
तालढुङ्गाका स्थानीय ब्यापारीहरूले पनौतीका थोक बिक्रेताहरूसँग सामानहरु किनेर ल्याएको हुँदा उनीहरूको थोक पसल पनि अनुगमन गरिएमा गाउँ–गाउँसम्म म्याद नाघेका र गुणस्तर बिग्रेका सामानहरू नआउने सुझाव दिएका थिए ।
धुलिखेल । यतिखेर जिल्ला सदरमुकाम धुलिखेलमा उद्योग वाणिज्य कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजनका प्रमुखहरू कार्यालयमा भेटिँदैनन् । उपभोक्ता हित प्रवद्र्धनका लागि जिम्मेवार यी दुई निकायका कार्यालय प्रमुखहरू यतिखेर काभ्रेपलाञ्चोक जिल्लाको दुर्गम स्थानीय तहहरूमा पुगेका हुन् । विगतमा यसरी दुर्गममा पुगेर उपभोक्ता हित प्रवद्र्धन र उपभोक्ता अधिकारबारेमा जिल्लातहबाटै पुगेर कार्यक्रमहरू भएका पाइन्नन् ।
विगतमा उपभोक्ता हित प्रवद्र्धनका कार्यक्रमहरू तथा अनुगमन चाडबाडका छेका पारेर हुने गरेको आरोप खेप्दै आएका यी निकायहरू अहिले भने बाह्रै मास भ्याएसम्म अनुगमनमा जाने गरेका पाइन्छ । अनुगमन पूर्व बस्तु तथा सेवा प्रदायक, स्थानीय उपभोक्ता अधिकार नियामक निकाय र उभपोक्ताहरूलाई अभिमुखीकरण पनि गर्दै आएका छन् । यो समाचार तयार पार्दा यो टोली काभ्रेपलाञ्चोक जिल्लाकै दुर्गम मानिएको डाँडापारीको तालढुङ्गामा कार्यक्रम गरिरहेको देखिन्छ ।
खानीखोला गाउँपालिकामा पहिलो पटक उपभोक्ता हित प्रवद्र्धन तथा अधिकारबारेमा अभिमुखीकरण र बजार अनुगमन भएको हो । अनुमगन टोलीमा तथा वाणिज्य कार्यालय, काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख रबिन घिमिरे,खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजनका कार्यालय प्रमुख मनिषा चापागाईं, खानीखोला गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधिहरू र सुरक्षाकर्मीहरूको उपस्थितिमा बजार अनुगमन सम्पन्न भएको हो । अनुगमनको क्रममा विभिन्न पसल, होटेल, किराना पसल, मासु पसल, खुवा बनाउने उद्योग, औषधि पसल लगायतका व्यवसायको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा व्यवसायीहरूलाई सचेत गराउनुका साथै म्याद गुज्रेका अखाद्य सामाग्रीहरू जफत गरी नष्ट समेत गरिएको थियो ।
खानीखोला गाउँपालिकाको कार्यालय भवनमा जनप्रतिनिधिहरू, कर्मचारीहरू, उद्योगी व्यवसायीहरू एवं सरोकारवालाहरूको सहभागितामा उद्योग प्रशासन, वाणिज्य प्रशासन, बजार अनुगमन एवं खाद्य स्वच्छताका विषयमा अन्तरक्रिया एवं छलफल समेत आयोजना गरिएको थियो । अनुगमनका क्रममा बजारक्षेत्रमा भेटिएका र नष्ट गरिएका म्याद नाघेका खाद्य पदार्थ तथा अखाद्य पदार्थहरू तालढुङ्गाका स्थानीय ब्यापारीहरूले पनौतीका थोक बिक्रेताहरूसँग किनेर ल्याएको हुँदा उनीहरूको थोक पसल पनि अनुगमन गरिएमा गाउँ–गाउँसम्म म्याद नाघेका र गुणस्तर बिग्रेका सामानहरू नआउने सुझाव दिएका थिए ।
यस्तै, खानीखोला–७ स्थित जनहित माध्यमिक विद्यालयका कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूलाई उपभोक्ता सचेतना कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा विद्यार्थीहरूलाई खाद्य स्वच्छता, बजार अनुगमन, उपभोक्ता हक–हित संरक्षण सम्बन्धी ऐन, कानून लगायतका विषयमा जानकारी गराइएको थियो । उद्योग तथा वाणिज्य कार्यालय, काभ्रेका कार्यालय प्रमुख रबिन घिमिरेको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन, धुलिखेलकी कार्यालय प्रमुख मनिषा चापागाईंले सहजीकरण गर्नुभएको थियो । साथै, सो कार्यक्रममा कार्यालयका कर्मचारीहरू, शिक्षक, विद्यार्थीहरू गरी करिब ७५ जनाको सहभागिता रहेको थियो ।
यस अगाडि दुबै कार्यालयहरूले तेमाल गाउँपालिका वडा नं. ५ स्थित नारायणस्थान माध्यमिक विद्यालयका कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूलाई उपभोक्ता सचेतना कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा विद्यार्थीहरूलाई खाद्य स्वच्छता, बजार अनुगमन, उपभोक्ता हक–हित संरक्षण सम्बन्धी ऐन, कानून लगायतका विषयमा जानकारी गराइएको थियो । उद्योग तथा वाणिज्य कार्यालय, काभ्रेका कार्यालय प्रमुख रबिन घिमिरेको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन, धुलिखेलकी कार्यालय प्रमुख मनिषा चापागाईंले सहजीकरण गर्नुभएको थियो । साथै, सो कार्यक्रममा कार्यालयका कर्मचारीहरू, शिक्षक, विद्यार्थीहरू गरी करिब ७५ जनाको सहभागिता रहेको थियो ।
काभ्रेपलाञ्चोकमा जिल्लास्तरिय एक, नगरस्तरिय ५ र गाउँपालिकास्तरिय २ वटा उद्योग वाणिज्य संघहरू रहे तापनि काभ्रे उद्योग वाणिज्य संघ र धुलिखेल नगर उद्योग वाणिज्य संघले मूल्य सूची प्रकाशनलगायत उपभोक्ता हितमा केही काम गरेको देखिन्छ । तर बाँकी पनौती, नमोबुद्ध, पाँचखाल, मण्डनदेउपुर, रोशी, दोलालघाट उद्योग वाणिज्य संघहरू यतिखेर मौन रहेका पाइन्छन् । नाफा कमाउन बसेका व्यापारीहरूको संघसंस्था मौन बसे पनि उपभोक्ता अधिकारको वकालत गर्ने भनि खडा भएका उपभोक्ता अधिकारवादी संघसंस्थाहरूसमेत मौन रहेका पाइन्छन् । बिडम्बना यतिखेर कुन–कुन उपभोक्ता अधिकारवादी संस्था र को–को उपभोक्ता अधिकारकर्मी जिल्लामा क्रियाशील रहेका छन् भन्ने पनि भेउ पाउन छाडिएको हो ।
अरू काममा कानुन पाएनौं भन्ने स्थानीय तहहरू उपभोक्ता अधिकार संरक्षणको सवालमा भने मौन छन् । विगतमा संघ र प्रदेश सरकारलेमात्रै बजार अनुमगन गर्ने जिम्मेवारी पाएकोमा पछिल्लो पटक स्थानीय तहहरूलाई पनि आफ्नो क्षेत्रमा बजार अनुगमनको अधिकार दिएको हो । तर, आफ्ना मतदाता रिसाउने डरले गाउँ÷नगरपालिकाका अधिकारप्राप्त जनप्रतिनिधिहरू बजार अनुमगनमा अनिच्छुक देखिँदै आएका छन् । नगरपालिकाका उपप्रमुख र गाउँपालिका उपाध्यक्षहरूले उपभोक्ताको हक अधिकार सुनिश्चित गर्न अनुगमनलाई प्राथमिकता दिनुपर्नेमा दिएको पाइन्न । आम उपभोक्ताको स्वास्थ्य र हितसँग सरोकार राख्ने विषयमा सबै जिम्मेवार हुन नसकेको अवस्था छ । यस्तोमा अनेक कठिनाइ ब्यहोर्दै गाउँगाउँ पुगेर उपभोक्ता हित प्रवद्र्धन गरेकोमा जिल्लाका धुलिखेलमा उद्योग वाणिज्य कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजनका प्रमुखलगायत अनु्गमन टोलीका सदस्यहरूलाई उपभोक्ता अधिकारकर्मीहरूले प्रसंशा गरेका छन् ।
बेथानचोक साप्ताहिकबाट ।