‘नेभान स्प्राउट्स’स्साना मुटुहरूको लागि हातले बुनेको न्यानो संसार

स्थानीय महिलाको सीपमा आधारित उद्यम, शिशुका लागि प्राकृतिक कपडाकोस्पर्श
  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८२ मंसिर १२, शुक्रबार (२ हप्ता अघि)
  • ९८ पटक पढिएको

‘नेभान स्प्राउट्स’स्साना मुटुहरूको लागि हातले बुनेको न्यानो संसार

पनौती । विश्वव्यापीकरणको यस युगमा जब हरेक सामान मेसिनबाट बन्न थालेका छन् । एक हिसाबले भन्ने हो भने परम्परागत एवं पुख्र्यौली ज्ञान र सीप हराउन थालेको छ । तर, काभ्रेको ऐतिहासिक नगरी पनौतीमा एक यस्तो उद्यम फस्टाएको छ, जसले साना नानीबाबुहरूको लागि हातले बुनेका (ह्याण्डमेड) न्यानो कपडाहरू तयार गर्छ । ‘नेभान स्प्राउट्स’ नामको यो घरेलु उद्योगले पनौती र आसपासका महिलाहरूको पुख्र्यौली बुनाई सीपलाई पुनर्जीवन दिँदै आकर्षक व्यावसायिक सफलता प्राप्त गरेको छ ।

नवजात शिशुको संवेदनशीलता प्राथमिकतामा राखेर हस्तनिर्मित कपडाहरुका साथै हस्तकढाईबाट टोपी, स्वेटर, बुट, पञ्जा र कम्बलहरूको उत्पादन गर्ने उद्देश्यले उद्यम स्थापना गरेको संस्थापक अन्जना श्रेष्ठको भनाई छ । पनौती–४, भगवान डाँडामा घरबाटै सुरू भएको यो उद्यममा उनले परम्परागत ऊनी र प्राकृतिक धागो बुन्ने सीपलाई आधुनिक डिजाइन र उच्च गुणस्तरमा ढालेर बजारमा ल्याएकी हुन् । आफ्नो सन्तानलाई सधैं प्राकृतिक र न्यानो कुरा दिन चाहने आमाहरूको भावनालाई बुझेर नै उनले यस उद्यमको आधार बनाएकी हुन् ।

अन्जना भन्छिन्, ‘आजकल बजारमा पाइने धेरैजसो तयारी कपडाहरूमा कृत्रिम रङ्ग र धागोको प्रयोग हुन्छ’। हामीले नवजात शिशुहरूको संवेदनशीलतालाई ध्यानमा राखेर प्राकृतिक र वातावरणमैत्री (इको फ्रेण्ड्ली) धागो मात्र प्रयोग गर्छौं ।’ नेभान स्प्राउट्सका उत्पादनहरूमा विशेषगरी नवजात शिशुका लागि हस्तनिर्मित कपडाहरुका साथै हस्तकढाईबाट टोपी, स्वेटर, बुट, पञ्जा र कम्बलहरू बनाउँछौं । हरेक उत्पादनमा ‘ हस्तनिर्मित तथा हस्तकढाई’ को विशेष आकर्षण हुने हुँदा यसको माग शहरी क्षेत्रमा मात्र नभई सामाजिक सञ्जालको माध्यमबाट विदेशमा बस्ने नेपाली समुदायमा समेत बढ्दै गएको उनको भनाई छ । ग्राहकको ईच्छा र माग अनुरुप बनाइ ग्राहकले खोजेको स्थानमा पठाउने व्यवसाय (बिटुसी अनलाइन) समेत सन्चालनमा रहेको छ ।

अन्जनाले आफूमात्रै नभई पनौतीका घर–घरमा रोजगारीको लहर ल्याएकी छिन् । त्यसैले उनको उद्यम केवल व्यापारमा सीमित नभई पनौतीका धेरै महिलाहरूको लागि आर्थिक सशक्तीकरणको माध्यम पनि बनेको पनौती नगरपालिकाको उद्यम विकास सहजकर्ता सुदर्शन कार्कीको भनाई छ । सो उद्योगले ग्राहकको माग अनुरुप न्युनतम मासिक ३५० जोर सामाग्रीहरु उत्पादन गरी बिक्रि वितरण गरिरहेको उल्लेख छ । प्रत्यक्ष रुपमा ६ जना कर्मचारीलाई रोजगारी प्रदान गरिरहेको र अप्रत्यक्ष रुपमा थप ५ जनालाई रोजगारी प्रदान गरिरहेको हुँदा स्थानीय महिलाहरूले नियमित रूपमा काम पाइरहेका र घरमै बसेर आफ्नो खाली समय सदुपयोग गरी बुनाई गर्ने र मासिक रूपमा राम्रो आम्दानी गर्ने अवसर पाएका छन् । यसले पुस्तान्तरण हुँदै आएको परम्परागत बुनाई सीपलाई बचाउन समेत मद्दत पु¥याएको कार्कीको भनाई छ ।

