ सिफारिस भईआएका विवरण उपर छलफल गरी निर्दिष्ट प्रमाण र कार्यविधिले तोकेको मापदण्ड अनुरुप खानीखोला गा.पा.७, भुम्लु गा.पा. ५, चौरीदेउराली गा.पा.७, तेमाल गा.पा.१, बनेपा न. पा. १३, धुलिखेल नपा २ र ५, नमोबुद्ध न.पा.२ र ७ तथा पाँचखाल न.पा.५ र ९ का लागि तोकिएका अनुसूचीहरु भरी मतदान स्थल तथा मतदान केन्द्र निर्धारण समन्वय समितिमा पठाउने सर्वसम्मत निर्णय गरेको छ ।
यस्तै, जिल्लाका विभिन्न वडा सिफारिस समितिहरुबाट प्राप्त सिफारिसमध्ये नमोबुद्ध न.पा. वडा नं. २ र ७, पाँचखाल न.पा. वडा नं. ९ र बनेपा न.पा. वडा नं. १३ मा मतदान स्थल थप गर्न सिफारिस भईआएको तर नयाँ कायम गर्नुपर्ने मतदान स्थलमा रहने अनूसूची बमोजिमको मतदाताको विवरण संलग्न नभएको हुँदा सो समेतका प्राविधिक कार्यका लागि निर्वाचन आयोगमा १५ दिन थप समय माग गर्ने, थप समय प्राप्त भएमा नयाँ मतदान स्थल कायम गरी प्राप्त समयसीमा भित्र पठाउने अन्यथा साविककै मतदान स्थल कायम हुने गरी सिफारिस गरी पठाउने निर्णय गरेको छ ।

बेथानचोक साप्ताहिकबाट ।

ताजा अपडेट

खोजी गर्नुहोस