
काठमाडौँ । सरकारले बुधबारदेखि ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन सुरु गरेको छ । यो अभियान फागुन ३० गतेसम्म तीन महिना सञ्चालन हुनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरु गरेको अभिायन भए पनि यसलाई सफल पार्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले समेत ७७ वटै जिल्लाका शिक्षा समन्वय इकाईलाई निर्देशन समेत पठाइसकेको छ ।
मन्त्रालयले पठाएको निर्देशनमा भनिएको छ, ‘मानसिक स्वास्थ्य सचेतना अभियान, २०८२’ यहि मिति २०८२ मंसिर २४ गते (१० डिसेम्बर २०२५) देखि २०८२ फाल्गुन ३० सम्म विशेष गरी किशोर किशोरी तथा युवावर्गहरूलाई लक्षित गरी विभिन्न सचेतना कार्यक्रम गरी मनाउनको लागि शिक्षा विकास तथा समन्वय इकाइमार्फत देशैभरका विद्यालयहरूमा समेत मानसिक स्वास्थ्य सम्बन्धी सचेतना तथा सञ्चारका क्रियाकलाप सञ्चालन गर्न आवश्यक समन्वय गरिदिनुहुन अनुरोध छ । साथै उक्त अभियानको नाम ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान, २०८२’ रहेको र अभियानको नाराः‘मनको कुरा गरौं’ भन्ने समेत रहेको छ ।’
सरकारले नियमित रुपमा सञ्चालन गर्दै आएको मानसिक स्वास्थ्य सचेतनाका अलावा यस पटक जेन–जी आन्दोलनपश्चात सिर्जित मानसिक स्वास्थ्य समस्यालाई लक्षित गर्दै दुबै मन्त्रालयहरुमार्फत संयुक्त रुपमा यो अभियान गर्न लागेको विज्ञहरुको भनाई छ । उनीहरुका अनुसार मानसिक स्वास्थ्यले हाम्रो शरीरको एक तिहाइ भाग ओगटेको छ त्यसैले, मानिसहरु शारीरिक र मानसिक हिसाबले स्वास्थ हुन जरुरत हुन्छ । मानिसहरु शारीरिक रुपमा बिरामी भएमा तुरुन्त अस्पताल जाने गर्दछन् तर सामान्य मानसिक समस्या उत्पन्न्न भयो भने समाजले थाहा पाउँछ कि भनेर समस्या लुकाएर बस्ने गरेको पाइन्छ ।
विश्व स्वास्थ्य सङ्गठनकाअनुसार मानसिक रुपमा स्वस्थ्य हुनु भनेको मानसिक रोग नहुनु मात्र नभएर आफ्नो व्यक्तिगत क्षमता बुझेर जीवनको दैनिक तनावलाई सामाना गर्दै ऊर्जाशील सामाजिक जीवन जिउन सक्नु हो । अहिले मानसिक तनाव, आत्महत्याका घटनाहरुको संख्या वर्षेनि बढ्दो अवस्थामै रहेको छ जो हामीहरुका लागि दुखद कुरा हो । नेपाल प्रहरीको तथ्याङ्कअनुसार आव २०८१÷८२ मा सात हजार ५५ जनाले मानसिक समस्याका कारण आत्महत्या गरेका छन् ।
त्यसैले, मानसिक रुपमा स्वस्थ हुनु भनेको शारीरिक रुपमा स्वास्थ हुनुका साथसाथै भावनात्मक, मनौवैज्ञानिक र सामाजिक रुपमा पनि स्वस्थ हुनु हो । मानसिक स्वास्थ्य समस्याका कारणले उत्पादकत्वमा ह्रास आउने भएकाले परिवार, समाज र राष्ट्रलाई नै ठूलो आर्थिक नोक्सानी पुगिरहेको छ । मानसिक समस्या बढ्नुका कारणमा सामाजिक, आर्थिक, मनोसामाजिक, राजनीतिक, तनावग्रस्त जीवनशैली, लागूऔषधको प्रयोग, एक्लोपन, वातावरणीय कारणले मानसिक समस्या उत्पन्न हुने चिकित्सकहरुको भनाई छ ।
वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. अनन्तप्रसाद अधिकारीका अनुसार अपाङ्गता गराउने प्रमुख १० कारकहरु मध्ये चारवटा मानसिक स्वास्थ्य समस्या नै पर्दछन् । अस्पताल आउने पाँच जनामध्ये एक जनामा कुनै न कुनै किसिमको मानसिक समस्या देखिने गरेको छ । यस्तै, विश्वभरमा लगभग २० प्रतिशत बालबालिका तथा किशोर किशोरीहरुमा भावनात्मक, व्यावहारिक तथा अन्य खालको मानसिक स्वास्थ्य समस्या भएको अध्ययनहरुले देखाएका उहाँको भनाई छ । यसबाट पनि अन्य स्वास्थ्य समस्याहरुझैं मानसिक स्वास्थ्य समस्याको अवस्था उजागर गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा २५ प्रतिशत मानिसलाई कुनै न कुनै प्रकारको मानसिक समस्या देखिएको छ । नेपालमा कुल नसर्ने रोगहरुको समस्या मध्ये १८ प्रतिशत मानसिक रोगले ओगटेको छ । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण नेपाल २०७७ को नतिजाअनुसार, नेपालमा १३ देखि १७ वर्षका ५.२ प्रतिशत किशोर किशोरीहरुमा मानसिक स्वास्थ्य समस्या देखिएको छ । जसमा, २.८ प्रतिशतमा चिन्ताजन्य समस्या, ०.६ प्रतिशतमा डिप्रेसनको समस्या पाइएको छ । यसैगरी, ३.९ प्रतिशतमा डिप्रेसन, ०.२ प्रतिशतमा साइकोसिस र ७.२ प्रतिशतमा आत्महत्या सम्बन्धी सोचको अवस्था देखिएको छ ।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा राधिका थपलियाले मानसिक स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । उहाँले ‘जेनजी’ प्रदर्शनपछि सबै वर्गमा तनाव थपिएको भन्दै अभियानले थोरै भए पनि त्यसमा सकारात्मक भूमिका खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पछिल्लो समय सबै वर्गमा तनाव थपिएको छ । त्यसैले मानसिक स्वास्थ्यमा सकारात्मक योगदान दिने उद्देश्यसहित अभियान सुरु गर्दैछौँ । मानसिक स्वास्थ्यबारे सबैले खुलेर कुरा गरौँ । अभियानबाट लाभान्वित होऔँ ।’
केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुङ्गानाले मानसिक स्वास्थ्यलाई समग्र स्वास्थ्यको अभिन्न हिस्साको रूपमा जनचेतना बढाउने उद्देश्यले अभियान थालिएको बताउँदै हरेक महिना फरक खालका विषयमा सचेतनाका कार्यक्रम गरिने जानकारी गराउनुभयो । नेपाल सरकारको मानसिक स्वास्थ्य रणनीतिमा सन् २०२५ सम्म सबै जिल्लामा मानसिक सेवालाई प्राथमिकतामा पारेको छ । संयुक्त राष्ट्र सङ्घको दीगो विकास लक्ष्य २०१६–२०३० मा पनि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी मानसिक स्वास्थ्य प्रवर्धन गर्ने लक्ष्य रहेको छ ।
बेथानचोक साप्ताहिकबाट ।