स्थानीय स्रोत र महिलाहरूको सीपको प्रयोग गरेर नेभान स्प्राउट्सले छोटो समयमै राष्ट्रिय बजारमा बलियो पहिचान बनाएको छ । पौरखी अन्जनाको मेहनत र अरूलाई पनि सक्षम बनाउने भावनाको कदर गर्दै पनौती उद्योग वाणिज्य संघले ११ औं उद्योग दिवसका अवसरमा उनलाई उत्कृष्ट उद्यमीका रूपमा उद्योग तथा वाणिज्य कार्यालय धुलिखेलमा सम्मानयोग्य उद्यमी भनि सिफारिश गरेको छ । यही आधारमा र कार्यालयले तोकेका सबै मापदण्डहरू पुरा गर्दै उनी सम्मानित भएकी छिन् ।

संघका सचिव महेशराज पौडेल भन्छन्, ‘आफूमात्रै नभई अरूलाई उद्यमी बन्न प्रेरणा गर्ने र पनौतीको एउटा कुनामा बसेर प्राकृतिक र न्यानो कुरा दिन चाहने आमाहरूको भावनालाई बुझेर देश तथा विदेशमा समेत न्यानो कपडाहरू सप्लाई गरेर नगरलाई नै चिनाउने र ब्राण्ड स्थापित गरेकोमा हामीसमेत गौरवान्वित भएका छौं । नवपुस्ता स्वदेशमै रहेर उद्यम गर्दै विदेशमा समेत व्यापार गर्न सक्षम भएकी अन्जनालाई हामीले नमूना उद्यमी मानेका हौं । उद्योग तथा वाणिज्य कार्यालयले उत्कृष्ट उद्यमी सम्मान गरेकोमा हामी पनि आभारी भएका छौं’ उनले थपे ।

पनौती उद्योग वाणिज्य संघकै सिफारिशमा उत्कृष्ट उद्यमी सम्मान कार्याक्रम २०८२ मा पनौती–७ की कर्माचार्य लक्काङ उद्योग तथा ट्र«ेनिङ सेन्टरकी उद्यमी एवं प्रशिक्षक रिता कर्माचार्य पनि सम्मानित भएकी छिन् । यस्तै, काभ्रे उद्योग वाणिज्य संघको सिफारिशमा लाइफ सिड्स उद्योग प्रालिका सञ्चालक कालीप्रसाद पाण्डे, डि.एन. श्रेष्ठ अलमुनियम सेन्टरकी सञ्चालिका मिरा श्रेष्ठ र सेवा फर्निचर उद्योगकी सञ्चालिका चन्द्रमाया श्रेष्ठ सम्मानित भएका छन् ।

धुलिखेल उद्योग वाणिज्य संघको सिफारिशमा इमानुएल फर्निचर उद्योगका धनी मंगललाल श्रेष्ठ र सातपाने कृषि फर्मका सञ्चालक नोकराज गिरी सम्मानित भएका छन् । उता, पाँचखाल उद्योग वाणिज्य संघको सिफारिशमा एस एल अर्गानिक कफी लस्सी तथा खाजा घरकी सञ्चालिका शोभा गिरी र नमोबुद्ध उद्योग वाणिज्य संघको सिफारिशमा बज्रबाराही भिमसेन राइस मिल, भकुण्डेका धनी भक्तलाल श्रेष्ठ सम्मानित भएका छन् ।

उद्योग दिवसका अवसरमा सम्मानित १० जनै उद्यमीहरूलाई समारोहका प्रमुख अतिथि एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख रबिन घिमिरे र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य मञ्जुकुमार कोजूले दोसल्ला, माला र सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि अधिकारी र नेपाल पत्रकार महासंघका अध्यक्ष विनोदकुमार न्यौपानेलगायत उद्योग वाणिज्य संघका प्रतिनिधिहरूले सम्मानित उद्यमीहरूलाई अझ बढी मेहनत गरेर उद्यमको यात्रा अघि बढाउन शुभकामना दिएका थिए । वि.सं. १९९३ मंसिर ९ गते नेपालमा विधिवत उद्यमशीलताको सुरूवात भएको ऐतिहासिक दिनलाई स्मरण गर्दै यस वर्ष ११ औं राष्ट्रिय उद्योग दिवस विभिन्न कार्यक्रमका साथ काभ्रेपलाञ्चोकसहित देशभर मनाइएको हो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस